मानिसमा सही विचार कहाँबाट आउँछ ? अध्यक्ष माओत्सेतुङ्
मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ ।
मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकाशबाट खस्छन् ? अहँ । के ती मगजमा सहजै उब्जन्छन् ? अहँ । ती त सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट वा भनूँ उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् । मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ । एकचोटि प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने सही विचारहरूलाई जनसमूहले बुझिसकेपछि ती विचारहरू भौतिक शक्तिमा फेरिन जान्छन्, जसले समाजलाई फेर्छ र संसारलाई नै फेर्छ । मानिसहरू आफ्नो सामाजिक व्यवहार विभिन्न किसिमका सङ्घर्षमा लाग्छन् र सफलता र असफलता दुवैबाट थुप्रै अनुभव बटुल्दछन् । वस्तुगत बाहिरी संसारका अनगिन्ती दृश्य मानिसको मगजमा उसका पाँच ज्ञानेन्द्रीयहरूबाट देख्ने, सुन्ने, सुने, चाख्ने र छुने इन्द्रियहरूबाट प्रतिबिम्बित हुन्छन् । पहिले ज्ञान इन्द्रिय ग्राह्य ज्ञान हुन्छ, इन्द्रिय ग्राह्य ज्ञान प्रशस्त जम्मा भएपछि त्यसले फट्को मार्छ अनि धारणात्मक ज्ञान अर्थात् विचार बन्दछ । ज्ञान प्राप्तिको यो एउटा क्रम हो । ज्ञान प्राप्तिको सम्पूर्ण क्रमको यो पहिलो चरण हो, बस्तुगत पदार्थबाट मनोगत चेतनामा लैजाने चरण हो, अस्तित्वबाट विचारमा लैजाने चरण हो । कसैका चेतना वा विचारहरू (सिद्धान्तहरू, नीतिहरू, योजनाहरू वा उपायहरू समेत) सही रूपले वस्तुगत बाह्य संसारका नियमहरूलाई प्रतिबिम्बित गर्छन् कि गर्दैनन् भन्ने कुरा यस चरणमा अझै प्रमाणित भइसकेको हुँदैन । यस चरणमा ती कुरा सही छन् कि छैनन् भनी ठोकुवा गर्नु अझै सम्भव हुँदैन । त्यसपछि ज्ञानप्राप्तिको क्रममा दोस्रो चरण आउँछ, यो चेतनाबाट पदार्थमा फर्काउने चरण हो, विचारबाट अस्तित्वमा लैजाने चरण हो, जसमा पहिलो चरणमा बटुलिएको ज्ञानलाई सिद्धान्तहरू, नीतिहरू, योजनाहरू वा उपायहरूले आशा गरिएअनुसारका सफलता पाउँछन् कि पाउँदैनन् भन्ने ठोकुवा गर्न सामाजिक कार्यमा प्रयोग गरिन्छ । सामान्य रूपमा सफल भएका चाहिँ सही हुन्छन् र विफल भएका सही हुँदैनन् र विशेषगरी प्रकृतिसित हुने मानिसको सङ्घर्षमा यो कुरा साँचो हो । सामाजिक सङ्घर्षमा प्रगतिशील वर्गलाई प्रतिनिधित्व गर्ने शक्तिहरू कहिलेकाहीं उनीहरूका विचारहरू सही नभएकाले होइन कि सङ्घर्षमा लागेका शक्तिहरूको सन्तुलनमा केही समयका निम्ति प्रतिक्रियाका शक्तिहरूसरह उनीहरू शक्तिशाली नभएकाले हार खान्छन्, त्यसैले उनीहरू अस्थायी रूपले पराजित हुन्छन् तर चाँडो वा ढिलो उनीहरूले विजय पाउनु अवश्यम्भावी छ । मानिसको ज्ञानले व्यवहारको कसीद्वारा अर्को फट्को मार्छ । यो फट्को अघिल्लोभन्दा बढी महत्त्वपूर्ण हुन्छ । किनभने यही एकमात्र फट्को हो, जसले ज्ञान प्राप्तिमा पहिलो फट्कोको सत्यता वा गल्तीलाई सिद्ध गर्न सक्छ अर्थात् वस्तुगत बाह्य संसारलाई प्रतिविम्बित गर्ने क्रममा बनेका विचारहरू, सिद्धान्तहरू, नीतिहरू, योजनाहरू वा उपायहरूको सत्यता वा गल्तीलाई सिद्ध गर्न सक्छ । सत्यलाई जाँच्ने अर्को कुनै बाटो नै छैन । अझ बढी विश्वलाई बुझ्नुका पछाडि सर्वहारावर्गको एक मात्र उद्देश्य यसलाई फेर्नु हो । प्राय: पदार्थबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने अर्थात् व्यवहारबाट ज्ञानमा लग्ने र फेरि व्यवहारमा फर्काउने बारम्बारका अनेकौं क्रमपछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञानसम्बन्धी मार्क्सवादी सिद्धान्त, ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यस्तो छ । हाम्रा कामरेडहरूमा ज्ञानको यस सिद्धान्तलाई अझै नबुझ्नेहरू निकैजना छन् । उनीहरूमा विचार, नीति, पद्धति, योजना, निस्कर्ष, राम्रा भाषण र लामा लेखहरूको मुहान सोध्दा ती जिल्ल पर्छन् र यस प्रश्नको उत्तर दिन सक्तैनन् । न त उनीहरू पदार्थ चेतनामा र चेतना पदार्थमा परिवर्तित हुन सक्छ भन्ने कुरा नै बुझ्छन्, यद्यपि यस्ता फट्कोहरू दैनिक जीवनकै घटनाहरू हुन्छन् । त्यसकारण हाम्रा कामरेडहरूलाई ज्ञानको द्वन्दात्मक भौतिकवादी सिद्धान्तमा शिक्षित पार्नु आवश्यक छ, जसबाट तिनले चीनलाई महान् र शक्तिशाली समाजवादी देश बनाउन र संसारभरिका उत्पीडित र शोषित व्यापक जनसमूहलाई सहायता गर्ने हाम्रो अन्तर्राष्ट्रियवादी कर्तव्यको पूर्तिका लागि आफ्नो विचारलाई सही दिशातिर लगाउन सक्छन् । जाँचबुझ र अध्ययन तथा अनुभवको सार झिक्नमा सिपालु हुन सक्छन्, अप्ठ्याराहरलाई जित्न सक्छन्, गल्तीहरू कम गर्न सक्छन्, आफ्नो काम झन राम्ररी गर्न सक्छन् र कडा संघर्ष गर्न सक्छन् । *यो अंश “हाम्रो वर्तमान ग्रामीण कार्यका केही समस्याहरूका विषयमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सस्यौदा निर्णय ” भन्ने लिखतको अंश हो । सो लिखत मे १९६३ मा कामरेड माओ त्सेतुङको निर्देशनमा तयार पारिएको थियो र यो चाहिँ अंश कामरेड माओ त्सेतुङ आफैँले लेख्नुभएको थियो । (साभार नारायण गिरी ब्लक)
तपाईको प्रतिक्रिया दिनुहोस