Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

गोकुल सर : छबिलाल गुरु

पत्रकारितामा इमान र जबाफदेहिता पाठकको सत्यतथ्य सूचना पाउने हकसंग अन्तरसम्बन्धित हुन्छ


नेपाली पत्रकारिताका मूर्धन्य हस्ताक्षर गोकुल पोखरेलको पुष १६ गते ८७ वर्षको उमेरमा निधन भयो । नेपाली पत्रकारितामा छुट्टै छाप छोड्न सफल पोखरेल निधनको खबर सनसनीपूर्ण भने थिएन, भएन । पोखरेलले कुनै समय नेतृत्व गरेको सरकारी र मुलधार भनिएका सञ्चारमाध्यमले निधनको खबरलाई औपचारिकता दियो तर प्राथमिकता दिएको पाइएन । एक त उमेरको हदले पनि मृत्युको खबरले  समाचारीय मूल्य नबोकेको हुनसक्छ । मृत्युको खबर ‘स्तब्ध’ वा ‘असमायिक’ हुने हदको थिएन । दोस्रो नयाँ मिडिया सञ्चालक र सञ्चारकर्मीले पोखरेलको योगदान र मूल्य नबुझेको हुनसक्छ । तेस्रो पोखरेल कुनै दल विशेषको आज्ञाकारी समर्थक पनि थिएनन् । चौथो नेपाली समाजको समबेदनाले कतातिर छलाङ हान्दैछ भन्ने कुराले पनि घर गरेको हुनसक्छ । नेपाली पत्रकारिताको विकासमा निरन्तर, कठोर, मेहनत र दृढता प्रस्तुत गरेका पोखरेलको ऐतिहासिक योगदानको अभिलेख सञ्चारमाध्यममा छाँयामा परेको महशुस हुन्छ । यो आलेख उनै पोखरेलको सम्झनामा श्रद्धाञ्जलीका हरफस्वरुप लिखितम छन ।
पोखरेल प्रवृत्ति ः
नेपाली पत्रकारको साङ्गोपाङ्गो अध्ययन गर्ने हो भने अनेक प्रवृत्तिबीच पोखरेलको फरक प्रवृत्ति भेटिन्छ । हुनतः हरेक विधामा धेरैले आफ्नो छुट्टै पन वा हर्कत गरेर एकल प्रवृत्ति बनाएका हुन्छन । नेपाली पत्रकार र पत्रकारिता यो मामिलामा अछुतो रहने कुरै भएन ।
पोखरेलले पत्रकारिता प्रवेश गरेको कालखण्डको हिसाबले बन्द समाज थियो । विचार अभिव्यक्तिको स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रता बन्दाबन्दीको समयमा सरकारी छापामाध्यममा गरिएको पत्रकारिता र खुल्ला आकाशमा गरिएको पत्रकारितामा अवश्य भिन्नता हुन्छ । यद्धपि पोखरेलले गोरखापत्रमा छँदा वीपी कोइरालाको मृत्यु प्रकरणमा देखाएको साहसिकता प्रवृत्तिगत मिसाल हो । पत्रकारितामा इमान र जबाफदेहिता पाठकको सत्यतथ्य सूचना पाउने हकसंग अन्तरसम्बन्धित हुन्छ । यहि प्रतिनिधिमूलक घटनालाइ उद्धरण गर्दा पनि उनी अब्बल पत्रकार थिए र मूल्याङ्कन, अभिलेखनयोग्य थिए । 
गोरखापत्रको यतिका वर्ष सम्पादक रहेकाको नाम कुनै पत्रकारिताको विद्यार्थीलाइ खरर नाम लिन कठीन हुन्छ । तर गोरखापत्रका पूर्व सम्पादकहरुको नाम हाजिरी जबाफमा सोधियो भने गोकुल पोखरेल र भारतदत्त कोइरालाको नाम चैं मुखाग्र आउँछ । यहि नै फरक प्रवृत्तिको मानक हो ।
पोखरेलसंगै छुटाउनु नहुने अर्को नाम हो भारतदत्त कोइराला । पोखरेल र कोइरालाको यो जोडी नै नेपाली पत्रकारिता विकासको बाँझो फोर्ने एक हल हो । मोफसलको छापामाध्यमलाई उच्च प्रविधिसंग जोड्ने, एकाकार र अभ्यस्त बनाउने श्रेय यो एक हल जोडीलाइ जान्छ । पोखरेल र कोइराला नेतृत्वको संस्था ‘नेपाल प्रेस इन्ष्टिच्युट’ले नेपाली पत्रकारिताको विकासमा देखाएको भूमिका नै आजको पत्रकारिताको प्रस्थान बिन्दु थियो । यसमानेमा मोफसलीय पत्रकारिताको विकासमा पोखरेल र कोइरालालाई चाहेर पनि नजरअन्दाज गर्न सकिन्न । तर आजको पत्रकारितामा मोफसलले पनि पोखरेलको योगदानलाई दिल खोलेर सम्झन सकेन । यसले पत्रकारिताको पुराना नयाँ पुस्तान्तरणका छिद्र पनि टाढिएको थाहा लाग्छ ।
पत्रकारितामा जीवन ः  

२६ वर्षको लक्का तन्नेरी उमेरबाट पत्रकारितामा प्रवेश गरेका पोखरेल जीवनपर्यन्त पत्रकारिताको उन्नयनमा लागे । करिव ३० वर्ष सरकारी सञ्चार माध्यमको नेतृत्व गरे । सरकारी छापामाध्यम गोरखापत्र (नेपाली) र राइजिङ नेपाल (अंग्रेजी) पत्रिकाको सम्पादन गरे । नेपाली र अंग्रेजी भाषामा उत्तिकै कलम चलाउने पोखरेल पत्रकारिता शिक्षाका संस्थापक अध्यापक पनि हुन । राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र, राइजिङ नेपाल, मधुपर्क, मुना पत्रिकाको सम्पादन नेतृत्व बखुबी निभाए । 
फ्रान्सिसी समाचार संस्था, प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआइ) लगायतको न्युज एजेन्सीको अध्ययन अनुभव बटुले । यसकारण पोखरेल नेपाली पत्रकारिता विकासको सन्दर्भ सामाग्री हुन । विसं ०४१ सालमा नेपाल प्रेस इन्ष्टिच्युट (एनपिआइ) स्थापना गरेर दक्ष पत्रकारको उत्पादनमा भूमिका खेले । डेनिस सहायता निगमबाट प्राप्त आर्थिक सहयोगलाई ‘मिडिया विकास कोस’ बनाएर संस्थागत गरे । चाहेको भए यो कोस आफ्ने प्रेस इन्ष्टिच्युटमा राख्न सक्थे तर उनले यो कोसको स्थायीत्वको लागि सरकारी स्वामित्वको प्रेस काउन्सिलको जिम्मा लगाए । प्रेस इन्ष्टिच्युटलाई सञ्चार केन्द्रको नाममा पूर्वाञ्चल र पश्चिमाञ्चलमा विस्तार गरे । यिनै सञ्चार केन्द्र मातहत मोफसलको पत्रकारितामा सेवा विस्तार भयो । पत्रकारको शीप, दक्षता, क्षमता अभिवृद्धिका अनेकान कार्यक्रम केन्द्रमार्फत सञ्चालित भए । क्षेत्रीय र स्थानीय स्तरमा अनगिनत आधारभूत, एडभान्स पत्रकारिता तालिम, गोष्ठी, सेमिनारहरु भए । फिचर लेखमाला उत्पादन र वितरण गरियो । समग्रमा राज्यस्तरबाट हुने पत्रकारिताको विकासमा भन्दा कता हो कता बढी योगदान दिने संस्था नेपाल पे्रस इन्ष्टिच्युट हो । कुनै समय यस्तो थियो विश्व विद्यालयमा पत्रकारिता पढेका विद्यार्थी भन्दा प्रेस इन्ष्टिच्युटमा तालिम लिएका पत्रकारहरु दक्ष त हुन्थे नै । तत्कालीन पत्रकारितामा छाएका पनि थिए ।
गोकुल सर ः छबीलाल गुरु ः
धनकुटा जिल्ला सदरमुकामबाट बिब्ल्याटोँ फर्कियो भने कचिंडे भन्ने गाउँ आउँछ । त्यहि कचिंडे गाउँमा विसं १९९३ मा जन्मेका गोकुल पोखरेलले पत्रकारितामा उल्लेख्य योगदान गरे । पूर्वीय दर्शनका प्रख्यात विद्वान तथा समाज सुधारक पण्डित छबीलाल पोखेरलका आधा दर्जन बढी छोराछोरी मध्ये गोकुल माइला छोरा हुन । तर यिनको कद भने छबीलालका बाँकी छोराछोरी भन्दा अग्लो छ ।  
यसो त सानो कचिंडे गाउँमा जन्मेका धेरै पोखरेलहरुले जीवनमा केहि न केहि राम्रो योगदान देशलाइ गरेका छन् । डा. रामप्रसाद (बरिष्ठ आँखा रोग विशेषज्ञ), उमानाथ (विद्वान पण्डित), डा. शिवप्रसाद (आयुर्वेद), जगन्नाथ (जुनार खेती विशेषज्ञ), कृष्ण र राजेन्द्र (कृषि), शिक्षणमा विद्यानाथ, उपेन्द्र, दिवाकर, राजनीतिमा दुर्गा, मोहनलगायत कचिंडेका प्रतिनिधिमूलक पोखरेलहरुमा उल्लेख्य नाम हो ।
खुदै पण्डित छबीलालका आधा दर्जन बढी छोराछोरीमा डा. गोविन्द, स्वयम गोकुल, इन्जिनियर गणेश र अलग धार्मिक अभियानका रुद्राक्ष बाबा मुकुन्द पोखरेल पनि छन् । बाहुनको पोखरेल थरमा पानी र दूध पोखरेल नाममा अलग गोत्र छ । दुई पोखरेलबीच कुटुम्बेरी पनि चल्छ । कचिंडेका पोखरेलहरु पानी पोखरेल हुन । नाम अनुसार नै यिनले धेरै विधामा पानीपानी बनाएका छन् । त्यसको छुट्टै चर्चा गर्नु मुनासिब हुन्छ ।
छबीलाल पोखरेल पूर्वीय दर्शनका ज्ञाता समाज सुधारक त हुँदै हुन । संस्कृत साहित्य, दर्शनका प्राद्यापक तथा प्रजातान्त्रिक आन्दोलनका सेनानी पनि हुन । पूर्वाञ्चलको शैक्षिक अभियानमा पण्डित छबीलाल विर्सन नसकिने पात्र हुन । छुवाछुत विरुद्धको समाज सुधारमा नलिइ नहुने नाम हो । बाहुनलाई लसुन, प्याज, टमाटर उपयोग गर्न तर तास जुवा छोड्ने असल सल्लाह दिने उनै हुन । डा. स्वामी प्रपन्नाचार्य (काले राई) को सहयोगमा प्रकृतिपुजक किरातीहरुलाई जनै भिराउने काम बाहेक यिनले जिवनमा अन्यथा गलत गरेनन् । समाज सुधारका अनेकान काम गरेर पण्डित छबीलाला गुरु भएर प्रख्यात भए । यता उनका माइला छोरा पत्रकारिताका गोकुल सर भए ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट