Techie IT
  • २०८१ वैशाख १५, शनिबार

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छुटेका हुन् । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पूर्पक्षका लागि थुनामा छन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर हाजिरी जमानतमा छाडेको जानकारी दिनुभयो । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गएको साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र वि।स।२०७९ साल पुसमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि भने सीआइबीले बयान कागज गराएर मात्रै छाडेको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट