Techie IT
×
गृहपृष्ठबिचारवामदेव र नारायणकाजीको लैवरी शैली

वामदेव र नारायणकाजीको लैवरी शैली


पार्टी विभाजनको खतरा टार्ने, दुई अध्यक्षबीचको टकरावलाई युद्धविराममा बदल्ने, पार्टी एकता जोगाउदै बाँकी एकताको प्रक्रिया पूरा गर्ने र मुलतः नीति र विधिच्युत हुँदै गएको नेकपालाई पार्टी पद्धतिमा फर्काउँदै देशलाई शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गराउने विन्दुमा पुनः पु-याउने गरी सत्तारुढ नेकपाको जारी अन्तरसङ्घर्षमा अल्पविराम लागेको छ । दुई अध्यक्ष केपी ओली र प्रचण्डको सहमति तथा मध्यमार्गी नेताहरुको पहल र सदिच्छा अनुरुप बनेको छ सदस्यीय कार्यदलको रोडम्यापको आधारमा नेकपा अब तत्काल विभाजन हुने र सरकार स्वेच्छाचारी मार्गको एकल धावक बन्ने खतरा टरेको छ ।

शान्ति प्रक्रियाको पूर्णतादेखि पार्टी एकतासम्मको रक्षा गर्दै सरकारले विराउँदै गएको बाटोलाई सही ट्रयाकमा ल्याउनुपर्छ भन्ने नेता रामबहादुर थापा वादल लगायत मध्यमार्गी नेताहरु तथा देशभरका कार्यकर्ताको एकताको धारको विचार र नेतृत्वको अनुमोदन हुने गरी कार्यदलले दिएको सुझावका कारण नेकपा सम्भावित दुर्घटनाबाट जोगिएको मात्रै छैन, नेकपा अब सही धारामा फर्कने निश्चित प्रायः भएको छ । र, नेकपामा अब व्यक्तिवादी, अतिवादी होइन, तटस्थतावादी मध्यमार्गी विचार र प्रवृत्ति नै निर्णायक रुपमा हावी हुनेछ भन्ने उदाहरण पनि देखिएको छ ।

प्राकृतिक प्रकोपका अलवा देशमा कोभिड १९ को कहरले जनता थलिदै र मारिदै गइरहेका बेलामा पार्टी र सरकारलाई जनतामुखी बनाउन र जनताको नेकपाप्रतिको विश्वास र भरोसा पुनस्र्थापित गर्न कार्यदल मार्फत व्यक्त रोडम्याप एक युगीन कोशेढुङ्गा हुने अपेक्षा सर्वत्र गरिएको छ । पार्टी अध्यक्ष केपी ओलीको स्वेच्छाचारी काम कारवाही तथा शीर्ष नेताहरुको गुटमुखी प्रवृत्तिलाई कमजोर पारेर पार्टीलाई विधि र पद्धतिमा फर्काउदै सरकार पनि जोगाउने, पार्टी एकता पनि टिकाउने र पार्टीलाई अन्ततः महाधिवेशनको लोकतान्त्रिक मैदानमा पु¥याएर नयाँ विचार र नेतृत्वमा रुपान्तरण गर्नुपर्छ भन्ने मध्यमार्गी धारको अडान र विचारले नेकपाभित्र विजय प्राप्त गरेको छ ।

देशभरका आम कार्यकर्र्ता र जनताको भावनाको प्रतिनिधित्व गर्दै परस्परमा जुधिरहेका दुबै पक्षका अतिवादी अडान र प्रवृत्तिहरुमा क्रमभंगता ल्याउन अविरल प्रयत्न गर्दै आएको मध्यमार्गी धार हावी हुन सकेकै कारण बिना कुनै ठूलो क्षति सत्तारुढ नेकपा अब सही ट्रयाकमा फर्कन सकेको छ । नेकपाभित्र मध्यमार्गी धारको विजयले एकताकालीन नेकपाको पुनरोदय र देशवासीमा आशा र भरोसाको नयाँ सूर्योदय गराएको छ । कोभिडका कहरबीच देश र जनताले पाएको सत्तारुढ नेकपाभित्रको सही सन्देश वा एकप्रकारको पछिल्लो सुखद उपहार नै यही हो ।

अतिवादी प्रवृत्तिमा ब्रेक

मुलतः पार्टी एकताको मर्म र भावना विपरीत तथा जनादेशको म्यान्डेट विपरीत सरकार संचालन गर्ने दुस्साहस गरेर एक अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जुन एकमनावादी अहंकार र दम्भ देखाउदै गएका थिए, त्यो नै पछिल्लो विवादको जड थियो । पार्टी कमिटीहरुलाई बाइपास गर्ने, एकल निर्णयहरु गर्ने र म नै सर्वेसर्वा हुँ भन्ने जुन गलत प्रवृत्ति प्रधानमन्त्रीले देखाउदै आएका थिए, त्यसमा अब क्रमभङ्ग हुने निश्चित गरेको छ, कार्यदलको सुझावले । यसबाटै सरकारको कमीकमजोरीको करेक्सनको कोर्श सुरु हुनेछ । अन्ततः यही नेकपाको एकताको जग जोगाउने आधार बन्ने भएको छ ।

यस्तै अर्का अध्यक्ष प्रचण्डले आफ्ना अधिकारहरु छोड्दै जाने र एक हदसम्मको त्याग पनि गर्ने तर ती सबै कुराहरुलाई फेरि गुटको छातामुनि लगेर अर्को समानान्तर गतिविधिमा जानी नजानी भएका भुलहरुले पनि सरकार भर्सेज पार्टी, ओली भर्सेज प्रचण्ड गुटको जुन डरलाग्दो रेखाँकन गर्दै लगेको थियो, त्यो पनि अब अन्त्य हुने सुनिश्चित भएको छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जस्ता नेताहरुको समूह आफैमा अघोषित गुट बन्दै गर्दा त्यसले पनि पार्टी विधि र पद्धतिको सर्वस्वीकार्यता र वर्चस्वमाथि धावा बोलेकै थियो । यो पनि नेकपाको बृहत्तर एकता र सरकारको प्रभावकारिताका लागि ठूलै आन्तरिक समस्या र संकटको प्रवृत्तिका रुपमा प्रकट हुँदै थियो । अब यसमा पनि क्रमभङ्ग हुने नै भएको छ ।

यसरी हेर्दा दुई धारका अतिवादी प्रवृत्ति कमजोर तथा नयाँ एकताको आधारका लागि विधि र नीति प्रधान पार्टीका लागि मध्यमार्गी धारको हस्तक्षेप नै नेकपामा हावी भएको छ । सर्प पनि मार्ने लट्ठी पनि जोगाउने गरी आन्तरिक अन्तरविरोधको हल गरेर मुख्य दुश्मन विरुद्धको लडाईमा पार्टीलाई एकतावद्ध र बलियो रुपमा प्रस्तुत गर्ने गरी कार्यदलले प्रतिवेदन ल्याएको छ । नेता बादल लगायतका नेताको एकताको पक्षमा निरन्तरको पहलको सफलता नै नेकपाका लागि अग्रगमनको आधार र जग बन्न सकेको छ । सबैका लागि केही नहारिकन, जीत हासिल भएको सुखद पक्ष नै यही हो ।

निश्चय नै पार्टी अध्यक्षका रुपमा प्रचण्डको कार्यकारी भूमिकालाई बढावा दिने र सरकार प्रमुखका रुपमा ओलीको वेलगाम प्रवृत्तिमा अंकुश लगाउदै गर्दा यसले ओलीका अधिकार खुम्च्याएको तथा प्रचण्डको अधिकार बढाएको जस्तो सतहमा देखिन सक्छ । तर, यसको समग्र परिणाम पार्टी एकताको रक्षा र सरकारको प्रभावकारिता वृद्धिमा नै मुखरित हुने हँुदा यसबाट पनि ओली र प्रचण्ड खेमालाई मुखरा बनाएर स्वार्थको रोटी सेक्नेहरु नै दण्डित र लज्जित हुन पुगेका छन् । यसमा स्वार्थी समूहको पराजय र समग्र पार्टी र सरकारकै विजय भएको छ ।

लैवरी वामदेव र नारायणकाजी

जननेता मदन भण्डारीको हत्यापछि तत्कालीन नेकपा एमालेको १४ वर्षे नेतृत्व कमाण्ड सम्हालेका नेता माधव नेपालको माग र अडान तथा विचारलाई अपवाद मान्ने हो भने अहिले जता मल्खो उतै ढल्को गर्ने र राजकीय पद लिनका लागि अडान, विचार र नैतिकताको वली चढाउने वामदेव गौतम र नारायणकाजी प्रवृत्तिलाई नेकपाले यसपटक पुनः अस्वीकार गरेको छ । वामदेव गौतमले प्रधानमन्त्रीको सत्ताको ललीपपमा भुलेर र प्रवक्ता नारायणकाजीले सरकारमा जाने व्यक्तिगत महत्वाकाङ्क्षा पूरा गर्न प्रचण्ड र माधव नेपाललाई उक्साएर जुन गुटका खेल खेले, तिनको समुल पर्दाफास र बिघटन भइसकेको छ अब । अब नेकपा कुनै अमुक नेताको सत्ता स्वार्थका लागि सिद्धान्तको लेप लगाएर कथित नक्कली अन्तरसङ्घर्षको क्रिडास्थल बन्न सक्दैन भन्ने तथ्य अब नेकपाभित्र जोडदार रुपमा नै स्थापित भइसकेको छ ।

जहाँसम्म माधव नेपाल खेमाले उठाएको संस्थागत विधि पद्धतिको कुरा छ, त्यसलाई कार्यदलले पनि आफ्ना सुझावमा समेटेका कारण माधव नेपाल खेमा पनि अहिलेलाई निराश वा हतास भइहाल्नु पर्ने अवस्था छैन । तर, सत्ताका खातिर गुटको खेती गर्ने र त्यसलाई सिद्धान्तको जलप लगाएर नथाक्ने अनि घरी खुमलटार र घरी वालुवाटार गरेर आफैलाई केन्द्रमा राख्ने व्यक्तिवादी स्वार्थी प्रवृत्तिका रुपमा उदाएका र हावी हुन खोजेका नारायणकाजी र वामदेवको लैवरी ताल र सत्तामुखी स्वार्थी प्रवृत्तिमा लागेको अंकुश पनि अहिलेका लागि नेकपालाई दुर्घटनाबाट जोगाउने र अग्रगमनका लैजाने एक सुखद सुरुवात हुन पुगेको छ ।

सुझाव कार्यान्वयनमा इमान्दारिताको खाँचो

सत्तारूढ नेकपाको समस्या समाधान सुझाव कार्यदलले ओलीलाई प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहन दिने गरी उनको सत्ताकाङ्क्षालाई सम्बोधन गर्नु नै ओलीका लागि त्राण हो भने अब सरकारलाई जनमुखी बनाउन सक्नुपर्ने उनको अवसर र चुनौती दुवै हो । यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित मुलतः पार्टीका बैठकहरूको सञ्चालनदेखि निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने गरी दिइएका सुझाव प्रचण्डको त्यागको सम्मान र पार्टीलाई नयाँ उचाईमा पु¥याउने अवसर नै हो । अहिलेको कार्यदलले घुमिफिरी गत मंसिर ४ को दुई अध्यक्षको सहमतिलाई पुनव्र्याख्या गर्दा ओलीको भूमिका खुम्चिएको र प्रचण्डको भूमिका बढेको छ । यसले नेकपाको गतिशील र उज्ज्वल भविष्यका लागि प्रचण्ड नेतृत्वको अर्को परीक्षा लिने नै छ । अब ओली र प्रचण्डले एकअर्कालाई औला उठाउने होइन, आआफ्नो कार्य जिम्मेवारीमा काविल हुने प्रतिष्पर्धा गर्नुपर्नेछ । अध्यक्षको जिम्मेवारी बाँडफाँटमा समस्या उत्पन्न भएपछि मङ्सिर ४ गतेको सचिवालय बैठकले ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि सत्ताको नेतृत्व गर्ने र प्रचण्ड पार्टी काममा केन्द्रित हुने निर्णय गरेर दुबै अध्यक्षलाई उनीहरुको जिम्मेवारी निश्चित गरेकै थियो ।

एकताको अपिलदेखि महाधिवेशनसम्म

महासचिव विष्णु पौडेलको संयोजकत्वको छ सदस्यीय कार्यदलले शनिबार बुझाएको प्रतिवेदन पनि मङ्सिर ४ गतेकै सहमतिको जगमा बनेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबाट तत्काल पार्टीका नेता, कार्यकर्ता, सदस्य शुभेच्छुक, आम जनसमुदायमा पार्टी एकता जोगाउने, पार्टी–सरकारको भूमिकालाई अझ धेरै प्रभावकारी बनाउने, जनताले सुम्पिएको अभिभारा पूरा गर्ने सङ्कल्पका साथ संयुक्त अपिल जारी गरी अब एकताको नयाँ सन्देश दिएमा नेकपामा यसले आशाको नयाँ सञ्चार गराउने र ऊर्जा भर्ने छ । समस्या समाधानका लागि सार्थक प्रयास भइरहेको विशेष परिस्थितिमा अध्यक्षद्वय, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत सबै कमिटीका नेता–कार्यकर्ताले आपसमा अविश्वास, अन्तरविरोध सिर्जना गर्ने, पार्टी एकता प्रक्रियामा प्रतिकूलता पार्ने प्रकृतिको निर्णय, क्रियाकलाप वा अभिव्यक्ति नदिने हो भने अब नेकपा नयाँ अवतारमा जनता समक्ष जान सम्भव छ । तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट एकाङ्की नियुक्ति तथा सरकार सञ्चालनको प्रवृत्तिमा भने सच्चिनुको विकल्प छैन ।

मुलतः अहिले पार्टी एकता जोगाउने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र देशमा उत्पन्न प्रकोपको अवस्थाबाट जनतालाई त्राण दिनका लागि नेकपाको यो युद्धविराम अब स्थायी एकतामा बदलिनै पर्छ । त्यसका लागि पार्टीको एकता महाधिवेशन नै अन्तिम मैदान र निकास हो । त्यसका लागि अब सबै शीर्ष नेता आआफ्नो तह र तप्काबाट पूर्ण इमान्दारिताका साथ कर्मक्षेत्रमा र आफ्नो भूमिकामा खरो र सफल हुनुको विकल्प छैन । अब पनि यो वा त्यो बहानामा नेताहरुले आआफ्नै डम्फु बजाउने र स्वार्थको रोटी सेक्ने मुर्खता गरे भने निश्चित छ, उनीहरु आफैले खनेको खाल्डोमा आफै फस्ने छन् । सबैको अपेक्षा यही हो कि अध्यक्षद्वय पार्टी एकताको नयाँ सन्देशयुक्त अपिल गर्दै महाधिवेशनसम्म एकतावद्ध भएर पार्टी, सरकार र देशलाई नेतृत्व दिन काविल हुन सकुन । समयबद्ध साप्ताहिकबाट

यो पनि पढ्नुहोस,

कार्यदलले पार्टीलाई विधिमा ढाल्न ल्याएको व्यवस्थित प्रतिवेदन (पूर्ण पाठ)


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking, #nekapa, #नारायणकाजी, #वामदेव

तपाईको प्रतिक्रिया दिनुहोस