Techie IT
  • २०८१ वैशाख २२, शनिबार

८ महिनामा अलपत्र परेका १२ जना विदेशी पर्यटकको उद्धार


काठमाडौं । घटना : १ - २०८० मङ्सिर २५ गते काठमाडौं फर्पिङमा एक जना ३३ वर्षीय फिनिस नागरिक बेवारिसे अवस्थामा फेला परे । उनको मानसिक अवस्था पनि ठिक नभएको थाहा हुन आयो । उनलाई पर्यटक प्रहरीले तत्काल उद्धार गर्‍यो । रिप्पा सिद्धि योग संगठन डल्लु फर्पिङसँगको समन्वयमा उनलाई सोही संगठनको गुम्बामा राखियो । ती फिनिस नागरिक  मङ्सिर २९ गते गुम्बाबाट भागेको खबर प्राप्त भयो । तत्काल खटिएको पर्यटक प्रहरीले खोजी गर्ने क्रममा काठमाडौँ ठमेलमा फेला पारी उद्धार गर्‍यो । उनलाई आवश्यक प्रक्रिया पूरा गरी नेपालस्थित फिनल्याण्ड दूतावास र ती विदेशी नागरिककी आमासँगको समन्वयमा एअर इन्डियाको उडानद्वारा स्वदेश फिर्ता पठाइयो ।

घटनाः २ –२०८० चैत १४ गते बेलायती नागरिक ६५ वर्षीया टेरे जुवानिता बटलर भिसा नवीकरण नगरी गैर कानुनी रूपमा नेपालमा बसिरहेको अवस्थामा पर्यटक प्रहरीले काठमाडौँ बौद्धमा फेला पार्‍यो । उनको सन् २०२२ अक्टोबर २७ मा भिसा समाप्त भइसकेको रहेछ । उनी भिसा नवीकरण नगरी गैर कानुनी रूपमा नेपालमा बस्दै आइरहेको पुष्टि भयो । उनलाई पर्यटक प्रहरीले आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौँमा बुझायो ।

यी दुई विदेशी नागरिकको घटना प्रतिनिधि घटना मात्र हुन् । यसरी अलपत्रमा परेका तथा बिरामी भएका १२ जना विदेशी नागरिकलाई चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा पर्यटक प्रहरीले उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । यसै गरी सो अवधिमा गैर कानुनी रूपमा नेपालमा बसेका ८ जना विदेशी नागरिकलाई आवश्यक कारबाहीका लागि पर्यटक प्रहरीले अध्यागमन विभाग बुझाएको छ ।

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको सेवा, सुरक्षा एवं आवश्यक सूचनाहरू उपलब्ध गराउने उद्देश्य सहित विसं २०३५ माघ १२ गते पर्यटक प्रहरीको स्थापना भएको हो । नेपाल प्रहरीको विशेष इकाईको रूपमा रहेको पर्यटक प्रहरी हाल काठमाडौँ उपत्यकाको १० ठाउँमा र उपत्यका बाहिर १२ जिल्लाका १९ ठाउँमा विस्तार भई काम गर्दै आएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित ३७० वटा उजुरीहरू परेका छन् । ती मध्ये सामग्री हराएका २७३ वटा, चोरीका ४९ वटा, ठगी गरेका ११ वटा, लुटपाट ५ वटा, अभद्र व्यवहार १७ वटा, आक्रमणका २ वटा, दुर्घटनाका २ वटा, धाकधम्की १ वटा, मानिस हराएको ४ वटा, दुर्व्यवहार १ वटा र अपहरणका १ वटा रहेका छन् । आर्थिक वर्ष २०७७र०७८ मा ७९ वटा, आर्थिक वर्ष २०७८र०७९ मा १८० वटा र आर्थिक वर्ष २०७९र०८० मा ५३२ उजुरी परेका थिए । यी आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा डकुमेन्ट र सामग्री हराएको सङ्ख्या सबैभन्दा बढी देखिन्छ ।

बिरानो देशमा आउँदा अचानक आइपर्ने यस्ता समस्या र गुनासोहरू पर्यटक प्रहरीबाट तत्काल सुनुवाइ भई समाधान हुने गरेको छ । यस्ता समस्या भएमा हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । पर्यटक प्रहरीको छिटोछरितो, आत्मीय र सुरक्षित सेवाबाट पर्यटकहरू खुसी हुने गरेका छन् । कामको सिलसिलामा आइपर्ने चुनौती सामना गर्न पर्यटकको भरपर्दो अभिलेखीकरण गरी तत्काल समस्याको सम्बोधन गर्न सक्ने संयन्त्रको विकास गर्नुपर्ने देखिन्छ । प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल भन्छन्, ‘नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने गरी काम गर्न पर्यटक प्रहरी सक्रिय छ । यसका लागि पर्यटक प्रहरीलाई आवश्यक तालिम दिने गरिएको  छ । सम्पूर्ण पर्यटक प्रहरी कार्यालयहरूको स्थापनाको औचित्य पुष्टि, पहिचान, स्तरोन्नति र व्यवस्थित गर्ने काम भइरहेको छ ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट