Techie IT
  • २०८१ वैशाख १७, सोमबार

कतारका अमिर शेख अप्रिल २३ मा नेपाल आउने


काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । अमिर शेख अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणमा नेपाल आउन लागेको बताइएको छ । यद्यपि नेपाल सरकारले आधिकारिक घोषणा गरेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा तयारी चलिरहेको बताउँदै औपचारिक मिति तय भएपछि औपचारिक जानकारी गराउने बताए ।

मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा (छावा) दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यो दुई देश बिचको सम्झौताको कुरा भएको भन्दै यसको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको बताए । मन्त्रीपरिषद्ले केही निर्णय गरेपछि यस विषयमा प्रक्रियाहरू अगाडि बढ्ने उनले बताए ।

यसअघि पनि नेपालले कतारले एक प्रकारको बाज उपहार दिने तयारी गरेको थियो । कतारका सरकारले स्वीकार गरे पनि नेपालमा मन्त्रालयहरुको बिचमा कुरा नमिल्दा त्यो उपहार दिएन ।

त्यस्तै दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ, नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारबाट एउटा सरकारी टोली आएको छ । त्यसले एजेन्डा लगायतका विषयमा छलफल गरिसकेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यो टोली नेपालमै छ । भेटघाटको तालिका बारे छलफल गरिरहेको छ । भोली–पर्सीतिर उनीहरू पनि फर्किने बताइएको छ ।

अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।

अप्रिल २३ देखि हुने भ्रमणका लागि सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । भारत र चीनले कूटनीतिक कर्मचारीलाई दिने तालिम जस्तै कतार र नेपाल बिच पनि सम्झौता हुने बताइएको छ । कतारको प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ ।

नेपालमा हुने सम्झौतालाई आउने सहयोग कतारको ‘कतार फन्ड फर डेभलपमेन्ट’ ९क्यूएफएफडी०मार्फत् आउने बताइएको छ । नेपालमा यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन ।

यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुने बताइएको छ । सम्झौता भयो भने कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ, कतिपय टुंगिसकेका छन् भने कतिपयमा अझै छलफल चलिरहेको छ ।

श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका अनुसार केही श्रम सम्झौता पनि हुन लागेको हो भने त्यसको मस्यौदामाथि दुई पक्ष बिच छलफल चलिरहेको छ । तर के सम्झौता हुँदैछ भन्नेबारे चाहिँ मन्त्रालयले बताउन चाहेन ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट