Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारकालापानी विवाद : अमरसिंह थापा र महाकाली पारि नेपाली स्वामित्व !

कालापानी विवाद : अमरसिंह थापा र महाकाली पारि नेपाली स्वामित्व !


मोहन थापा

पृथ्वीको कुन भूभाग कुन देशको ? यसको आधार त्यतिबेला सैनिक विजय नै थियो । त्यसबेला नेपाली सेनाले महाकाली पारि सतलजसम्मको भूभाग विजय गरेको थियो । वि.सं.१८४७ देखि वि.सं.१८७१–७३ को नेपाल–अँग्रेज युद्ध र त्यसपछि भएको सुगौली सन्धिअघिसम्मको २६ बर्ष महाकाली पश्चिम र काँगडादेखि पूर्वको तराई र पहाडी भूभाग नेपालको स्वामित्वमा थियो ।

 

नेपाल–भारतबीच विवाद रहेको महाकाली पारि कालापानी–लिम्पियाधुरा र पश्चिमका, कुमाउँ, गढवाल, सिरमौर, देहरादुन, सतलज पारि काँगडासम्मको भूभाग विजय–पराजयका नायक बडाकाजी अमरसिंंह थापा हुन् । नेपालले उक्त भूमिमाथिको स्वामित्व दावी गरिरहदा एकीकरणको कुन चरणमा, कुन मितिमा नेपालले सो भूभागमा पाइला टेकेको थियो ? यसतर्फ कम चर्चा भएको छ ।

समयबद्ध साप्ताहिकको यस अङ्कमा भारतसँगको पश्चिम सीमा महाकाली नदी पारि सैन्य अभियानका महारथी मानिने अमरसिंह थापाको जीवनी र विजय अभियानबारेका विवाद तथा केही सत्य, केही भ्रमलाई नियाल्ने कोसिस गरिएको छ ।

जन्मस्थान

नेपाल एकीकरणका योद्धा अमरसिंह थापाको जन्मस्थानबारे फरक दावी छन् । इतिहास शिरोमणी बाबुराम आचार्यले उनको जन्म (नेपालको संक्षिप्त वृत्तान्त, पृ.२२६) गोरखाको सिरानचोकमा भएको उल्लेख गरेका छन् । शाही नेपाली जंगी अड्डाबाट वि.सं.२०४९ मा प्रकाशित प्रा.डा.तुलसीराम वैद्यसहितले लेखेको ‘नेपालको सैनिक इतिहास’ (पृ.४७२) मा अमरसिंह थापाको जन्म स्थान गोरखाको सिरानचोक उल्लेख छ ।

उप.प्रा.बाबुरामसिंह थापाको सम्पादनमा वि.सं. २०६६ मा राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान, काठमाडौं र बगाले थापा सुधार सुझाव संरक्षण समूह काठमाडौंबाट प्रकाशित : ऐतिहासिक रन्जै बगाले थापा बंशावलीमा बडाकाजी अमरसिंह थापा तनहुँको वतनचोकमा जन्मिएको दावी छ ।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान काठमाडौंबाट उप–प्रा.डा.बिनोद थापालाई लेखाउन लगाई सोही प्रतिष्ठानद्वारा वि.सं.२०७० मा प्रकाशित ‘राष्ट्रिय विभूति अमरसिंह थापा’ कृतिमा अमरसिंह थापाको जन्म तनहुँको वतनचोक उल्लेख छ ।

वि.सं.२००० मा सूर्यबिक्रम ज्ञवालीले अमरसिंह थापाको जीवनी लेखन, प्रकाशन गरेका थिए । सोही आधारमा बालकृष्ण समले वि.सं.२०१० मा ‘अमरसिंह’ नाटक लेखे । ती कृतिमा अमरसिंहको जन्म गोरखाको सिरानचोक उल्लेख छ । तर, उप–प्रा.बाबुराम सिंह थापा, राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान र बगाले थापा बंशावलीमार्फत् अमरसिंह थापाको जन्म तनहुँको वतनचोकमा भएको दावी गरिरहेका छन् । उनको दावीमा सत्यता पुष्टि गर्ने आधार चाहिं प्रस्तुत गरिएको छैन ।

अमर सिंहका पूर्वज तनहुँ वतनचोकमा बसोबास गरेका हुन सक्छन् । तर, वि.सं.१८१६ मा पलाञ्चोकको युद्धमा वीरगति पाएका अमरसिंहका पिता भीमसिंह पृथ्वीनारायण शाहको सेनामा उमराव पदमा रहेको र उनलाई पृथ्वीनारायण शाहले गोरखाको सिरानचोक गढीको तैनाथी दिएको तथ्य स्वयम् बाबुराम सिंह थापाले स्वीकार गरेका छन् । पिता भीम सिंह वा बाजे रन्जै कुन चाहि र कहिले तनहुँबाट गोरखा आए ? यस प्रश्नमा उप–प्रा.द्वय मौन छन् । उक्त प्रश्नको सत्यतथ्य बाहिर नआएसम्म थापाद्वयको दावीको कुनै अर्थ रहने छैन ।

पृथ्वीनारायण शाहले राखिदिएको : अमरसिंह नाम

वि.सं.१८०८ मा जन्मिएका अमरसिंहको नाम राजा पृथ्वीनारायण शाहले राखेका थिए । वि.सं.१७९९ मा राजा भएका पृथ्वीनारायण शाहका विश्वासी र मन परेका उमराव थिए–भीमसिंह थापा । उनी सैन्य नायकका घरखेत र तिनका परिवारको चासो राख्दथे । नेपाल एकीकरण गर्ने उनको धोको थियो । एकीकरणका लागि योग्य, क्षमतावान्, वीर सेनानायक आवश्यक पर्दथ्यो । पृथ्वीनारायण शाह भारतको एक हिन्दुराज्य मेवाडका राजा उदयसिंहको सन् १५७२ मा मृत्युपछि राजा भएका महाराणा प्रतापसिंह र उनका छोरा युवराज अमरसिंहले मुगल वादशाह अकवर (सन् १५५६–१६०५) का विशाल सेनासँग वीरतापूर्वक युद्ध लडेर मेवाड राज्यको स्वतन्त्रता र अस्तित्व बचाउन दृढ संकल्पित भएर अन्तिमसम्म देखाएको बहादुरीबाट प्रभावित थिए । पृथ्वीनारायण शाह आफ्ना सेना नायकसँग महाराणा प्रतापसिंहका बाबुछोराको देशप्रेम र युद्धप्रियताको चर्चा गरिरहन्थे ।

पृथ्वीनारायण शाह नुवाकोटमा बसेर उपत्यका वरिपरिको शिवपुरी, साँखु, चाँगु इलाकामा युद्ध सञ्चालन गरिरहेका बेला वि.सं.१८०८ पौषमा छोराको जन्म भएको खबर सुनेर गोरखा दरबार जादा भदौमै उमराव भीमसिंहको छोरा जन्मिएको खबर पाए । त्यसबेला गोर्खा दरबारका विश्वासी भारदारका सम उमेरका छोरालाई भावी राजाका ददा नियुक्त गर्ने चलन थियो । सोही अनुसार राजा पृथ्वीनारायण शाहले भीमसिंह थापाका छोरा भविष्यमा मेवाडका वीर योद्धा अमरसिंह झैं प्रख्यात सेनापति बनुन् भन्ने इच्छाले अमरसिंह र आफ्ना छोरा युवराजको नाम महाराणा प्रतापसिंहको सम्झनामा प्रतापसिंह राखिदिएका थिए । शाह भविष्यमा आफ्नो छोरा महाराणा प्रतापसिंह जस्तै वीर राजा र अमरसिंह जस्तै बहादुर सेनापति बनुन् भन्ने चाहन्थे ।

पृथ्वीनारायण शाहले काजी कालु पाँडेको छोरी चित्रादेवीको विवाह सेनापति शिवरामसिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातसं“ग गराइदिएका थिए । वि.सं.१८१६ मा पलाञ्चोकको युद्धमा वीरगति पाएपछि अमरसिंहलाई आठ बर्षको उमेरदेखि पृथ्वीनारायण शाहले मरवट दिएर आफ्नो संरक्षणमा राखे, युद्ध विद्या, सैनिक ज्ञान र शिक्षा दिए ।

अमरसिंह थापाले लडेको पहिलो युद्ध र सैनिक पद

लेखकहरुले अमरसिंह थापाले भाग लिएको पहिलो युद्धबारे फरक तथ्य उल्लेख गरेका छन् ।

उप–प्रा.डा.बिनोद थापा र उप–प्रा. बाबुरामसिंह थापालगायतका केही लेखकको मत छ : अमरसिंह थापाले बि.सं.१८१९ को मकवानपुर युद्धमा ११ वर्षमै भाग लिएका थिए (राष्ट्रिय विभूति अमरसिंह थापा, पृ.१० ) ।

बाबुराम आचार्य आफ्नो पुस्तक नेपालको संक्षिप्त वृत्तान्त, पृ. १६६ मा लेख्छन् : गोरखाले भक्तपुर विजयका लागि वि.सं.१८२६ कार्तिक २९ गते गरेको आक्रमणमा अमरसिंह थापाले भाग लिएका थिए । सोमध्वज बिष्टलिखित पुस्तक (शाही सैनिक इतिहास, २०२०, पृ.३८ ङ) मा भक्तपुरसँगको युद्धमा अमरसिंह थापाले भाग लिएको उल्लेख छ ।

वि.सं.१८४८ को सुरुमा नेपाली सेनाले कुमाउँका राजा महिन्द्र चन्दका सेनासँग गगौलीको युद्धमा हार खायो । लगत्तै अमरसिंह थापा नेतृत्वमा बुथलगढमा कुमाउँका सेनासँगको युद्धमा नेपालले जित्यो । अब पूरै कुमाउँ नेपालमा मिल्यो । वि.सं.१८४८–४९ माकाजी जगजीत पाँडे र सरदार अमरसिंहको सेनाले गढवाल आक्रमण ग-यो । धेरै प्रयासपछि जगजीत पाँडे र अमरसिंह नेतृत्वको नेपाली सेनाले गढवालका तत्कालीन राजा प्रद्युम्न शाहका सेनालाई पराजित गरिदिए । बार्षिक दुई लाख नेपाललाई सिर्ताे बुझाउने गरी प्रद्युम्न शाह नेपालको आश्रित राजा हुने शर्तमा गढवालसँग सन्धि भयो । तर, गढवाली राजा सिर्ताे बुझाउन नमानेर युद्ध लड्न अग्रसर भए । अमरसिंह थापा नेतृत्वको सेनासँगको युद्धमा राजा प्रद्युम्न शाह मारिए र गढवाल, देहरादुन नेपालको अधीन भयो । अमरसिंह थापाले देहरादुनले नेपाललाई बार्षिक ५०,००० रकम कर बुझाउने शर्तमा नेपाल आश्रित राज्य बनाएर सन्धि गरे ।

भक्तपुर युद्धमा भाग लिएका अमरसिंह थापाको पद सरदार उल्लेख छ ।

वि.सं.१८०८ भदौमा जन्मिएका अमरसिंह थापा १८२६ भदौमा १८ बर्ष पुगेका थिए । १८२६ को कार्तिक अन्तिममा भएको युद्धमा पृथ्वीनारायण शाहले ‘मरवट’ मा पालिएका अमरसिंह थापालाई गोरखाली सेनाको सरदार पद दिएर युद्धमा खटाएको सत्यता नजिक छ । सरदार पद तत्कालीन गोरखा राज्यको राजा, चौतारिया, काजीपछिको सेनाको उच्च पद थियो । युद्धमा वीरगति पाएका भीमसिंह थापाका छोरालाई पृथ्वीनारायण शाहले युवामै सरदार पद दिएर उच्च सम्मान गरेको देखिन्छ ।

पूर्व विजयमा

भक्तपुर विजयसँगै पृथ्वीनारायण शाहको उपत्यका (कान्तिपुर, ललितपुर र भक्तपुर) कब्जा गर्ने अभियान सफल भयो । अब उनी पूर्वतर्फ बढे । वि.सं.१८२७ अन्तिमतिर पूर्वको चौदण्डी र विजयपुर राज्यमा राजपरिवार र भारदारबीच खटपट भएको मौकामा पृथ्वीनारायण शाहले बख्सी अभिमानसिंह बस्न्यात नेतृत्वमा सेना पठाए ।

त्यो सेनाका कमाण्डरहरुमा सरदार अमरसिंह थापासहित सरदार रामकृष्ण कुँवर, सरदार पारथ भण्डारी, सरदार कीर्तिमान सिंह खवास र बलि बानियाँ थिए (नेपालको संक्षिप्त वृत्तान्त, बाबुराम आचार्य, पृ.१८७–१८८) । अमरसिंह थापासहितको अभिमानसिंह बस्न्यात नेतृत्वको सेनाले वि.सं.१८३१ सम्ममा दुधकोसी पारि, स्वतन्त्र राज्य रहेका विजयपुर र चौदण्डीलाई नेपालमा मिलाएर नेपालको सीमा मेची नदीसम्म पु-याएका थिए ।

अमरसिंह थापाका सैन्य गुरु काजी अभिमानसिंह बस्न्यात थिए । बस्न्यातले पूर्व विजय अभियानमा अवलम्बन गरेको युद्धकला र विपक्षी कज्याउने नीतिबाट अमरसिंह थापाले धेरै सिकेका थिए ।

अमर सिंहले देखाएको पहिलो वीरता

वि.सं.१८३८ पौषमा चौबीसे समूहका राज्य–पर्वत, लमजुङ, तनहुँ र कास्कीका संयुक्त सेनाले गोरखाको सिरानचोक गढीमा आक्रमण गरे । चौबीसे सेनाविरुद्ध गोरखाली सेना चौतारा बलभद्र शाह, काजी देवदत्त थापा मगर, दामोदर पाँडेसहित सरदार अमरसिंह थापा नेतृत्वमा खटिएका थिए । चिप्लेटी भन्ने स्थानमा अमरसिंह थापा नेतृत्वको सैनिक टुकडी थियो । चिप्लेटीमा अमरसिंह थापा नेतृत्वको सेनाले चौबीसे सेनालाई पराजित गरिदियो । सिरानचोक गढी अमरसिंह थापा जन्मे हुर्केको भूगोल थियो । यही गढीमा अमरसिंहका पिता भीमसिंहको तैनाथी थियो । यसर्थ, त्यस इलाकाबारे अमरसिंह राम्ररी परिचित थिए । अमरसिंह थापा नेतृत्वको सेनासँग पराजित भएपछि पर्वतका सेनापति गरुडध्वज पन्त नेतृत्वको चौबीसे सेना मैदानबाट भाग्यो ।

सिरानचोकको यही युद्धबाट अमरसिंह थापा गोर्खाली सेनामा नायकका रुपमा परिचित/प्रख्यात भए । लामो सैनिक जीवनमा अमरसिंह थापाको वीरता र युद्धक्षमतालाई राम्ररी चिनाउने सोही युद्ध थियो ।

सिरानचोकको युद्धपछि गोरखाले कास्कीविरुद्ध लडेको युद्धमा भाग लिएर अमरसिंह थापाले कास्कीको सहायतार्थ आएको पर्वतका राजा कीर्ति बम मल्ल नेतृत्वको सेनालाई हराए ।

पश्चिम विजय

पृथ्वीनारायण शाहले मकवानपुर, उपत्यकाका तीन मल्ल राज्य, पूर्वका विजयपुर र चौदण्डीसमेत छ स्वतन्त्र राज्य विजय गरेर वर्तमान नेपालको भावी स्वरुप देखाइदिए । उनी पश्चिम बढ्न खोज्दा लमजुङ, तनहुँ, कास्की, पर्वतसमेत चौबीसे समूहका सेनाले आच्छुआच्छु पारे । शायद पृथ्वीनारायण शाहका कमजोरी ती राज्यका राजा जान्दथे ।

वि.सं.१८३१ मा पृथ्वीनारायण शाहको मृत्युपछि वि.सं.१८३९–४० मा गोरखा अर्थात् नेपाली सेनाले लमजुङ, तनहुँ, कास्कीविरुद्ध सैन्य अभियान सञ्चालन ग-यो । सो युद्धमा अमरसिंह थापा सहभागी थिए । संयुक्त चौबीसे सेनासँगको युद्धमा गोरखाली सेना विजयी भएर लमजुङका भक्ति थापा र पर्वतका सेनापति बलिभञ्जन मल्ल गोरखाली सेनाको कब्जामा परे । बलिभञ्जन कैदमै मरे । भक्ति थापालाई अमरसिंह थापाकै प्रयासमा गोरखाली सेनामा ल्याइयो । भक्ति थापाले त्यसपछिका दिनमा नेपाल एकीकरणमा उल्लेख्य योगदान गरे । पृथ्वीनारायण शाहको कालमा नेपालमा विलय नभएका गण्डकी क्षेत्रका स्वतन्त्र राज्यहरु कास्की, तनहुँ र लमजुङलाई दामोदर पाँडे, अमरसिंह थापासहितको सेनाले नेपालमा गाभेका थिए ।

वि.सं.१८४२ साउनमा बालक राजा रणबहादुरको नायब रहेकी राजेन्द्र लक्ष्मीको मृत्युपछि बहादुर शाह नायब बने । राजेन्द्र लक्ष्मीका नायवीमा चौबीसे समूहका लमजुङ, तनहुँ, कास्की विजयपछि पश्चिम बढ्न बहादुर शाहलाई सहज भयो । अब उनले पश्चिमका गुल्मी, जुम्ला, पर्वत, चन्द्रकोट, खाँची, दुल्लु, अछाम, डोटी, बझाङ, सल्यान लगायतका इलाकामा नेपाली सेना परिचालन गरे । काजी दामोदर पाँडे र सर्दार अमरसिंह थापा, कप्तान नरवीर खत्रीसहितको सेनाले ती भूभाग नेपालमा गाभेको थियो ।

अब लमजुङ र आसपासका राज्य विजयपछि महाकालीसम्मका स–साना राज्य जित्न गोरखाली सेनालाई हम्मे परेन । राजा रणबहादुर शाह बालक थिए, नायब बहादुर शाह निर्धक्क गोरखाली सेना परिचालन गरेर नेपालको सीमा विस्तार गर्न थाले ।

परिवार

अमरसिंह थापाका चार श्रीमती र १० छोराहरु रहेको देखिन्छ । उनका दुईछोरा काजी रणजोर सिंह थापा र काजी नरसिंह थापाको वि.सं.१९०३ भदौ ३१ राति हनुमानढोका दरबार परिसरमा भएको कोत हत्याकाण्डमा हत्या भयो । अमरसिंह थापाका सन्तान कोत पर्वपछि भागेर रामेछापको भलुवाजोर र सिन्धुलीको थुम्का, अमारे, काशीखर्कमा बसोवास गर्न थाले । केही भारततर्फ पलायन भए, जो दिल्ली र देहरादुन आसपास छन् । भारतकी प्रख्यात र चर्चित पत्रकार ज्योति थापा अमरसिंह थापाकी सन्तती हुन् ।

अमरसिंह थापाका दुई छोराहरु अर्जुन सिंह र भूपालसिंह थापा नेपाल–अँग्रेज युद्धपछि तत्कालीन पञ्जावका महाराजा रणजीतसिंहको सिख सैनिक बन्न लाहौर गएका थिए । अर्जुन र भूपालसँग अमरसिंंह थापाको छोरीतर्फका नाति एवम् नेपाल अँग्रेज युद्धमा नालापानीमा लडेका कप्तान बलभद्र कुँवर पनि लाहौर गए ।

अँग्रेजी पद दिइएन कि लिएनन् ?

अमरसिंह थापाले वि.सं.१८२६ मा सरदार र वि.सं.१८५७ मा काजी पद पाए । जीवन पर्यन्त अमरसिंह थापा काजी पदमा रहे ।

अमर सिंह थापा सरदार पद पाएर भक्तपुर युद्ध र पूर्वका विजयपुर तथा चौदण्डी राज्य विजय युद्ध सकिएपछि वि.सं.१८३२ मा जन्मिएका भीमसेन थापा वि.सं.१८६० मा काजी भए । वि.सं.१८६३ मा रणबहादुर शाहको हत्यापछि मुख्तियार भएका भीमसेन थापा मातहतमा रहेर अमरसिंह थापाले काम गर्नुप-यो । अमरसिंह थापाको जीवनमा यो थप अपमान थियो ।

वि.सं.१८६८ मा भीमसेन थापाले नेपाली सेनाको उच्च पद जनरल लिए । नेपाली सेनामा जनरल र कर्णेल पद सिर्जना गरे । तर पश्चिमी देश, खासगरी अँग्रेज सेनामा प्रचलित पदहरु अमरसिंह थापाले लिएनन् वा उनलाई दिइएन ।

बडाकाजी अमरसिंह थापा

बनारसबाट फर्किएर राजकीय सत्ता पुनः हात लिएका रणबहादुर शाहले वि.सं.१८६१ मा गठन गरेको भारदारी सभामा भीमसेन थापाका पिता सरदार अमरसिंह थापा काजी भए । अब नेपाल दरबारमा एक नामका दुई काजी भए । भीमसेन थापाका पिता अमरसिंह थापा भन्दा उमेरमा जेठा र काजी पद पहिल्यै पाएको हुँदा गोरखा सिरानचोकका भीमसिंह थापाका छोरा अमरसिंह थापा त्यसपछि बडाकाजी र गोरखा बोर्लाङ घर भएका भीमसेन थापाका पिता अमरसिंह थापा सानाकाजी कहलाए ।

महाकाली पारि नेपालको विजय

वि.सं.१८४७ मा काजी जगजीत पाँडे र सरदार अमरसिंह थापा नेतृत्वको नेपाली/गोरखाली सेनाले अछाम, बझाङ, डोटी विजय गरी महाकाली तरेर कुमाउँको धोलीमा क्याम्प खडा गरेको थियो ।

दिनेशराज पन्त (महामण्डलदेखि काँगडासम्म,४८)का अनुसार नेपाली सेनाले वि.सं.१८४७ चैत ११ गते कुमाउँको अल्मोडा कब्जा गरेको थियो ।

वि.सं.१८४८ को सुरुमा नेपाली सेनाले कुमाउँका राजा महिन्द्र चन्दका सेनासँग गगौलीको युद्धमा हार खायो । लगत्तै अमरसिंह थापा नेतृत्वमा बुथलगढमा कुमाउँका सेनासँगको युद्धमा नेपालले जित्यो । अब पूरै कुमाउँ नेपालमा मिल्यो । वि.सं.१८४८–४९ माकाजी जगजीत पाँडे र सरदार अमरसिंहको सेनाले गढवाल आक्रमण ग-यो । धेरै प्रयासपछि जगजीत पाँडे र अमरसिंह नेतृत्वको नेपाली सेनाले गढवालका तत्कालीन राजा प्रद्युम्न शाहका सेनालाई पराजित गरिदिए ।

बार्षिक दुई लाख नेपाललाई सिर्ताे बुझाउने गरी प्रद्युम्न शाह नेपालको आश्रित राजा हुने शर्तमा गढवालसँग सन्धि भयो । तर, गढवाली राजा सिर्ताे बुझाउन नमानेर युद्ध लड्न अग्रसर भए । अमरसिंह थापा नेतृत्वको सेनासँगको युद्धमा राजा प्रद्युम्न शाह मारिए र गढवाल, देहरादुन नेपालको अधीन भयो । अमरसिंह थापाले देहरादुनले नेपाललाई बार्षिक ५०,००० रकम कर बुझाउने शर्तमा नेपाल आश्रित राज्य बनाएर सन्धि गरे ।

कुमाउँ, गढवाल र देहरादुनपछि अमरसिंहको सेना काँगडातर्फ लम्कियो । काँगडाका राजा संसार चन्दले सिरमोर, चम्बा, हण्डुरलाई दबाएका थिए । सर्दार अमरसिंह थापाले हण्डुर, सिरमौर दख्खल गरे । यहीबीच नेपालको तिब्बत–चीनसँग युद्ध नजिकिएकाले नेपाली सेनालाई त्यस इलाकामा सन्धि गरेर काठमाडौं फर्किन आदेश भयो ।

अन्त्यमा

तत्कालीन समयमा महाकाली पारिको त्यस भूभागमा गोर्खा, सिख, मुगल र मराठा चार शक्ति थिए । स्थानीय शासक पराजित भएर पलायन भएका थिए ।

अँग्रेजको ध्यान यो भूभागमा परिसकेको थिएन । पञ्जावका रणजित सिंह काश्मीर जितेर पूर्वतर्फ काँगडा, सिरमौर, गढवालतिर बढ्दै थिए । गोर्खा तराई अर्थात् दक्षिण होइन, पश्चिम पहाडतर्फ बढेको थियो । सिख सैनिक र गोर्खा सैनिकको काँगडाको युद्धमोर्चामा जम्काभेट भएको थियो ।

सन् १८४८–४९ को नेपाल तिब्बत–चीनसँगको युद्धमा व्यस्त भए पनि महाकाली पारिको शासन सुवेदार भक्ति थापाले सम्हालेका थिए । नेपालको चीन–तिब्बतसँगको युद्धपछि १९५१ बैशाखमा शासनको अधिकार राजा रणबहादुर शाहले लिए । उनले भक्ति थापालाई सर्दार पदमा बढुवा गरेर कुमाउँमा अझ धेरै अधिकार दिए । थापाले महाकाली पारि कडा प्रशासन चलाएका थिए । त्यहाका जनता र नेपालीको धार्मिक आस्था, भाषा, संस्कृति नेपालसँग मिल्दा र समान थिए ।

पृथ्वीको कुन भूभाग कुन देशको ? यसको आधार त्यतिबेला सैनिक विजय नै थियो । त्यसबेला नेपाली सेनाले महाकाली पारि सतलजसम्मको भूभाग विजय गरेको थियो । वि.सं.१८४७ देखि वि.सं.१८७१–७३ को नेपाल–अँग्रेज युद्ध र त्यसपछि भएको सुगौली सन्धिअघिसम्मको २६ बर्ष महाकाली पश्चिम र काँगडादेखि पूर्वको तराई र पहाडी भूभाग नेपालको स्वामित्वमा थियो ।

आगामी अङ्क….

अमरसिंंह थापाको जीवनी, महाकाली पारिको नेपाली स्वामित्व तथा कालापानी विवादबारेको प्रस्तुत चर्चा यत्तिमै सीमित हुँदैन ।

त्यसपछि के–कस्ता घटनाक्रम विकसित भए र आज त्यो भूभाग भारत अधीनस्थ हुनसक्यो ? नेपाल–अँग्रेजबीच सुगौली सन्धि हुनुअघि नै बडाकाजी अमरसिंह थापाले किन आफूबाट विजित महाकाली पारिको भूभाग त्यागे ? कहिले काठमाडौं फर्किए ? आजको नेपाल–भारतबीच कालापानी–लिम्पियाधुरा विवाद के हो ? कहिलेदेखिको हो ? यसबारेको सत्यतथ्य आगामी अङ्कमा चर्चा गरिनेछ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार