Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

ओडारमा बस्दै आएका राहुलको उद्धार


म्याग्दी । बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज बुधवार उद्धार गरिएको छ ।  बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो । बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बाग्लुङ शाखामा लगिएको जानकारी दिइन् ।

‘एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान माने’, उनले भने, ‘घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा परेका उनलाई पुनःस्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।’

शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई उपमेयर लामिछाने र नगर प्रहरीको टोलीले उद्धार गरेको थियो । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलको बारेमा २०७९ साल फागुन ८ गते समाचार सार्वजनिक भएको थियो ।

‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ’, राहुलले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नुपरेको हो ।’ उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए ।

कुरीलाखर्कको ओडर बेनीबजारदेखि झन्डै एक किलोमिटर नजिकको दुरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताए । ‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो’, उनले भने, ‘काम गर्न सक्दिनँ, मलाई यहीँ ठिक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन ।’

राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट