Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

नेपालमा पहिलो पटक मङ्कीपक्सको सङ्क्रमण पुष्टि


काठमाण्डौं, १ असार । नेपालमा पहिलो पटक 'एमपक्स' अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो । नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा यो रोगको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक भेटिएको यो सङ्क्रमण अहिलेसम्म एक सय ११ देशमा पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले विदेशी नागरिकमा मङ्कीपक्स देखिएको बताए । सङ्क्रमण पुष्टि भएका विदेशी नागरिक काठमाण्डौको एक अस्पतालमा डाक्टरको निगरानीमा उपचार गराइरहेका छन् । अर्थोपोक्स भाइरस परिवारको मङ्कीपक्स भाइरसबाट हुने यो रोग मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सन् १९८० मा मध्य पूर्वी र पश्चिम अफ्रिकामा देखिएको मङ्कीपक्स त्यसयता निरन्तर देखिइरहेको छ । अघिल्लो वर्षदेखि यसले विश्वव्यापी प्रकोपको रूप लिएको छ । मङ्कीपक्स भाइरस सार्ने स्रोतबारे यकिन जानकारी नभए पनि लोखर्के र बाँदर यस रोगका लागि संवेदनशील हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मङ्कीपक्स सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरका विभिन्न भागमा फोका हुँदै पाप्रा उप्कने, टाउको, ढाड र मांसपेशी दुख्ने, आँखामा सङ्क्रमण भई दृष्टीविहीन हुन सक्ने, निमोनिया हुनेजस्ता लक्षण र मृत्युसमेत हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भाइरस सङ्क्रमण भएपछि शरीरमा पानीसहितको मसिनो बिमिरा आउने र त्यही बिमिरा फुटेर त्यहाँभित्र भएको पानी अर्को व्यक्तिको शरीरमा पुगेर सङ्क्रमण हुन सक्ने साथै सङ्क्रमित व्यक्तिको सिँगान, कफ तथा कपडा प्रयोग गरेमा पनि यो भाइरस सर्ने जोखिम हुन्छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा सम्भावित लक्षण भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, हात धुने, स्यानिटाइजर प्रयोग गर्नेलगायतका सावधानी अपनाउन भनिएको छ । यस्तै लक्षण देखिएमा सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट