Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

सत्ता र दम्भको पहाड चुलिँदा गणतन्त्रमाथि धावा


राम र रावणको अहङ्कारले लङ्का जल्यो, दुर्योधनको हङ्कारले हस्तिनापुर ढल्यो । उपत्यकाका मल्ल राजाहरूको आन्तरिक कलहले पृथ्वीनारायण शाह जन्मायो, जङ्ग, समशेर र विक्रमको बिचमा भएको (ए.बी.सी) वर्ग विभाजनले कांग्रेस कम्युनिष्ट जन्मायो । कांग्रेस र कम्युनिष्टको जुँगाको लडाईंले पञ्चायतको उदय गरायो । पञ्चायतका पञ्चहरूको अधिनायकताबाट बहुदलीय व्यवस्थाको पुनस्थापना गरायो भने बहुदलीय व्यवस्थाका जिम्मेवार दलबीच भएको निषेधको राजनीति र दलभित्रको आन्तरिक कलहबाट नेपाली राजनीतिले सशस्त्र युद्धको बाटो समातेको थियो । जुन युद्धले नेपाली समाज संस्कृति र कुलिन तन्त्रको तमाम पक्षमा परिवर्तन गरे पनि शान्ति सम्झौताको दुई दशक व्यतित हुँदासम्म प्रतिगमन र यथास्थितिवादी चरित्रको टाउको दुखाई भएको छ । 

सत्ताको वगडोर समाउने हरेक शासकहरूले आफ्नो गरिमा जोगाउन र जनआक्रोश दबाउन अनेक प्रपञ्च गरेका थिए । कोतपर्वबाट उदाएका जङ्ग बहादुरको कत्लेआम गर्न भण्डाखाल पर्वको रचना, राणा शासन जोगाउने उद्देश्यले १९९७ मा चार सहिदलाई दिएको फाँसी, महेन्द्र पथ रोक्न षड्यन्त्रपूर्ण सभाको आयोजना, र राजाको कत्लेआमको योजना, पञ्चायत जोगाउन र बिरोधीको मनोबल घटाउन गरिएको निर्मम छिन्ताङ हत्याकाण्ड, पिस्कोर र झापा हत्याकाण्ड, जनआवाज दबाउन २०३७ सालमा गरिएको जनमत संग्रह र सुधारिएको पञ्चायती व्यवस्था नामाकरण गराएर “सबै नेपाली पञ्च, सबै पञ्च नेपाली” भन्ने नारा बनाएर सबै नेपालीलाई पञ्च बनाउने योजनाले पनि जनआक्रोश शान्त बनाएन ।

गणेशमानको निवास चाक्सीबारीबाट भारतीय प्रधानमन्त्री चन्द्र शेखरले २०४६ मा सल्काएको आन्दोलनको मसाल मथ्थर पार्न पञ्चहरूको र्याली देशभर उरालियो ।  पञ्चायतको भूत जोगाउन र्यालीको अगुवाई गर्दै “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” भन्दै भीडको अगाडि उफ्रिने उग्र पञ्हरू  नै २०४६ चैत्र २५ गते बिहानबाट उन्नत बहुलवादी भएर झण्डा बोकेर राजा र पञ्चलाई गाली गर्न थाले । सत्ताको वरिपरी बसेर हण्डी खाने र शासकको प्रिय भएर पाउ मोल्ने चम्चाहरूबाट नै अधिक रुपमा खतरा रहेको तथ्य इतिहासले प्रमाणित गरेको छ भने सत्ताको साँचो जोगाउन दल, बल र शक्तिको भरपुर प्रयोग गर्दा पनि सत्ता सुरक्षित भएको देखिँदैन । किनकि सत्ता वरिपरी रहेर शासकको कमजोरी पत्ता लगाएका विश्वास पात्रहरू नै त्यसको बिरुद्धमा जाने र आन्तरिक रुपबाट बिद्रोहीलाई गोप्य सूचना दिने काम गरिरहेका हुन्छन् ।

दमनले विचार र बिद्राहे रोक्ने भए हिजोका शासकले आजका बहुलवादीलाई जेलमा हावा खुवाएकै हुन् । जनयुद्ध हाँक्ने नाइकेहरुको टाउकाको मोल तोकेकै हुन् । बिद्रोह जति दबायो त्यति सवल हुन्छ भनेर जान्दाजान्दै पनि संविधान विपरित काम गर्न कसैलाई छुट छैन । जनबिद्रोह दबाउन गोल्डस्टार जुत्ता लगाएका मलामी मारेकै हो । घरमा बसेकी मैना सुनुवारलाई बलात्कार गरेकै हो । आज ती कुरा बिर्सिएर सडकमा दौरा सुरुवाल र ढाका टोपी लगाएका मानिस गिरफ्तार गरिंदैछ । यो महाभुलले लोकतन्त्रको जुइनो छिनाल्दैछ । पहिरनमा पहिचान खोज्ने र ‘गाई कि त्रिशूल’को सिक्का लडाइमा विश्वास गर्ने महाराज शैली कायमै देखियो ।

वास्तवमा लोकतन्त्रकाबिरुद्ध उब्जिएको यो चुनौतिमा पनि सत्ताको विश्वास पात्रबाट नै धावा बोलिएको छ । जनयुद्धकालमा प्रचण्डको खोकिलामा बसेर माओवादीको वस्तुसत्य बुझिसकेपछि एमालेको पोल्टामा घुस्रिएर आन्द्राभुँडी दुहि सकेको र एमालेका गम्भीर कमजोरी पत्ता लगाएको पात्र नै यस आन्दोलनको अगुवा भएकाले खतराको सम्भावना छ । साम, दाम र भेदको अस्त्रलेसमेत दुर्गा प्रसाईँलाई वशीकरण गर्न खोजिए पनि युवा संघको ताकत नपुगेपछि प्रसाईँको गालामा मोसो दलेर तर्साउन खोजेको देखिन्छ । मोसो काण्डले प्रसाईँको आन्दोलनमा जनताको सहानुभूति पलायो भने एमालेप्रति जनविश्वास घट्न थाल्यो । अझ प्रसाईँको समर्थनमा आएका महिलामाथि युवा संघले मध्य रातमा गरेका दानवी व्यवहारबाट रुष्ट भएर कतिपय युवा संघका नेता, कार्यकर्ता पार्टी छोडेर प्रसाईँको समर्थनमा उभिए । एमाले नेतृ गंगा चौधरीले “राजसंस्था देशको मेरुदण्ड हो, अब राजा ल्याउनुपर्छ” समेत भन्न लाज मानिनन् । एउटा जिम्मेवार पार्टीका नेता, कार्यकर्ताले गरेका लोकतन्त्र बिरोधी गतिविधिले लोकतन्त्रलाई पाताल प्रवेश नगराउला भन्न सकिँदैन ।

दम्भको पहाड चुलिएपछि आफैं भत्किने प्राकृतिक नियम हो । जसरी २०४८ सालको निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ११० स्थानमा विजय हासिल गरेर एकलौटी सरकारको नेतृत्व गरेको थियो, तर नेतृत्वको अभिमान र निरङ्कुशतालाई चुनौती दिँदै चिरञ्जीवि वाग्ले लगायत ३६ सदस्यले अविश्वासको प्रस्ताव पेश गर्नासाथ समस्याको समाधान नखोजेर तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले जनमतलाई आमाको दाइजो मानेर आफ्नै सरकार विघटन गरेर मध्यवधि चुनावबाट बिरोधीको पत्तासाफ गर्ने ‘इगो’ राखे र संसद भंग गरे । २०५१ कात्तिक अन्तिम सातामा भएको मध्यवधि निर्वाचनमा जनताले कांग्रेसको अभिमान तोड्न एमालेलाई पहिलो र कांग्रेसलाई दोस्रो मत जाहेर गरेभने कुनै पनि दललाई बहुमत दिएनन् ।

मध्यवधि चुनावबाट अल्प मतको कम्युनिष्ट सरकार मनमोहन अधिकारीको नेतृत्वमा गठन भयो । जसले “नौ स”का कार्यक्रम अन्तर्गत स्थानीय निकायलाई बजेट दिने कामको आरम्भ गरेको थियो भने “६० वर्षमाथिका वृद्धवृद्धालाई कम्युनिष्टहरुले मारिदिन्छन्” भन्नेहरुको भ्रम चिर्न वृद्धवृद्धाहरुलाई मासिक १०० (एक सय) वृद्ध भत्ता दिने ऐतिहासिक निर्णय गरेको थियो । आज सिन्को नभाँच्नेहरु त्यै वृद्धभत्ताको ताउलो थापेर दधिचीको हाडमा ईन्द्रले रजाई गरेजस्तो मनमोहनको हाड समातेर देशमा अराजकता मच्चाउँदै छन् । बिस्तारै पार्टी सशक्त बन्दै गयो र कम्युनिष्टहरुले २०५४ को स्थानीय चुनावमा लगभग ७० प्रतिशत स्थान ओगटेतापनि बिस्तारै सत्ता उन्माद बढ्दै जादा सोही वर्ष फागुन २१ मा वामदेव गौतमले पार्टी फुटाएपछि २०५६ को चुनावमा प्रतिपक्षमा पुगेको थियो ।

बहुलवादी अतिचारको पराकाष्ठको उपजका रुपमा २०५२ सालबाट नेपालमा सशस्त्र जनयुद्धको घोषणा भयो । बहुलवादको रामराज्यमा डकारेर बसेकाहरुले त्यो क्रान्तिलाई केही मानिसको असफल प्रयास भनेर हलुका टिप्पणी गरे र दमनचक्र चलाउँदै टाउकाको मोल तोकेर तर्साउन खोजे । तर त्यहाँ पनि संसद र संसदीय खेलका कमजोरी राम्ररी अध्ययन गरेका बाबुराम सामेल थिए । यसको कमजोर पाटोमा आक्रमण गर्न थाले भने २०५४ मा एमाले फुटेपछि असन्तुष्ट कार्यकर्ताले माओवादी क्रान्तिलाई साथ दिए  । यसैले छोटो समयमा नै जनयुद्धले मूर्तरुप लियो । तथापि देशले ठूलो क्षति व्यहोर्नु पर्यो । मैना सुनुवार जस्ता अबोला बालिकाले बलात्कृत हुनपर्यो । यी सबै घटना परिवेशले सत्तासिन कांग्रेसको प्रभाव घट्दै गयो र आत्मरक्षाको अवस्थामा पुग्यो भने बिस्तारै सत्ताको साँचो जनताले कम्युनिष्टको पोल्टामा सुम्पिए । २०६४ मा भएको संविधान सभा निर्वाचनमा माओवादीलाई अभिमत प्रदान गरेपनि आपसी खिचातानीले संविधान बनाउन नसकेपछि २०७० को संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसलाई ठूलो दल बनाइदिए र मिलेर संविधान बनाउने संकेत गरे । 

कुनै पनि दलले बहुमत नपाउने र जनविश्वास पनि घट्दै गएको महसुस गरी स्थानीय तह निर्वाचन २०७४ मा जीवन मरणको संघर्ष गरेका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एउटा उत्तेजनामा पुगेर अनायश पार्टी एकता गर्ने र वाम ध्रुवीकरण गरेर जाने महत्वकांक्षा बोकेर “नेकपा” नामको जालो थापेर जनतासामु आए । मुलुक र जनताको चाहनानुसार हो भन्ने बुझेर २०७४ को चुनावमा यिनीहरुको जमातलाई दुई तिहाइको मत प्राप्त भयो । देशको प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी) भए । उनले जनता र देशको हितभन्दा पनि उपद्रो र हाँसी मजाक गर्न थाले । लगभग तीन वर्ष सत्ता चलाउँदा नव तानाशाहको प्रवृत्ति देखाए भने नेकपा बिघटन गरेर एमाले एक्लैले दुइतिहाई ल्याउने ध्वाँस पिटेर संसद बिघटन गर्न तम्सिए । अन्त ः २०७९ को चुनावमा दोस्रो भए । उडन्ते हावादारी गफ गर्नेर प्रतिपक्षलाई घटिया गाली गर्ने, सदन अवरुद्ध गरेर संसद बन्धक बनाउने उनका हर्कतले लोकतन्त्रमाथि नै प्रश्न उठायो ।

सत्ताले मातेका दल र तिनको उग्र प्रवृत्तिकै कारण रास्वापा जन्मियो । राप्रपाले जनमत प्रभाव पार्यो । संसदमा हुने लोकतान्त्रिक दलको गलत उपस्थितिले लोकतन्त्र बिरोधी दलहरुको प्रभाव बढायो । तैपनि दलका लगौटियाहरुको मति सुध्रिएन । राजा, राणा र तिनको कार्य शैलीलाई सत्तोसराप गरेर आएका दल र तिनको पछौटेहरु राजा र राणाभन्दा निरङ्कुश भएका छन् । सामन्त, दलाल र पूँजीपतिको बिरोध गररे साम्यवादको सपना देखाउनेहरु नै महासामन्त, पूँजीवादी र दलालका नाइके भएका छन् । दलाल, पूँजीपति र सामन्तसित सहकार्य गर्न लालयित भएका छन् । यसकै एउटा प्रतिरुप हुन् दुर्गा प्रसाईँ र दलको गलत मार्गको उपज हो उनको आन्दोलन । 

दुर्गा प्रसाईँ एउटा विचार हो । विचार सही वा गलत दुबै हुन्छ । विचारलाई शक्तिले निस्तेज बनाउन सक्दैन । विचारलाई उचित व्यवस्थापन गर्न नसके बिद्रोह जन्मिन्छ । नदीलाई बाँध बाँधेर रोक्ने, हावालाई बन्धक बनाएर छेक्न निश्चित अवधिसम्म मात्र सम्भव हुन्छ । त्यसको उचित निकास नभए बाढी र विष्फोटन भए जस्तै विचार बिद्रोहमा बदलिन्छ । आफ्नै केन्द्रीय सदस्यको व्यवस्थापन गर्न नसक्दा दुर्गा नामको समस्या एमालेले बल्झाएको देखिन्छ भने उसले आफ्नो नीजि विचार व्यक्त गरिरहँदा युवा संघले कालोमोसो दल्नु राजनीतिक अहमको पराकाष्ठा हो । यसले बिद्रोहको आगोमा तेल थपिदियो । आन्दोलनका लागि गएका महिलामाथि गरिएको दुव्र्यवहार संविधान र संघीय कानूनको उल्लङ्घन हो । नेपालको संविधान २०७२ को भाग ३, धारा १७, उपधारा (२) (क) र (ख) मा “विचार अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता” हुने कुरा उल्लेख छ । यो लोकतन्त्रमा सबैले बोल्न लेख्न पार्इंदैन कि जस्तो आभाष युवा संघको गतिविधिबाट देखियो । यहाँ श्रीपेच नलगाएका छद्म राजाको एकतन्त्रीय शासन छ जस्तो भान भएको छ । 

दमनले विचार र बिद्राहे रोक्ने भए हिजोका शासकले आजका बहुलवादीलाई जेलमा हावा खुवाएकै हुन् । जनयुद्ध हाँक्ने नाइकेहरुको टाउकाको मोल तोकेकै हुन् । बिद्रोह जति दबायो त्यति सवल हुन्छ भनेर जान्दाजान्दै पनि संविधान विपरित काम गर्न कसैलाई छुट छैन । जनबिद्रोह दबाउन गोल्डस्टार जुत्ता लगाएका मलामी मारेकै हो । घरमा बसेकी मैना सुनुवारलाई बलात्कार गरेकै हो । आज ती कुरा बिर्सिएर सडकमा दौरा सुरुवाल र ढाका टोपी लगाएका मानिस गिरफ्तार गरिंदैछ । यो महाभुलले लोकतन्त्रको जुइनो छिनाल्दैछ । पहिरनमा पहिचान खोज्ने र ‘गाई कि त्रिशूल’को सिक्का लडाइमा विश्वास गर्ने महाराज शैली कायमै देखियो । गोल्डस्टार जुत्ता लगाउने सबै माओवादी थिएनन् भन्ने हेक्का नराख्ने तत्कालीन सत्ता र दौरा सुरुवाल र टोपी लगाउनेलाई आन्दोलनकारी देख्ने वर्तमान सत्तामा कुनै अन्तर देखिएन । संविधान प्रदत्त अधिकारमा धावा बोल्ने युवा संघको अमानवीय हर्कत र पहिरनको आधारमा गिरफ्तार गर्ने सरकारको कदम दुबैले जनआक्रोस बढाउने र लोकतन्त्रको जरोमा आगो लगाउने काम गरेको देखिन्छ ।

बिद्रोह गर्ने र प्रतिकार गर्ने दुबै समूह एउटै गुरुका चेला हुन् । एक अर्काको स्वार्थ टकराएकाले गल्ती ढाकछोप गर्ने कसरत पनि हुनसक्छ । “गोरु गाडामा बसेर अमेरिका पुगिँदैन” भन्ने भनाइलाई आधार मान्ने हो भने यो आन्दोलन लोकतन्त्र तुहाउने षड्यन्त्र पनि हुनसक्छ । दुबै खेलाडीको प्रशिक्षण थलो एउटै भएकाले उनीहरुको स्वार्थ मिलेपछि पुरानै घरमा भित्रिन सक्छन् । यी सबै कुरालाई मध्य नजर गरेर संघीयता र लोकतन्त्रका पक्षधर दलहरु समयमै सुध्रिनु जरुरी छ । जनताका आवाजलाई मुड्कीको बलमा बन्द गराउन छोडेर सबैको विचारको सम्मान गर्न सक्नु पर्दछ । पिस्कोर, छिन्ताङ, जस्ता काण्डले पनि बिद्रोह नरोकेको कुरा बिर्सनु हुँदैन । बिगतको सिंहावलोकन गरेर वर्तमानमा सुधार नगर्ने हो भने लोकतन्त्रको जरोकिलो हुन धेरै समय लाग्दैन । तसर्थ प्रवचन घटाएर प्रवृत्ति सुधार्नु पर्छ । दमन समस्याको उचित समाधान होइन भन्ने विवेक गुमाउनु हुँदैन । 


दिक्तेल रुपाकोट मझुवागढी ८,
खोटाङ

 

 

 

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट