Techie IT
×
गृहपृष्ठबिचार‘स्वतन्त्र’को स्वतन्त्रता

‘स्वतन्त्र’को स्वतन्त्रता


मानिसलाई सबैभन्दा प्यारो लाग्ने चिजबस्तु केहि छ भने त्यो स्वतन्त्रता हो । यसै मेसोमा दलहरुबाट स्वतन्त्र हुनेको लहर यतिखेर चलेको छ । स्थानीय निर्वाचनमा दुई दर्जन बढी पालिका प्रमुख र सयौं जनप्रतिनिधिमा स्वतन्त्रको हैसियत देखिएपछि स्वतन्त्र हुनेको बाढी आएको हो । यो बाढी कहाँनेर पुगेर रोकिन्छ अहिले नै अड्कल काट्न मुस्किल छ ।

तर, राजनैतिक दलमा भने स्वतन्त्रको बाढीले दललाई अन्तरिम र तदर्थ बनाउँदै लगेको आभास हुन्छ । भनिन्छ, दलीय व्यवस्थामा राजनैतिक दलको विकल्प राजनैतिक दल नै हो । यद्यपी युवा पुस्तामा देखिएको स्वतन्त्रको लहर थामी नसक्नु गरी चलेको छ । रवि लामिछानेले त स्वतन्त्रको लोकप्रिय लहर ‘क्वाइन’ गर्न पार्टीको नाममा स्वतन्त्रको फुर्को नै टाले । आउँदो संघ र प्रदेशको निर्वाचनलाई ताकेर स्वतन्त्रको हैसियत अजमाउन उम्मेद्वारको लर्को लागेको छ । ठुला सहरमा मात्र हैन मोफसलमासमेत स्वतन्त्र अभियान राजनैतिक दललाई विझाउने हदको हुँदैछ ।

स्वतन्त्रताको परिभाषा :

नेपाली शब्दकोसहरुले अरु कसैको बन्धन, दबाउ, अधिनमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयम् सोचीबुझी काम गर्न सक्ने वा पाउने स्वाधीनतालाई बुझाउँछ भनेर परिभाषा गरेका छन् । कुनै नियम, विधि र प्रतिबन्धबाट मुक्त हुनु स्वतन्त्र हुनु हो । स्वतन्त्र नागरिक, स्वतन्त्र चिन्तन र स्वतन्त्र मतदान यसको विशेषता हो । अरु कसैसंग सम्पर्क नभएको, अलग, भिन्न हुनु यसको चरित्र हो । यो परिभाषाको आधारमा गत निर्वाचनमा भाग लिने स्वतन्त्र उम्मेद्वारमध्ये बालेन साह (काठमाण्डौ) र हर्कराज राई (धरान) खाँट्टी स्वतन्त्रमा पर्छन । बाँकी स्वतन्त्रहरु दलीय राजनीतिको चपेटमा परेका प्रतिक्रियात्मक स्वतन्त्र हुन ।

राजनैतिक बनाम् पार्टी स्वतन्त्रता :

स्वतन्त्रता आधुनिक युगको राजनैतिक दर्शन हो । देश, राज्य मात्र हैन जनसमुदायको स्वतन्त्रताको लागि बनाइने यो प्रणाली हो । व्यक्ति, समुदाय वा संस्थाले गर्ने कुनैपनि काममा प्रतिबन्ध नहुनु नै स्वतन्त्रता हो । स्वतन्त्रता स्वशासनसंग पनि सम्बन्धित छ । तर नेपालको सन्दर्भमा पहिलो र दोस्रो जनान्दोलनले पार्टी स्वतन्त्रतालाई मात्र स्वतन्त्रताको अर्थमा परिभाषित गर्यो । राज्यका संरचनाहरुमा पार्टीले प्रतिनिधित्व गर्ने बाँकी जनसमुदायले अनुमोदन मात्र गर्ने । सुरुका कालखण्डहरुमा पार्टी स्वतन्त्रता व्यवस्थित थियो । तर पछिल्ला कालखण्डमा पार्टी स्वतन्त्रता पनि खुम्चिँदै माथिल्ला कमिटी र निश्चित उपल्ला नेताहरुमा सिमित भयो ।

पार्टी स्वतन्त्रता मात्र नेताको स्वतन्त्रतामा खुम्चियो । पार्टीका विचार, नीति, सिद्धान्त खोपीमा पुगे । नेताको एकल सोच, विचार, चिन्तन, निर्णय प्रभावी हुन थाले । जनअधिकारको रक्षाका लागि स्वतन्त्रता कार्यान्वयन भएन । महंगी, भ्रष्टाचार, अभावसंगै कानूनी राज्यको कमी खड्कियो । त्यहीँदेखि स्वतन्त्रतााको खोजी सुरु भयो । पार्टीका आमकार्यकर्ता अलग–थलग हुने क्रम सुरु भयो । सबैभन्दा पहिले पार्टीका समर्थक, शुभेच्छुक पछाडि सरे । यसपछि कार्यकर्ता निरास र पलायन हुँदै गए । यसै मेसोमा कथित स्वतन्त्रले फँडा उठायो ।

आफ्नो शासन प्रबन्ध आफै गर्न पाउनु राजनैतिक स्वतन्त्रता हो । पार्टीले जनताको राजनैतिक स्वतन्त्रताको लागि सहजीकरण मात्र गर्नु पर्दथ्यो । तर पार्टीले सहजीकरण गर्नुको साटो शासन गर्न थाल्यो । पार्टीका नीति, सिद्धान्त विपरित पार्टीका व्यक्तिले शासन प्रवन्ध गरे । यसैको उप–उत्पादन अहिलेको स्वतन्त्रको माहोल हो । पार्टी स्वतन्त्रता र राजनैतिक स्वतन्त्रताको मूलमर्म खुट्याउन नसक्ता वा सो अनुसार राजनैतिक स्वतन्त्रता व्यवस्थित नगर्दाको परिणाम अहिलेको परिघटना हो ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस