Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

विराटनगरबाट गुलेली र ढुंगासहित १७ जना आन्दोलनकारी पक्राउ


विराटनगर, १४ जेठ । कोसी प्रदेशको राजधानी विराटनगरबाट गुलेली र ढुंगासहित पहिचान पक्षधर १७ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ। प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः प्रदेशको नामकरण गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको समूहलाई प्रहरीले पक्राउ गरेको हो। कोसी प्रदेशको प्रदेशसभा सचिवालय नजिकको देवकोटा चोकबाट १४ र अस्पताल चोकबाट तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको हो। पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा थाङ्साङ लावती, दीपा आदाङ्मालगायत रहेका छन्। पक्राउ परेकामध्ये १४ जनालाई प्रदेश प्रहरी गण रानी लगिएको छ। तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। अधिवेशनका लागि सांसद (प्रदेशसभा सदस्य) लाई संसद (प्रदेशसभा भवन) प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए। प्रदेशसभा वरपर भेला भएका पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नामकरणविरुद्ध आन्दोलनरत पक्षले बजेट अधिवेशन बिथोल्ने योजनासहित आन्दोलनको तयारी गरेपछि प्रदेशसभा रहेको स्थान लगायत केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीले ब्यारिकेट राखेर पहिचान पक्षधरलाई निषेधित क्षेत्र प्रवेशमा रोक लगाएको छ। आन्दोलन हुने स्थान वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट