Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, १२ महिनाभन्दा बढीको आयात धान्ने


काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८ दशमलव आठ प्रतिशतले बढेर सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।

यस्तै आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।

यस्तै देशमा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको छ । असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी मुद्रा सञ्चिति २१ दशमलव सात प्रतिशतले बढेर फागुन मसान्तसम्ममा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यसले नेपाललाई १४ महिनाभन्दा बढीको वस्तु आयात र १२ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अघिल्लो वर्षको आठ महिनामा ५५ अर्ब २८ करोडले घाटामा रहेको चालु खाता अहिले एक खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ ।

यस्तै शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति एक अर्ब ४२ अर्ब रुपैयाँले बचतमा थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट