Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेयपदार्थ, अनुगमन टाेली पुग्दा व्यवसायीकाे भागाभाग


बाग्लुङ । बाग्लुङका ग्रामीण बजारका धेरैजसो पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेको छ । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बाग्लुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेका सामग्री फेला पारेको हो ।

अनुगमन टोलीले बाग्लुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो । व्यवसायीले म्याद गुज्रेका सामग्री र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै पेयपदार्थ जफत गरेर नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेयपदार्थ भेटिएको र स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेर सचेत गराएको उनले जानकारी दिए । उपभोक्ता र बिक्रेतामा अझै पनि सचेतनाको आवश्यकता देखिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

पटक–पटक भन्दा पनि कम्पनी र डिलर फिर्ता लिन नआउने र बेच्न आउँदा जबरजस्ती धेरै भिडाएर जाँदा बिक्री नभएर म्याद गुज्रिने गरेको नारायणस्थानका स्थानीय व्यवसायी महेन्द्र जिसीले भने ।

केही पसलहरूले उचित भण्डारण नगरेको, म्याद गुज्रेका सामग्री अलगै राखेको नपाइएको र रङ मिसिएका खाद्य वस्तु बिक्री गरेको पाइएको उपभोक्ता मञ्च बाग्लुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । पहिलो पटकका लागि सचेत गराइएको र दोहोरिए कारबाही गर्ने चेतावनी दिएको उनको भनाइ छ ।

हिजो बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि पैँयुपाटा र नारायणस्थानका केही खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । नारायणस्थानबाट अनुगमन थालिएपछि धेरैजसो खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए । यस पटक पसल बन्द गरी भागे पनि अर्को पटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने प्रशासनले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट