Techie IT
  • २०८१ वैशाख ३०, आइतबार

उप निर्वाचन : इलाममा बिहान ११ बजेपछि र बझाङमा दिउँसोपछि मतगणना गर्ने तयारी


काठमाडौं ।  इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ । मतपेटिका गएराति अबेर मात्र सङ्कलन गरेर सदमुकामको मतगणनास्थल ल्याइएको छ । आज बिहान सर्वदलीय बैठक बसेर निर्णयअनुसार मतगणना गर्ने तयारी छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल र उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको जानकारी दिए । सबै प्रक्रिया पूरा गरेर बिहान ११ बजेपछि गणना शुरु गर्ने तयारी छ ।

इलामको गौतम बुद्ध सभा हलका दुई ठाउँमा मतगणना हुनेछ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारबार गरी सिसीटिभी जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतपेटिका उच्च सुरक्षा साथ राखिएको छ । इलाम–२ मा राजनीतिक दलका  र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँ हिजो भएको उपचुनावमा ६० प्रतिशत मत खसेको छ ।

एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भएको हो । उनका छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि बझाङ–१ (क) मा भएको उपचुनावमा झन्डै ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा सङ्कलन गरिएको छ ।

साइपालको काँडा, धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका आज बिहान हेलिकोप्टरमार्फत् ढुवानी गरिँदैछ । सबै मतपेटिका सदरमुकाम पुगिसकेपछि सर्वदलिय बैठक बसेर दिउँसोदेखि गणना शुरु गर्ने तयारी छ ।

बझाङ–१ ९क० मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि हिजो उपचुनाव भएको हो । त्यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक उम्मेदवार छन् भने एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगले मतदानमा जस्तै गरी मतगणना कार्यमा पनि सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेको जनाएको छ । कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था आएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट