Techie IT
  • २०८० फागुन ११, शुक्रबार

गाडीले खान्छ भन्ने डर : गोपाल किराती


गाडीले खान्छ भन्ने डर गोपाल किराती १. पुस २०३९ मा सोताङ्-कुलुङ्को हुलु गाउँबाट तीस जनाको टोली कटारी बजार झर्यौं। त्यसमध्ये हामी एक जना पहिलो तथा फुच्चे यात्री थियौं। पाँच दिनमा कटारी बजार पुगियो र किनमेल गरियो। हामीले चार पाथी नुन र एक धार्नी फलामको भारी कस्यौं। भद्रगोल स्वरुपको बजार थियो। भारी कसेर बजार नजिकै आँपको बोट मुनि बास मिलायौं। खानपिन सकेका मात्र थियौं, साँझको समय गाडी आयो। गाडी हेर्न जाओँ भनेर ज्येष्ठहरु हौसिए। हामी पनि नजिकै गएर हेर्यौं। धेरै जनाले हातले गाडी छोए र हामीलाई पनि छुन कर गरे। तर, हामीले छोएनौं। किनकि, गाडीले खान्छ भन्ने डरले गर्दा हामीले छोएनौं। गाडीका ज्यादै ठुलठुला आँखाहरु थिए। धेरै पछि बुझ्दा ती हेडलाईट रहेछन, रातीको समय बाल्नु पर्ने। विद्यालयको पुस्तकमा त टिआरयुसिके-ट्रक भनेर पढिएको हो । तर, जीवनमा पहिलो पटक साक्षात ट्रक देखेको हामीलाई त्यसले आश्चार्यचकित अनि भयभीत पनि तुल्यायो। ढाकरमा भारी बोकेर नौ दिनमा घर पुगियो। २. फागुन २०४५ मा हामीलाई सोलु सल्लेरीबाट अञ्चल कारागार राजविराज सरुवा गरियो। चार महिना अघि (नेचा बजारबाट) हामी गिरफ्तारमा परेका थियौं। स्थानीय गाउँ पञ्चायतको भेलामा पुग्दा भाषण दिन प्रधानपञ्चले नै कर गरे। जबकि, काठमाडौंबाट भर्खरै गाउँ आएको हामी साथीभाइसंग भेट्न र के के गर्दा रहेछन, सो हेर्न र सुन्न मात्र त्यहाँ पुगेका थियौं। ठुला भनिने सबै जसोले कर गरेपछि भाषण ठोकियो। पञ्चायती व्यवस्था र राजतन्त्रको भण्डाफोर गरियो, जुन हाम्रो राजनीतिक विचार थियो। त्यसैलाई मुद्दा बनाएर प्रधानपञ्चले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएछन। सोताङ्को मान्छे, लेनदेनको कामले नेचा पुग्दा पक्राऊ परियो। प्रसनि दानवहादुर कार्की, एक हवल्दार र दुई जना सिपाहीले चार केजीको हथकडी दाहिने हातमा भिराएर ओरालो झारे। केही दिनको हिंडाईमा दिउसोतिर कटारी बजार पुगियो। मरुवा खोलाको सयौं जाँगर तरेर जब बजारमा पुग्यौं, ठुलो जनसमुह जुटेको पायौं। कांग्रेसका नेता रहेछन, अर्जुन खड्का। उनले प्रहरीसंग अनुमति लिएर चियापानको स्वागत जनाए। जनसमुहवीच प्रसनि कार्कीले गफ हाँके र भने -"हेर्दा कलिलै देखिए पनि यो मानिस सोलुखुम्बूको सबभन्दा ठूलो नेता हो।" विचरा एक जना फुच्चे किरातीलाई चार जना प्रहरीले बाँधेर हिंडाउनु परेकोमा प्रसनि साबलाई पनि सहज लागेको पक्कै थिएन होला, तब बुढाले गफ जोतिहाले। यध्यपि, २०४२ को रामराजाप्रसाद सिंह बम कार्वाहीमा काराबास भोगेका अनारसिंह कार्कीपछि निर्दलीय व्यवस्थाको राजकाज अभियोगमा सजाय भोग्ने सोलुखुम्बूका हामी नै थियौं। खड्काजीको चियापान सकियो। बजार पूर्वतर्फ प्रहरी चौकीमा लगेर बास बसाए। हिउदोको महिना, समस्या के थियो भने दिउसो हातमा बाँधिने हथकडी रातभरि खुट्टामा बाँधिन्थ्यो। फलामे चिसो, रात जत्ति छिपिंदै गयो, त्यत्ति नै चिसोको मात्रा थपिंदै जाने, पटक्कै निंद्रा नलागेर परेशान! कटारीबाट थोत्रो बसमा चढेर रुपनीसम्म पुग्यौं। त्यहाँबाट अर्को बसमा चढेर राजविराज।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट