Techie IT
  • २०८० फागुन ११, शुक्रबार

संग्रौला ‘साहित्यकार’को सातो किन टिप्छन ?


संग्रौला को हुन ? किन ‘साहित्यकार’को सातो टिप्छन ? यसै त उनी सबैको सातो लिन्छन । साहित्यकार कुन खेतको ‘मुली’ हो र बाँकी बक्यौता राख्थे । अलिक अघिको कुरो हो जतिबेला छापा माध्यम (पत्रिका)को रजगज थियो । उनी चल्तीका पत्रिकाको नियमित स्तम्भकार थिए । त्यसबेला उनको कोपभाजनमा परिएला भनेर सहरका कुलीन सभ्रान्तहरु थर्कमान हुन्थे रे । संग्रौलाको स्तम्भमा नाम नपरेको दिन ती सभ्रान्तहरु ‘आज चैं संग्रौलाबाट बचियो’ भनेर लामो सास फेर्थे रे । यसैकारण उनको नाम ‘गाली शिरोमणि’ जुराए । कतिपयले उनलाई गाली पुराणका प्रमुख बाचक नै ठान्छन ।

हिन्दू धार्मिक साहित्यमा १८ पुराणको व्यवस्था छ । सम्भवतः वेदव्यास यतिखेर भएको भए ‘संग्रौला लेखन प्रवृत्ति’लाई बुझेर थप एक पुराण ‘गाली पुराण’ पनि रचना गर्थे होलान । १८ पुराणमा लिङ्ग पुराण लेख्ने व्यासले गाली पुराण नलेख्ने त कुरै भएन । लिङ्ग पुराणको सोझो अर्थ जेसुकै होस । तर यो पुराणको पस्टीकरण खाप्नेले लिङ्ग पुराण शिवजीको जनेन्द्रियसंग सम्बन्धित नभएको परिभाका लगाउँछन । बरु शिवजीको ‘पहिचान चिनो’ हो भन्छन । यद्दपी जतिनै पस्टीकरण खापे पनि शिवजीको पुजिने चिजबस्तु लिङ्ग नै हो । यस्ता अनेकान प्रकरणमा पुराण लेख्नेले गाली पुराण नलेख्ने त कुरै भएन ।
 
संग्रौला को हुन ?:

संग्रौलाको आधिकारिक पुरा नाउँ खगेन्द्र संग्रौला हो । कुन्साङ काका साहित्यको दुनियामा बेलाबखत हस्तकलम गरिने नाम हो । लिम्बुवान पाँचथर सुभाङ यिनको उत्पत्ति थलो हो । जीवन विचरण गर्दै जाँदा यिनी खाँट्टी नेपाली मास्टर भए । कथा, नाटक, व्यंग्य, उपन्यास, अनुवाद विधाका सिद्धहस्त कालीगढ हुन । यिनी स्थायी विद्रोहको कैरनकर्ता पनि हुन । विभिन्न विधामा यिनका एक दर्जन पुस्तक प्रकाशित छन् ।विश्व प्रगतिशील साहित्यका त्यतिकै संख्यामा पुस्तक अनुवाद पनि गरेका छन् । पत्रिकामा लेखेका स्तम्भहरु गणित गरेर त साध्य लाग्दैन ।

यिनै संग्रौलाले हिज्जो छाडि अस्ती रातोपाटी नामको बिजुली पत्रिकामा कालो अक्षरले झर्रो भाकामा भ्वाक्क लेखे, ‘तपाँइको यो पाण्डुलिपिमा कविताको तत्व तातोभुत्लो केही फेला पार्न सकिन ।’ यति के लेखेका थिए, उदयीमान र नवोदित ‘बहर कवि’ र अलिअलि दाइएका ‘गोरु कवि’मा कोलाहल नै मच्चियो । यो वाक्य लेख्दा सायद संग्रौलाले पारसमणि प्रधानलाई याद गरेको हुनन । भारतवर्षमा बसेर नेपाली भाषा साहित्यको सेवा गरेका पारसमणि प्रधान हुन । उनले कविताको बारेमा खँदिलो तर्क राखेका थिए, ‘कवि कविता होस, कविता कवि होस, शब्द थुपारिकन के हुन्छ, भाव भए पो हुन्छ ।’ तब त के थियो संग्रौलाले बियाँलो नगरि भनिदिए, ‘तपाँइको यो पाण्डुलिपिमा कविताको तत्व तातोभुत्लो केही फेला पार्न सकिन ।’  

कवित्व र कवी :

कवित्व भनेको कविता वा काव्य रचनाको क्रिया, गुण, विशेषता वा शक्ति हो । कवि भनेको कविता वा काव्यको रचना गर्ने व्यक्ति हो । जब कविता रचना गर्ने व्यक्तिले आफ्नो रचनामा क्रिया, गुण, विशेषता र शक्ति हाल्न सक्तैन, कविता नै बन्दैन । कविताको यो त सैद्धान्तिक पक्षमात्र हो । यसका अन्य तत्वको अनिवार्यता त्यत्तिकै जरुरी छ । ती सबै यहाँ छलफल गर्न सम्भव पनि छैन । तर सैद्धान्तिक प्रस्तावनासम्म ख्याल नगरी कविताको बाहिरी रेखाङ्कन हुन्न । यसभन्दा बाहिर गएर कन्दै लेखिएका चिजवस्तु शब्द खाँदेको धोक्रो मात्र हो । आजभोली हरेक साक्षर मान्छे कविता लेखेर सहज ख्याती कमाउन खोज्दछ । पारसमणिको शास्वत वाक्यको ख्यालै गर्दैन । अनि कवि कविता जस्तो हुँदैन । कविता कवि जस्तो हुने त कुरै भएन । शब्दको थुप्रो बाह्रखरी छरिएको विस्कुन जस्तो भैदिन्छ । यसैले संग्रौलाले भन्दिए कवितामा तातोभुत्लो छैन ।  

कविताको धून :

एकदेव ज्ञावालीले नेपाली महिलाको उत्पीडन र पीडालाई उजिल्याउन ‘आमा दिदी बहिनी हो’ बोलको कविता लेखे । जेवी टुहुरेले यहि कवितालाई संगीतको धूनमा ढाले । यहि कविता गीत गाएर टुहुरे प्रख्यात भए । यो गीत टुहुरेको ब्राण्ड भयो । गोपाल प्रसाद रिमालले थुप्रै उम्दा कविता रचना गरे । रिमालले लेखेको ‘आमाको सपना’ हेरक क्रान्ति र आन्दोलनको स्वर हो । रिमालका कवितामा अन्याय,, अत्याचार, शोषण, दमन, कुरिती, भ्रष्टाचार, विरुद्ध क्रान्तिकारी आवाज छन् । नेपाली जनजीवनका इच्छा, आकांक्षा, क्रान्ति, विद्रोह एवम् सामाजिक विद्रोह तथा परिवर्तनका आवाज मुखरित छन् । सरल भाषा, बिम्ब, प्रतिक, अलंकारको शुद्ध समायोजन गरी कवितामा गद्य लयसहीत कुँदिएको छ । अनि त रिमालका कविता कालजयी छन् । प्रधानले भने जस्तै रिमाल कवि कविता जस्ता,, कविता कवि रिमाल जस्तै एकाकार भए । यी त प्रतिनिधि उदाहरण मात्रै हुन । यसका अतिरिक्त थुप्रै कविहरु सिद्धिचरण श्रेष्ठ, भूपी शेरचन, बम देवानदेखि कृष्ण सेन इच्छुकसम्म आइपुग्दा कवि कविता जस्ता र कविता कवि जस्ता देखिए । प्रायः यी सबै कविका कविता र कविको जीवन नियालेका बिरालाकोटीका संग्रोलाको रुद्रघण्टीबाट कवित्व नभएको कविताले नछिचोल्नु अस्वाभाविक हैन । र, झोंकाझोंक लिम्बुवानी शैलीमा भने, ‘कवितामा तातोभुत्लो केही भेटिन हाव ।’  

संग्रौलाको शब्द भण्डार :

संग्रौलाकै शब्दमा ख्याँसख्याँस लेखेर शब्द थुपार्दैमा कविता बन्दैन ।  यसरी शब्दको गुजुल्टो मात्र बन्छ । गाउँघरमा पाखे बैदारले घुँडामा काँचो कागत राखेर कपाली तमसुक वा भर्पाई दादै लेखन गरे जसरी कविता निर्माण हुन्न । लेखेन्दासले लेखे जसरी कविता लेखन लहडी लेखनमात्र हुनेछ । यसरी लेखेर मखलेल हुनु व्यर्थ छ । खरायोले पाठापाठी हुतुतु जन्माए जस्तो कविता फुर्ने होइन । सुचीकारले सफाई गर्छन, सुजिकारले मयलपोस सुराल सिउँछन, चर्मकारले चर्म रक्षा गर्ने जुत्ता सिलाउँछन । जीवनका लागि यी बस्तुका उत्पादनकर्ता पनि मूल्याङ्कनयोग्य हुन । कविता लेख्नु मात्र ख्यातीको एकमात्र काम होइन । त्यो पनि कवित्व नभएको कविता लेखेर समय बर्बाद गर्दा त सुन्ने पढ्नेलाई पनि दिक्दारलाग्दो हुनेछ । जबरानन्द हिसाबले लेखेको कविताले त रनभुल्लमा मात्र पार्छ । हल्लुँड बनाउन पनि शिप चाहिन्छ । शिप भएन भने हल्लुँड सिनोमा परिणत हुनेछ । कविता लेखनमा पनि सिद्धान्त, शिप सबै चाहिन्छ । यस्ता कविताको भूमिका, समिक्षा लेखेर स्वर्ण लेपन लगाउनुको अर्थ हुन्न । तबैतारे संग्रौलाले छाति ठोकेर भने हुनन, ‘कवितामा तातोभुत्लो केही भेटिन ।’  

ब्यर्थको पाण्डुलेखन :

पाण्डुलेखन खेस्रा वा मस्यौदा तयार गर्ने काम हो । खेस्रा वा मस्यौदा तयार गर्दा नै भाँती पुगेन भने पाण्डुलिपि तयार गर्नु नै बेकार हुन्छ । उनकै भाकामा भन्दा रस न लालित्य, रंग न प्रकाश, न स्पन्दन न सुक्ष्म अन्तरदृष्टि, न ताल न तुक स्वकल्पित कविताको यो लोकमा कुनै गुञ्जाइस छैन । संग्रौला लेख्छन, ‘लहडीमलका कविको जब्बरे आग्रह बारे मलाई केही कुरा नभनी भा’छैन । लेख्छन त्यस्तो अनि भूमिका वा मन्तव्य लेखि माग्न आउँछन । भन्नुस त मान्यवर यस्तोमा के गर्ने ?’ यस्तो अप्ठ्यारोबाट उक्सिनको लागि वेद पढ्न छोडेर सिधै भन्दिए, ‘कवितामा तातोभुत्लो छैन ।’ 

लिखतमा सार्वजनिक पत्र :

केही नलागेरै हुँदो हो अन्ततः उनलाई अकवि के नामे सार्वजनिक पत्र नै जारी गर्ने नौबत आयो । प्रतिक, बिम्ब, रुपक, मिथक, स्मृति, सपना, स्वैरकल्पना, नारा तथा अभिव्यक्ति, अलंकारको विशिष्ट प्रयोगद्वारा कविता निर्माण नभएको गम्भीर ध्यानाकर्षण नीजको सार्वजनिक पत्रले गरेको छ । कवितामा एक शब्द, एक वाक्य वा एक अनुच्छेदले अनेक शब्द अनेक वाक्यांस, अनेक वाक्य वा अनुच्छेद बराबरको अर्थ दिने सार्वजनिक पत्रमा उल्लेख छ । कविता संकेतमा भनिन्छ, सूत्रमा उनिन्छ, लक्षणामा बोल्छ । भन्नु मात्रै गद्य कविता, गद्य कविताको पनि आफ्नै लय, ताल हुन्छ । काव्य जगतका धुरुन्धर ज्ञानीहरुको हवाला दिँदै साझा पत्रमा जोड गरिएको छ, ‘पाठकको चित्तमा गहिरो छाप पारेर स्मरणीय अस्सली कविताको चुम्बकीय शक्ति हो ।’ यसरी एकबारको जुनीमा ख्याती र अमरत्वको ख्यालीपुलाउ नपकाउन उनले नम्र निवेदन गदै कुराको बिट मारेका छन् । लेखोटको पेटबोलीले शीर्षक कै कुरा बोकेको छ, कविता तातोभुत्लो भएन । 

रहलपहल :

लगभग चार कोरी हिउँद बर्खा टेक्नै लागेका संग्रौलाले टाउकाको कपालमा हिमाल फुलाइ सकेका छन । आस्तिक भए चाबेलको त्यो कुनामा एक हजार माला गेडी गन्दै बस्ने बेला हो । तर, जीवनको सत्व बुझेका छन । विभिन्न विधामा सक्रिय लेखन पढनमा व्यस्त छन् । यसैले यिनको विशेषता जेष्ठ नागरिकको हैन श्रेष्ठ नागरिकको छ । तन्नेरी तरुनीका लागि पनि यिनको भूमिका लोभलाग्दो हुनु पर्छ । यसैकारण हुन सक्छ अकविहरुले यिनको ‘फलो’ गर्न छोडेका छैनन् । यिनका कलमबाट अकविताको उद्धार गर्न तम्सिन्छन । नत्रता यिनी सरकारी विन्यासका प्राज्ञ पनि होइनन । कुनै पार्टी विशेषको झोले, बैठके, गुँइठे पनि होइनन् । प्रगतिशील लेखक संघ नामको अपुताली संगठनमा पनि छैनन् । ‘पोइट आइडल’को जाँचकी पनि होइनन् । हुन त केवल स्वाभीमानी लेखक । त्यसैले ज्ञानको स्वाभिमान बन्दकी राख्न चाहेनन् । र, सिधै भन्दिए तिम्रो कवितामा कवित्व तातोभुत्लो छैन । साझा पत्रमा ऐक्यबद्धतासहित नोगेन ।  

टिप्पणीका लागि : bhawanibaral@gmail.com
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट