Techie IT
×
गृहपृष्ठबिचारचिसो शीतलकुमारको तातो प्रतिक्रिया

चिसो शीतलकुमारको तातो प्रतिक्रिया


प्रधानमन्त्री कार्यालयमा राजकीय सुविधासहितको एउटा पद छ, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार ! प्राय सबैजसो प्रधानमन्त्रीले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्ने चलन छ । तर, प्रधानमन्त्री बन्ने ब्यक्तित्व आफैं, सम्बन्धित पार्टीको शीर्ष ब्यक्तित्व हो । उच्च राजनीतिक ब्यक्तित्व हो । उनलाई सरकारी काम, कर्तव्यमा राजनीतिक सल्लाह दिने सम्बन्धित पार्टीले हो । पार्टीका एक शीर्ष नेता प्रधानमन्त्री हुँदा बाँकी धेरै शीर्षहरूले पार्टीका दैनन्दिन गतिविधि र बैचारिक, सांगठनिक कामको नेतृत्व गरेका हुन्छन् ।

सरकारका दैनिक प्रशासनिक काम बाहेक जनसरोकारका दीर्घकालीन सरकारी नीतिनिर्माण वा तत्कालीन सन्दर्भका राजनीतिक निर्णयहरू गर्ने परिस्थिति आउँदा पहिला पार्टीबाट पारित गर्ने विधि छ, दलीय लोकतन्त्रमा । त्यो भनेको पार्टीको राजनीतिक सल्लाहले अगाडि बढ्ने बिधि हो । त्यसो त राजनीतिक कुशलता निर्माणकै लागि प्रधानमन्त्रीले पार्टी निर्णयकै आधारमा मन्त्रीमण्डलमा अनुकूल टिम बनाएका हुन्छन् । त्यस अर्थमा मन्त्रीमण्डलका सदस्यहरू स्वयं नै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हुन् । यो सरकारमा त माओवादीका दोस्रो बरियताका नेता, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नै उपप्रधानमन्त्री छन् ।

तैपनि राज्य सुविधाको त्यो पद, प्रायः प्रधानमन्त्रीले उपयोग गरेकै हुन्छन् । सांसद वा मन्त्री बन्न नपाएका आफ्ना निकटवर्ती नेतालाई थान्को लगाउने, जागिर खुवाउने मूल थलो बन्दै आएको त्यो पदमा यसपालि प्रधानमन्त्री प्रचण्डले पार्टीका उपमहासचिव हरिबोल गजुरेल ‘शीतलकुमार’लाई नियुक्त गरेपछि पार्टीभित्र र बाहिर भिन्नभिन्न जिज्ञासाहरू उत्पन्न भएका छन् । प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै त्यो पदको चर्चामा रहेका गजुरेलले त्यो पद खान्न भन्ने सार्वजनिक उद्घोष गरे पनि सहस्र स्वीकार गरिसकेका छन् ।

०४८ सालमा बाबुराम भट्टराईको पनि नेता बनेर बिद्रोही मसालबाट एकताकेन्द्रमा जोडिंदा सिन्धुली स्थायी घर भएका गजुरेलको सांगठनिक–बैचारिक कौशलताको सर्वत्र प्रसंशा गरिन्थ्यो । जनयुद्धक्रममा कताकती नैतिक आचरणको प्रश्न उठे पनि वैचारिक केन्द्रीकरणको पक्षमा उनी दृढ उभिए । त्यसैले जनयुद्धका क्रममा र शान्तिप्रक्रियापछि महत्वपूर्ण पार्टी जिम्मेवारीमा रहे । पहिलो संबिधानसभामा प्रतिनिधित्व नपाएपछि उनी राष्ट्रिय भूमि आयोगको अध्यक्ष बने । ०७० मा सभासद भई कृषि तथा भूमिसुधार मन्त्री समेत बनेका उनी, ०७४ मा पनि सांसद बने ।

०७९ को चुनावमा सांसदको टिकट नपाएपछि भने उनी पार्टीसँग र अध्यक्ष प्रचण्डसँग बिच्किएका थिए । फरक मतसँग असाध्यै असहिष्णु हुने र आफूलाई केन्द्र बनाएर निर्णय आग्रह गर्ने उनको बिगतदेखिकै चिसो प्रवृत्ति पनि यहीबीचमा छताछुल्ल भएको हो । सांसद जितेर पनि उपल्ला राजनीतिक अवसर नपाएकोमा, प्रतिगमन कि अग्रगमन भन्ने नेकपाको प्रवृत्ति संघर्षमा झण्डै केपी ओली निकट समेत भए उनी । अवसरै अवसरबीच, पछिल्लो पटक भने सांसद टिकट नपाएको झोकमा उनले माओवादी केन्द्र नै समाप्त भइसक्योसम्म भन्न भ्याए ।

सांसद टिकट नपाएकै परिस्थितिबीच पार्टीको कुनै पनि फोरममा कहिल्यै छलफलमा नआएको तर उनले अध्यक्ष प्रचण्डलाई बुझाएको भनिएको फरक मत, आजसम्म कुनै नेताले पढ्न पाएका छैनन् । पछिल्लोपटक ‘तपाईं प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा आइदिनुहोस्’ भनेर स्वयं प्रचण्डले आग्रह गरेको तर आफूले त्यस पदलाई इन्कार गरेको सार्वजनिक बयान गजुरेलले अस्तिको दिनसम्म दिएका थिए । बरु आफ्नो सट्टा, पार्टीका सचिब डिलाराम आचार्यलाई राजनीतिक सल्लाहकार बनाउन सुझाव दिएको उनको भनाइ थियो ।

गजुरेलको अकस्मात राजनीतिक सल्लाहकार स्वीकारोक्तिलाई उनको ‘पावर एक्सरसाइज इन्ज्वाइ पर्सनालिटी’कै रुपमा बुझ्न सकिन्छ । जे होस, माओवादी केन्द्र नै समाप्त भइसक्यो भनेका उनले पार्टीका तर्फबाट राम्रो जागिर पाएका छन् । उनीसँग बर्षौंबर्ष साथमै रहेका तर उनको असहिष्णु प्रवृत्तिमा कुनै सुधार नभएकोमा वाक्कदिक्क बनेका सिन्धुलीका एक नेताका नजरमा, ‘गजुरेलको राजनीतिक सल्लाहकार नियुक्ति, जुनकिरीको पिँधले स्वर्ग कहिल्यै उज्यालो हुँदैन ।’


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking, #hot