Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

सुनकोशी मरिण डाइभर्सन : सुरुङ खन्ने काम अब ५ सय १० मिटरमात्रै बाँकी


काठमाडौं । सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अब पाँच सय १० मिटरमात्रै बाँकी रहेको छ । आउँदो वैशाख २६ गते सुरुङ छिचोल्ने अर्थात् ‘ब्रेक थ्रु’ गर्ने तयारी भइरहेको छ ।

तराई–मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको निर्माण प्रक्रियामा कुनै भौगोलिक जटिलता उत्पन्न नभए आउँदो वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ छिचोल्ने आयोजनाले जनाएको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये अहिलेसम्म १२ दशमलव सात सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोशी मरिणमा पनि टीबीएम मेशिन प्रयोग गरिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि अवरोध आउन नदिन निर्देशन दिनुभएको छ । निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमितरूपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आउनुभएकाले पनि आफूहरूलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर बिजुली उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरु गरिएको यो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने त्यहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेको छैन ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट अहिले सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ । अहिले सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर ‘डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आउँदो वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्‍याउने लक्ष्य राखिएको छ । यस्तै विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।

सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा रहेको सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ । सुनकोशीको झन्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै यो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ सालको असोजमा यो आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट