Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

स्मरणमा खुशीराम पाख्रिनः चेतनाका गीत गाउँदा गाउँदै ढलेका योद्धा


‘कालो वनको बीचैमा खेतालाको गाउँ
साना साना झुपडी छैनन् आमा–बाउ
साना साना नानीहरू खेलिरहने ठाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाऊँ ...’

तत्कालिन (नेकपा माओवादी)ले २०५२ सालमा जनयुद्ध थालनी गर्नुभन्दा अघिदेखि चेतना, जागरण र आमनेपालीहरुको मर्म, दुःख, पिडा र भोगाइहरुको यथार्थ गीत गाउँ बस्तिहरुमा खुबै घन्किन्थ्यो । पञ्चायतकालमा यस्ता गीत गाउँनेहरुलाई खोजि–खोजि पक्राउ गरिन्थ्यो । देशमा ‘पञ्चे’हरुको जगजगी चलेका बेला रेडियो नेपालले त यस्ता गीत बजाउने कुरै भएन । तर गीतले देशको तत्कालिन अवस्था र व्यवस्था दर्शाउँथ्यो । 

लोकगीतको प्रगतिवादी फाँटका सरल, इमानदार र प्रतिबद्ध साधक थिए खुशीराम पाख्रिन । संगीत सिर्जना र गायनमा विचारबद्ध भएर बिताएको झन्डै चार दशक अवधिमा पाख्रिनले आफ्नो छुट्टै मौलिक पदचाप छाडेका थिए । अहिलेको यूट्युव र टिकटकको चमकधमक र ‘कस्मेटिक’ दुनियाँले उनको योगदान नदेख्न सक्छ, तर इतिहासले अवश्यै त्यसको मूल्यांकन र पुनःमूल्यांकन गर्नेछ ।

पहाडी जिल्ला गोरखाको निम्नवर्गीय तामाङ परिवारमा जन्मेका खुशीरामको बालादिन र युवा उमेर चितवनमा बित्यो । उनी रामेश, रायन, मञ्जुलहरूका गीत सुनेर आफू किशोर उमेरमा प्रभावित भएको बताउँथे । पञ्चायतकालमा व्यवस्थाविरोधी संगीत सिर्जना गरेर नयाँ धारा निर्माण गर्ने ‘वेदना’ र ‘संकल्प’ परिवार रायन र रामेशहरूले चलाएका थिए । पाख्रिनले यही धारा समाते, जुन धाराका लागि सरकारी स्वामित्वको रेडियो नेपाल पनि आफ्नो थिएन, निजी स्तरका रेकर्डिङहरू पनि आफ्ना थिएनन्, न त कोलकाता वा मुम्बईसम्मको व्यवासायिक पहुँच नै थियो उनको । 

पाख्रिनले आफ्नै सिर्जनात्मक बुँतामा चितवनमा सानोतिनो सांगीतिक टोली बनाएका थिए । राजनीतिक रूपमा चौथो महाधिवेशन (पछि मोटो मशाल) सँग आबद्ध उनी ‘वेदना’ र ‘संकल्प’परिवारको ठूलो प्रभाव रहेको मध्यपञ्चायतमा आफ्नो पाइलो राख्ने जमिन खोज्दै जनवादी संगीतका क्षेत्रमा प्रवेश गरेका थिए । पञ्चायतको उत्तराद्र्धमा मोटो मशालसँग प्रतिबद्ध भएर उनले चितवन सांस्कृतिक टोली बनाए । कतिले यसलाई ‘पाख्रिन सांस्कृतिक परिवार’ पनि भन्ने गर्थे । यही टोलीको नेतृत्व गर्दै उनी पार्टीकै अभियानअन्तर्गत स्वदेश र प्रवासमा जनवादी गीत गाउँदै आफ्नो सीप र कलाकारिता निखार्दै लगे । रामेश, रायन, मञ्जुलहरुले प्रभाव जमाइरहेको समयमा आफ्नो बेग्लै पहिचान बनाउनु सजिलो कुरा थिएन । तर खुशीरामका ‘गैंती बेल्चा उचालेर’, ‘कालो वनको बीचैमा’ जस्ता गीतले सुर र शब्दमा समेत मौलिकता दिँदै श्रोताको मन जित्यो ।

‘गैँती बेल्चा उचालेर
पहरालाई छिचोलेर
डाँडाकाँडा सम्मै बनायो
के पायो नि कुल्ली दाइले
के खायो नि कुल्ली भाइले
अर्कैले ट्याक्सी गुडायो ...’

गायक खुशीराम पाख्रिनको २०७४ मंसिर ५ गते गीत गाउँदा गाउँदै निधन भयो । नेकपा (माओवादी)का पूर्वसांसद, माओवादीका पूर्व केन्दीय सल्लाहकार तथा जनवादी गायक खुशीराम पाख्रिनको २०७४ सालमा वाम गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा माओवादी केन्द्रका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा गीत गाएर आराम गर्ने क्रममा असहज महसुस भएपछि तत्कालै उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर लगिएको थियो । सोही क्रममा उनको ह्दयघातकाकारण निधन भएको अस्पतालले जनाएको थियो । 
माओवादीले थालेको जनयुद्धमा एक छोरा (अमर दोर्जे) गुमाएका पाख्रिन शहीद परिवार हुन् । माओवादी पार्टी विभाजन भएपछि मोहन मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका पाख्रिन पछि रामबहादुर थापा (बादल)को टोलीसँगै एकीकृत माओवादीमा फर्किएका थिए । चितवन निर्वाचन क्षेत्र नं. ४ मा ०७१ सालमा भएको संविधानसभा उपनिर्वाचनमा उम्मेदवार रहेका पाख्रिनको घर पश्चिम चितवनको रामपुरमा छ ।

गीत गाउँदा गाउँदै मर्ने इच्छा व्यक्त 

तत्कालीन नेकपा (माओवादी)को गोरखाको पालुङ्टारमा सम्पन्न भएको छैठौं विस्तारित बैठकमा सहभागी भएका पाख्रिनले गीत गाउँदा गाउँदै मर्ने इच्छा व्यक्त गरेका थिए । पाख्रिनले भनेका थिए, ‘म जनताका गीत गाउँदै हिँड्छु, जनता जगाउँदै हिँड्छु । गीत गाउँदा गाउँदै मर्न पाउँ ।’ माओवादी युद्धमा नजिकबाट मृत्यु छामेको बताउने पाख्रिन अन्ततः जनताको गीत गाउँदा गाउँदै अस्ताए ।

प्रगतिशील र क्रान्तिकारी धार

२०३६ सालको ऐतिहासिक आन्दोलनभन्दा अगाडि उनी साँस्कृतिककर्मीको रुपमा र गायकको रुपमा थिए । तर एउटा निश्चित प्रगतिशील र क्रान्तिकारी धारतिर आउने संक्रमणकालमै थिए । पछि उनी प्रस्ट रुपमा एउटा प्रगतिशील र लोकप्रिय गायकको रुपमा रुपान्तरित भए र माओवादी पार्टी र आन्दोलनसँग जोडिए । 

खुसीराम पाख्रिन त्यस समयमा गायनकै कारण चितवन जिल्लाभरि नैं स्थापित भैसकेका थिए । सामान्य जनता र युवा वर्ग सबैले चिन्न थाले र ‘पाख्रिन दाइ’ भनेर नाम लिन थाले । उनका गीतहरु मौलिक र जनताले सिधा बुझ्ने खालका हुन्थे । शैली पनि एकदम जनशैली थियो । यसो हुँदा उनी छोटो समयमै लोकप्रिय कलाकारको रुपमा र एउटा क्रान्तिकारी र प्रगतिशील गायकका रुपमा स्थापित भए । उनी माओवादीसँगै अगाडि बढ्दै गए ।

पाख्रिनसँग बिताएका दिनहरुको स्मरणमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड भन्नुहुन्छ, ‘जब हामी भूमिगत भएर पञ्चायत विरोधी गतिविधि बढाउँदै जाने क्रम भयो, तब उहाँलाई चितवन जिल्लाबाट झिकेर देशका अन्य विभिन्न भागमा गीत गाउन लैजाने, अझ त्यसभन्दा बढी चाहिँ भारतमा भएका नेपालीहरुका बिचमा लैजाने काम गरियो । उहाँका गीतजस्तै, “गैति बेल्चा उचालेर, पहरालाई छिचोलेर” जस्ता गीतहरु निकै लोकप्रिय भए । भारतमा जब उहाँ जानुभयो कलकत्ता, बम्बई, मद्रास, दिल्ली, पन्जाब आदि धेरैतिर घुमाइयो उहाँलाई ।’

त्यतिबेला अखिल भारत नेपाली एकता समाज नामक सङ्गठन थियो । त्यो सङ्गठन यति व्यापक भयो कि त्यो सङ्गठन विस्तार गराउनमा खुसीराम पाख्रिनको सबभन्दा ठूलो योगदान रहेको थियो । उनका “टाढैबाट चिनियो ढाकाटोपी लाउनेलाई” भन्ने जस्ता गीत गाएपछि मान्छेहरु भावुक हुन्थे, एकदम उत्साहित हुन्थे र यसले उर्जा प्रदान गथ्र्यो ।

जनयुद्धको तयारी र जनयुद्धमा सहभागी हुने क्रममा उनले आफ्नो परिवारलाई, छोराछोरीलाई पनि युद्धमा नै संलग्न गराए । रोल्पा, रुकुम आधार इलाकामा गएर पनि उनी त्यहाँका जनतासँग निकै घुलमेल भए । उनी कवि, गायक तथा सांस्कृतिक कमाण्डर नै थिए । 

जब शान्ति प्रक्रिया आयो, त्यसपछि धेरै उतारचढाव राजनीतिमा पनि भयो । उनको जीवन गीत गाएर, बाजा बजाएर, कविता लेखेरै बित्यो । पाख्रिनले नेपालको प्रगतिशील साहित्यतिक इतिहासमा एउटा मौलिक खालको योगदान दिएर भौतिक रुपमा बिदा भए । खुशीरामबाट सिद्धान्तनिष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति र आन्दोलनमा समर्पित हुने कुरा आज पनि अनुकरणीय छन् ।

खुशीराम पाख्रिनमा कुनै खालको दम्भ, अहङ्कार र अहमता थिएन । एकदमै सामान्य र सरल गुण उनको जीवनबाट सिक्नुपर्ने पाठ हो । उनले धेरै पढेलेखेका पनि होइनन्, गीतको तालिम पनि लिएका होइनन् । सामान्य स्तरबाट विकास भएर आफ्नै ढङ्गले उनले सिर्जना गरे । यो हामी सबैले सिक्नलायक गुण हो । हार्दिक श्रद्धासुमन पाख्रिन दाइ !
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट