'देउडा गीतसंगीत संसारभर फैलाउने सोच छ'
सूर्यबहादुर साउद (विरही)

नेपाली लोक देउडा गायनको क्षेत्रमा सूर्यबहादुर साउद (विरही) सुपरिचित नाम हो । विगत झण्डै दुई दशकदेखि व्यवसायिक रुपमा यसैप्रति निरन्तर समर्पित उहाँ हाल वरिष्ठ देउडा गायक हुनुहुन्छ । अन्य भाकाको पनि गीत गाउन पोख्ख उहाँ शव्द रचना र संगीत सिर्जनामासमेत उत्तिकै माहिर मानिनुहुन्छ । प्रस्तुत छ– हालसम्म दुई दर्जनबढी एल्बम पस्किसक्नुभएका साउदसँग कालिका ठकुरीको संवादः
तपाईंको सांगीतिक यात्रा कहिलेबाट सुरु भयो ?
हुन त बालापनदेखि नै गीतसंगीतप्रति मेरो रुचि हो । तर, विशेष गरि २०६१ सालबाट व्यवसायिक रुपमा लागें ।
कसरी प्रवेश गर्नुभयो त ?
म विक्रम सम्वत् २०४४ कात्तिक ५ गते डोटी जिल्लाको कलेना–२ (हाल दिपायल सिलगढी–९) मल्लोकलेनामा जन्मिएको हुँ । सानैदेखि नै रेडियो मार्फत विभिन्न गीत सुन्थें । विद्यालयमा अध्ययन गर्दाबाटै राम्रा तथा मनले खाएका लय, शब्द कण्ठस्थ गरेको हुन्थें । कतिपय हुबहु गाउथें पनि । यही क्रममा परिमल स्नेही (हाल स्वर्गीय) का देउडा गीत पनि सुन्न थालें । उहाँ लोक डेउडा क्षेत्रको पहिलो स्रष्टा हो । अनि २०४६ सालको प्रजातन्त्रप्राप्तिपछि विभिन्न लोक देउडाका एल्बम आउन थाले । ती एल्बमका गीत पनि सुन्न र गाउन पनि थालियो । जस्तै परिमल स्नेही, नन्दकृष्ण जोशी, नरेन्द्रराज रेग्मी आदिका एल्बम आउन थाले । म पनि उहाँहरूका गीत सुनेर प्रभावित भई साथीहरूसँग सहकार्य गरी गाउथें । कलेज प्रवेश गरेपछि भने व्यावसायिक गायक नै बनें ।
किन देउडा लोक गायन नै रोज्नुभयो ?
त्यो त म डोट्याली संस्कारमा हुर्केको भएर होला । फेरि, नेपाली भाषाको उद्गमस्थल डोट्याली भाषाको आफ्नै महत्व छ । म मेरो संस्कार र संस्कृतिको अत्यन्त सम्मान गर्छु । हुन त अरु किसिमको गीतहरू पनि गाउँछु । तर, डोट्याली भाषाभाषीका गीतसंगीत र संस्कारलाई मैले विश्वभरि चिनाउने प्रण गरेको छु । र, देउडा गीतसंगीत संसारभर फैलाउने सोच छ । म यसमा लागिपरेको छु ।
अहिलेसम्म तपाईंले गाउनुभएको चर्चित गीतको एल्वम कुन–कुन हुन् ?
‘प्रीतिफूल’, ‘यो मेरो जिन्दगी’, ‘लाखबत्ती’, ‘पुतलीको भेष’, ‘विन्ती शैलेश्वरी’, ‘सेती गंगाजल्को’, ‘तेरै छ झझल्को’, ‘का लुकी ब्यान्तारा’, ‘मेरा मन पणिगै’, ‘भैंसी गोठालो’, ‘सुदूरको चेलो’, ‘बनमारा बनभरि छ’, ‘कप्पली’, नरौ मेरो सुवा’, ‘यो लोटाउनु राँगो’, ‘मेरो गाउँ जाली मुइजसी होल्ली’, ‘पोइ चढ्यो चीलगाडी’ आदि हुन् ।
दुई दशकअघि र अहिलेको समग्र गीतसंगीतमा के भिन्नता पाउनुहुन्छ ?
विगतमा यथार्थता थियो, बनावटी थिएन । वास्तविक संस्कृति अँगालेको थियो, मेहनत र अध्ययन पनि गरिन्थ्यो । र त गीतसंगीतको मानसम्मान थियो, कलाकर्मीहरुको मूल्यांकन हुन्थ्यो । त्यस्तै अनुशासित शब्दहरुको चयन हुन्थ्यो । अहिले यि सवै छैनन् । सबै त नभनौं केही भिन्नता छ, केही छाडापन बढेको छ । राम्रो पक्ष, अहिले प्रविधिको भने विकास भएको छ ।
तपाईंहरूले देउडा लोक गायन र गायकहरूको तथ्यांक संकलन गर्नुभएको छ ?
गरेका छौं । जसमा सुदूरपश्चिम साहित्य समाज, सुदूरपश्चिम देउडा समाज र अन्य विभिन्न संघ–संस्थाको देन छ । त्यसमा परापूर्वदेखि चलिआएको संस्कृति तथा संस्कारको जगेर्ना भएको छ । लुकेको शैलीहरुको उजागर गरीएको छ । ऐतिहासिक सम्पदा तथा क्षेत्रहरू गीतसंगीत मार्फत चिनाइएको छ । भौगोलिक वातावरण तथा सुन्दर स्थानहरुको वर्णन गरिएको छ । राष्ट्रिय निकुञ्ज खप्तड, बडिमालिका, डोटी शैलेश्वरी, डडेलधुरा उग्रतारा, अपि हिमाल, साइपाल हिमाल, शुक्ला फाटलगाएत विभिन्न ऐतिहासिक तथा धार्मिक क्षेत्रको गीतसंगीतमार्फत वर्णन गरि विश्वसामु चिनाइएको छ । यस्तै सजिला–असजिला क्षणहरुको गीति शब्द तथा लयबद्ध तरिकामा प्रस्तुत गरिएको छ ।
यो क्षेत्रमा लागेर अहिलेसम्म के पाउनुभयो, के गुमाउनुभयो ?
पछुताउनुपर्ने गरी अहिलेसम्म केही गुमाएको छैन । जे–जति पाएको छु यही क्षेत्रमा लागेर पाएको हुँ । विभिन्न निकाय, संघसंस्थाबाट उल्लेख्य माया पाएको छु । म राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सुदूरपश्चिम प्रदेशको सचिव, देउडा गीत प्रतिष्ठानको उपाध्यक्ष, सुदूरपश्चिम कला प्रतिष्ठान, नेपालको सचिव, पश्चिम नेपाल साँस्कृतिक केन्द्रको उपाध्यक्ष, सुदूरपश्चिम कला संस्कृति केन्द्रको उपाध्यक्ष छु । नेपाल सरकारबाट कला संस्कृति सम्मान–२०७६ लगायत विभिन्न सरकारी–गैर सरकारी संस्थाले अभिनन्दन, पुरस्कार र अवार्ड सहित सम्मान गरेका छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रतिभा पुरस्कार–२०७२, राष्ट्रिय डेउडा गीत सम्मान–२०१६ (आयोजक सुदूरपश्चिम सेवा समाज कतार), राष्ट्रिय डेउडा गायक सम्मान–२०१७ (आयोजक नेपाली सुदूरपश्चिमेली समाज भारत), राष्ट्रिय लोक डेउडा गायक सम्मान–२०१७ (आयोजक सुदूरपश्चिमेली नेपाली समाज–भारत), उत्कृष्ट डेउडा गीत सम्मान–२०७४(आयोजक पञ्चदेव विनायक नगरपालिका अछाम), राष्ट्रिय लोक डेउडा गायक सम्मान–२०७६ (आयोजक घण्टेश्वर मन्दिर आधारभूत विद्यालय), नेपाल सरकार कला संस्कृति सम्मान–२०७६ (नेपाल सरकार), राष्ट्रिय लोक तथा डेउडा सम्मान–२०७८ (आयोजक सुदूरपश्चिम सेवा समाज– यूएई), राष्ट्रिय लोक डेउडा गायक कदरपत्र–२०७९ (आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल), राष्ट्रिय लोक तथा डेउडा गायक सम्मान–२०७९ (आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल), राष्ट्रिय डेउडा गीत सम्मान–२०७९ (आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल), तेस्रो नाट्यश्वर म्युजिक अवार्ड–२०७९ (सर्वोत्कृष्ट डेउडा गायक) लगायत विभिन्न सरकारी–गैर सरकारी संस्थाबाट अभिनन्दन, पुरस्कार र अवार्ड सहित सम्मान पाएको छु । यसका अलावा गीतसंगीत क्षेत्र–विधासँग सम्वन्धित धेरै कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरेको छु ।
देउडा लोक अहिले कुन अवस्थामा छ ?
पहिलेभन्दा अहिले देउडा लोकको स्थान अत्यन्त कुशल अवस्थामा छ । विश्वमा फैलिदै छ । राज्यभित्र पनि अग्रणी स्थानमा छ । किनभने देउडा लोकगीतिका शब्दहरु भावुकका साथै यथार्थताभित्र रहेका हुन्छन । जति सुन्यो सुनिरहुँ जस्तो लाग्छन् । फेरि पहिले भन्दा अहिले देउडा लोकगीतप्रतिको दृष्टिकोण धेरै फराकिलो भएको छ । यसमा कलाकर्मी, साहित्यकार, कवि, लेखकहरुको योगदान उच्च रहेको छ । राज्यको पनि सकारात्मक दृष्टिकोण रहयो भने यसले बृहत रुप लिन्छ ।
देउडा लोक–गायन र गायकको भविष्य कस्तो देख्नुभएको छ ?
एउटै वृक्षमा त एकैनासको फल फल्दैन, कोही फूलमै झर्छ, कोही कोपिलामा सीमित रहन्छ, कुनै÷कुनैको आकारमा भिन्नता हुन्छ, कुनै कुहिएर झर्छ भने कुनै फल पुस्ट हुन्छ । यसको मतलब सबै गायकको एउटै परिस्थिति हुँदैन । कुनै गीत चल्छ कुनै राम्रै मेहनत गरेको पनि चल्दैन । सधैं एकनासको रहँदैन । समग्रमा गायक, गायन दुवैपाटाको भविष्य सुनौलो देखेको छु । -समयबद्धबाट
तपाईको प्रतिक्रिया दिनुहोस