Techie IT
×
गृहपृष्ठबिचारउज्ज्वल भविष्यका लागि विद्युत्

उज्ज्वल भविष्यका लागि विद्युत्


कृष्ण अधिकारी

गुणस्तरीय जीवन यापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक छ । त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्छ । सबल अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार भनेको कृषि, पर्यटन र ऊर्जा हो । देश विकासका लागि जलश्रोत लगायतका प्राकृतिक स्रोतको उचित प्रयोग गर्नु आवश्यक छ । केही वर्षअघिसम्म मागअनुसार विद्युत् आपूर्ति हुन नसक्दा १८ घण्टासम्म लोर्डसेडिङ गर्नु परेको थियो, भएका उद्योगधन्दा बन्द गर्नु परेको थियो । जनताको जीवनशैली पुरानो युगतर्फ फर्किन खोज्दै थियो । त्यतिबेला विद्युत उज्यालोका लागि मात्रै हो भन्ने बुझाइ थियो ।

हाल नेपालको कूल विद्युत जडित क्षमता करिब २२ सय मेगावाट पुगेको छ भने विद्युतको माग १८ सय मेगावाटको हाराहारीमा रहेको छ । हाल देशको करिब ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ । ऊर्जाको आन्तरिक खपत बढाउनुको साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी छ । विद्युत् उत्पादनमा वृद्धि भएसँगै त्यसको खपत बढाउन एकातिर आन्तरिक खपत बढाउन उद्योगधन्दा, सवारीसाधन र भान्छामा खाना पकाउन विद्युत्को प्रयोग गर्न सकिन्छ ।

सरकारले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने गरी योजना बनाई कार्यान्वयन शुरु गरिसकेको छ । अबको विद्युत उज्ज्वल भविष्यका लागि भन्ने मान्यताका साथ अब हामीले औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्टमार्फत खानेपानी र सिँचाइका साथै विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यको लागि ऊर्जाको प्रयोग गर्नुपर्नेछ ।

सरकारले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने गरी योजना बनाई कार्यान्वयन शुरु गरिसकेको छ । अबको विद्युत उज्ज्वल भविष्यका लागि भन्ने मान्यताका साथ अब हामीले औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्टमार्फत खानेपानी र सिँचाइका साथै विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यको लागि ऊर्जाको प्रयोग गर्नुपर्नेछ ।

सरकारले उत्पादित विद्युत स्वदेशमै खपत हुन नसकेमा निर्यात गर्ने नीति लिइएको छ । सो अनुरूप वर्षाको समयमा बढी हुने तीन सय ६४ मेगावाट विद्युत मित्र राष्ट्र भारतमा निर्यात हुन शुरु पनि भइरहेको छ । यसबाट आगामी दिनमा देशको मानव विकास सूचकाङ्कमा सकारात्मक योगदान पुग्ने देखिन्छ । हिजो विद्युत्को माग अनुसार आपूर्ति हुन नसक्दा झण्डै चार सय मेगावाट भारतबाट आयात गरिंदै आएकामा अहिले उल्टै भारतलाई निर्यात गर्न थालिनुलाई ऊर्जा क्षेत्रमा देशले छोटो समयमा नै ठूलो फड्को मारेको प्रष्ट हुन्छ ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा रु तीन अर्ब ८४ करोडको विद्युत निर्यात गरेको थियो भने चालु आर्थिक वर्षको श्रावण महिनामा रु एक अर्ब ८४ करोडको विद्युत निर्यात गरिसकेको छ । यस आर्थिक वर्षको अन्त्यसम्म करिब रु १६ अर्ब को विद्युत निर्यात हुने प्रक्षेपण गरिएको छ । यसबाट व्यापार घाटा कम गर्न एवं समग्र रुपमा विदेशी मुद्रा संचितिमा ठोस योगदान पुगेको छ ।

सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने बिपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको छ । विद्युत आधारभूत आवश्यकताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महशुल पुनरावलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिइएको छ । साथै ग्राहस्थ तथा औद्योगिक समूहको समेत महशुल कम गरिएको छ । यसले देशको कृषि उत्पादन बृद्धि हुनुका साथै गरिबीको रेखामुनी रहेको नेपाली जनतालाई विद्युतको माध्यमबाट राहत पुगेको छ ।

सरकारले विद्युत खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । जसका कारण यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको छ । हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३ सय ५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य मात्रामा बृद्धि गरिने छ । सरकारले एलपी ग्याँसलाई क्रमिक रुपमा विद्युतीय चुल्होमार्फत प्रतिस्थापन गर्न ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत जोडौँ’ भन्ने अभियान शुरु गरिसकेको छ ।

मुलुकको दिगो विकासका लागि जलविद्युत््को अधिकतम् उपयोग हुन आवश्यक छ । दिगो विकास विश्वव्यापी रुपमा समृद्धिको सृजना, वितरण, र दिगोपना हासिल गर्नेतर्फ जोडिएको छ । सन् २०१६ देखि २०३० सम्मका लागि निर्दिष्ट गरिएको दिगो विकासको लक्ष्यलाई नेपालले पनि प्रतिवद्धता जनाएको सन्दर्भमा किफायति, विश्वसनीय, भरपर्दो र आधुनिक ऊर्जामा सबैको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न पनि जलविद्युत् आयोजनाको दिगो रुपमा विकास गरिनुपर्ने आवश्यकता छ । पेरिस सम्झौता र एजेन्डा २०३० अनुरूप नेपालले कम–कार्बन र जलवायु–उत्थानशील वृद्धि सुनिश्चित गर्न जीवाश्म इन्धनको निर्भरता कम गर्न पनि स्वदेशमै उत्पादन हुने जलविद्युत््को प्रयोगलाई बढाउन आवश्यक छ ।

सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने, सन् २०२६ सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न एवं सबल अर्थतन्त्रको विकास गर्न कृषि, पर्यटन, औद्योगीक क्षेत्रसहित जलविद्युत् आयोजनाहरुको तीब्रतर विकास हुनु आवश्यक छ । औद्योगिकीकरण, यातायात सञ्चालन, लिफ्टमार्फत खानेपानी र सिंचाइको विकास गर्न ऊर्जाको खपत बढाउनु पर्ने हुन्छ । नवीकरणीय र दिगो ऊर्जाका स्रोतहरुको समुचित विकास, व्यवस्थापन र उपयोग गर्दै जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्नेतर्फ हाम्रा प्रयासहरु केन्द्रित हुनुपर्दछ ।

विद्युत् उत्पादनमा वृद्धि भएसँगै यसबाट जनताले स्वच्छ ऊर्जाको प्रयोग गर्न थालेका छन् । यसले एकातिर ऊर्जामा पेट्रोलियम पदार्थको खपत घट्दै जानेछ भने अर्कोतर्फ ग्रामीण भेगमा प्रयोग हुँदै आएको परम्परागत ऊर्जालाई स्वच्छ ऊर्जाले प्रतिस्थापन गरी गुणस्तरीय जीवन यापनका लागि सहयोग पुग्नेछ । यसले आर्थिक सवलीकरणमा महत्वपूर्ण सहयोग गर्नेछ । देशको समग्र आर्थिक विकास हुँदै गर्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना भई जनताको आय बढ्ने र मानवीय जीवन थप सहज हुनेछ । जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका महत्वपूर्ण टेवा पुगेको छ ।


क्याटेगोरी : बिचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस