Techie IT
×
गृहपृष्ठबिचारसंरचनात्मक मार खेप्दै अर्थतन्त्र

संरचनात्मक मार खेप्दै अर्थतन्त्र


कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र जस्तै नेपालको अर्थतन्त्रमा संरचनात्मक असर पर्न थालेको छ । आयात र विप्रेषण थलिनुका साथै आन्तरिक आयस्रोतमा पनि खराबी देखिन थालेपछि अर्थतन्त्रको संरचना नै भत्कने खतरा उत्पन्न भएको हो ।

अहिले आन्तरिक उत्पादन कमजोर हुँदा आयातमा निर्भर हुँदै आएको सरकारी आम्दानी (राजस्व) मा नकारात्मक असर परेको छ । व्यापार ठप्प भएको छ भने छिमेकी तथा तेस्रो देशबाट पर्याप्त सामग्री स्वदेश भित्रिन सकेको छैन । उसै त कमजोर औद्योगिक क्षेत्र ठप्प हुँदा पाइएको रोजगारीका अवसरमा ठूलो मार परेको छ । रोजगारीको अवसरमा भौतिारिँदै विदेशिएका युवाको हालत पनि उस्तै छ । विदेशमा श्रम गरिरहेका युवाले पठाएको विप्रेषणमा देशको अर्थतन्त्र निर्भर हुँदै आएको थियो तर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै अवरोध भएका तमाम मानवीय क्रियाकलाप कारण विश्व अर्थतन्त्र आक्रान्त भएको छ । जसका करण रोजगारी गन्तव्य बनेको मुलुक पनि कोरोना भाइरसको चपेटामा परेकाले ती देशबाट पनि नेपाली युवाले रोजगारी गुमाउँदै गएका छन् । विप्रेषण गुम्दै गएका कारण देशको आर्थिक धरातलमा अर्को धक्का पुग्न गएको पछिल्ला सूचकले देखाउन थालेका छन् । यी दुई महत्वपूर्ण बाह्य क्षेत्र मात्र होइन पछिल्लो समय अन्तरिक अवस्थामा कमजोर बन्दै गएका छन् । आम्दानीको स्रोत बनेको बैंक तथा वित्तीय क्षेत्रको नाफा खुम्चिएको छ । दूरसञ्चार क्षेत्रको आम्दानीमा पनि ह्रास आएको छ ।

व्यापार र विप्रेषणजस्ता बाह्य क्षेत्र आक्रान्त भएको अवस्थामा आर्थिक क्षेत्रमा महत्वपूर्ण क्षेत्र मानिएको बैंक तथा वित्तीय क्षेत्रको अवस्था पनि कमजोर हुँदै गएको छ । भर्खरै सकिएको आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको कुल खुद नाफा १२ प्रतिशत घटेको छ  । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरूको यस्तो नाफा २५ प्रतिशत बढेको थियो । गत आवमा वाणिज्य बैंकहरूको कुल नाफा ५४ अर्ब ३० करोड रुपैयाँ देखिएको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा ६१ अर्ब ८४ करोड रुपैयाँ थियो । कोभिडको जोखिमबाट बच्न गरिएको लकडाउनका कारण व्यवसाय प्रभावित भएपछि नाफा घटेको बैंकहरूले जनाएका छन् । आर्थिक सर्वेक्षणका अनुसार गत आवमा वित्तीय प्रणालीको सम्पत्ति/दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा बढी रहेको छ । यस्तो सम्पत्ति/दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाहरुको अंश ८८.१ प्रतिशत रहेको छ । यस्तो सम्पत्ति/दायित्व संरचनामा राष्ट्र बैंकको अंश १६.८ प्रतिशत र वाणिज्य बैंकहरुको अंश ५७.६ प्रतिशत रहेको छ । कोभिड–१९ कै कारण यति ठूलो क्षेत्रमा असर पर्ने देखिएको छ । सङ्क्रमण झनै बढेका कारण लगानीमा आएको संकुचनका कारण चालू आर्थिक वर्षमा यस्तो नकारात्मक असर झनै गहिरिएर जाने देखिएको छ ।

आन्तरिक क्षेत्रको अर्को महत्वपूर्ण क्षेत्र हो, दूरसञ्चार । यस क्षेत्रले पनि देशको आयमा महत्वपूर्ण योगदान गर्दै आएको छ । दूर सञ्चार क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा ओगटेको सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नाफा अप्रत्यासित रूपमा घटेको छ । टेलिकमले गत वर्षको वित्तीय विवरणअनुसार टेलिकमको नाफा २०७४ /७५ को तुलनामा सात अर्ब २७ करोड २७ लाख रुपैयाँले घटेको छ । सर्वाधिक बजार पुँजीकरण भएको र सरकारी स्वामित्वको ९२ प्रतिशत सेयर रहेको यो कम्पनीको नाफा केही वर्षदेखि निरन्तर घटिरहेको छ । टेलिकमले वार्षिक रूपमा कमाएको नाफा १० अर्ब देखिए पनि अघिल्लो वर्षको तुलनामा ४१ दशमलव ६१ प्रतिशतले घटेको उसको वित्तीय विवरणमा उल्लेख छ । टेलिकमले २०७५ /७६ को एक वर्षमा १० अर्ब २० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यस्तो नाफा २०७४ / ७५ मा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ रहेको थियो । आशा गरिएका क्षेत्रको नाफा घट्दा अर्थतन्त्रमा नै असर पर्ने देखिएको छ ।

यी दुई महत्वपूर्ण क्षेत्र मात्र होइन, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय ठप्प भएका छन् । साना मझौला उद्योग कोमामा पुगेका छन् । त्यसले गर्दा दशौँ हजार बेरोजगार भएका छन् । बन्दाबन्दीकै समयमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका लागि इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले २३ जिल्लाका ७०० उद्यमी, जोखिमयुक्त समुदायका चार सय प्रतिनिधि, सरकारी अधिकारी र निर्वाचित प्रतिनिधिमाझ गरेको सर्वेक्षणबाट पनि स्टार्टअप, लघु, साना तथा मझौला उद्योग कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको निष्कर्ष निकालेको थियो । यस क्षेत्रमा संलग्न ६० प्रतिशतको रोजगारी गुमेको र ९५ प्रतिशत आम्दानी कमी आएको प्रतिवेदनले जनाएको छ । त्यसैगरी निर्माण क्षेत्र चलेको छैन भने विद्युत् तथा ऊर्जा क्षेत्र खपत नभएर खेर जाने अवस्था सिर्जना हुँदै गएको छ । अब बाँकी रहेको एकमात्र क्षेत्र कृषि हो । यस क्षेत्रमा भयानक समस्या नदेखिए पनि समयमै मल, बिउ र अन्य किटनासक औषधिको व्यवस्था नहुँदा सोचेजस्तो प्रगति हुने अवस्था छैन ।

यी सबै क्षेत्रको विश्लेषण गर्दा के प्रतित हुन्छ भने देशको अर्थतन्त्र झनै उँधो गतिमा धकेलिएको छ । आम्दानीका स्रोतहरु खुम्चिँदै गएका छन् । त्यसको अलवामा खर्चका दायरा बढ्दै गएका छन् । निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्रसहित अन्य सरकारी कर्मचारीको भरणपोषण कसरी गर्ने भन्ने चुनौती चुलिदै गएको छ, मतलब सरकारको चालू खर्च नै धान्न नसक्ने अवस्था सिर्जना हुने देखिएको छ । सरकारले आन्तरिक तथा बाह्य ऋण उठाएर कहिलेसम्म धान्ने, अवस्था गम्भीर बन्दै गएको छ । खुम्चिदो आम्दानी, बढ्दो खर्चले अर्थतन्त्रको आधारभूत संरचनामै प्रहार गर्ने देखिएको छ । तर, कोभिडका कारण आर्थिक आवश्यकता र चुनौती चुलिँदै गएको छ । यसबीचमा अनियमितता संस्थागत हुँदा झनै आर्थिक क्षेत्रमा उठ्नै नसक्ने गरी थलिने प्रायः निश्चित हुँदै भएको छ । यस्तो विषय परिस्थितिमा अर्थमन्त्री तथा सरकारका नेतृत्वले समयमै उचित कदम चाल्नुपर्ने देखिएको छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस