Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

गाजाको दक्षिणी रफाह छाड्न इजरायली सेनाको आदेश, धमाधम शहर छाड्दै सर्वसाधरण


इजरायली सेनाले गाजाको दक्षिणी भेगमा रहेको पूर्व रफाह शहर छाड्न आदेश दिएपछि स्थानीयवासीले धमाधम शहर छाड्न थालेका छन् ।

रफाहमा झन्डै १५ लाख जना गाजाका शरणार्थी बस्छन् । तीमध्ये पूर्वी रफाहका एक लाख जनालाई तुरुन्तै शहर छाड्न इजरायलको सेनाले आदेश दिएको छ । इजरायली आदेशपछि हजारौँ सर्वसाधारणले शहर छाडिरहेका छन् । कोही पैदलै, कोही टेम्पु र साना गाडी चढेर तथा कोही खच्चरमा चढेर शहर छाडिरहेका देखिन्छन् । शहर छाड्नेमध्ये धेरैजसोले आफूहरूको जाने ठाउँ र खानेकुराको टुङ्गो नलगेको तर ज्यान बचाउनका लागि मात्रै शहर छाडेको गुनासो गरेका छन् ।

गाजा क्षेत्र तहसनहस हुनेगरी इजरायलले महिनौँदेखि आक्रमण गरिरहेको छ । गाजा ध्वस्त भएसँगै त्यहाँका बासिन्दा रफाहमा गएर बसेका थिए । गाजाको तुलनामा रफाहमा सहायता सामग्री पुर्‍यान केही सहज भएको थियो तर रफाहमै इजरायलले हमला गर्न थालेपछि सहायता सामग्री ढुवानी पनि अनिश्चित बनेको छ ।

संयुक्त राष्ट्र सङ्घसहित अन्य विश्वव्यापी मानवीय सङ्घ–संस्थाले रफाहमा आक्रमण गर्ने इजरायली तयारीको चर्को विरोध गरेका छन् । रफाहमा आक्रमण गर्दा एकातिर हजारौँ सर्वसाधारणको ज्यान जाने र अर्कोतिर मानवीय सहायता सामग्री पुर्‍याउन गाह्रो हुने सङ्घ–संस्थाहरूको भनाइ छ ।

इजिप्टको राजधानी कायरोमा दुई दिनसम्म चलेको वार्ता असफल भएपछि इजरायली सेनाले आक्रमणलाई तीव्रता दिँदै रफाह शहरमा व्यापक आक्रमण गर्ने तयारी गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी विद्रोही समूह हमासलाई पराजित गर्नका लागि रफाह शहरमा आक्रमण गर्नैपर्ने बाध्यता रहेको बताउनुभएको बीबीसीले जनाएको छ । तर हमासले भने रफाहमा आक्रमण गर्ने इजरायली उग्रताको परिणाम राम्रो नहुने चेतावनी दिएको छ । हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै रफाहबाट सर्वसाधारण निकाल्ने इजरायली योजना ठूलो विनाशको सङ्केत भएको बताएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट