Techie IT
  • २०८१ वैशाख २४, सोमबार

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध


काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि पालिकालाई विद्युत् महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो ।

काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरवपालिकाका मेयर चिरीबाबु महर्जन नेतृत्वको टोलीले बिहीवार अर्थ मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँग विद्युत् महसुलको बक्यौता राफसाफ गरिदिन आग्रह गरेको हो ।

अध्यक्ष महर्जनले आउँदो आर्थिक वर्षदेखि पालिकाले आफ्नो विद्युत् महसुल तिर्ने बताए । आउँदो आर्थिक वर्षदेखि विद्युत् महसुलबापत उठेको रकममध्ये ६० प्रतिशत पालिकाले र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्नुपर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

विद्युत् प्राधिकरणले २०७४ सालदेखिको महसुल असुल्न पालिकालाई पत्राचार गरेपछि काठमाण्डौ उपत्यकाभित्रका पालिका र मेयर्स फोरमले विरोध जनाउँदै आएको छ ।

अर्थमन्त्रीलाई भेट्न पुगेका जनप्रतिनिधिले नगरपालिकालाई प्राप्त बिलमा उल्लेखित रकम तथ्यपरक नभएको गुनासो गरेका छन् । काठमाडौं उपत्यकालाई उज्यालोसहित सुरक्षित बनाउने अभियानमा लागेका जनप्रतिनिधिलाई विद्युत् प्राधिकरणले निराश बनाएको उनीहरूको आरोप छ ।

अर्थमन्त्री वर्षमान पुनले काठमाडौं उपत्यका मेयर्स फोरमका जनप्रतिनिधिले राखेको मागमा छलफल गरेर अघि बढ्ने बताए । प्राधिकरण पनि सरकारको अङ्ग भएकाले यो विषयमा सकारात्मक ढङ्गबाट अघि बढ्न सकिने उनले प्रष्ट पारे । अर्थमन्त्री पुनले विद्युत् महसुल नतिरेका कारण बिजुली लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट