Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

भारतको बथनाहादेखि विराटनगरसम्म रेल्वे सेवाको प्रम प्रचण्ड र मोदीद्वारा संयुक्तरुपमा उद्घाटन


काठमाण्डौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । नयाँदिल्लीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् । विराटनगरको एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए । भारतको बथनाहाबाट विराटनगरको आइसिपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । यो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधवार पनि यो रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ । आज उद्घाटन भएपछि यो रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ । बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन । केही स्थानमा मुआब्जा विवाद कायमै छ । यो समस्या समाधानका लागि पहल भइरहेको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो रेलमार्ग निर्माण भएको हो । विवरणअनुसार भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेशन निर्माण गर्ने सरकारको योजना छ । कूल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटर बराबर छ । आयोजनाको कूल लागत तीन अर्ब ७३ करोड भारतीय रुपैयाँ छ । उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएकोे थियो । यस्तै हाल जनकपुर जयनगर रेलमार्गसमेत सञ्चालनमा छ । यो रेलमार्ग महोत्तरीको बर्दिवाससम्म निर्माणाधीन छ । केही स्थानमा भने निर्माण सम्पन्न भइसकेको छ । भारत सरकारले नेपालका विभिन्न छ स्थानमा रेलमार्ग निर्माण गर्ने सम्झौता तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणका क्रममा भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट