Techie IT
×
गृहपृष्ठबिचारबन्द होस्, माला संस्कृतिको भद्दा सम्मोहन

बन्द होस्, माला संस्कृतिको भद्दा सम्मोहन


टिप्पणी

‘चुनाव जितेका अरुहरुले अलिअलि तामझाम गरेको ठीकै मान्न सकिएला तर अध्यक्ष कमरेडले त्यसो गर्न हुँदैन र सुहाउँदैन पनि । त्यस कारण भेटघाट र बधाई दिन आउने नेता/कार्यकर्तालाई फूल, माला, खादाबिना आउन भन्नुपर्ने भयो । अधिकांश अलोकप्रिय पात्रलाई टिकट दिंदा पार्टी १७ मा झरेको छ र पार्टीको लोकप्रिय मतमा समेत नयाँ राप्रपाजस्ता पुरातनपन्थीहरुले लतार्दै लगेको बेला अध्यक्ष कमरेडले घरभित्रै थामिनसक्नु माला–खादासहित बधाई खाने कुराले भौतिक–नैतिक रुपमा अलिकति पनि राम्रो गरेको छैन ।’–लेखनाथ न्यौपाने ।

माओबादी केन्द्रका एक जना प्रभावशाली युवा नेता, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले सामाजिक संजालमा यो कुरा लेखिरहदा उनकै उत्तराधिकारी, बिद्यार्थीका पूर्व अध्यक्ष हिमाल शर्मा भने प्रचण्डको घाटी नै निहुरिने गरी गलामा माला पहिराउन निवासमै पुगेका छन । गठबन्धन गर्दा पनि पार्टीले देशैभरि लज्जाजनक परिणाम ल्याउँदा र अध्यक्षकै गृह जिल्ला, जहाँ अध्यक्ष प्रचण्ड आफै उठ्ने अन्तिम तयारी गरेको चितवन ३ मा समेत राप्रपाका उम्मेदवारले भारी मतले जित्दा माओवादीहरूलाई अझै गम्भीर बनाएको छैन ?

हिमाल शर्मा आफैले उठ्ने भनेको ठाउँमै पार्टीले प्रदेशसभामा लज्जाजनक पराजय भोग्नु परेको छ । आफैले नेतृत्व गरेको काठमाडौ जिल्लाले सिफारिस नै नगरेको, बाग्मती प्रदेशले पनि नामै नलिएको, माओवादी कार्यदलका हर्ताकर्ता वर्षमान पुनले आफ्नो श्रीमती ओनसरी घर्तीलाई रकेटबाट उम्मेदवार बनाएर झार्दा काठमाडौं पार्टीले कस्तो महसुस ग¥यो ? भित्र असन्तुष्टि व्यक्त गर्ने, स्थानीय र त्यहीं कृयाशील नेता तथा कार्यकर्ताले पूरै प्रतिवाद गर्दा त्यस पक्षमा बोल्न नसक्ने नेताका कारणले पनि काठमाडौ जिल्ला पूरै बिग्रिएको छ ।

स्थानीय तहको निर्वाचनमै पनि काठमाडौमा फिल्डको मनोभावनाअनुसारको नेतृत्व गर्न नसकेको आरोप हिमाल शर्माहरुलाई लागेकै हो । त्यही अन्तरबिरोध पछि विस्तारित हुँदै काठमाडौ ५ का पार्टी इन्चार्जसहित धेरैले राजीनामा दिने अवस्था बनेको हो । त्यही बेलाको अन्तरबिरोधका कारण र पार्टीले समयमा नै हल नगरेकाले टोखा नगरपालिकाका मेयरमा माओबादी केन्द्रबाट निर्वाचन लडेका ब्यक्ति एमाले प्रवेश गरेका छन् ।

काठमाडौसहितका शहरी मतदाताले माओबादीलाई मन नपराएको, चितवनमा समेत अध्यक्षले नै आफ्नो उत्तराधिकारी भनेर उठाएको उम्मेदवारले पश्चगमनकारी राप्रप्राको उम्मेदवारसँग भारी मतले हारेको घटनाले हिमाल शर्माहरु जस्ता युवालाई किन गम्भीर बनाउँदैन ?

माओबादी केन्द्रमा धेरै युवा नेताहरु आलोचनात्मकभन्दा पनि नेतृत्व, सत्ता र यसको वरपर पुगेर आफ्नो अवस्थामा सुधार आउछ भन्ने मान्यतामा अझै छन् । त्यसको एक उदाहरण हिमाल शर्मा पनि बनेका छन । पार्टीलाई जमिनमा, जनतामा टेक्ने स्तरको बनाउने भन्दा पनि मन्त्रीको स्वकीय सचिवमा रमाएर आफ्नो छवि बिगारेको आरोप उनीमाथि पनि धेरैले लगाउने गरेका छन् । फेरि पार्टीलाई सत्तामा जान उत्प्रेरित गर्ने र यसको लाभमा रमाउने प्रवृत्ति हावी त हुँदै छैन ?

यहाँ के बुझ्नुपर्छ भने फेरि पनि, मूल समस्या हिमालहरुको होइन । कम्युनिष्ट पार्टीको मुख्य नेतृत्व, संगठन संरचना र शैलीकै हो । काङ्ग्रेसमा नेतृत्वप्रति असन्तुष्ट रहेका गगन थापाहरु समानान्तर रुपमा बिकास हुन सक्ने तर कम्युनिष्ट पार्टीमा भीम रावल, घनश्याम भुषाल, लेखनाथ न्यौपानेहरु किनारामा धकेलिनुपर्ने किन ? आफूलाई राजनीतिको मूलधारमा राखिरहन र राजनीतिमा पदीय र सुबिधाको लाभ लिन मरिहत्ते गर्ने अवस्था संगठनात्मक संरचना र शैलीकै दोष हो ।

नेतृत्वको घरघरमा धाएर माला लगाइदिने होइन, पार्टी, आन्दोलन र नेतृत्वप्रति आलोचनात्मक सोच राख्ने, राजनीतिलाई धन्धा नमानेर जनसेवालाई प्राथमिकता दिने हो भने माओवादी अझै बलियो बन्न नसक्ने होइन । तर, बलिदान र त्याग गरेका कुनै पनि पार्टीहरु इतिहासको ब्याज खाएर मात्र टिकिरहन असम्भव छ ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking


सम्बन्धित समाचार