Techie IT
  • २०८१ वैशाख १५, शनिबार

सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री लामिछाने


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताए ।

उनले सहकारी प्रकरणमा आफूविरुद्ध दिएको जाहेरी दर्तासमेत नभएको जिकिर गरे । सुशासन समितिको बैठकमा सांसदले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको विषयमा प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको जिकिर गरे ।

सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा माघ २२ गते जाहेरी दिएका थिए । त्यसमा लामिछानेसँगै अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनलाई विपक्षी बनाइएको थियो । दिपेश भने सहकारी ठगी मुद्दामा पक्राउ परिसकेका छन् । सूर्यदर्शन सहकारीपीडितले दिएको उजुरीमा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

यस्तै बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले पनि सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताए । उनले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीबी राई भएको बताउँदै राईलाई पक्राउ गरे स्वदेश ल्याउने प्रयास भइरहेको बताए ।

राई मलेसियामा रहेको खुलेको र उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको तर सुर्पुदगी सन्धि नभएकाले राईलाई पठाउन मलेसिया बाध्य नभएकाले समस्या रहेको आईजीपी कुँवरले बताए ।

यस्तै बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्डलाई घर बाहिर हतियार बोक्ने अनुमति नभएको बताए । प्रसाईंका सुरक्षागार्ड अर्धस्वचालित हतियारसहित चैत ५ गते सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए । बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै गृहसचिव अर्यालले घटनालाई गम्भीर रूपमा लिएको बताए ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट