Techie IT
×
गृहपृष्ठबिचारझाँक्री भुसालले सातो फुके

झाँक्री भुसालले सातो फुके


साँइला भाइ, हर्कपुर, धरान

प्राविधिक कारणले ‘बा’मालेका झाँक्री हुन पुगेका भुसालले फलाक्न सुरु गर्दै थिए । पछिल्तिरबाट कार्जेक्रम सञ्चालकले कानमा फुस्फुसाएर मात्रै गएका थिए । लरक्क जुल्फी हल्लाए र भुसाल झाँक्रीले भने, ‘आज सातो फुक्ने कार्जेक्रम हो । यो सातो फुक्दा कस्को सातो आउँछ, कस्को सातो जान्छ, मलाई मतलव हुने कुरो होइन ।’

स्टेजमा सञ्चालकसहित चीनका लागि नेपालका भूतपूर्व राजदूत टंक कार्की कालो भादगाउँले टोपीमा भरसक सजिएर बसेका थिए । टोपीको रंग, लुगा र कार्कीको रुपरंगले उनी फेरी जगाउन आएका जोगी भन्दा कम देखिन्नथे । स्टेजमा गजधम्म डा. मिना पौडेल बसेकी थिइन । उनी चस्माको पावरबाट भुसाललाई नियाली रहेकी थिइन । एकाछेउमा ‘उहिले’का जनवादी गायक अहिलेका ‘सडकछाप’ गायक जीवन शर्मा काखमा झोला राखेर बसेका थिए ।

स्टेजका र दर्शकलाइ एक फन्को सम्बोधन गरेपछि भुसाल बेरोकटोक प्रबचन दिन थाले, ‘हाम्रो पार्टीमा एकजना बोलैया झाँक्री थिइन । उनी अन्यत्रै फलाक्दै छिन । यसकारण आज म नै झाँक्रीको भूमिकामा छु । मैले जोखाना हेर्दा के थाहा पाएँ भने, एमालेको पत्तासाफ गर्दिनु पर्छ, भनेर ‘कम–रेट’ प्रचन्न हुकुम गर्छन । माउवादीका बटारिएका कार्जेकर्ता एक हात उफ्रेर लाठो मुंग्रो गर्न सुरु गर्छन । माधप नेपाल एमालेलाई धुलो चटाउँछु भन्छन्, समाजवादीका कार्जेकर्ता हाम्रा ‘बा’को पुत्ला जलाउन थाल्छन् । हाम्रा ‘बा’ माधपको नामै काढेर उखान बान्ता गर्छन ‘बा’मालेका कार्जेकर्ता रगत छाद्न थाल्छन । यिनको जोग्यता यति नै हो । जस्ले जानेको जति छ तेत्तिनै गर्ने रैछन । अनि लंगडाको देशमा खुट्टो नखुम्च्याएर के गर्नु ?’

दर्शक दीर्घाबाट ताली बज्दै जान्थ्यो मुख मिठ्याउँदै, हात डुलाउँदै, दायाँबायाँ ढल्किदै, जुल्फी हल्लाउँदै, जोस्सिदै भुसाल झाँक्री फलाक्न हौसिन्थे ।

अनी जुल्फी फर्काउँदै फेरी फलाक्न थाले, ‘उहिले राजाले, रंकले संसदलाई फुटबल झैं हाने । त्यही भएर चारसुर बाँधेर संविधान बनाइयो । फेरी कुन सुरमा हो न बेसुरमा हाम्रा ‘बा’ले पनि संसदलाई लात्ते भकुण्डो बनाए । त्यही भएर त ‘बा’, बालुवाटारहुँदै बाल्कोटको बार्दलीमा पुग्या हुन । कसलाई थाहा छैन यो कुर्रा ? उहिलेको कुरा हो, गौंथलीले सिकुवामा विष्टा गर्यो भनेर घरको दलानमा भएको गौंथलीको गुणमा आगो लगाएका थिए रे । अनी घरै जलेपनि रमाउँदै यस्तो गीत गाएको थिए रे :

कताबाट उम्की जाउली गौंथली नानी हो
झ्यालै थुन्यौं, ढोकै थुन्यौं,
ए… झ्यालै थुन्यौं, ढोकै थुन्यौं,
त्यहीँमाथि आगोको मुस्लो झोस्यौं
कताबाट उम्केर जाउली
ताङ भुतुङ, ताङ भुतुङ, ताङ ।

यो त कपालमा लिखा, जुम्रा पर्यो भनेर मट्टितेल लगाएर टाउकोमा आगो झोसे जस्तो भएन र भन्या ? स्वर्गको ठेगान खल्तीमा हालेर नर्कको बाटो हिँडेपछि पुग्ने त नर्कै हो ।’

गीतसहित बाक्के पुरा गर्न पनि भ्याएका थिएनन् । दर्शकले तालीसहित सुसेला मारेर भुसाल झाँक्रीलाई फेरि हौस्याए ।

दर्शक श्रोताको उत्तेजनाबाट उत्तेजित हुँदै फेरी भन्न थाले, ‘हामी मदारीले बाँदर नचाए जस्तै छौं । जेलेन्स्की हुँदैछौं । खम्पा –२ हुँदैछौं । कान्लाबाट भिरतिर मुण्टिदै छौं । धोती पाटा फेरेर दलाल पुँजीवादले गुँण लगाई सकेको छ । माछाको तेलमा माछा फ्राइ गरेजस्तै कम्युनिष्टको तेल निकालेर त्यही तेलमा हामी कम्युनिष्टलाई भुट्दैछन । मेरो यसमा निन्दा, भत्र्सना, असन्तुष्टी केही होइन । तर, तिमारु टाउके नेता सबले प्रायश्चित गर्नु पर्छ । माफी सप्ताह मनाउनु पर्छ । अष्ट्रेलियामा ‘सरी डे’ मनाए जस्तै ।’

यतिकैमा साँझ पर्न सुरु भयो । झाँक्रीको फलाको पनि तालीको गडगडाहटसंगै तुरियो ।


क्याटेगोरी : बिचार, राजनीति, साहित्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस