Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थाले: प्रधानमन्त्री प्रचण्ड


नुवाकोट, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् । शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोध गरेको बताएका हुन् । ‘‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठुलो सङ्घर्ष गर्‍यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’’ प्रधानमन्त्री प्रचण्डले भने ‘‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्त्वहरू अत्तालिएका छन्। राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्त्वहरू विरोधका लागि विरोध गरिरहेका छन्, तपाईँ हामी सचेत हुनु जरुरी छ।’’ विकासमा राजनीतिक पूर्वाग्रह राख्नु नहुने उनका भनाइ छ । विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय सङ्कल्प आवश्यक रहेको उनले बताए । ‘‘विकासमा राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन, विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय सङ्कल्प चाहिन्छ’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘अर्थतन्त्रको चुनौतीबीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएका छौँ। कृषिलाई उच्च प्राथमिकता दिएका छौँ, उत्पादन र उत्पादकत्व प्रवर्द्धन गर्ने नीति लिएका छौँ। उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्छ। कृषिको अनुदान सिधै किसानको हातमा दिने व्यवस्था गर्छौँ। यतातर्फ सरकारको ध्यान गएको छ।’’ सरकारले विदेशमा पुगेका युवालाई फर्काउने कार्यक्रम ल्याएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे। विदेशमा आर्जन गरेको पुँजी, सीप र प्रविधिको सदुपयोग गर्ने वातावरण बनेको उनको भनाइ छ। ‘‘बिदेसिएका युवा स्वदेश फर्काउने कार्यक्रम ल्याएका छौँ। राज्य अभिभावक बनेर उत्पादन र रोजगारी प्रवर्द्धन गर्न तत्पर छ। विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँ’’ उनले भने, ‘‘यसपटक राष्ट्र र जनताको पक्षमा राम्रो मात्र गर्ने, नराम्रो गर्दै नगर्ने नीति लिएको छु। विदेशमा रहेका लाखौँ नेपाली सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भएका छन्। सेवाग्राही कार्यालयका लामा(लामा लाइन हटेका छन्। यस वर्ष समयअघि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्। विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदानको अधिकार दिने नीति व्यवहारमा कार्यान्वयन हुँदैछ।’’ प्रधानमन्त्रीले सरकार भ्रष्टाचारका विरुद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचार विरोधी अभियानले निरन्तरता पाउने बताए। उनले भने, ‘‘सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत भएको छ। यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ। भ्रष्टाचार विरोधी अभियान निरन्तर अगाडि बढ्छ। सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौँ।’’ भारत भ्रमणमा स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्त्वपूर्ण सहमति भएको उनको दाबी छ। भारत पुगेर देशको शिर ठाडो पारेर फर्किएको उनको भनाइ छ। ‘‘यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्त्वपूर्ण सहमति भएका छन्। इतिहासमा पहिलो पटक देशको शिर ठाडो पारेर फर्किएको छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ, यो ठुलो कुरा हो। यो सिङ्गो राष्ट्रका लागि गौरवको विषय हो। २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना ३ महिनाभित्र अगाडि बढाउने सहमति भएको छ। १० वर्षमा १० हजार विद्युत निर्यात गर्ने सम्झौता भएको छ। वैकल्पिक हवाइमार्गका लागि सकारात्मक छलफल भएको छ। अन्य महत्त्वपूर्ण परियोजनामा पनि सहमति भएको छ। यो देशका लागि दूरगामी महत्वको उपलब्धि हो।’’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट