Techie IT
  • २०८१ जेष्ठ २, बुधबार

नयाँ खिम्तीमा १ सय ३२ केभीको सबस्टेशन सञ्चालन, ३ जिल्लामा बिजुली आपूर्ति सुधार हुने


काठमाण्डाै ।  रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) मा रहेकाे नयाँ खिम्ती सबस्टेशनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेशन पूर्वाधार सञ्चालनमा आएको छ । गर्ज्याङ–नयाँ खिम्ती १ सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीयरूपमा बिजुली आपूर्तिका लागि निर्माण गरिएको सबस्टेशन हिजाे बिहीवारदेखि सञ्चालनमा ल्याइएको हो । सबस्टेशनमा ३० एमभीए क्षमताका दुई वटा र ३३/११ केभी, ६/८ एभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर राखिएका छन् । स्थानीयरूपमा बिजुली आपूर्तिका लागि सबस्टेशनबाट ३३ केभीका पाँच र ११ केभीका तीन वटा फिडर लाइन निकालिएका छन् । कुल ३३ केभीका फिडरलाई बिहीवार चार्ज गरी मन्थली, दोरम्बा र दोलखाको केही भागमा बिजुली आपूर्ति सुरु गरिएको छ । त्यस्तै ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । याे सहकारीले दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ । दोलखामा सञ्चालित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेशन निर्माण गरेको थियो । याे सबस्टेशनमा स्थानीयस्तरका लागि बिजुली आपूर्ति गर्ने कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेशन पूर्वाधार बनाएको हो । कुल १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेशनबाट स्थानीयस्तरमा बिजुली आपूर्ति सुरु भएको छ । नयाँ खिम्ती सबस्टेशनमा माथिल्लो तामाकोसीसहित खिम्ती र लिखु नदी काेरिडोरका जलविद्युत् आयोजनाको बिजुली जोडिएका छन् । यी आयोजनाहरूबाट नयाँ खिम्ती सबस्टेशनमा प्रवाह भएको बिजुलीलाई १३२/३३ केभी सबस्टेशनमार्फत ३३ र ११ केभीमा झारेर स्थानीयरूपमा आपूर्ति गरिएको छ । बाँकी बिजुलीलाई २ सय २० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबर र १ सय ३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सबस्टेशनतर्फ प्रवाह गरिएको छ । कुल १३२/३३/११ केभी सबस्टेशन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहीँबाट बिजुली आपूर्ति भइरहेकाे छ । रामेछापको पूरै क्षेत्रमा तथा दोलखाको जिरी नगरपालिका, वैतेश्वर र तामाकोसी गाउँपालिकाका क्षेत्रमा नयाँ खिम्ती सबस्टेशनबाट बिजुली आपूर्ति दिइएको छ । दोलखाको ती क्षेत्रमा अहिले लामासाँघु सबस्टेशनबाट बिजुली आपूर्ति हुँदै आएको थियो । साथै सिन्धुलीको सुनकोसी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमा समेत नयाँ खिम्ती सबस्टेशनबाट विद्युत् आपूर्ति दिइने छ । नयाँ खिम्ती सबस्टेशनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायत जिल्लामा बिजुली पर्याप्त, भरपर्दो र गुणस्तरीयरूपमा वितरण भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँका अनुसार नयाँ खिम्ती सबस्टेशनमा जोडिएका जलविद्युत् आयोजनाको बिजुली सिन्धुपाल्चोकको लामोसाँघु हुँदै काठमाण्डाै र धनुषाको ढल्केबरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारत निर्यात हुँदै आएको थियो । ‘नयाँ खिम्तीमा स्थानीयरूपमा बिजुली आपूर्तिका लागि पूर्वाधार नहुँदा जिल्लाभित्रै ठूलो सबस्टेशन भएर पनि स्थानीय उपभोक्ताले बिजुली आपूर्ति नपाउँदा भरपर्दो र गुणस्तरीय बिजुली उपभोगबाट वञ्चित थिए’, कार्यकारी निर्देशक घिसिङले भने । नयाँ खिम्तीबाट २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर पुगेको बिजुलीलाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो । ‘लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या थिए, अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि बिजुली आपूर्तिमा रहेका समस्याहरू समाधान हुने छन्, उपभोक्ताले भरपर्दो र गुणस्तरीय बिजुली पाउने छन्’, उनले बताए । ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ झन्डै ८० किलोमिटर छ । लामो तथा जङ्गलैजङ्गलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताले ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या बेहाेर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट बिजुली आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घटेसँगै त्यस क्षेत्रको बिजुली आपूर्तिमा सुधार हुने, लाइन मर्मतमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताए। सिन्धुलीको खुर्कोटमा रहेकाे सबस्टेशनसम्म नयाँ खिम्ती सबस्टेशनबाटै बिजुली आपूर्ति दिइने छ । खुर्कोट सबस्टेशनबाट बिजुली आपूर्ति हुने सिन्धुलीका सुनकोसी, गोलाञ्चोर र फिकल गाउँपालिकाको बिजुली आपूर्तिमा पनि सुधार हुने छ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सबस्टेशनमार्फत आएको लाइनबाट बिजुली आपूर्ति हुँदै आएको छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेशन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको याे सबस्टेशनको लागत झन्डै ८० रुपैयाँ करोड रहेको छ ।  


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट