Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

पीडा, प्रकृति, स्मृति र संस्कृतिको संगम 'खोक्पा'

पुस्तक समिक्षा


गीति लेखनमा ख्याति कमाएका डी.आर.को पछिल्लो साहित्यीक कृति (कथासंग्रह) बजारमा आएको छ । तिलस्मी उपन्यासपछि कथासंग्रह 'खोक्पा' बजारमा आएको  हो । संग्रहमा बूढो रूख, पुच्का, परिवर्तन, परिणाम, हराएको सपना, रवि, नयाँ बाकस, गाड्धन, लाहुरेको निसानी, मायाको चिनो र लङ्गडो साथी गरी एघारवटा कथा संग्रहित छन् । 

यी कथाहरुमा नेपालीहरुको पीडा, संस्कृति, स्मृति, र प्रकृतिप्रेम छरपस्ट भएको पाइन्छ । जीवनका यथार्थ भोगाई र पिडा यी कथाले बोलेको भान हुन्छ । आधुनिकताको नाममा नेपालीपन मर्दै गएकोमा कथाकार डी. आर. चिन्तित देखिन्छन् । कथाहरु पढ्दै जाँदा यस्तो लाग्छ, वर्षौँदेखि तस्बिरमा मानव जीवन कैद गरिरहेका साहित्यकार डी. आर. को जीवनभोगाइ नै पो यी कथाहरुमा उनीएका हुन् कि !

कुनै साहित्य केवल मनोरञ्जन प्रदानका लागि लेखिन्छन् त कति लेखकले जीवनमा अनुभूत गरेका विविध पाटा र पक्षलाई समेटेका हुन्छन् । तर डी. आर.ले यस कथासंग्रह खोक्पा मा समाजका विचार, भावना, सोच, संवेदना, देखाई र भोगाइका अन्तरघुलन मात्र होइन, नेपाली युवाहरुको विदेश मोहले देश रित्तिदै गएको र घरमा भएका बुढा बा–आमाहरु बृद्धाश्रममा बस्नु परेको तितो र दर्दनाक यथार्थलाई पनि उल्लेख गरेका छन् । 

‘बुढो रुख’ कथामा जीवन र प्रकृतिको सम्बन्ध कति गाढा हुन्छ भन्ने प्रस्ट पारिएको छ । मासिन प्रकृतिमै जन्मिन्छ, प्रकृतिमै हुर्किन्छ, खान्छ, खेल्छ, नाँच, बाँच्छ र अन्तिममा ऊ प्रृकतिमै बिलिन हुन्छ भन्ने यथार्थलाई कथाकारले बुढो रुखलाई बुढो भएर थलिएको मानिससँग बडो सुन्दर तरिकाले तुलना गरेका छन् । वन बिनास रोक्नु्पर्ने सन्देश पनि यस कथामा पाइन्छ । 

‘पुच्का’ कथामा इमान्दारीपूर्ण तरिकाले सानै लगानी गरेर भएपनि स्वदेशमा केही इलम गर्न आग्रह गरिएको छ । लगनशील, मिहेनत र कामप्रति जिम्मेवारीबोध भएमा पुच्का (पानी पुरी) व्यापारबाट पनि स्वरोजगार सिर्जना गर्न सकिन्छ भन्ने सन्देश प्राप्त हुन्छ । सायद कथाकार डी. आर पनि संर्घष र सानोतिनो व्यापार गर्दै आजको अवस्थामा आइपुगेको यथार्थलाई बोध गर्दै ‘पुच्का’ कथा लेखेका पो हुन् कि !

‘परिवर्तन’ कथामा देशलाई समृद्ध बनाउन विदेशीएका युवा विदेशबाट शिक्षा र सिप लिएर स्वदेश फर्किनु पर्ने सन्देश दिन खोजिएको छ । वर्तमान समयमा शिक्षित युवाहरु अध्ययन भिषामा विदेश जाने र उतै ग्रीनकार्ड, पी आर, वर्किङ आदि प्राप्त गरेर बस्नाले देशमा युवा जनशक्तिहरु रित्तिदै गएको सत्यतालाई उल्लेख गरिएको छ । देशमा विकाश र परिवर्तनका किरणहरु फैलाउन विदेशीएका यु्वाहरु स्वदेश फर्किनुपर्ने सन्देश कथाकार डी. आर. ले दिएका छन् । 

त्यस्तै यस ‘खोक्पा’ भित्र संग्रहित अर्को कथा छ ‘हराएको नाता’ । यस कथामा परिवारको एक्लो छोरा र बुहारी क्यानडा गएर उतै बसेपछि विदेश जान नमानेर स्वदेशमै बसेकी आमा बुढेसकालामा एक्लै हुनुको पीडा र वर्तमान यथार्थलाई समेटिएको छ । छोरा–बु्हारी विदेशमा हुँदा स्वदेशमा रहेका बुढा बा–आमा बिरामी हुनु, थला पर्नु, र अन्त्यमा देह त्याग हुँदा पनि उनीहरु स्वदेश नफर्किनु जस्ता वर्तमान भोगाइलाई अत्यन्त सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । कथाकारले यस कृतिमा प्रयोग गरेका भाषा, शैली निकै मौलिक र लोभलाग्दा छन् । 

यस कथासंग्रहका अन्य कथाहरुमा पनि नेपालीहरुको वर्तमान भोगाइ, चरित्र, बाध्यता र प्रबृत्ति नैं पाइन्छ । धन कमाउने आशमा विदेश गएका नेपलीहरु लाश बनेर बाकसमा फर्किनु पर्नाका घटना, नेपाली लाहुरेहरुको पिडा र घोडा जस्तै लक्ष्यका लागि मानिसको जिन्दगी पनि दौडिनुपर्ने लगायतका शिक्षा र सन्देशमूलक कथाहरु ‘खोक्पा’मा समावेश छन् ।

कथाहरु काल्पनीक भएतापनि सबै कथाले आदर्शन्मुख चेतना दिएको पाइन्छ । रवि कथा त झन चलचित्र झैँ रोचक छ । यसमा पटकथा र केही संवाद थप्ने हो भने यो तीन घण्टाको उत्कृष्ट चलचित्र नैं बन्न सक्छ । युवा दुव्र्यसनी, धनी र गरिवबीचको बिभेद, गाउँले परिवेश, सहरीया शैली, रोजगारीको अवस्था, कलेज पढ्ने युवा–युवतीबीचको प्रेम, बिछोड र त्यसपछिको जीवन भोगाई आदिलाई यस कथामा सुन्दर तरिकाले बुनिएको छ ।
समग्रमा ‘खोक्पा’ नेपाली समाजको ऐना हो भन्दा फरक पर्दैन । समाज जस्तो छ, यस कृतिमा त्यही चित्र हाबी भएको पाइन्छ । समाजका घाउ मात्र यो कथासंगहमा छैनन्, उपचारका बिधि, वैद्य, र चिकित्सालय पनि यहाँ उपलब्ध गराइएको छ । 

पेज टर्नर प्रा.लि. प्रकाशक रहेको यस कथासंग्रहको आवरण पनि सुन्दर छ । सबै कथाहरुको बिम्ब पुस्तकको आवरणले बोल्छ । आवरण डीआर सिर्जना संसारले गरेको हो । यस पुस्तकको मूल्य नेपालीमा रु ४००, अमेरिकी डलरमा खरिद गर्न चाहनेहरुका लागि १० र संस्थागत मूल्य रु १००० उल्लेख छ ।

 

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट