Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

लिदी पहिरोको मुख्य कारण नेताहरुको हाइड्रो ?


जुगल गाउँपालिका २ लिदीका बासिन्दा आफूहरु बस्दै आएको बस्ती पहिरोको जोखिममा परेको भन्दै गुनासो बोकेर सदरमुकाम आएका थिए । बस्ती नै पुर्ने पहिरो आउनु केहीअघि मात्र उनीहरु सुरक्षाको माग गर्दै निवेदन बोकेर आएका हुन् । बसोबास गरिरहेको जमिनको अध्ययन गरिदिन निवेदनसहित जिल्ला प्रशासन कार्यालयमा उनीहरु आएका थिए । जिल्ला प्रशासनमार्फत उनीहरुले प्रधानमन्त्रीदेखि आफैले विजयी वनाएको हालका सभामुख अग्नि सापकोटासम्मलाई उनीहरुले गुहार मागे । तर, खासै सुनुवाइ भएन । सापकोटा सभामुख बनेको र फुर्सद कम भएको भन्दै उनका सचिवालयले भेट समेत नदिएको उनीहरुको गुनासो छ ।

गैरजिम्मेवारीपन

असार २६ गतेको ठूलो वर्षाले पहिरो जाने, जमिन चिरा परेर फाटेको थियो । माथिबाट पहिरो र तलबाट जमिन भास्सिन थालेपछि नाम्फा र लिदीको एक सय ४९ घर पहिरोसँगै बग्छ भन्ने आशंका स्थानीयले गरेका कारण स्थानान्तरका लागि गाउँवासी जिल्ला प्रशासन कार्यालय आएका थिए ।

पहिरो खस्न ठीक परेको ढुंगा, धाँजा परेर चिरिएको जमिनले बस्ती जोखिममा परेपछि समस्या लिएर गाउँवासी स्थानीय तह, प्रशासन सबैतिर धाएका थिए । उनीहरुको माग आफ्नो गाउँ जोखिममा परेकोबारे अध्ययन गरेर आवश्यक परे स्थानान्तरणका लागि पहल गरिदिने मात्रै थियो । तर, तत्काल कुनै सरोकारवाला निकायबाट समस्या समाधानका लागि पहल भएन ।

तत्काल सुनुवाइ नभएपछि गुनासो पोख्न असार २७ गते आठ घण्टाको बाटो हिँडेर चौतारामा रहेको सञ्चारमाध्यममा पनि पुगे । लिदीबासीको समस्यालाई विषय उठान गरेर स्थानीय रेडियो सिन्धुले त्यतिबेला कार्यक्रम गरेपछि जिल्ला विपद ब्यवस्थापन समिति संयोजक एव प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग रेडियोमा उनीहरुले समस्याको व्यवस्थापन गर्न आग्रह समेत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी ढकालले प्रहरी, वडा र पालिकासँग समन्वय गरेर तत्काललाई त्रिपाल, कम्बल दिएर झारो टार्ने काम त्यतिखेर गरे । राहत नभई आफूहरुको सुरक्षा खोजेका स्थानीयलाई कम्बल दिएपछि उनीहरु आक्रोशित बने । थप गुनासो गर्दा प्रजिअले अब यस्तो समस्या लिएर नआउनू समेत भनेका थिए ।

पहिरोसँगै गाउँ बग्ने डरमा रहेका स्थानीयले दीर्घकालीन ब्यवस्थापनको लागि सरकारसँग गुहार मागिरहेका थिए ।

जुगल गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी, सांसद, नेता सबैतिर एक महिनाको बीचमा आफ्ना समस्या सुनाउन उनीहरुले चक्कर काटिरहे । स्थानीय दिनभरि घरमा र राति त्रिपालले बारेर बनाएको सुरक्षित ठाउँमा ज्यान जोेगाउन जाने गरेका थिए । भगवान भरोसामै बसिरहेका लिदीका स्थानीय ठूलो पानी पर्दा पहिरोमै ज्यान जान्छ कि भनी निदाउन समेत सकेका थिएनन् । जाने कतै ठाउँ छैन, पहिराले बस्ती नै उच्च जोखिममा परेपछि लिदीबासी सरकारले केही गर्ला भन्ने आशामा बस्दाबस्दा कत्तिले आफ्नो ज्यान गुमाए, कतिले आफन्त ।

ठूलो मानवीय तथा भौतिक क्षति

शुक्रबार विहान ६ वजेर ४० मिनेटको समयमा बस्तीभन्दा करिब चार सय मिटर माथिबाट पहिरो आयो । ३८ बेपत्ता भए । सभामुख, साँसद, गाउँपालिका अध्यक्ष, सिडियोलगायत केही नेताहरु उद्धार गर्ने भन्दै घटनास्थल पुगे । पहिले बस्ती हेरिदिनुभन्दा वास्ता नगरेका नेताहरु अहिले घटनास्थल पुगेपछि स्थानीयले आक्रोस पोखेका थिए ।

पहिरोको मुख्य कारण हाइड्रो

स्थानीयको दावी भने पहिलादेखि नै बलेफी खोलामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी हाइड्रोपावरले बस्ति मुनि सुरुङ खन्दा गाउँ पहिरोले बगाउन लागेको थियो । बस्ती मुनि सुरुङ खन्नुअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर अघिल्लो वर्षको मंसिरमै निवेदन दिएका थिए । गाउँपालिकामा पनि दिएका थिए । तर, अहिले यो तर्कबारे गाउँपालिका अध्यक्ष पन्छिएका छन् ।

स्थानीयवासीले आफ्नो गाउँलाई कुनै पनि दिन पहिरोले पुर्न सक्ने सम्भावित जानकारी सम्बद्ध निकायहरुमा पटकपटक जानकारी गराउँदा पनि सरोकारवालाले चासो नदिएकै कारण यति ठूलो दुर्घटना भएको देखिन्छ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. २ को विकट गाउँ लिदी पहिरोमा ठूलो मानवीय क्षति हुनुको मुख्य कारण निर्माणाधीन हाइड्रोपावर भएको प्राविधिकहरु पनि बताउँछन् ।

गत २०७२ सालको भूकम्पले चिरा पारेको करण त्यहाँ अहिले घटना भएकोबारेमा प्राविधिकहरु मान्न तयार छैनन् । भूकम्पको भन्दा ठूलो पराकम्पन यहाँ हाइड्रोपावरको सुरुङभित्र पड्केको ब्लास्टिङले हल्लाउने गरेको स्थानीयको अनुभव छ ।

पहुँचवालाका कारण सुनुवाइ भएन

नेकपाका जिल्ला तहका नेताहरुकै लगानी र शेयर रहेको हाइड्रोपावरले उनीहरुलाई उठीवास लगाएको हो । नेकपाका केन्द्रीय सदस्य पनि रहेका व्यवसायी माधव सापकोटा ‘सुबोध’ लगायत पूर्वएमाले जिल्ला सचिव तथा हाल प्रदेश सदस्य सुवास कर्माचार्यको आड र सक्रियतामा वस्तीको ठीक मुनि हाइड्रोपावरको सुरुङ खन्न लगाउनुले समस्या आएको हो । यसबारेमा स्थानीयले आफ्नो समस्या राख्दा समेत सभामुख अग्नि सापकोटाले कानमा तेल हालेर बसे ।

सुधारका लागि सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल समक्ष आएको निवेदन पनि कार्यान्वयन नभएपछि थप समस्या भएको हो ।

राहतमा पनि घोटाला

स्थानीयको सुरक्षाको निम्ति भन्दै अस्थायी बासस्थान बनाउन २० थान टेन्ट, तीन सय थान त्रिपाल, एक सय थान कम्बल दिएर पठाएको भए पनि स्थानीयसम्म नपुगेकोमा प्रमुख जिल्ला अधिकारीको भनाइ छ । तर, लगिएको त्रिपाल हालेर गाउँलेहरु पाखामा बस्ने गरेका थिए । साथै पुननिर्माण प्राधिकरणको खातामा करोडौं रकम थन्क्याएर मात्र राख्ने र आवश्यक ठाउँमा खर्च नगरिनुले पनि यो घटना भएको बताइन्छ ।

किन ‘यल्लो जोन’ ?

प्रजिअ ढकालले दिएको जानकारीमा भूकम्प पश्चात् पुननिर्माण प्राधिकरणले यसअघि नै गरेको अध्ययनमा उच्च जोखिमयुक्त स्थानलाई ‘रेड जोन’ मा राख्नुपर्नेमा लिदीलाई भने ‘यल्लो जोन’ मा राखिएकाले वस्ती सार्न नसकिएको हो । किन यस ठाउँलाई रेड जोन नबनाइएको भन्दै यस क्षेत्रको भ्रमण गरेर फर्केका प्राविधिकहरुले आश्चर्य प्रकट गरेका छन् ।

लिदी गाउँ मात्र हैन नाम्फा, सन्चगाउँ, झुल्के, निम्लुङ, बैगाङ टोलका स्थानीयले वस्ती मुनि बन्दै गरेको बलेफी हाइड्रोको सुरुङमा ब्लास्टिङले झनझन् जमिन अन्तरिक रुपमा क्षतविक्षत भएको थियो । यसबारे स्थानीयले जानकारी पनि गराएका थिए । तर, जलबिद्युत आयोजनामा सुबोध र सुवासको दादागिरीका कारण कुनै कार्वाही नभएको भन्दै अहिले जिल्लामा व्यापक चर्चा छ । नेकपाका मात्र होइन काँग्रेसका केही जिल्ला तहका नेता पनि यसको शेयरवाला छन् । सुबोध र सुवाससँग निकट व्यवसायी उमेश कसजू मुख्य लगानीकर्ता रहेको यो आयोजनामा सवै दलका नेतालाई साथ लिएका छन् । हाइड्रोपावरले बिगतमा बोल्दे, पाङ्गर्पुका स्थानीयहरुको जग्गामा कुनै पनि जानकारी बिनै सडक खनेको र कुनै क्षतिपूर्ति समेत नदिएको भनेर कयौंपटक निवेदन अनि आन्दोलन गर्दा गाउँपालिका उपप्रमुख सिर्जना तामाङलाई बिचौलिया बनेको आरोप छ । उपाध्यक्ष लगायत अध्यक्ष होमनारायण श्रेष्ठलाई दवाव दिएर नेकपाका नेताहरुले काम सुरु गर्न दवाव दिएका थिए । उचित मुआब्जा समेत बीचमा कमिसन खाएर मात्रै पाएको दुखेसो पोख्दै आएका छन् बोल्दे र पाङ्गर्पुका स्थानीयले । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट