Techie IT
  • २०८१ वैशाख २१, शुक्रबार

पाथीभरामा केवलकार बनाउनु अघि ढुंगो झुण्ड्याउनु पर्छ

केवलकार लागि ५९ रोपनी १५ आना जग्गा सात लाख बीस हजारमा किनेर २९ करोड पचासी लाखमा केवलकार कम्पनीलाई बेचेको कुरा पनि सामाजिक संजालमा छताछुल्ल भएको छ


ताप्लेजुङ जिल्लास्थित पूर्वी नेपालसहित पूर्वोत्तर भारतमासमेत प्रख्यात पवित्र पाथिभरा (मुक्कुमलुङ, मुक्तिबुङ) धाममा केवलकार निर्माण गर्ने चर्चा भएको निकै भयो । केवलकार लागि ५९ रोपनी १५ आना जग्गा सात लाख बीस हजारमा किनेर २९ करोड पचासी लाखमा केवलकार कम्पनीलाई बेचेको कुरा पनि सामाजिक संजालमा छताछुल्ल भएको छ । के यो सत्य हो ?

यदि होइन भने खण्डन किन आएन ? दोस्रो कुरा केही जग्गा यसका लागि सरकारी वन सट्टाभर्ना दिने शर्तमा लिएको र सट्टाभर्ना दिन तापेथोकको भीर खरिद गरिएको भन्ने पनि सुनिन्छ । यो सत्य हो कि असत्य ? खुलस्त जानकारी पहिले आउदा राम्रो हो । भारतमा किन केबलकार छैन ? अब कुरा गरौं पवित्र धार्मिकस्थलहरुमा केवल कार निर्माणको । हिन्दूहरुका आस्थाका धरोहर केदारनाथ, परशुरामलगायत धेरै पवित्र धार्मिकस्थलहरु भारतका विकट टाकुराहरुमा छन् । तपाईं हामीले देखे, सुनेकै कुरा हो कि केदारनाथमा जाने असक्त तीर्थयात्रीहरुलाई 'तामदाङ'मा बोकेर लगिन्छ, ल्याइन्छ । यो काममा असंख्य नेपाली मजदूरहरु खट्दै आएका छन् । वर्षेनी यहाँको हिमपात, हिमपहिरोमा उनीहरुले ज्यान पनि गुमाएका छन् । तर त्यहाँ केवल कार निर्माण गरिएन, किन ? के भारत गरीब कंगाल भएर हो ?या त्यहाँ नेपालमा जस्तो अनेक थरीका माफिया नभए र ? कि त्यहाँ धर्मालम्बीप्रतिको सेवाभाव नभएर हो ? होइन, पुरातात्विक महत्वलाई यथावत कायम गर्नका लागि हो । 

त्यसबाट स्पष्ट हुन्छ कि पवित्र धामहरुमा यस्ता आधुनिक सुविधाहरु निर्माण गरिनु अनुचित रहेछ । पाथिभरामा केवलकार निर्माणको हतारो तीर्थयात्रीप्रतिको सद्भावले हो या अन्य केही ? यो योजना कार्यान्वयन नहुँदै बेथिति भएको कुरा त छताछुल्ल भइसकेको छ । यसबारे पहिले स्पष्ट गरिँदा राम्रो हुन्छ । पाथिभराको सवालमा अर्को पनि कुरा छ । यसको नाम र स्वामित्व या पहिचानका बारेमा पनि विवाद छ भन्ने सुन्छु । यदि कुरा सत्य हो भने पहिले त्यो विवाद सुल्झाउनु बुद्धिमानी हुन्छ । दलनमलन गरेर मात्र समस्याको समाधन हुँदैन र कसैले मान्देन पनि । ढुङ्गो झुण्ड्याउ सबैको चित्त बुझाए कुनै पनि समस्याको समाधान नहुने भन्ने हुँदैन । यस जिल्लाका हामी सबै अबगत नै छौं कि विवाद परेको ठाउँमा पहिले पहिले ढुङ्गो झुण्ड्याइन्थ्यो र समस्याको समाधान नभएसम्म त्यो ढुङ्गो हटाइदैनथ्यो । यसलाई “थारो” (विवादको संकेत) झुण्ड्याएको भनिन्थ्यो । यो काम अमाली सुब्बाले गर्थे, गराउथे । कसैका पशुले कसैको बाली खाएमा पनि अर्मल (हानी नोक्सानी) नतिराएसम्म बाली खाएको जग्गामा झुण्ड्याएको ढुङ्गो हटाइदैनथ्यो । अर्मल तिरेपछि पञ्चभलाद्मीले त्यो हटाइदिन्थे । आजकल अदालतले त्यस्तो काम 'हाललाई नगर्नु नगराउनु' भन्ने आदेश गरेजस्तो थ्यो त्यो प्रथा । ताप्लेजुङका अहिले अमाली सुब्बा भनेका को हुन् मैले भनिरहनु पर्दैन ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट