Techie IT
×
गृहपृष्ठबिचारजबज र जनताको जनवाद : कति भिन्न, कति समान ?

जबज र जनताको जनवाद : कति भिन्न, कति समान ?


निर्मल भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देव गुरुङले जनताको जनवाद र जनताको बहुदलीय जनवादबीच तात्विक भिन्नता रहेको दलिल गर्नुभएको छ । जनताको बहुदलीय जनवाद चाहिं पश्चगामी र यथास्थितिवादी विचार हो भने जनताको जनवाद चाहिं क्रान्तिकारी समाजवादउन्मुख विचार भएको तर्क गर्नु भएको छ ।

‘जनताको जनवादबारे’ शिर्षकमा लेखिएको उक्त आलेखमा उहाँले भन्नुभएको छ, ‘नेपालको सन्दर्भमा विश्व साम्राज्यवादी शक्तिहरु र तिनका एकाधिकार दलाल पूँजीपति वर्ग एकातर्फ हुन्छ भने अर्कोतर्फ किसान, मजदुर, आफ्नो श्रम र पूँजी परिचालन गरिरहेका व्यवसायी गरिरहेका साना तथा राष्ट्रिय पूँजीपतिहरु हुन्छन् । यही दुई वर्गबीचको वर्ग अन्तरविरोध नै नेपालको प्रधान अन्तरविरोध हो ।’

प्रधान अन्तरविरोधको प्रसङ्ग चल्दा संसारकै सबभन्दा ठूलो कम्युनिस्ट पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले चीनको प्रधान अन्तरविरोधको बारेमा निकालेको निष्कर्ष नियाल्नु पर्ने हुन्छ । माओको नेतृत्वमा दिर्घकालीन जनयुद्धमार्फत चीनको सत्ता कब्जा गरेपछि सन १९४९ पछि गरिएको वर्ग विश्लेषणमा चिनियाँ जनता र सम्राज्यबाद, सामन्तवाद तथा कोमिङताङका अवशेषबीचको अन्तरविरोध नै तत्कालीन चिनियाँ समाजको प्रधान अन्तरविरोध मानिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले करिब ३० वर्ष यही विश्लेषणलाई सही ठान्यो ।

सन् १९८१ पछि मात्र ‘चिनियाँ जनताको निरन्तर बढिरहेको भौतिक तथा साँस्कृतिक आवश्यकता र पछौटे सामाजिक उत्पादनबीचको अन्तरविरोध नै चिनियाँ समाजको प्रधान अन्तरविरोध हो’ भन्ने निष्कर्ष निकाल्यो ।

प्रधान अन्तरविरोधको मुद्दा हरेक देशका कम्युनिस्टका लागि सबभन्दा प्रमुख मुद्दा हो किनभने अन्तरविरोधमा समाजका गतिशील शक्तिहरु सामेल हुन्छन् र यसले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दछ ।

नेपाली कम्युनिस्टहरुले स्थापनाकालदेखि नै नेपाली श्रमजीवी जनता र सामन्तवाद –साम्राज्यवादबीचको अन्तरविरोध नै नेपाली समाजको प्रधान अन्तरविरोध हो भनियो ।

चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भए लगत्तै कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले नेपाल पनि चीनजस्तै अर्ध औपनिवेशिक र अर्ध सामन्ती अवस्थामा रहेको र यहाँ नौलो जनबादी क्रान्ति आवश्यक भएको निष्कर्ष निकालेको थियो । र, सोही बमोजिमको कार्यनीति तय गरेको थियो । झापा विद्रोह हुँदै पार्टी बनेको तत्कालीन नेकपा (माले) ले झण्डै एक दशक नौलो जनबाद प्राप्तिका लागि सशस्त्र संघर्ष बाटो तय गरेको थियो ।

तत्कालीन नेकपा (मशाल) का महामन्त्री प्रचण्डले २०४५सालमा ‘नेपाली क्रान्तिका समस्या र दृष्टिकोणको प्रश्न’ भन्ने दस्तावेजमा ‘नेपाली क्रान्तिको चरित्र सामन्तबाद–साम्राज्यबाद विरोधी अर्थात् नयाँ जनबादी हुन्छ’ भनेका थिए । २०४९ सालमा मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद नयाँ विशेषतासहितको नयाँ जनवाद नै हो र जनताको बहुदलीय जनवादी व्यवस्था सामन्तवाद साम्राज्यवादविरोधी व्यवस्था हो’ भनेका थिए ।

२००७ सालदेखि ०६३ सालसम्मका जनआन्दोलन,जनयुद्धका कारणले नेपालमा थुप्रै परिवर्तन ल्यायो, सामन्तवादी सत्तालाई समूल नष्ट ग-यो तर चीनमा भएको जस्तो नयाँ जनवादी क्रान्ति नेपालमा सम्पन्न हुन सकेन । माओबादी १० बर्षे जनयुद्धको उद्देश्य त्यही भए पनि त्यो पूरा हुन सकेन । मुख्य उद्देश्यमा माओबादी जनयुद्ध असफल रह्यो । तर, पनि यो ६० बर्षको अवधिमा नेपाल अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थाबाट पूँजीवादी चरणमा रुपान्तरित भएको छ । कुल गार्हस्थ उत्पादनको दृष्टिले र विद्यमान ब्यापार घाटाको दृष्टिले देश गरीव देशहरुकै कोटीमा छ, तर सामाजिक विशेषताको दृष्टिले देशमा आमूल परिवर्तन आएको छ ।

देव गुरुङजस्तो मुर्धन्य नेतालाई थाहा नै होला- सामाजिक अन्तरविरोधले समाजमा परिवर्तन ल्याउँछ र परिवर्तनसँगै समाजको प्रधान अन्तरविरोधमा पनि स्वाभाविक रुपमा परिवर्तन हुन्छ । नेकपाको आगामी एकता महाधिवेशनले नेपाली समाजको प्रधान अन्तरविरोधको पनि छिनोफानो गर्ने अपेक्षा गर्न सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले जस्तै नेपाली समाजभित्रै प्रधान अन्तरविरोध खोजिनु पर्छ,बाहिर होइन ।

नेता गुरुङले नेकपाले अवलम्बन गरेको ‘बहुदलीयता’ लाई आलोचनाको विषय बनाउनु भएको छ । उहाँले उक्त आलेखमा भन्नुभएको छ – ‘स्वाधीनतासहित समाजवादको दिशामा जाने या जनताको बहुदलीय जनवाद भन्दै सामन्तवाद विरोधी आन्दोलनको बेला अङ्गीकार गरिएको पुरानै बहुदलीय व्यवस्थालाई समाजवादी क्रान्तिको चरणमा पनि निरन्तर रुपमा बहुलवादलाई अङ्गीकार गर्ने वर्तमान वर्ग संघर्षको विशेषता अनुरुप त्यसको प्रतिविम्वन कम्युनिस्ट पार्टीभित्रको अन्तरसंघर्षमा पनि स्वतः पर्दछ र यी दुई कार्यदिशा प्रकट हुने गर्दछ । बहुदलीयताले यथास्थितिको कार्यदिशालाई जनाउँछ । त्यो भनेको संसदवाद हो । संसदवाद भनेको अर्को शब्दमा बहुलवाद हो । बहुलवाद साम्राज्यवादको सिद्धान्त हो ।’

उहाँको यो दलिल घुमाउरो पाराको माओवादी शासन सत्ताको पक्षपोषण हो । एकदलीय शासनकै पक्षपोषण हो । नेकपाको अन्तरिम विचारको पेटबोलीमा उल्लेख भएका संवैधानिक सर्बोच्चता, शान्तिपूर्ण चुनावी प्रतिस्पर्धा, मानवअधिकार, बहुलवादी खुल्ला समाजलगायतका तमाम विषयप्रति उहाँको पूरै विमति छ ।

उता बहुलवाद र बहुदलीयताबारे मदन भण्डारी भन्छन् —’अन्य कम्युनिष्ट शासन भएका देशमा बहुदलीय प्रतिस्पर्धा रहेन । हामी भने त्यसभन्दा भिन्न सुष्पष्ट रुपमा बहुदलीय प्रतिस्पर्धा सामेल गर्न चाहन्छौ । यस अर्थमा हाम्रो कार्यक्रम र विचारको यो एउटा विशेष कुरा हो । यसलाई कार्यक्रममा पनि विशेष रुपमा उल्लेख गर्न आवश्यक छ । त्यसैकारण कार्यक्रमको शीर्षकमा सारतत्व र आफ्ना विशेष कुराहरु समेत समावेश गरेर जनताको बहुदलीय जनवाद भनेको हो । जुनसुकै विशेषणको साथ जनवादको उल्लेख गरिए पनि हाम्रो कार्यक्रमको स्वरुप र सारलाई सटिक ढंगले उल्लेख गर्दा क्रान्तिको कार्यक्रमको नाम जनताको बहुदलीय जनवाद हुनुपर्छ ।’

प्रष्ट छ-  कम्युनिष्ट आन्दोलनभित्र बहुदलीयताको अभ्यास नेपालमा जत्तिको सुष्पष्ट ढंगले संसारमा कहीं भएको छैन । यसलाई कम्युनिष्ट राजनीतिको नेपाली ब्राण्ड बनाउनु उपयुक्त हुन्छ । रुस, चीन ,उत्तर कोरियामा भएका एकदलीयताको अभ्यास विवादमुक्त थिएन र छैन भन्ने पनि घामजस्तै छर्लङ्ग छ । माक्र्सवाद, लेनिनवाद, जुछे विचारधारा भन्दाभन्दै पारिवारिक निरङ्कुश शासनतर्फ मोडिएको उत्तर कोरियाको घटनादेखि जनतालाई केन्द्रमा राखेर देशलाई विश्वको सुपर पावर बनाउने चिनियाँ इतिहास हाम्रा सामु छ । नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको विशिष्ट धरातलीय यथार्थतामा बहुदलीयताको अभ्यास गर्दै आएको छ ।

बहुदलीयताको अभ्यास आमनिर्वाचनमा श्रेष्ठता हासिल गरेर सत्तामा पुग्ने कुरामा मात्र केन्द्रित छैन, अन्तरपार्टी लोकतन्त्रमा पनि गाँसिएको छ । पार्टीको अमुक नेतृत्वमा पुग्न व्यक्तिले कम्युनिष्ट आन्दोलनमा गरेको त्याग, तपस्या र वलिदानमात्रले अब पुग्दैन । कुनै प्राविधिक एकता वा सहमतिले मात्र पुग्दैन । तत् तत् तहको बहुमत पार्टी सदस्यको वैधानिक अनुमोदन चाहिन्छ । प्रधानमन्त्री बन्न संसदीय दलको बहुमत सदस्यको बहुमत चाहिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवादले बसाएको यो परम्पराबाट नेकपा तत्काल बाहिर आउन सक्ने अवस्था छैन ।

रामायणमा एउटा प्रसङ्ग छ । वाली र सुग्रीवको युद्ध भइरहेको वेला रुख पछाडि लुकेर रामले बाण प्रहार गरि वालीको प्राण पखेरु समाप्त पारिदिए । केही क्षणमा वाली पत्नी तारा रुँदै कराउँदै उनको पतिको मृत शरीरतर्फ आइन । ताराले आफ्नो पतिको मृत शरीर देखाउँदै रामलाई भनिन्—मेरा पतिले तपाईंको के विगार्नुभएको थियो र मार्नुभयो ?

रामले शोकविह्वल तारालाई सम्झाउन दार्शनिक पारा अपनाए । उनले भने —
आत्मा हो पति भन्दछ्यौ पनि भन्या मर्दैन आत्मा कहीं ।
देहै हो पति भन्दछ्यौ त किन शोक गछ्र्यौ छ उ ता यहीं ।।

रामको अर्थमा उनले वालीलाई मारेको होइन । उनले त मात्र वालीको आत्मा र शरीरलाई छुट्याई दिएको मात्र हो ! यो त्यतिबेलाको दार्शनिक सवाल थियो । आत्मा र शरीरको सम्बन्धको व्याख्या थियो ।

माक्र्सवादी दर्शनशास्त्रीहरु यो पुरानो व्याख्यालाई मान्दैनन् । तर, यो व्याख्यासँग मिल्दोजुल्दो रुप र सारको व्याख्या गर्छन् । सार र रुपको द्वन्द्वात्मक र अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्नेमा सबै माक्र्सवादी सहमत देखिन्छन् ।

तत्कालीन एमाले र तत्कालीन माओवादीको एकता हुँदा विचारको मामिलामा एउटा मोटो सहमति देखिन्छ । त्यो हो—तत्कालीन एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको जनताको बहुदलीय जनवादको संवैधानिक सर्बोच्चता, शान्तिपूर्ण चुनावी प्रतिस्पर्धा, मानवअधिकार, बहुलवादी खुल्ला समाजलगायतका तमाम सारलाई आफ्नो न्यूनतम कार्यक्रमको पनि सार बनाउने तर त्यसको रुप पक्ष “जनताको बहुदलीय जनवाद” बाट “बहुदलीय” शब्द झिकेर “जनताको जनवाद” राख्ने । नेपाल संघीय गणतन्त्रमा आएसँगै बहुदलीय प्रतिस्पर्धामा सामेल भएको तत्कालीन माओवादी पक्षको विशेष आग्रहमा एकतालाई ध्यानमा राखेर एकताको प्रमुख पक्ष तत्कालीन एमाले सो शब्द हटाउन सहमत भएको देखिन्छ ।

पार्टी एकता भएको यतिका समय बितिसक्दा पनि पार्टीको विचार समृद्ध बनाउन खासै प्रयत्न भएको छैन । पार्टी संगठन र सत्ताको छिनाझपटीमै पार्टीको अधिकांश समय वितेको छ । केन्द्रीय कमिटीले महाधिवेशनको मिति नजिकिदै जाँदा केही वैचारिक बहस शुरु भएको छ । यो सकारात्मक विषय हो । तर बहुलवाद र बहुदलीयताबाट नेकपालाई अलग्याउने प्रयास चाँहि पहाड खनेर मुसो निकाल्ने प्रयास जस्तै हो । कुनै घिउ लाग्ने विषय होइन । बहुदलीयता र बहुलवाद नेकपाको जग हो, जतिसुकै बहस गरे पनि नेकपाको जग हल्लदैंन ।

यो पनि पढ्नुहोस,

जनताको जनवादबारे : देव गुरुङ 


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस