Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

देश दौडाह, दम्भ र द्वन्द्व


अहिले मुलुकमा धार्मिक र जातिय विद्वेष विष्फोटनको संघारमा पुगेको छ । पश्चिम पहाड भूकम्पले थिलथिलो भएको छ । प्राकृतिक एवम् गलत राजनीतिक परिपाटीले मुलुक सङ्कटमा परेको बेला देशको एक जिम्मेवार राजनीतिक दलले देश दौडाहको विगुल फुकेको छ । जुन दौडाहले देशका यी कुनै जटिलतामा रहत पुग्दैन कि उल्टै आक्रोस र मुडभेटको वातावरण सिर्जना गर्न सक्छ । जनताको अबुझपन र नेताको हावादारी एवम् ढाँट प्रवृत्तिले जन्माएको दम्भबाट ओरालो लागेको छवि उकास्ने र फेरि शासक बन्ने अभिलाषा राखेको देखिन्छ ।

एक जिम्मेवार राजनीतिक दलले देशको विविध भूगोलमा बसेका जनताका जीवन शैली अध्ययन गर्न र उनीहरुको अभाव, समस्या र अप्ठेराहरु बुझेर स्थान र परिवेश सुहाउदो बिकासको मोडल निर्माण गर्न स्थलगत भ्रमण गर्नु सान्दर्भिक हुन्छ । विविध संस्कृति र सभ्यतमा अडिएको समाज र तिनको सामाजिक समस्याको निराकरण गर्न र समय सुहाउदो समाज विकासको योजना बनाउन पनि प्रत्यक्ष अध्ययन अवलोकनको खाँचो हुन्छ । परिवर्तित राजनीतिक व्यवस्थाको मजबुतीकरण र दीगो विकासको खाका निर्माण गर्न पनि जनताको घर दैलोमा जानु आवश्यक छ भने बिथोलिएको सामाजिक सद्भाव र सहष्णिुतालाई समन्वय गर्न, खस्किएको जनविश्वास र निरासालाई उकास्ने न्यूनतम गुरुयोजना र उद्देश्य सहित गरिएको दौडाहले मात्र मूर्त रुप प्राप्त गर्नसक्छ तापनि भ्रमणमा यी न्यूनतम उद्देश्य भेटिएन । बरु भेटियो अहङ्कार, दम्भ, सत्तोसराप, गालीगलौज र राजसी ठाँटबाँट । 

करोडौंका चिल्ला गाडी, वरिपरि सेवकहरुको लावालस्कर, सजिसजाउ मञ्च र स्वागत द्वार देख्दा लाग्थ्यो राणा र शाह कालभन्दा पनि अझ चाकडीबाजको शैलीमा बढोत्तरी भयो कि जस्तो । सबै सामन्ती शासकको झल्को दिने साजसज्जा देख्दा लाग्थ्यो कुनै बादशाहको सवारी चल्दैछ ,देशमा कुनै राजाको जन्म भैसक्यो भनेर । राणा कालमा लावालस्कर सहित  सवारी चलाउँथे र आफ्नो नामसित गाउँ वा सहरको नाम जोड्थे (अमलेख गञ्ज, वीगञ्ज, वीरपुर,भीमनहर आदि)भने चाकरीवाजलाई पुरस्कृत गर्थे, लाटा सोझा रैतीलाई अन्यायको भुङ्ग्रोमा सेकाउँथे । यसकै निरन्तरता राणापछि राजा महन्द्रेले कञ्चनपुरलाई “महेन्द नगर” नामाकरण गरेर प्रत्यक्ष देश दौडाह गरेको इतिहास छ । घोडामा सवार राजाको घोडा दुई जनाले समाइदिनुपर्ने, दौडेको घोडा र घोडसवार राजालाई बन्दोबस्तीको सामाग्रीको बोझ बोकेका सिपाहीले पछ्याउनुपर्ने दुर्दान्त अवस्था देखिन्थ्यो रे । २०४२ सालतिर राजा वीरेन्द्रले कर्णालीको सुर्खेतबाट देश दौडाह गर्ने क्रममा सुर्खेतको नाम “वीरेन्द्र नगर” राखे र पश्चिमबाट नै देश दौडाह थालेका थिए । रैतीको नाममा संबोधन गर्दै हेलिकोप्टरमा सवार राजाको स्वागतमा देशभरमा करोडौं रकम स्वाहा भएको थियो भने जनता रोग, भोक र अभावले आक्रान्त थिए । उनीहरुको जीवनस्तरमा कुनै परिवर्तन आएन । दौडाहमा गर्ने खर्च जनताको जीवनस्तर उकास्न, शिक्षा स्वास्थ्य र रोजगार सिर्जनामा गर्न सकेको भए सार्थक हुने निश्चित थियो तर त्यसो गरिएन । बाहिर देश र जनताको अवस्था बुझ्ने नारा भएपनि आन्तरिक रुपमा सत्ता बिरोधी अराष्ट्रिय तत्वहरुको कत्लेआम नै थियो ।

ती दौडाहले जनताको सही संबोधन गर्न नसक्दा राजा महेन्द्रमाथि बम प्रहार भयो, राजा वीरेन्द्रलाई कालो झण्डा देखाउदा कैयो निर्दोष नागरिक जेलमा कुहुनु प¥यो ।  अन्ततः दौडाहले सत्ता जोगाएन, यी सबै शासकलाई सत्ता मोहबाट विमुख बनायो । ईतिहासले के प्रमाणित गरेको छभने जब सत्ता धराशयी हुने बखत आउँछ तब शासक छटपटिन्छ र पश्चिमबाट पूर्वको दौडाहमा निस्कन्छ । यो दौडाह पनि यी राणा र राजाको भन्दा फरक देखिएन किनकी यात्रा पश्चिमबाट नै थालियो भला (महेन्द्र नगर, वीरेन्द्र नगर, वीरगञ्ज) नाम राखिएन, औकात नपुगेर हो वा नमिलेर हो । हरेक संबोधन स्थलमा भव्य स्वागत द्वार किमती मञ्च र रातो कार्पेटमा स्वागत गरेको देखियो । “समृद्धीका लागि संकल्प यात्रा” नाम दिए पनि विपक्षीलाई सत्तोसराप गर्ने र आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको देखियो ताकि सबै लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिन नसके समृद्धि आउँदैन भन्ने कुरा बिर्सिएको देखियो । आफू सत्तामा गए सबै समस्या हल गर्ने डिंग हाकेको देख्दा जनताले दिएको दुई तिहाइको शक्ति दुरुपयोग गरेको विषय ओझेलमा पारेर जनता अलमल्याएर पुनः सत्ता हत्याउन खोजेको पाइयो । वस्तु सत्यलाई तोडमोड गरेर पानीमाथिको ओभानो हुने काम बिगतका शासकले पनि गरेका थिए । 

भनेको सुनिन्छ “लोकतन्त्रमा जनता जनार्दन (भगवान/मालिक) हुन्” तर यो पंतिकारले नबुझेको कुरा नेता जनार्दन कि जनता ? यदि जनता मालिक हुन् भने सेवक (नेता) मालिकको घर आउँदा यत्रो चाकरी किन ? जनताको गाँस काटेर, गरिब ढाँटेर महाराज शैलीमा रातो कार्पेटमा टेकाएर सोफामा बसाएर व्यञ्जन हजम गराउन पर्छ र ? धेरै ठाउँमा बिन्तिपत्र हालेको देखियो के लोकतन्त्र भन्ने व्यवस्थामा मालिकले नोकरलाई बिन्तिपत्र हाल्नुपर्छ र ? सामन्ती राज्य सत्ता भएको बखतमा जनता दास र शासक मालिक भएकोले राजा महाराजाहरुको सवारीमा बिन्तिपत्र चढाउने पुरानो प्रचलनको निरन्तरता देखियो । यी दृष्यले नेपाली र।ाजनीति र राजनेताहरुमा सामन्ती राज्य सत्ताको धङधङी जिवितै रहेको देखियो । सिर्तो भर्ने, दाम चढाउने, बिन्तिपत्र चढाउने रातो कार्पेट बिछाएर जनताको पसिनाले जोडेको राजस्व खर्च गरेर शासकको स्तुती गर्नु दासत्वको द्योतक हो भने लोकतन्त्रको बदनामी हो । यहाँ त जनता अझै दास नै रहेको र नेता परिवर्तित महाराजा भएको आभास भयो ।

यी सबै कार्यले लोकतन्त्रको उछितो काढेर राजतन्त्रको झल्को मात्र दिएन अझ भयावह घटनाको समेत पुनरावृत्ति गरायो । दौडाहकै क्रममा जनकपुरमा महेन्द्रलाई बम हाने जसरी लेगुवामा झापट हानियो रे । यो दुभर्मग्यपूर्ण घटनाले भयावह द्वन्द्वको संकेत गरेको हुनसक्छ । यसलाई लुकाउने प्रयास गरियो, ढाकछोप गर्ने कोशिस भयो तर अन्तमा आफैंले भाषण गर्ने क्रममा “गोरुले जस्तो घ्याच्च हान्न पाईन्छ” भन्ने वाक्यांशले पुष्टि गरिदिए । लेगुवाका महेश राई प्रतिनिधि पात्र हुन् । उनको यो हर्कतले राई किराती (जनजाति) मा असन्तुष्टिको आगो दन्किएको आभास गराउँछ । पूर्वमा प्रदेश राजधानीको नामाकरणका लागि रगत बगाएको किरात समुदायको अपमान हुने अभिव्यक्ति दिदै लावालस्कर लिएर उनीहरुको दैलोमा यति बेला जानु श्रेयस्कर थिएन । भुसको आगो जस्तो भित्रभित्र सल्किएको असन्तुष्टिको भुङ्ग्रोलाई डढेलोमा परिणत गरेर द्वन्द्व बढाउने काम भयो । यसले जातिय विद्वेषको विजारोपण गराएको देखिन्छ । जनमासमा देखिएका आक्रोसलाई कूटनितिक रुपमा हल गर्न छोडेर अहङ्कारको पराकाष्ठामा अल्झिएर बढाएको विद्वेष उचित विधिले शमन गर्न नसके निकट भविष्यमा जातिय द्वन्द्व सुनिश्चित देखिन्छ भने लोकतन्त्रको जिलोमा शासक भइ टोपलेकाहरुको कत्लेआमको तरवार घाँटीमा तेर्सिएको छ ।

बिगतको समीक्षा गरेर आगतलाई सुधार्नु बुद्धिमानी हुन्छ । राणाहरुको दौडाहले दरबार स्कुल, वीरअस्पताल, (बाके, बर्दिया, कैलाली, कञ्चनपुर) नयाँ मुलुक निर्माण ग¥यो । राजाहरुको दौडाहले पुल पुलेसा बने, राजमार्ग बने, भूमि सुधार भयो र भूमिहीन किसानले राहत पाए, गाउँ फर्क अभियानले मानिसलाई सबल बनायो, देशको भौगोलिक र प्रशासनिक सिमाङ्कन गरियो । शिक्षा, स्वास्थ्य, औद्योगिक, कला, साहित्य, संगीत र भाषाको अब्बल विकास भयो । सामन्ती राज्य सत्ताभए पनि कतिपय जनप्रिय काम भएका थिए । यो दौडाहबाट पनि केही महत्वपूर्ण कुरा घोषणा हुने अपेक्षा यो पंक्तिकारको थियो तर आजसम्म कुनै स्वेतपत्र जारी भएन तापनि भाषणबाजीमा बसाई सरेर मधेस झरेकालाई पहाड फर्काउने उद्घोष गरेको देखियो तर आधार पेश गरिएन । जबसम्म शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको ग्यारेन्टी हुदैन तबसम्म कोही फर्कदैन भन्ने थाह होला राज्य चलाउने र चलाइ सकेकालाई । चलाइ सकेकाले फिर्ताका लागि के गरे देखिएकै छ र चलाउदै गर्नेहरु के गर्दैछन् हेरिदैछ । “जे गरिदैन त्यो भनिन्छ, जे भनिदैन त्यो गरिन्छ” नेपाली राजनीतिमा । हुन त दौडाहमा खोजिएको विषय अरु नै थियो तर भनियो त्यो । गर्नका लागि भनिएको होइन, केही भनिदिनु परेकाले भनिदिएको मात्र हो । पहाडलाई गुल्जार बनाउने लक्ष्य हो भने हरेक नेता नामधारीहरुले घर तराइ र उपत्यकामा किन सार्थे, अझ प्रदेश राजधानी कुन दुर्गम पहाडमा बनाएका छन् ? सबै सुविधा सम्पन्न तराई र सहरमा राखेका छन् । पहाडमा बस्ती बसाउने भए प्रदेश राजधानी तराई र उपत्यकाका सहरबाट पहाडी गाउँमा सार्न सक्नुपर्छ पहाड आफैं हराभरा हुन्छ । हरेक नेता सहरका महल बेचेर पहाड फर्कनु पर्छ, अस्पताल विद्यालय, विश्वविद्यालय दुर्गम ठाउँमा स्थानान्तरण गर्ने आँट गर्नसक्नुपर्छ ।

रगत बगाउनेहरु फेरि रगत बगाउन समय कुर्दैनन् । जनता सेवित नेता होइन, नेता सेवित जनता हुनपर्छ । जनताप्रति नेताको श्रद्धा हुनुपर्छ र नेताप्रति जनताको विश्वास हुनुपर्छ । दलिय र जातिय आँखाले जनतालाई हेर्नु नेताको कच्चा बुद्धि हो । जबसम्म यो विभेद रहन्छ तबसम्म जनताबाट नेता सुरक्षित हुदैनन् भने नेताबाट जनता सन्तुष्ट हुदैनन् । असन्तुष्टिको आगोमा राणा, राजा मसान घाट पुगे भने लोकतन्त्र पनि नपुग्ने कुरै भएन तसर्थ अहङ्कारले द्वन्द्व जन्माउछ, द्वन्द्वले विखण्डन ल्याउँछ, विण्डनले शक्ति क्षीण बनाउँछ र शक्तिहीन भएपछि हरेक वस्तु शून्यतामा बिलाउँछ । 
(हाल खोटाङ)



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट