Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

छिन्नभिन्न कांग्रेसी पुस्ता ?


https://www.jhilko.com/

नेपालको राजनीतिमा यौटा समवयी पुस्ता, प्रजातन्त्र स्थापनाको आन्दोलनमा जसको अतुल्य योगदान रहेको थियो छिन्नभिन्न भए । कोही संघर्षका लागि असमर्थताका कारणले, कोही आफ्नै दांैतरीहरुका कोप भाजनका कारणले, कोही अमुक नेताको असीम प्रेम तथा सीमान्त घृणाका कारणले सिद्धिए । असमयमा असान्दर्भिक भए । यदि आज तपाई यस पुस्ताको सामान्य फेहरिस्त हेर्नु भयो भने नेपाली कांग्रेसका सर्वशक्तिमान सभापति शेरबहादुर देउवा बिरलै आफ्ना कुनै पुराना साथीका माझ देखिनु हुन्छ । धेरै जीवित छन्, तर तिनका प्रति देउवाको कुनै सदभाव वा प्रेमको चासो देखिन्न ।
भिन्न भुमिकाका कांग्रेसी 
जेल तथा प्रवासमा रहेका कारण उमेरमा समवयी भएपनि शैलजा आचार्य, प्रदीप गिरी, चक्र बास्तोलाहरु जो धेरै जसो जेल तथा प्रवासमा रहे नेका भित्र उनिहरुको भुमिका नेपाल भित्रै रही जेलनेल खेपेका भन्दा भिन्न रह्यो । आफ्नो राजनीतिक जीवनमा देश भित्र केही काल जेलमा रहेको, र भारत प्रवासमा पनि केही समय जेल परेका, अनि बढी समय निर्वासन मै रहेको सुशील कोईराला एक अपवाद भए । उनी बडो कठिन संक्रमणकालमा मुलुकको प्रधानमंत्री भए । यही हाराहारीका भीमबहादुर तामाङ (दोलखा), ढुंडीराज शर्मा शास्त्री (अर्घाखाँची) सांसद भए, मंत्री भए । शास्त्री जी एक गुटका नेतामा सिमित हुन पुगे । भूबिक्रम नेम्वाङ (पाँचथर) बिलक्षण प्रतिभाका थिए । यद्यपि चुनावी राजनीति उनको अनुकूल रहेन । नेम्वाङ अन्तिम बेलामा नेपाली कांग्रेस भित्र भुमिकाविहीन नै रहे । मेची अञ्चल भित्र उनको सिके प्रसाईसंग मेल भएन । केन्द्रमा उनी गिरिजा बाबुसंग जोडिएका थिए । किसुन जीले उनलाई बुझ्न सकेनन् । उहाँको देहावसान भैसकेको छ । 
प्रसाइद्वयको अलमल ः
विद्वता, संगठन र सकृयताका संगम रहेका सिके प्रसाई आफ्नो समयका सर्वाधिक चर्चित एवं प्रभावकारी नेता थिए । प्रवासका दौरान वीपीका पक्षधर भनी दरिएका कारण सूवर्ण शमसेरबाट माया न पाएका उनि पछिल्लो समयमा यो थाहा पाउन सकेनन् कि उनी किसुन जीका बढी नजिक छन् कि उनको सहोदर दाजु रामबाबु प्रसाईको ? रामबाबु प्रायसः किसुन जी को कार्य समितिमा कोषाध्यक्ष रहेका थिए । गिरिजा बाबुसंग सिकेको कुरा मिल्दथ्यो । तर, झापाको राजनीतिमा चक्र बास्तोलासंग उनको पटक्कै मेल रहेन । उनि नेताहरुको दलदलमा परेर बडो निराश अवस्थामा देहत्याग गरे । 
गुरुङ लापता ः
ताप्लेजुङका सूर्यमान गुरुङ उ बेलाको बृहद् धनकुटा जिल्ला रहेको बेला नेपाली कांग्रेसको जिल्ला सभापति थिए । पछि शायद एक पटक सांसद भई राजनीतिक परिदृश्यबाट हराए । इलामका केबी गुरुङ र केबी भट्टराईको बडो नाम थियो । आफ्ना समयका प्रखर व्यक्तित्व थिए दुबै । केबी गुरुङ सांसद भए, एकाध पटक मंत्री भए । अहिले बृद्ध भए तर यस अघिदेखि नै निस्कृय हुन पुगे । उनी सकृय रहुन्जेल गिरिजा बाबुको नजिक रहे । तर, गुटगत रुपमा सुशील कोईरालालाई नेता मान्दथे । फलतः शेरबहादुर देउवाले उनलाई कहिल्यै सम्मान दिएनन् ।
प्रवासका विद्यार्थीलाइ होलोहोचो ः
वि.स. २०२६–२७ मा नेपाल बिद्यार्थी संघको जन्म हुनु अघि प्रवासमा नेपाली छात्र संघको बडो भुमिका थियो । भारतका ठुला शहरहरु दिल्ली, कलकत्ता, बनारस, इलाहावाद, पटना तथा सीमावर्ती शहरहरु गोरखपुर, दरभंगा, सीतामढी, मधुवनी आदिमा छात्र संघ अत्यन्त सक्रिय थियो । यस मध्येका सीमावर्ती क्षेत्रमा सक्रिय रहेका महेश्वरप्रसाद सिंह, महन्थ ठाकुर कांग्रेसमा महत्वपूर्ण स्थान पाए । चर्चित नै रहे । सप्तरीका हिम्मत सिंह पनि थिए । सप्तरीदेखि कपिलबस्तु सम्ममा यस्ता कैयौं प्रतिभावान मानिसहरु थिए, जसले प्रवासमा निकै सकृयता देखाएका थिए । यिनीहरुलाई नेपालमा नेविसंघ बालाहरुले कहिल्यै उचित संज्ञानमा राखेनन् । 
भिल्लको देशमा मणी ः
नेपाल विद्यार्थी संघको संस्थापकको रुपमा पनि तथा यसको जन्ममा सकृय तथा प्रेरक रहेकाहरु मध्ये मार्शल जुलुम शाक्य, कमल चित्रकार, पिएल सिंह, वीरनाथ कर्माचार्य, शंकर घिमिरे, दमननाथ ढुंगाना, हरिबोल भट्टराई, राजेन्द्र खरेल, ध्यानगोबिन्द रंजितकार, बीरेन्द्रभक्त श्रेष्ठ  लगायतको भुमिका बिशिष्ठ रहेको छ । यी सबैको इतिहासको अभिलेखमा लामो चर्चा छ । मार्शल जुलुम शाक्य वि.स. ०४७ को केपी भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मंत्री हुनु भएबाटै उनको भुमिकाको महत्व थाहा पाउन सकिन्छ । स्व. कमल चित्रकार, हरिबोल भट्टराई र पिएल सिंह बिभिन्न कालखण्डमा काठमाण्डौंका प्रधानपंच तथा मेयर भए । पिएल सिंह केही समय मंत्री पनि भए । गणेशमान जी संगको अटुट पारिवारिक सानिध्यताका कारणले पिएल कांग्रेस भित्र “भिल्लको देशमा मणीको महत्व” झैं रहे । गणेशमान जीको मृत्यू पछि पिएलले नेपाली कांग्रेस परित्याग गरे । कसैको आँखा रसाएन । 
दमनमाथि दमन ः
दमननाथ ढुंगाना अर्को प्रतिभा हुन् । कोईराला परिवारको ज्वाई पनि । सभामुख भए, पछि कयौं संसदीय निर्वाचनहरुमा पार्टीका तर्फबाट उम्मेदवारसम्म बनाईएन, पछिल्लो समयमा टिकट पाए, पराजित भए । दमन जी सभामुखको रुपमा जुन व्यवसायिक योग्यता देखाए । गिरिजा बाबुले सभामुखको तेस भुमिकालाई कहिल्यै न्याय गर्न सकेनन् । आजका जीवित कांग्रेसजनमा शायद सबभन्दा खारिएका मानिस दमन जी शेरबहादुर जीले बिरलै संझिने नाम होला । 
कर्माचार्य र घिमिरेको निधन ः 
वीरनाथ कर्माचार्य (काठमाण्डु) र शंकर घिमिरे (काठमाण्डु)को असामायिक निधन भयो । आज धेरैलाई यि दुबैको नाम पनि याद छैन होला । शंकर धिमिरेकी श्रीमती र वीरनाथकी श्रीमती शिलुप्यारी कर्माचार्य पछि राष्ट्रियसभा तिर कि संविधान सभामा ल्याईयो । 
खरो बोल्ने ओमकार ः शालिन श्यामलाल
ओमकार श्रेष्ठ (पाटन) उही पुस्ताका सर्वाधिक यातना तथा जेल जीवन विताएका नेता हुन् । उनी लगातार १५÷१६ बर्ष जेलमा बसेर रिहा भएका हुन । खरो र स्पष्ट बोल्ने ओमकार जी गणेशमान जी तथा किसुन जीको बढी सामिप्य थिए । तर, गुण दोषका आधारमा गिरिजा बाबुका प्रति पूर्वाग्रही थिएनन् । जबकि, देउवा र पौडेलहरुले ओमकारलाई रूचाउँदैनथे । आज उनी स्वस्थ्य छन् तर भुमिकामा छैनन् । श्यामलाल श्रेष्ठ काठमाण्डुका उही श्रेणीका नेता हुन् । पुराना एक मित्रले भनेको संझिन्छु, शालिनताले नै श्यामलाललाई ठुलो हुन दिएन । तर उनी असल भने अवश्य हो । माथी उल्लेखित नामहरु बडो योगदान दिएका प्रतिभावान नामहरू हुन् । तर, यस प्रतिभावान पुस्तालाई नेबिसंघका संस्थापक भनिने कालान्तरमा नेकाका नेतृत्व सम्हालेका शेरबहादुर–रामचन्द्र पौडेल जीहरुले पन्छाए । एकाध अपवाद बाहेक कसैको उदीयमान संभावनालाई राष्ट्र र प्रजातन्त्रको हीतमा उपयोग हुन दिईएन् । 
संस्थापकको चर्चा ः
नेपाल बिद्यार्थी संघको संस्थापकका साथै यसका पदाधिकारी समेत रहेकाहरू मध्ये रामचन्द्र पौडेल, विपिन कोईराला, शेरबहादुर देउवा, स्व. मच्छेन्द्र पाठक (नुवाकोट), चिरन्जीवि वाग्ले (गोरखा), स्व. शिवबहादुर खड्का (रामेछाप), स्व. पुरुषोत्तम बस्नेत (सोलु), अर्जुन नरसिंह केसी, आनन्द ढुंगाना (धनुषा), रामशरण महत, स्व. अशोक कोईराला (मोरङ), देबेन्द्रलाल नेपाली (पर्सा), दुर्गा आचार्य (मोरङ, पछि घिमिरे), स्व. हरि न्यौपाने (मोरङ), राम सिटौला (झापा), दामोदर गौतम (काठमाण्डु), सीताराम निरौला (सोलु), पिताम्बर दाहाल, कृष्णबहादुर राउत (मोरङ), अनारसिंह कार्की, तारानाथ रानाभाट, अर्जुन खडका (उदयपुर), हेरम्ब बहादुर थापा (उदयपुर) बशन्त गुरुङ (महोत्तरी), दुर्गा पोखरेल (धनकुटा), वीरेन्द्रभक्त श्रेष्ठ (काठमाण्डु), गोबिन्द राज जोशी (तनहुँ), शुक्रराज शर्मा (कास्की), शेषकान्त अधिकारी (चितवन)हरु वि.सं. २०१७ पछि नेपाली राजनीतिमा आ–आफ्ना योगदानका कारणले चर्चामा रहेका छन् । 
वाग्ले गण्डकी किनारमा ः
मच्छेन्द्र पाठकको बहुदल न आउँदै रहस्यमय निधन भयो । विपिन कोईराला र शिवबहादुर खडका पंचायती व्यवस्थाको अन्तिम समय तिर केही कालका लागि पंचायत प्रवेश गरे, पछि मातृ पार्टी नेपाली कांग्रेस मै फर्केर विपिन कोईराला थोरै समय मंत्री भए । चिरन्जीवि वाग्ले नेका भित्रको गुटगत राजनीतिमा उपयोग गरिएका सबैभन्दा ठुलो नाम हो । भनिन्छ, संसदीय व्यवस्थालाई अफाप देखाउने राजा ज्ञानेन्द्रको खेलमा यिनको राजनीतिक समाप्तिमा देउवा साक्षी बने । निरीह साक्षी भने होईन । अहिले कतै काली गण्डकीको किनार तिर बसेर शायद नेपाली कांग्रेसको इतिहास लेख्दै छन् । यिनले समातेका गुटको बहना पक्रेर शेरबहादुर आठौं दशौं पटक प्रधानमंत्री हुन पर्खी बसेका छन् । 
महत देउपाको तुरुप ः
प्रकाश शरण महतलाई प्रवद्र्धन गरेर देउवाले आफ्नै समकक्षी तथा नेविसंघका महामंत्री समेत भएका रामशरण महतलाई शायद अवकाशमा पुर्याएका छन् । अर्जुन नरसिंह केसी अत्यन्त लोकप्रिय नेता हुन् । उनी पंचायतमा लागेका थिए । तेस बखत समेत मंत्री तथा जिल्ला पंचायतका सभापति भए । बहुदल आएपछि यिनी गणेशमान जीको बडो नजिक भए । नुवाकोट कै डा. रामशरण चुनाव हारेपनि गिरिजा बाबुबाट योजना आयोगको उपाध्यक्ष बनाईए । भनिन्छ, गणेशमान जी र गिरिजा बाबुको पहिलो मतभिन्नताको जरो डा. महतको यही नियुक्ति हुन गयो । जबकि डा. महत केही समयपछि गिरिजा बाबुसंग नजिकिए । अर्जुन नरसिंह केसी पनि गणेशमान जीसंग रहेनन् । गिरिजा बाबुकै खेमामा आए । जबकि उही बेलादेखि शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरुले अर्जुनलाई कहिल्यै राम्रो मानेनन् । आज अर्जुन जी शेरबहादुरका अनेकन् गलत काम कुरोको खुला बिरोध गरिरहेको भेटिन्छ । यसै समयका टिका पोखरेल बडो कठिन समयमा नेविसंघका महामंत्री थिए, पछि राजनीतिको मूलधारमा देखिएनन् । नवीन जंग प्रकाश शाह (धादिङ) थाईलैण्डका लागि राजदूतसम्म बनाईए । यिनको पारिवारिक गाथा उतुलनीय छ ।
चटोत चट ः
टेकबहादुर चोख्याल कैलालीबाट प्रतिनिधी सभामा केही पटक निर्वाचित भए । मंत्री पनि बनाईए । यिनी सदैव देउवासंग रहे जबकि तारिणी दत्त चटौत (कञ्चनपुर) को बडो योगदान गरेको पारिवारिक पृष्ठभुमी पनि छ । उनि मंत्री पनि भए तर लाउडा एयर प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर छेउ किनारमा बस्नु पर्यो । सुदूर पश्चिमको काँग्रेसी राजनीतिमा देउवाले तारिणीलाई निमिट्यान्न् नै बनाएर छोडे । 
मायालुलाइ देउपाको हेला ः
सिद्धराज ओझा सुदूर पश्चिमका एक हस्ती हुन् । उनी गिरिजा बाबुका पक्षमा रहेपनि तेताको शक्ति सन्तुलनका लागि देउवाले यिनलाई सहेरै बसे । यस भेगबाट  खेमराज भट्ट मायालुको नाम बिर्सन सकिन्न । राष्ट्रिय राजनीति मै एक ठुलो नाम हो । बीचको समयमा यिनी नेपाली कांग्रेस परित्याग गरि रामराजा प्रसाद सिंहको जनवादी मेर्चामा सिंह पछिको नेता थिए । राजतन्त्रको बिरोधमा शसस्त्र अभियान चलाए । पंचायत कालमा सर्वस्व सहित मृत्यूदण्डको सजाय सुनाईएको थियो, पछि आममाफी पाएपछि पुनः नेपाली कांग्रेस मै फर्किए । सुदूर पश्चिममा मायालुको नाम देउवा भन्दा ठुलो थियो । तर, जब खेमराज नेपाली कांग्रेसमा फर्किए–देउवा निकै ठुलो भै सकेका थिए । फलतः चुनाव लडनका लागि यिनी डडेलधुराबाट तल झरेर बर्दीया आए । शेर बहादुरले यिनलाई जीवन पर्यन्त मन पराएनन् । उनको पनि देहावसान भैसक्यो । 
गोपालमान श्रेष्ठ (स्याङजा)हरु पटक पटक सांसद–मंत्री भए । गोपालमान देउवाका नजिक छन् । मोरङका बद्रीनारायण बस्नेत एक उद्भट क्रांतिकारी हुन् । सदैव कोईराला निवासको नजिक रहे । तर, कोईराला परिवारले यिनलाई हुत्याई दिए । यिनी देउवा क्याम्प तिर लागे, शायद देउवाले पनि यिनको सान्दर्भिकतालाई जोगाई दिएनन् । 
सम्पादकमा सिमित दाहाल ः
होमनाथ दाहाल (ओखलढुंगा) पनि एक स्तुत्य नाम हो । कांग्रेसमा लामो इतिहास भएको, राष्ट्र पुकार साप्ताहिकको सम्पादक । जुन राष्ट्र पुकारका कारणले नेविसंघको एक पुस्ता, देउवाहरुको पुस्ताले पहिचान पाए–तेही देउवाको पुस्ताले होमनाथ दाहाललाई मुलधारको राजनीतिमा उठ्न न दिनका लागि सम्पादक को सम्पादक नै बनाई राख्न चाहे । यिनले सांसद र थोरै समय मंत्री भएपनि यथोचित्त स्थान एवं मूल्यांकन पाउन सकेनन् । ऋषिकेश गौतम (बारा) पनि थोरै थोरै समय मंत्री भए । हिम्मत सिंह (सप्तरी), मेघनाथ अर्याल (गुल्मी), गौरी राणा जोशी (काठमाण्डु) को नेपालको प्रजातान्त्रिक आन्दोलनमा बडो ठुलो योगदान छ । यस्ता कैयौं दर्जन नामहरू छन् । लगभग सबैले ५÷७ पृष्ठका इतिहासलाई पठनीय बनाउन सक्छन् । आज यिनीहरु नेपाली कांग्रेस, प्रजातन्त्र स्थापनाको आन्दोलनको भग्वनाशेषमा दबेर रहेका छन् । कोही भने जाज्वल्यमान भएका छन् । सर्वकालिक र सबै युगका लागि आफुलाई अविश्वमरणीय बनाई सकेका छन् । 
यहाँसम्म लेख्दा म स्वयंले बिर्सी सके कि म यो फेहरिस्त किन लेखे ? तैपनि यी पंक्तिहर लेखँे–सानो अभिलेखको रूपमा । 
धरमपुर, सप्तरी
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट