Techie IT
×
गृहपृष्ठबिचारसरकार नै बदलिदैंछ : मन्त्रीले चाहिँ राजीनामा दिइहाल्नुपर्ने उत्ताउलो मिडिया वकालत

सरकार नै बदलिदैंछ : मन्त्रीले चाहिँ राजीनामा दिइहाल्नुपर्ने उत्ताउलो मिडिया वकालत


 टिप्पणी

काठमाडौं। केही मिडियाहरूले चुनावमा पराजित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने उत्ताउलो वकालत गरेका छन् । र, त्यसै वकालतमा मिसिएका छन् केही राजनीतिशास्त्री आदर्शीहरू पनि ।

चुनाव घोषणासँगै सरकार कामचलाउ भइसकेको र पार्टीहरू नयाँ सरकार निर्माणको गृहकार्यमा जुटिसकेको अवस्थामा पराजय बेहोरेका मन्त्रीले चाहिँ राजीनामा दिइ हाल्नुपर्ने दीक्षा स्वत अप्रासंगिक छ।

निर्वाचन आयोगले निर्वाचन आयोगको आधिकारिक नतिजा राष्ट्रपति समक्ष कहिले पेश गर्छ, अनि त्यस नतिजाका आधारमा राष्ट्रपति कार्यालयले कहिले सरकार निर्माणको आव्हान गर्छ, कतिपय क्षेत्रका निर्वाचन विवादहरूले त्यो यसै भन्न सकिने अवस्था छैन।

आयोगले छिटोभन्दा छिटो परिणाम बुझाउने बताए पनि पहिलो संबिधानसभाको निर्वाचनपछि चार महिनासम्म नयाँ सरकार बन्न नसकेको र अघिल्लो निर्वाचनपछि समेत तीन महिनासम्म नयाँ सरकार बन्न नसकेको नजिर सबै सामु छर्लङ्ग छ । त्यस्तै प्राबिधिक उल्झन आएमा मन्त्रीविहीन सरकारले दैनिक सेवा र वितरणका कामहरू चुस्त बनाउन सक्ला ? के आदर्शी नैतिकताका नाममा मिडियाहरूले गतिहीन राज्यको वकालत गरेका हुन् ?

हो, निर्वाचन आयोगले छिटोभन्दा छिटो आधिकारिक–औपचारिक परिणाम दिनुपर्छ र विगतको ढिलासुस्ती दोहोर्‍याउनु हुँदैन। तर, यसै पनि काम चलाउ भइसकेको सरकारका खास–खास मन्त्रीले चाहिँ राजीनामा दिनैपर्ने भाष्य जबर्जस्ती स्थापित गर्नु सीमित संक्रमण चरणलाई झन ठूलो शून्यतामा पुर्‍याउनु हो।

नयाँ सरकार नबन्दासम्म यो सरकार नै जीवित छ र यसका सबै मन्त्रीहरू जीवित छन् । संबैधानिक अबिच्छिन्न उत्तराधिकार प्रणालीलाई कमजोर बनाउने हर्कत कसैले गर्नु हुँदैन । मिडियाले त झन दस पटक सोचेर यस्ता अनावश्यक चलखेल नियत–सन्दर्भलाई बन्देज गर्नुपर्छ ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking