Techie IT
×
गृहपृष्ठबिचारचीनमाथिको अमेरिकी घेराबन्दीले विश्वलाई चुनौति

चीनमाथिको अमेरिकी घेराबन्दीले विश्वलाई चुनौति


लोकनारायण सुवेदी

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाकी अध्यक्ष नान्सी पेलोसीको ताइवान यात्राले बिश्वका दुई प्रमुख महाशक्तिहरु अमेरिका र चीनकाबीच एउटा भयावहकारी संघर्षको मोर्चा खोलिदिएको छ । केही दिन अगाडिसम्म विश्वको सम्पूर्ण ध्यान यूक्रेन माथि रहेको थियो । जहाँ अमेरिका र उसका पश्चिमा सहयोगी देशहरुले रुसका बिरुद्ध मोर्चा खोलिराखेका थिए । त्यो मोर्चामा अब गतिरोध या टकरावको स्थिति बिकसित हुँदै गएको देखिदैछ ।

तर यता एशियाको जलक्षेत्र खासगरी प्रशान्त जल क्षेत्र या चीन सागरमा भने भयावह युद्धको आगो लाग्न थालेको छ । हुन पनि आज यूक्रेन र ताइवानलाई लिएर तेश्रो विश्व युद्धको चर्चा निकै चर्को रुपमा हुन थालेको छ । यो कुरा निश्चित छ कि अहिले जे जति परमाणु हातहतियारको खलियो विश्वमा लागेको छ त्यसको प्रयोगले विश्व बिनाशबाहेक अरु केही हुुनेवाला छैन । त्यसर्थ कुनै पनि देश सर्बनाशको यो जोखिम उठाउन तयार छैन । त्यसैले गर्दा नै युद्ध टर्दै टर्दै आएको छ । युद्ध कसैले छेड्यो कि त्यो ‘भस्मासुरको बरदान’ जस्तो अपूर्ब र अकल्पनीय रुपमा बिनाशकारी हुनजाने निश्चित छ ।

अमेरिकामा नान्सी पेलोसी राष्ट्रपति र उपराष्ट्रपति पछिको बरियताको तेश्रो महत्वपूर्ण पद हो । यस हिसावले पनि नान्सी पेलोसीको ताइवान भ्रमणले ठूलो चर्चा पाएको हो । यो उनको नीजी भ्रमण त झन हुँदै होइन । कुरा के भने चीनलाई हिन्द–प्रशान्त क्षेत्र, खसगरी चीन सागरको वरिपरीको क्षेत्रमा चलखेल गर्न नदिन र उसको भूमिकालाई सीमित तुल्याउन अमेरिका पहिलादेखिनैं घेराबन्दीका अनेक हर्कत गर्दै आएको थियो । त्यसैले पनि नान्सी पेलोसीको ताइवान यात्राको आकलन र त्यसको भावी परिणामका बारेमा अमेरिकी रक्षामन्त्रालयले गरेको अुनमान गर्न माथापच्ची गरिरहनु पर्दैन । उनको यात्राका बेला उनको सुरक्षामा कुनै किसिमको खतरा नरहोस् भन्नाका खातिर अमेरिकाले सैनिक उपाय पनि अवश्य गरेको थियो होला नैं । अनि त्यो यात्राको त सुरक्षित अवतरण भयो होला पनि ।

विश्वको यो युद्धजन्य उथलपुथलबाट विश्वका कुनै देशहरु पनि अछूतो रहन सक्ने छैनन् । त्यसमा पनि गरिब र विकासशील देशहरुमाथि त यसको असर अझ चर्को रुपमा पर्नेछ । यो स्थितिलाई फेर्न युद्धका कारक र कारणहरुको अन्त्य हुनु पर्दछ । असमानता, गरीवी, अभाव, शोषण र अन्यायको अन्त्य हुने वातावरण नबनेसम्म साना ठूला युद्धहरु र बिनश लीलाहरु विश्वले देख्नु र व्यहोर्नु पर्ने स्थिति रहिरहन्छ ।

तर ताइबानलाई लिएर चीन जसरी अघि बढ्यो त्यो अमेरिकी अनुमान भन्दा फरक भएको हुुनु पर्दछ । किनभने यतिबेला ताइवान वरिपरी चिनीयाँ सैनिक गतिबिधि तीब्रतम भएको कुरा सबैले देखिरहेका छन् र चीनले पनि यो छिपाएको कुरा छैन । यद्यपी सबै गतिबिधिहरु ताइवानमाथिको चीनको सार्बभौमिकता, अखण्डता र स्वाधीनताको कुरा हो र ताइवान चीनको मातहतमा छ भन्ने कुरा दर्ज गर्नु हो र अमेरिकालाई १९७२ को एक चीन मान्यताको सम्झौता पुनः सम्झाउनु हो भन्ने कुरा पनि एकदमै प्रष्ट छ ।

निश्चय नै चीनले यतिबेला अमेरिका सहित सारा विश्वलाई के कुरा प्रष्ट पारिरहेको छ भने चीनका लागि ताइवानको मुद्दा सबभन्दा प्रमुख र अन्तिम कुरा नै ताइबान चीनको स्वशासित अंग हो भन्ने कुरा हो । यो कुरालाई नाघेर कोहि पनि अघि बढ्न सक्तैन भन्ने नै चीनको अन्तिम सन्देश हो । यस मुद्दाको क्रममा चीनले अमेरिकासँग अन्य विषयमा भइरहेका वार्ता प्रकृयाबाट पनि आफूलाई अलग राखिसकेको छ ।

उता अमेरिकामा भने चीनको यो बिषयलाई लिएर रणनीतिकार र सैनिक बिशेषज्ञहरुकै दुइ फरक विचार रहेको जस्तो देखिन्छ । एउटा पक्षको के मान्यता देखिन्छ भने चीनलाई नियन्त्रणमा राख्नका लागि दूरगामी रणनीति अपनाइनु पर्दछ । यसका लागि सहयोगी देशहरुको गठबन्धन बनाइनु पर्दछ । यसै कुरालाई मध्यनजरमा राखेर गैर सैन्य संगठन ‘क्वाड’ र सैनिक संगठन ‘ओक्स’ बनाइएको औंल्याइन्छ । जे भएपनि अमेरिकी सभामुखको तत्कालीन ताइवान भ्रमणको परिणाम अहिले चिनीयाँ नौसेना र अमेरिकी नौसेना एक अर्काको एकदमै सामुन्नेमा खडा हुन पुगेका छन् ।

यस्तो अवस्थामा अहिले कुनै युद्ध शुरु हुन्छ भने त्यो यी सम्मिलित देशहरुकैवीच सीमित रहन्छ भनिदैछ । यो संघर्षको दायरा पनि सीमित रहने बताइँदैछ । अमेरिकाको सैनिक बिशेषज्ञहरुको अर्को तप्का के भन्दछ भने यदि चीन वास्तवमा सबैभन्दा खतरनाक देश हो भने कुनै बिलम्ब नगरिकन त्यससँग भिड्नु पर्दछ अरु कुनै कुरा होइन । यसो गर्न जति बिलम्ब गरिन्छ त्यति नै चीन सबल हुँदै जान्छ भन्ने उनीहरुको तर्क छ । अबको एक डेढ दशकमा चीन विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था बनिसक्ने छ । अनि उसको सैन्य क्षमता पनि धेरै अगाडि बढिसकेको हुनेछ । त्यतिबेला चीनलाई उसको प्रभाव क्षेत्रबाट हटाउने कुरा प्रायः असम्भव बन्न जाने अमेरिकी निष्कर्श छ ।

जे भएपनि अमेरिकी सभामुखको तत्कालीन ताइवान भ्रमणको परिणाम अहिले चिनीयाँ नौसेना र अमेरिकी नौसेना एक अर्काको एकदमै सामुन्नेमा खडा हुन पुगेका छन् ।

यस सम्वन्धमा अमेरिकाका लागि सबैभन्दा कठिनाईको कुरा के छ भने उसले यूक्रेनमा पनि रुसका बिरुद्ध एउटा अर्को मोर्चा पहिलादेखि नैं खोलिराखेको छ । केही समय पहिलासम्म अमेरिका यूक्रेनमा रुसको चुनौतिको सामना गर्नका लागि चीनको सहयोग लिन प्रयासरत रहेको देखिन्थ्यो । अब भने चीनले अमेरिकालाई कुनै राहत देला भन्ने सम्भावना झिनो र नगन्य मात्रै रहेको उनीहरुको पछिल्लो निष्कर्श छ । यति मात्रै पनि होइन, ताइवान मोर्चामा चीनका बिरुद्ध लामबन्दीमा रुसको सहयोग या तटस्थताको जुन गुञ्जायश हिजो देखिन्थ्यो त्यो पनि अब समाप्त भइसकेको छ । अहिले एकथरी बिश्लेषकहरु के भनिरहेका छन् भने अमेरिकाले रुस र चीनको गठबन्धनलाई जान अञ्जानमा सबल बनाइदिएको छ । भारत पनि यूक्रेनमा जस्तै सतर्कताकासाथ कुनै मोर्चामा पनि नलाग्ने दिशातिर उन्मुख रहेको जस्तो गर्दैछ ।

तर विश्वमा अहिले जुन दुइटा मोर्चा (यूक्रेन र ताइवान) मा विश्वमहाशक्तिहरुको संघर्ष केन्द्रित भएको देखिदैछ त्यसको सबैभन्दा गम्भीर र नकारात्मक असर भने विश्व अर्थव्यवस्थामाथि पर्नेछ । यस बढ्दो र लम्बिदो संकटका कारण विश्वमा खाद्य तथा ऊर्जा संकट ठूलो चूनौतिका रुपमा खडा हुुनपुग्ने छ । यसको सबैभन्दा बढी दुष्प्रभाव पनि यूरोपेली देशहरुमाथि पर्ने छ । त्यहाँ अहिले पनि आर्थिक मन्दीको ठूलो खतरा मडारिइरहेको छ । विश्वको यो युद्धजन्य उथलपुथलबाट विश्वका कुनै देशहरु पनि अछूतो रहन सक्ने छैनन् । त्यसमा पनि गरिब र विकासशील देशहरुमाथि त यसको असर अझ चर्को रुपमा पर्नेछ । यो स्थितिलाई फेर्न युद्धका कारक र कारणहरुको अन्त्य हुनु पर्दछ । असमानता, गरीवी, अभाव, शोषण र अन्यायको अन्त्य हुने वातावरण नबनेसम्म साना ठूला युद्धहरु र बिनश लीलाहरु विश्वले देख्नु र व्यहोर्नु पर्ने स्थिति रहिरहन्छ ।

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस