Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

चाडपर्व, स्वास्थ्य र सुरक्षा


नेपाली हिन्दुहरुको ठूलो पर्व दसैँ हाम्रो घर आँगनमा नजिकिँदै छ । दसैँ मनाउन विदेश गएका र देशका बिभिन्न स्थानमा रोजगार, व्यापार, अध्ययन आदिको सिलशिलामा घर–गाउँबाट बाहिरिएकाहरु स्वदेश तथा गाउँघर आगमनको तयारी गरिहरका छन् । यतिबेला आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्श्राद्ध जारी छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्श्राद्ध गरिने धर्मशास्त्रीविद्हरुको भनाई छ । यस वर्षको दसैँको जमारा राख्ने दिन अर्थात, घटस्थापना यही असोज २८ गते आइतबार परेको छ । 

अहिले सहरबजारमा किनमेल गर्नेको भीड पनि बढ्न थालेको छ । अधिकांशले दसैँ, तिहार र छठका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडाको जोहो दशैंमा नै गर्ने भएका कारण पनि देशका अधिकाँश सहर बजारमा भीड बढ्न थालेको हो । 

दशैं, तिहार, छठ जस्ता चाडपर्व हाम्रा अमूल्य गहना हुन् । ती गहनालाई उपयुक्त ढंगले धारण गर्न सकेमा मात्र ती चाडपर्वको महत्व र आकर्षण चिरपर्यन्त कायम रहन्छ । चाड पर्वका बेला अरुको देखासिकी गर्नाले अनावश्यक खर्च बढ्छ र चाडपर्वपछि कतिपय नागरिक ऋण तिर्न विदेश हानिनुपर्ने बाध्यता आइपर्छ । यस कार्यले ‘आयो दसैँ ढोल बजाइ, गयो दसैँ ऋण बोकाइ’ भन्ने उखान चरितार्थ बन्न पुग्छ । यसले चाडपर्वको महत्व तथा आकर्षण हराउँछ भने यस्ता पर्वहरु बोझिला बन्न पुग्छन् । अनि कालान्तरमा चाडपर्वहरु मासिंदै जान्छन् । अतः हाम्रा चाडपर्वको महत्व र आकर्षणलाई संरक्षण गर्ने दायित्व पनि हाम्रै काँधमा रहेको छ ।

परिवारका ज्येष्ठ सदस्यका हातबाट टीका र जमरासँगै आशीर्वाद थाप्न पाउनु अहोभाग्य मान्नुपर्छ । तर, ती ज्येष्ठ सदस्य जसको कुनै कमाइ छैन, अरूको सहारामा बाँच्नुपरेको छ, अरुको खटनमा खानुपरेको छ, त्यस्ता व्यक्तिले पनि आफूकहाँ आशीर्वाद थाप्न आएका छोरीचेलीलाई खुशी पार्नकै लागि दक्षिणा बढाएर दिनुपर्ने सोच हामीले राख्न हुँदैन । आफूभन्दा ठूलाबडाको आशीर्वाद थाप्न पाउनु लाखौं रुपैयाँ पाउनुभन्दा पनि ठूलो कमाइ हो । यो सोचाइ र संस्कार हामीले हाम्रा भावी पुस्तालाई दिन सक्नुपर्छ । टीका लगाइसकेपछि दक्षिणा कति पायौ ? यो प्रश्न अधिकांश अभिभावकको हुन्छ आफ्ना साना छोराछोरीसँग । त्यो हाम्रो ठूलो भूल हो । आशीर्वादलाई पैसामा दाँज्दै जाने हो भने हाम्रा चाडपर्वको आकर्षण बढ्दैन, घट्दै जान्छ  । जब चाडपर्व पैसासँग जोडिन्छन् त्यसलाई व्यवसायीकरण भएको मान्नुपर्छ । 

अहिलेको सन्दर्भमा मीठो मसिनो खान र राम्रो लगाउन चाडपर्व नै कुर्नुपर्छ भन्ने छैन । जहिले इच्छा लाग्छ, तहिले पाइन्छ । तर, अरुलाई देखाउनकै लागि चाडपर्वकै समयमा गरगहना, लुगाफाटो जोड्ने गर्दा हुनेको फुर्ति बढ्ला तर नहुनेलाई बाध्यता पर्छ र ऋण गरेरै भए पनि चाडपर्व मनाउनुपर्छ । अतः हुनेले संयमता अपनाएर चाडपर्व मनाउँदा नहुनेलाई केही राहत मिल्छ ।

सरकारले पनि हरेक वर्ष चाडपर्वहरुको पूर्वसन्ध्यामा सहुलियत दरका खाद्यान्न पसलहरु सञ्चालन गर्ने गरेको छ । यस वर्ष पनि सरकारले त्यस्ता सहुलियत पुसलहरु देशका बिभिन्न स्थानमा सञ्चालनमा ल्याएको छ । सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले यही असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने छन् । 

उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन मुख्य पर्वको अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

चाडपर्वको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सरकारले काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ ठाउँबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण थालेको छ । काठमाडौं उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुँदैछन् । यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ । 

असत्यमाथि सत्यको विजय भएको दिन भनेर दसैंको दसौँ दिनलाई विजयादशमी भनिन्छ । हामीले असत्यलाई परास्त गर्न सक्यौं कि सकेनौं ? सत्य के हो अनि असत्य के हो भनेर आफ्ना सन्तानलाई बुझाउन सकेका छौं कि छैनौं ? यसबारेमा पनि हामीले सोच्न जरुरी छ । बाहिरी रूप जस्तो सुकै भएपनि भित्री स्वभावले मानवी र दानवी प्रवृत्तिलाई बोध गराउने सत्यलाई हामीले बुझेर पनि बुझपचाइरहेका छौं कि । हामी आफैं पनि बाहिर सुन्दर भएर हिंडेका छौं, तर भित्री रूप दानवी हुन सक्छ । त्यसलाई नियन्त्रण गर्न लागिपरेका छौँ कि छैनौँ ? यसबारेमा पनि गम्भीर भएर सोच्नुपर्छ ।
अतः हाम्रा चाडपर्वलाई आर्थिक दृष्टिकोणले बोझिलो बनाउने होइन, सरल बनाउनुपर्छ । घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई मनन गर्नुपर्छ । धनले होइन, मनले भावनात्मक सम्बन्ध मजबूत पार्नुपर्छ । आपसी भाइचाराको सम्बन्ध धनले होइन, मनले नै जोड्न सक्नुपर्छ । सानासाना बालबालिकालाई उचित संस्कार दिन सक्यौं भने मात्र हाम्रा चाडपर्व सहज ढंगले मनाउँदै जान सकिन्छ, अन्यथा व्यवसायीकरण हुँदै जाँदा चाडपर्व कुनै दुर्घटनामा पर्न सक्छन् र ती चाडपर्वको अस्तित्वमाथि प्रश्नचिन्ह खडा हुन्छ ।

स्वास्थ्य र सुरक्षामा ध्यान दिऊँ

हामीले चाडपर्वको समयमा स्वास्थ्यको राम्रोसँग विचार पु¥याउनु पर्छ । हाम्रो भोजनको शैलीले खानाको गुणस्तर तथा परिकारले हाम्रो स्वास्थ्य निर्धारण गर्छ । हिजोआज चाडपर्वको खान्की स्वास्थ्य निर्माण गर्नेभन्दा पनि बिगार्ने प्रकारको रहेको छ । 

नेपालका अस्पतालको आँकडा हेर्याैं भने दुईवटा चाडपर्वपछि सबैभन्दा धेरै बिरामी अस्पताल गएका हुन्छन् । ती मध्यका हुन् दसैं, तिहार र छठ । सबैभन्दा धेरै बिरामी चाडपर्वपछि इमर्जेन्सी वार्डहरु भरिन्छन् । मान्छे अस्तव्यस्त भएर खान्छ, राक्षसी प्रवृत्तिले देखाउँछ । मान्छे सृष्टिले बनाउन खोजेको देवता हो तर खानपिन यसरी गर्छ कि राक्षसी पाराले । हामीले चाडबाडको बेला हाम्रो स्वास्थ्य बनाउनुपर्नेमा उल्टै रोग कमाउँछौं । 

हामीले के खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ र के खाँदा हानि हुन्छ भन्ने कुरामा ध्यान नदिँदा पेटका रोगी बढेको बढ्यै छन् । चाडपर्वको बेला मदिराको अत्यधिक सेवनले लड्ने, झगडा गर्ने, हिंसा गर्ने, घटनाहरु त्यत्तिकै बढेका हुन्छन् । धेरै आपराधिक घटनाहरु पनि बढेका हुन्छन् । हामीले हाम्रा चाडपर्वलाई अपराधको कारखाना बनाएका पो छौँ कि ? अपराध दुई प्रकारका हुन्छन् । एउटा आफैंमाथि गरिएको र अर्काे अरुमाथि गरिएको अपराध । अरूमाथि गरिएको अपराधका लागि त प्रहरी छ, अदालत छ । उनीहरुले रोक्छन् । तर आफैँमाथि गरेको अपराध कसरी रोक्ने ?

चाडपर्वका बेला हामी आफ्नो घर वा डेरा छोडेर आफन्तकोमा जान्छौं । यो बेला हामीले घरको सुरक्षामा विशेष ख्याल पु¥याउनु पर्छ । आजकल सामाजिक सञ्जालको प्रयोग बढी नै हुने गरेको छ । हामीले सामाजिक सञ्जाल प्रयोगमा विशेष ख्याल प¥याउन सक्यौँ भने पनि हाम्रो घरको सुरक्षा गर्न सकिन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीबस व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिहरुलाई थाहा हुन्छ र उनीहरु मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । त्यसैले सामाजिक सञ्जाललाई सही रुपमा सदुपयोग गर्न जानियो भने भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट