Techie IT
×
गृहपृष्ठबिचारवरिस्ठ साहित्यकार माधव घिमिरेलाई मानार्थ सैनिक पद किन ?

वरिस्ठ साहित्यकार माधव घिमिरेलाई मानार्थ सैनिक पद किन ?


 

चीन साइवर युद्धको तयारी गर्दैछ । अमेरिकाले अन्तरिक्ष सेना गठन गरिसकेको छ । रुसले पृथ्वीको पल्लो गोलाद्र्धबाट हाम्रो छिमेकी भारतलाई बर्षेनी खर्ब डलरको हतियार बेचीरहेको छ । लाजमर्दाे कुरा नेपाली सेनाका पुर्वप्रधानसेनापतिहरु गीत लेख्ने र संगीत भर्नेलाई राष्ट्रिय सेनाको जर्नेल पद बाँडेर अनलाइन खबरमा गोैरव गरिरहनुभएको छ । यो पूर्व प्रधानसेनापतिहरुले सेनाभित्र जबर्जस्त भित्र्याएको बिकृति हो । राणा र शाह राजाको पथ हिंड्ने रहर हो । हाँजस्तै ढल्केर हिंडन खोज्ने बकुल्लाको शैली हो ।

मोहन थापा

यही भदौ २ गते माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा असामयिक निधन भयो । भदौ ३ गते पशुपतिस्थित आर्यघाटमा घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो । उहाँको पार्थीव शरीरमा दागवत्ती दिनुअघि नेपाली सेनाको एक टोलीले सम्मानगारत अर्पण गरेको थियो ।

सरकारले राष्ट्रिय स्तरमा महत्व राख्ने प्रतिभाको असामयिक निधनमा राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको अवस्थामा नेपाली सेनाले अन्तिम सम्मान दिने चलन छ । भदौ २ गते मृत्युवरण गर्नुभएका माधवप्रसाद घिमिरेज्यु राष्ट्रिय सम्मान पाउन योग्य प्रतिभा हुनुहुन्थ्यो नै । त्यसबाहेक उहाँ नेपाली सेनाबाट सम्मान पाउने हकदार पनि हुनुहुन्थ्यो । उहाँलाई बि.सं.२०७५ मा नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गरिएको थियो । तसर्थ पनि घिमिरेज्यूको पार्थिव शवलाई नेपाली सेनाबाट अन्तिम सम्मान प्रदान गर्नु सामयिक र स्वाभाविक थियो ।

के हो मानार्थ ?

सामान्यतया सैनिक पद सैनिक सेवामा भर्ति भएर सक्रिय रुपमा सेवारत व्यक्तिलाई मात्र प्रदान गरिन्छ । त्यसमाथि पनि उच्च पद त धेरै वर्ष सेवा अवधि भएपछि धेरै वटा उच्चस्तरका तालिम गरेपछि तहतहका सैनिक युनिट, विभाग र निकाय सफल कमाण्ड गरेपछि मात्र प्रदान गरिन्छ ।

साहित्य विधामा सक्रिय माधवप्रसाद घिमिरे सैनिक सेवामा प्रबेश गर्नुभएन । तर, पनि उहाँलाई सेनाको सहायक रथी (बृगेडियर जनरल) पद ! प्रश्न उव्जनु स्वाभाविक हुनसक्छ । माधवप्रसाद घिमिरेलाई बि.सं.२०७४ मा नेपाली सेनाको मानार्थ सहायक रथी पद प्रदान गरिएको थियो । मानार्थ भनेको मानको खातिर हो । सम्मान स्वरुप हो ।

सैनिक पद मानको खातिर विशेषगरी विदेशी विशिष्ट सैनिक व्यक्तित्वलाई प्रदान गरिन्छ । स्वदेशमा भने सैनिक सेवामा आवद्ध भएर विशिष्ट योगदान गरेको तर प्रचलित ऐन नियम र उमेर हद लगायत अन्य प्रावधान बमोजिम निजलाई सक्रिय भएर सेवामा रहदा ऊ कार्यरत साविक भन्दा उच्च पद दिन नमिल्ने अवस्थामा निजको योगदानको उच्च मूल्याङ्कन स्वरुप प्रदान गरिन्छ । गैरसेैनिकलाई सैनिक पद एक्टिङ वा मानार्थ दिने नेपालको संविधान, सैनिक ऐन, सैनिक नियमावली कहीँ कतै छैन । यदि दिइन्छ भने गैरकानुनी हो, अवेैधानिक हो ।

विश्वका अरु देशमा सैनिक सेवामा नरहेका व्यक्तिलाइ मानार्थ सैनिक पद दिइन्न । राज्यका अन्य पद दिइन्छ ।

नेपालमा सेनाको मानार्थ पददिने प्रचलन : विदेशी उच्च सैनिक अधिकारीबाट

बि.सं.१९४५–४६ मा वीर शमशेर जबरा नेपालका श्री ३ महाराज, प्रधानमन्त्री, सर्वाेच्च प्रधानसेनापति पदमा छदा तत्कालीन बृटिस भारतका प्रधानसेनापति लर्ड रबर्टलाई नेपाली सेनाको मानको खातिर अनरेरी जनरल पद, जर्नेली पगरी, हुमाउ, कल्की प्रदान गरेका थिए । नेपाली सेनाको पद मानार्थ अर्थात् मानको खातिर प्रदान गरिएको त्यो नै पहिलो थियो ।

वीरशमशेरका अनुसार नेपालमा पठाएएका त्यसबेलाका बृटिस भारतका रेजिडेन्ट (राजदुत) गल्र्ड स्टोन कमजोर अवस्थाको फाइदा उठाएर नेपाललाई भारतीय उपनिवेशमा गाभ्नुपर्ने पक्षमा थिए । वीरशमशेरले यो कुरा थाहा पाएर उनी धार्मिक तीर्थ यात्राको निहुंमा भारत यात्रामा गएर त्यहा“का भायसराय लर्ड लिटनसँग भेटगरी नेपाल र बेलायतबीच पुरानो सम्बन्ध भएको, बेलायतका लागि नेपालले सक्दो सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गर्ने बचन दिए । साथै त्यसबेला भारतमा बेलायतका प्रधानसेनापति रहेका लर्ड रबर्टलाई नेपाल भ्रमणको निम्ता दिए । केही समयमै लर्ड नेपाल आए । उनको नेपालमा भव्य स्वागत भयो । किमती उपहारहरु दिइयो र नेपाली सेनाको मानार्थ जनरल पद दिएर कूटनीतिक ढङ्गबाट नेपाल बेलायतबीच सम्बन्ध थप मजबुत बनाउन उनी सफल भए ।

वीरशमशेरपछि जुद्धशमशेर जबरा श्री ३ महाराज, प्रधानमन्त्री तथा नेपाली सेनाको सर्वाेच्च प्रधानसेनापति छ“दा तत्कालीन बृटिस भारत सरकारका प्रधानसेनापति सर क्लाइड जेकोव यडवर्ड अकिनलेक सन् १९४५ अक्टोवर २४ मा काठमाडौं आउदा नेपाली सेनाको मानार्थ जनरल पद प्रदान गरिएको थियो । त्यसबेला जुद्धशमशेर जबराले अकिनलेकलाई अनरेरी अर्थात मानार्थ जनरल पद, तरवार, जनरल पदको हेलमेट र सुप्रसिद्ध मान्यवर नेपाल तारा पदक दिएका थिए । प्रधानसेनापति अकिनलेक नेपाली सेनाको मानार्थ जनरल पाउने दोस्रा विदेशी थिए ।

नेपाली सेनाको मानार्थ जनरल पद पाउने ती दुबै बेलायतका उच्च सैनिक अधिकारी थिए ।

विदेशी सेनाको मानार्थ पद : नेपालीलाई

बि.सं.१९७६ पुष, सन् १९१९ डिसेम्बर २७ मा नेपालले बेलायतलाई गरेको सैेनिक सहयोगको सम्मानमा बेलायतले नेपालका तत्कालीन श्री ३ महाराज, प्रधानमन्त्री र नेपाली सेनाका सर्वाेच्च प्रधानसेनापति चन्द्रशमशेर जबरालाई बेलायती सेनाको मानार्थ जनरल पद दिएको थियो । चन्द्रशमशेर जबरा बि.सं. १९५८ मा श्री ३ महाराज हुनुअघि नेपाली सेनाका प्रधानसेनापति पदमा थिए । उनी सैनिक पदहरुबाट नै श्री ३ को पदमा पुगेका हुन् ।

त्यसपछि बि.सं.१९९१ साउनमा नेपालका तत्कालीन श्री ३ महाराज, प्रधानमन्त्री तथा सर्वाेच्च प्रधानसेनापति जुद्धशमशेर जबरालाई बेलायती सेनाको मानार्थ जनरल पद दिइएको थियो । दोस्रो बिश्वयुद्ध सकिएपछि बेलायतलाई गरेको सैनिक सहयोगको सम्मानमा बेलायतले नेपालका श्री ३ लाई सिभिलियन जिसिबी पदक र बेलायती सेनाको मानार्थ जनरल दिएको थियो ।

बि.सं.२००७ पछि

बि.सं.२००७ को राणाबिरोधी क्रान्तिपछि श्री ३ महाराज, प्रधानमन्त्री र नेपाली सेनाको सर्वाेच्च प्रधानसेनापति पद खारेज भयो । बि.सं.२००८ बैशाख १ गते राजा त्रिभुवन बीरबिक्रम शाहले नेपाली सेनाको सर्वाेच्च प्रधानसेनापति पद आपूmले लिए । अब देशको शासन सञ्चालनको कार्यभार पनि राणा प्रधानमन्त्रीबाट शाह राजाको हातमा आयो । त्यसपछि सैनिक पदहरु राणाले होइन राजाले बांड्न थाले ।

बि.सं.२००९ मा नेपाली सेनाको पुनर्गठनका क्रममा राजा त्रिभुवनका माइला छोरा हिमालयबिक्रम शाह र कान्छा छोरा बसुन्धराबिक्रम शाहलाई नेपाली सेनाको कप्तान पद दिइएको थियो । यो कप्तान दर्जा मानार्थ होइन सक्रिय पद थियो । उनीहरुको व्यक्तिगत नं.१४६ र १४७ थियो । राजकुमारद्वयले पिता त्रिभुवनको मृत्युपछि बि.सं.२०११ चैत ३१ गतेबाट नेपाली सेनाको कप्तान दर्जा छाड्नु भएको थियो ।

बि.सं.२०१० मा राजा त्रिभुवनले नेपाली सेनाका पुर्वप्रधानसेनापति रुद्रशमशेर जबरालाई नेपाली सेनाको फिल्ड मार्शल पद प्रदान गरे । रुद्रशमशेर जबरा त्यसबेला नेपाली सेनाको तलबी जनरल पदमा थिए ।

बि.सं.२०११।३।१५ मा राजा त्रिभुवनले त्यसबेला नेपालको प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई नेपाली सेनाको मानार्थ जनरल पद प्रदान गरे । गैरसैनिक व्यक्ति नेपाली सेनाको उच्च पद जनरल पाउने मातृकाप्रसाद कोइराला नै पहिलो हुन् ।

बि.सं.२०११ मा राजा त्रिभुवनको देहान्तपछि महेन्द्रवीरबिक्रम शाह राजा हुनुभयो । राजा महेन्द्रले बि.सं.२०१२ असार १ गते नेपाली राष्ट्रिय सेनाको फिल्डमार्शल पद ग्रहण गर्नुभएको थियो । बि.सं.२०१३ बैशाख २० गते नेपाली सेनाले राजा महेन्द्रमा फिल्डमार्शलको वेटन चढाएको थियो ।

बि.सं.२०१३ बैशाख २० गते राजा महेन्द्रले नेपाली सेनाको सर्वाेच्च प्रधान सेनापतिको हैेसियतले आफ्नी महारानी रत्नराज्यलक्ष्मीदेवी शाहलाई नेपाली सेनाको त्यसबेलाको एक युनिट माउन्टेन व्याट्रीको कर्णेल–इन–चीफ पद प्रदान गरे । सोही दिन राजा महेन्द्रले पूर्व प्रधानसेनापति केशरशमशेर जबरालाई नेपाली सेनाको फिल्डमार्शल पद प्रदान गरे । केशरशमशेर राजा महेन्द्रका भिनाजु थिए । राजा महेन्द्रले नेपाली सेनाका पूर्वप्रधानसेनापति नीरशमशेर जबरा, सुरेन्द्रबहादुर शाह र महारथी हरिशमशेर जबरालाई नेपाली सेनाको फिल्डमार्शल पद दिएका थिए ।

पुर्वसेनापति छत्रमानसिंह गुरुङले सजातीय अम्बर गुरुङलाई महासेनानी जस्तो उच्च सैनिक पद दिएर बन्धु रिझाए । राजेन्द्र क्षत्रीले माधव घिमिरेलाइ सहायकरथी पद दिएर पिताका दौंतरी, आफ्नो गाउँ, भेगका, गुन लिएका कविलाई पिता पुर्खादेखिको ऋण तिरेको चर्चा सेनाभित्र र वाहिर व्याप्त छ । भविष्यमा प्रधानसेनापतिका प्रशंसा गाउने, कुरा लगाउने, गुप्तचर, भाट, सेवक, पत्रकारलाई प्रधानसेनापतिबाट जर्नेली मान बक्सियो भने अन्यथा मान्नभएन । पुर्वप्रधानसेनापतिको ती निर्णयबाट भोलि राजनीतिक नेतृत्वलाई मनपरेका गेैरसैनिक व्यक्तिलाई सेनाको उच्चपदमा घुसाउने चोरबाटो खुलेको छ भने सैनिक प्रतिभाको देश र संस्थाका खातिर योगदान गर्ने मन भाँचिएको छ, टुटेको छ ।

राजा महेन्द्रले त्यसबेला नेपालको मन्त्री रहेका भुपालमानसिंह कार्कीलाई बि.सं.२०१५।१०।२० मा नेपाली सेनाको मानार्थ सहायक रथी पद दिए । उनले बि.सं.२०१७।१२।२० गते सन्तवीर लामा र जसबहादुर लिम्बुलाई नेपाली सेनाको मानार्थ ले. कर्णेल पद प्रदान गरेका थिए । सोही मितिमा राजा महेन्द्रले ध्यानबहादुर राई र नरबहादुर गुरुङ्गलाई नेपाली सेनाको मानार्थ सेनानी पद प्रदान गरेका थिए ।

राजा महेन्द्रले बि.सं.२०२८।२।३० मा बेलायती सेनाका सुबेदार मेजर र मानार्थ लेफ्टिनेन्ट पदबाट अवकास भई स्वदेश आएका गुल्मी भार्सेका गिरीप्रसाद बुढाथोकी मगरलाई नेपाली सेनाको मानार्थ उपरथी पद दिएका थिए । बुढाथोकी नेपालमा बि.सं.२०१५ मा भएको आमनिर्वाचनमा गुल्मी क्षेत्र नं.८९ बाट सांसद पदमा ने.का.बाट बिजयी भएका थिए । उनी बि.सं.२०२२ देखि २०२८ सम्म नेपाल सरकारमा रक्षामन्त्री, बन, पर्यटन र श्रम तथा सामाजिक मन्त्री भएका थिए । उनी राष्ट्रिय पंचायत सदस्य पनि निर्वाचित भएका थिए ।

राजा महेन्द्रले पुर्व रक्षामन्त्री गिरीप्रसाद बुढाथोकीका छोरा श्रीप्रसाद बुढाथोकीलाई भारतयि सेनाको लेफ्टिनेन्ट कर्णेल पदबाट राजीनामा गर्न लगाएर बि.सं.२०२५।७। १५ मा नेपाली सेनाको एक्टिङ्ग महासेनानी पदमा नियुक्ति दिएका थिए । श्रीप्रसाद बुढाथोकी बि.सं.२०२५ देखि बि.सं.२०३१ सम्म राष्ट्रिय सेवादलको निर्देशक पदमा थिए ।

यसप्रकार शाह राजाले सैनिक र गैरसैनिक व्यक्तिलाई सैनिक पदहरु मानार्थ दिएका थिए । श्रीप्रसाद नेपाली सेनाको महासेनानी पदबाट सेवानिबृत्त भएपछि श्री ५ बाट रापंस मनोनित भएर सहायक मन्त्री भए । उनी गुल्मीबाट रापंस निर्वाचित पनि भए ।

बि.सं.२०३२ साउन २ मा राजा बीरेन्द्रले नेपाल प्रहरीको महानिरीक्षक पदबाट अवकास पाएका पहलमानसिंह लामालाई नेपाली सेनाको मानार्थ उपरथी पद दिएका थिए ।

बि.सं.२०४६ अघि नेपालमा राजा अर्थात श्री ५ महाराजाधिराजका हुकुमबाट नेपाली र विदेशी नागरिकलाई नेपालका सेना लगायत राष्ट्रको जुनसुकै पद प्रदान गर्नसक्ने राजकीय अधिकार थियो । सोही अधिकार प्रयोग गरेर बिभिन्न समयमा सैनिक पदहरु स्वदेशी र विदेशी नागरिकलाई प्रदान गरिनु गैरकानुनी मानिदेैनथ्यो ।

बि.सं.२०४६ को जनआन्दोलनपछि भएको परिवर्तनबाट नेपालको संविधान २०४७ जारी भयो । सो संविधानमा राजा राष्ट्रप्रमुख र नेपाली सेनाका परमाधिपति अथिरथी परम सेनाधिपति थिए । राजाले सेैनिक पद प्रदान गर्नसक्दथे तर त्यसयता राजाबाट सैनिक पदहरु सैनिक वा गैरसैनिक व्यक्तिलाइ मानार्थ प्रदान गरिएन । नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिहरुलाई सेनाको सिफारिसमा भएका काम मात्र भए ।

पाकिस्तानका राष्ट्रपतिलाई फिल्डमार्शल पदवी

बि.सं.२०२० बैशाख २० गते नेपाल भ्रमणमा आउनुभएका पाकिस्तानका तत्कालीन राष्ट्रपति फिल्डमार्शल मोहम्मद अयुव खा“को सम्मानमा सिंहदरबारस्थित स्टेटहलमा आयोजित रात्रीभोजमा राजा महेन्द्रबीरबिक्रम शाहबाट पाकिस्तानी राष्ट्रपतिलाई शाही नेपाली सेनाको मानको खातिर सर्वाेच्च पद अतिरथी (अनरेरी फिल्ड मार्शल) पदवी प्रदान गर्नुभएको थियो ।

नेपाल र भारतका प्रधानसेनापतिलाई मानार्थ महारथी : सैनिक इतिहासमा गलत तथ्य

नेपाल र भारतका प्रधानसेनापतिहरुलाई एक अर्काे देशका सेनाको मानार्थ महारथी पदवी दिने प्रचलन रही आएको छ । यो प्रचलन कहिलेदेखि सुरु भयो ? यसबारेमा स्वयं नेपाली सेनाको मुख्यालय जंगी अड्डा भ्रममा रहेको देखिन्छ ।

नेपाली सेनाले बि.सं.२०६९ मा त्रिभुवन विश्व विद्यालय, इतिहास केन्द्रिय बिभागका प्रमुखसमेत रहनुभएका प्रा.डा.त्रिरत्न मानन्धर, प्रा.डा.तीर्थप्रसाद मिश्र, प्राज्ञ दिनेसराज पन्त, प्रा.डा.कमलराजसिंह राठौर र प्रा.डा.भवेश्वर पंगेनीलाई लेख्न लगाएर आफैंले प्रकाशन गरेको पुस्तक : नेपाली सेनाको इतिहास, पृ.३४९ मा ‘नेपाल र भारतका सेना प्रमुखहरुलाई एक अर्का देशका सेनाको मानार्थ महारथी (जनरल) को दर्जा प्रदान गर्ने कार्यको सुरुवात उहां“कै (प्रधानसेनापति महारथी सिंहबहादुर बस्न्यात) कार्यकालमा गरिएको थियो । भारत सरकारबाट त्यहाको मानार्थ महारथीको दर्जा पाउने उहां नेपालको पहिलो प्रधानसेनापति हुनुहुन्थ्यो भने भारतका तत्कालीन सेनाप्रमुख जनरल मानेक्सा नेपाली सेनाको मानार्थ महारथी दर्जा पाउने पहिलो भारतीय सेनाप्रमुख हुनुहुन्थ्यो’ उल्लेख छ ।

प्रधानसेनापति महारथी सिहबहादुर बस्न्यातको कार्यकाल बि.सं. २०२७।१।२७–२०३२।१।२७ हो ।

नेपाली सेनाको इतिहास पुस्तकमा भारतीय सेनाका तत्कालीन सेनाप्रमुखको नाम अपूर्ण र गलत उल्लेख छ ।

उहांको पूरा नाम ‘साम हर मुसजी फ्राम जमशेद जी मानेक साह’ हो । उनी ९–६–१९६९ देखि १४–१–१९७३ सम्म भारतीय सेना प्रमुख रहे । उनी भारतीय स्थल सेनाका चीफ अफ स्टाफ कहलाउदथे । मानेक साहलाई भारतीय सेनाको फिल्डमार्शल पद दिइयो । भारतमा फिल्डमार्शल पद पाउने जनरल मानेक साह र जनरल के.एम.करिअप्पा मात्र हुन् । करिअप्पा सन् १९४९–१९५३ तक् भारतीय सेनाप्रमुख हुन् ।

‘नेपाली सेनाको इतिहास’मा उल्लेखित माथिको तथ्य गलत पुष्टि हुन्छ । बि.सं. २०२० जेठ २१ गते तत्कालीन शाही नेपाली सेनाका प्रधानसेनापति महारथी नीरशमशेर जबराको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय सेनाका चिफ अफ द आर्मी जनरल स्टाफ जनरल जे.एन.चौधरीलाई सोही जेठ २५ गते सिंहदरबारको बेलायती बैठक कक्षमा आयोजित रात्रीभोज समारोहमा राजा महेन्द्रवीरबिक्रम शाहबाट शाही नेपाली सेनाको अनरेरी जनरल (महारथी) को पदवी, स्वर्ड अफ अनर र इयुनेट्स प्रदान गर्नुभएको थियो ।

नेपाली सेनाको मानार्थ महारथी पदवी पाउनुहुने भारतीय सेनाप्रमुख जनरल जेयन्त नाथ चौधरी (जे.एन.चौधरी) हुन् । उनी सन् १९६२–१९६६ सम्म भारतीय सेनाप्रमुख थिए ।

यो तथ्य गृष्मबहादुर देवकोटा लिखित नेपालको राजनीतिक दर्पण, तेस्रो भाग (पन्चायत व्यवस्थाको प्रादुर्भाव), काठमाडौं: उमेन्द्रबहादुर देवकोटा, २०४०, पृ. ५८९ मा उल्लेख छ ।

त्यस यता भारतका सबै प्रधानसेनापति ( स्थल सेनाध्यक्ष ) लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिदै आएको छ । नेपालका प्रधानसेनापति सत्चितशमशेर जबरा (बि.सं.२०४४–४८) बाहेक सबै प्रधानसेनापतिहरुले भारतीय सेनाको मानार्थ महारथी पद पाउनु भएको छ ।

बि.सं.२०६३ को परिवर्तनपछि

कुँवर राणाले एक सय चार वर्ष र बा“की समय बि.सं.२०६२ सम्म शाह राजाहरुले नेपालको शासन चलाए । त्यसबेला लिखित कानुनबाहेक शासकको इच्छाले नेपालका सैनिक र अन्य पदहरु प्रदान गरिनु नौेलो कुरा थिएन । राणाहरुले बेलायती सेनाका उच्च अधिकारीलाई मात्र मानार्थ सैनिक पद दिए । राजा महेन्द्र शाहले ससुरा, भिनाजु र अरु नातालाई पनि नेपाली सेनाको फिल्डमार्शल जस्तो उच्चपद दिएका थिए ।

बि.सं.२०६२–६३ को जनआन्दोलनपछिको राजनीतिक परिवर्तनपछि बि.सं.२०६३।६।१२ बाट सैनिक ऐन २०१६ बिस्थापित भयो र नया“ सैनिक ऐन २०६३ लागू भयो । त्यसबेला नेपाल अधिराज्यको संविधान २०४७ बिस्थापित भइ नेपालको अन्तरिम संविधान लागू थियो । जनआन्दोलनले उठाएको मूल कुरा विधिको शासन हो । कानुनी शासनमा जे हुन्छ विधि अनुसारमात्र हुनेछ भन्ने थियो ।

नेपालको सैनिक ऐन २०६३, नेपालको अन्तरिम संविधान २०६३, सैनिक नियमावली २०६९, नेपालको संविधान २०७२ मा नेपाली सेनाका पद गैरसैनिक व्यक्तिलाइ एक्टिङ वा मानार्थ दिन सकिने प्रावधान कर्ही कतै उल्लेख छैन ।

तर, बि.सं.२०६७ मा नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङको सिफारिसमा राष्ट्रपतिबाट संगीतकार अम्बर गुरुङलाई नेपाली सेनाको मानार्थ महासेनानी पद दिइयो । सोही अवसरमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीतका रचनाकार गोपालप्रसाद रिमाललाई मरणोपरान्त नेपाली सेनाको मानार्थ महासेनानी पद दिइयो ।

बि.सं. २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रवीरबिक्रम शाहबाट राष्ट्रकवि उपाधी पाएका माधवप्रसाद घिमिरेलाई २०७४ मा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सिफारिसमा राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ सहायक रथी पद प्रदान गरियो ।

प्रश्न व्यक्तिको होइन विधिको

मानार्थ सहायकरथी पद पाउनुहुने साहित्यकार माधवप्रसाद घिमिरेको असामयिक मृत्यु लगत्तै यो सन्दर्भ उठाउनु संयोग हो, पुर्वाग्रह होइन । नेपाली राष्ट्रिय सेनाका पद मानार्थ प्रदान गर्ने नीति, विधि र पद्दतिका बारेमा चर्चा गर्नु यस लेखको उद्देश्य हो ।

सैनिक पदहरु सेैनिक सेवामा सक्रिय व्यक्तिका लागि हो । मानार्थ पद कुनबेला दिइन्छ ? यदि कुनै वहालमा रहेको वा अवकास प्राप्त सैनिकले देश र सैनिक सङ्गठनको श्रीबृद्धिमा, सैनिक वाङमयको श्रीबृद्धिमा उल्लेख्य योगदान गरेको छ तर उसलाई उमेर हद वा विद्यमान सैनिक ऐन र आन्तरिक नीति नियम, नियमावलीबाट उच्च पद प्रदान गर्न, बढुवा गर्न बाधा छ भने, त्यस अवस्थामा मात्र प्रदान गर्न सकिने अन्तर्राष्ट्रिय अभ्यास छ ।

विदेशी सैनिकलाई पनि सैनिक पद मानार्थ प्रदान गर्न सकिन्छ । दुई देशबीचको मैत्री सम्बन्ध सुमधुर बनाउन, दुई देशका सेनाबीच आपसी बिश्वास अभिबृद्धि गर्न, शान्ति र मैत्रीपूर्ण सम्बन्धका लागि, कुनै रणनीतिक लक्ष्य हासिल गर्न कुनै मित्र देशका, छिमेकी देशका उच्च सैनिक अधिकारीलाई सैनिक पद प्रदान गरेर अनुगृहित बनाउन सकिन्छ ।

तर, राणा र राजाको कालको कुरा छाडौं । विधिको शासनको वकालत गर्ने वर्तमान लोकतान्त्रिक शासन व्यवस्थामा साहित्यकार, गीतकार, संगीतकारलाई नेपाली सेनाका पदहरु धमाधम मानार्थ प्रदान गरिएको छ । ती पदहरु प्रदान गर्ने आधार के हो ? कुन संविधान, ऐन, नियमावलीमा, कहा छ यो प्रावधान ?

देशका लागि, सेनाको बिभिन्न पदमा रहेर तुलनात्मक रुपमा इमान्दारीका साथ जिम्मेवारी निर्वाह गर्ने, कर्तव्यपालन गर्ने, योग्य तर नेतृत्वको वक्रदृष्टि परेको, उमेर नाघेको, पद रिक्त नभएर, पदावधि वा यस्तै कुनै सामान्य कारण तल्लो तहबाट सेवानिवृत्त अन्य दर्जा, पदिक र अधिकृतको संख्या धेरै छ । उदाहरणका लागि कैयौं कालजयी गीतका रचनाकार राजेन्द्र थापा उपरथीमा अवकास भए । उनले लेखेका युगान्तकारी सैनिक गीतले माटोको माया, वीरताको चिनारी र कर्तव्यपथमा निर्वाह गर्नुपर्ने अथाह बफादारी अभिव्यक्त गरेका छन् । तिनको मूल्याङ्कन छैन । उनलाई मानार्थ रथी पद दिन कसेैलाई चासो भएन । सेवानिवृत्त भएर सैन्य बिषयमा विद्यावारिधी गर्नुहुने क्षमतावान सहायकरथी केशरबहादुर भण्डारीलाई मानार्थ उपरथी पद दिन, सेवानिवृत्तपछि विद्यावारिधि गर्नुभएका उपरथी पूर्ण सिलवाललाई रथी पद दिन, इमान्दार र कर्तव्यपरायण उपरथी डम्बरसिंह गुरुङ र राजेन्द्रबिक्रम शाहलाई मानार्थ रथी पद दिन, सैनिक इतिहास, गढी, किल्लाको खोजमा प्रशस्त योगदान गरेका सहायक रथी डा.प्रेमसिंह बस्न्यातलाई मानार्थ उपरथी पद दिन सकिएन ।

रुकुमको खारामा जनयुद्धको निर्णायक मोड परिवर्तन गर्ने, युद्धकलाको परिभाषा नै बदल्ने हैसियत राख्ने झपटबहादुर था.म.लाई मानार्थ सहायक रथी पद दिन आवश्यक ठानिएन । यदि झपट था.म.लाई मानार्थ सहायकरथी वा अझ उच्च पद दिइएको थियो भने आजका हजारौ सिपाहीहरु फेसबुक चलाउने मोबाइल किन्न छाडेर सैन्यज्ञान र सैनिक इतिहासका पुस्तक पसलमा लाम लाग्दथे । तिनका सिरानी र गोजीमा, योग्य, बफादार, सफल, विश्व चर्चित सैनिकको जीवनी पुस्तक भेटिन्थ्यो होला । यदि यसो हुन्थ्यो भने आज समाचारका पाना र अनलाइन खबरमा सैनिकका बलात्कार लगायतका नकारात्मक समाचार पढनु पर्दैनथ्यो । तर जीवनभर गीत गाउने, संगीत भर्ने र कविता कोर्नेलाई सेनाका उच्च पद र सम्मान गुथाइदिएर जंग हा“सो देखाइएको छ । विधि, कानुन र कर्तव्य परायणताको धज्जी उडाइएको छ । यसमा तत्कालीन सैनिक नेतृत्व नराम्ररी चुकेको छ । राष्ट्रप्रमुखबाट पनि नीतिनियम, कानुन र संविधानको पालनमा कमजोरी भएको छ ।

हालका दिनमा मानार्थ सैनिक पद पाउनेले सैनिक इतिहास/सैनिक वाङमयमा योगदान गरेका होइनन् । उनीहरुका पुराना गीत, संगीत र कवितालाई सैनिक गीतमा रुपान्तर गरेर मानार्थ सैन्य पद दिने उपाय खोजिएको छ । सम्मानित ती स्रष्टालाई राज्यले दिन सक्ने उच्च र सम्मानित गैरसैनिक पद धेरै छन् । गुरुङ र घिमिरे गीत–संगीतका महारथी थिए, सेनाका होइनन् । कला–साहित्य–संगीत एकेडेमीमा उनीहरु उच्चसम्मानका लायक हुनुहुन्थ्यो । सैनिक पद लिएपछि उहाहरु पदलोलुप, स्वार्थी, लालचीको उपमा पाएर अझ सिमिततामा खुम्चिएको, अवमुल्यन भएको धेरैको बुझाइ छ ।

सदा सत्ताका नजिक रहेर शासकको साहित्यिक पारखमा रमाउने घिमिरेले सेनाको जर्नेल पद पाएपछि कान्तिपुर दैनिकको शनिवारीय परिशिष्टाङ्क कोशेली (२०७४ फागुन १९) मा ‘राष्ट्रवादलाई सैनिक फुली’ शीर्षक लेखमा सङ्गीत नेपाली सेनालाई प्रश्न गर्छन : ठेक्का र व्यापारमार्फत भूमिका बढाइरहेको नेपाली सेनाले सांस्कृतिक क्षेत्रमा पनि प्रभाव बिस्तार गर्न खोजेको हो ?

पुर्वसेनापति छत्रमानसिंह गुरुङले सजातीय अम्बर गुरुङलाई महासेनानी जस्तो उच्च सैनिक पद दिएर बन्धु रिझाए । राजेन्द्र क्षत्रीले माधव घिमिरेलाइ सहायकरथी पद दिएर पिताका दौंतरी, आफ्नो गाउ, भेगका, गुन लिएका कविलाई पिता पुर्खादेखिको ऋण तिरेको चर्चा सेनाभित्र र वाहिर व्याप्त छ । भविष्यमा प्रधानसेनापतिका प्रशंसा गाउने, कुरा लगाउने, गुप्तचर, भाट, सेवक, पत्रकारलाई प्रधानसेनापतिबाट जर्नेली मान बक्सियो भने अन्यथा मान्नभएन । पुर्वप्रधानसेनापतिको ती निर्णयबाट भोलि राजनीतिक नेतृत्वलाई मनपरेका गेैरसैनिक व्यक्तिलाई सेनाको उच्चपदमा घुसाउने चोरबाटो खुलेको छ भने सैनिक प्रतिभाको देश र संस्थाका खातिर योगदान गर्ने मन भाचिएको छ, टुटेको छ ।

कवि, गीतकार, संगीतकारलाई नेपाली सेनाको यति उच्च पद प्रदान गरेर तत्कालीन प्रधानसेनापति स्वयंले सेनाको ती पदको अवमुल्यन गरेको आभाष आम सैनिकले गरेका छन् । बुझ्नैपर्ने कुरा के छ भने, सेनापति एक्लै सबथोक होइनन्, सेनाको सबै पदसहितको संयुक्त शक्ति सेनापति हुन् । सेनापतिले तलका सैनिक पदको गरिमा बचाउन ध्यानदिएमा तलका ती पदका सैनिकले सेनापतिलाई शक्तिवान, सफल, सम्राट बनाइदिनसक्छन । सैनिक पदको गरिमा, शान, औकात, गौरवको ख्याल गर्नुपर्ने पहिलो दायित्व सेनापतिको हो, त्यसपछि अरुको हो । सेनाका सबेैतहका सैनिकका अभिभावक सेनापति हुन् । सबैतहका सैनिकको उत्तरदायित्व सर्वप्रथम सेनापतिप्रति हुन्छ, त्यसपछि मात्र सङ्गठन, देश र जनताप्रति हुन्छ । सेनापतिले सैनिक पदको खायस राख्नसकेमा देश र सैन्य संस्थाकै श्रीबृद्धि हुन्छ । नत्र अवनति हुन्छ ।

लाखौं युवाको मनमा प्रश्न उठनसक्छ : अव म किन लोकसेवाको तयारी गरौं ? किन क्याडेट कक्षाको तयारी गरौ ? किन खरीपाटीमा महिनौं पसिना बगाउ ? स्टाफ कलेज किन गरौं ? फगत एउटा गीत लेखेमा, गीतमा संगीत भरेमा कविता लेखेमा जर्नेल पद पाउन सकिन्छ भने ! यो देशमा बन्दुक बोक्ने, बन्दुकको सुरक्षा गर्ने, सीमामा पसिना बगाउने, नागरिकलाई बिपद्मा ज्यान जोखिम मोलेर जीवन बचाउने अधिकृत र गैरअधिकृत सुरक्षाकर्मीको मूल्याङ्कंन खोई ? तिनका नाममा सरकारले एक तह पदोन्नति र एउटा पदक दिन सकेको खोई ?

अन्तमा

राष्ट्रिय सेना गीत, कविता, कथा, संगीतमा सीमित भएर बसे देशमा अनिष्ट हुनसक्छ । देशवासीले दुःख पाउन सक्छन । सेनाले रणनीतिक चातुर्यता अघि बढाइरहनु पर्छ । धेरै नसकिएला, तर एकएक इट्टा थप्न सके देशका लागि धेरै योगदान हुनेछ । यसै पनि बाटो खन्ने ठेक्काको काम, सामान खरिद गर्ने व्यापारीको काम गरेर गैरसैनिक पेशामा दिलचित्त देखाएको आरोप सेनामाथि छ । देशको सीमा मिचिएको छ । राष्ट्रिय झण्डा जलाइएको छ । बिखण्डनका मतियारहरु लुकेका हुन नष्ट भएका छेैनन् । यस्तो अवस्थामा पनि सेनाका लागि हतियार, गोली, बम, बारुद, नयाँनयाँ युद्ध प्रविधि जस्ता पक्षको बिकासमा, परीक्षणमा सेनाको बिगतका नेतृत्वको ध्यान पटक्कै रहेन ।

चीन साइवर युद्धको तयारी गर्दै छ । अमेरिकाले अन्तरिक्ष सेना गठन गरिसकेको छ । रुसले पृथ्वीको पल्लो गोलाद्र्धबाट हाम्रो छिमेकी भारतलाई बर्षेनी खर्ब डलरको हतियार बेचीरहेको छ । लाजमर्दाे कुरा नेपाली सेनाका पुर्वप्रधानसेनापतिहरु गीत लेख्ने र संगीत भर्नेलाई राष्ट्रिय सेनाको जर्नेल पद बांडेर अनलाइन खबरमा गोैरव गरिरहनुभएको छ । यो पूर्व प्रधानसेनापतिहरुले सेनाभित्र जबर्जस्त भित्र्याएको बिकृति हो । राणा र शाह राजाको पथ हिंडने रहर हो । हांसजस्तै ढल्केर हिंडन खोज्ने बकुल्लाको शैली हो ।

व्यक्तिभित्रको सैन्यज्ञान–क्षमता–योग्यता–योगदानको मुल्याङ्कन गर्ने, काम लगाउने, पुरस्कृत गर्ने र नसिहत दिने प्रधानसेनापतिले नै हो । उनले बहालमा रहेका र भुतपूर्व सिपाही जो कोहीलाई सोचको, योगदानको, समर्पणको उच्च मूल्याङ्कन गरेर मानार्थ जर्नेल र त्यो भन्दा उच्चपद दिन सिफारिश गर्न सक्छन । यो सेनापतिको योग्यता र अधिकारभित्रको कुरा हो । तर प्रधानसेनापतिले गैरसैनिक व्यक्तिलाई संविधान, ऐन, कानुनमा नभएको सैनिक पद मानार्थ बांडनु अख्तियारको दुरुपयोग हो ।

मानार्थ पद प्रदानले दिएको अर्काे महत्वपूर्ण सन्देश, अनुमान मात्र गर्न सकिन्छ, सार्वजनिक बहस र चर्चा हुने मानार्थ पदमा सेैनिक नेतृत्वले जातीयता, भेगी र नजिकका मात्र रोज्दा रहेछन् भने नाता, आफन्त र भेगीविहीन तर कर्तव्यपरायण नेपालीलाई नेपाली सेनाको उच्च पद पाउन के कत्ति पापड पेल्नुपर्ने रहेछ त ? समयबद्ध साप्ताहिकबाट

यो पनि पढ्नुहोस,

नेपालमा सैनिक कल्याण कोषको हविगत

सैनिक कल्याणकारी कोष : योगदान तल्लो तहको, हालीमुहाली उच्च तहको !


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार