Techie IT
×
गृहपृष्ठबिचारकोभिडको महामारीले भेटेर मुख हेर्न पाइएन ‘ड्याडी’

कोभिडको महामारीले भेटेर मुख हेर्न पाइएन ‘ड्याडी’


शर्मिला ज्ञवाली

बा ! आम बोलीचालीको भाषामा बुबा, बाबा, ड्याडी आदि । शब्द आफैँमा गर्विलो छ । जसले संरक्षण र व्यावहारिक मायाको भाव दर्शाउँछ । सबैको जस्तै मेरो पनि आदरणीय पिता हुनुहुन्छ । उहाँलाई म ड्याडी भनेर सम्बोधन गर्छु । त्यसो त पितालाई सम्बोधन गर्ने आ–आफ्नै तरिका र शब्द हुन्छन् । मैले ड्याडी शब्दमा गहिरो, आत्मियता र निकटता पाउँछु । आज कुशें औशी अर्थात् बुबाको मुख हेर्ने दिन । यो साता अरुबेला भन्दा अझ बढी उहाँको याद आयो । सधंै खुला आकाश बनेर हामीलाई स्वतन्त्र पंक्षी सरह उड्न दिने त्यो खुल्ला हृदयलाई चाहेर पनि कसैले भुल्न सक्दैन ।

अपार माया, स्नेह र सधैं सहजरुमा प्रस्तुत हुने पिता । हामीलाई हुर्काउँदा दुःख, अभाव र समस्या पनि झेल्नु प¥यो होला । तर, ती पीडा सन्तानलाई महसुस नगराउने, सँधै एकनास । दुःखमा नआत्तिने । सुखमा नमात्तिने । हरेक पिताको विशेषता नै हो । हुन त यो समाज पनि त्यस्तै छ, जहाँ पुरुषले रुनु हुँदैन, आँशु झार्नु हुँदैन र पीडा देखाउनु हुँदैन भनेर पुरातन सोंचको ट्याग भिराइएको छ । भनिन्छ नि, दुःखी हुँदा बुबाहरु रुँदैनन, त्यसैले त हृदयघात हुने गर्छ । हो, ड्याडी हजुरलाई पनि, त्यस्तै भएको छ । दुई पटकको हृदयघात र जटिल शल्यक्रियापछि पनि कत्ति नडगमगाइ हजुर हाम्रा सामु उपस्थित हुनुहुन्छ । यो सब हाम्रो भाग्य र हजुरको उच्च मनोबलको उपज हो । जब म हजुरलाई ड्याडी भनेर बोलाउँछु, मलाई त्यही बाल्यपनको याद आउँछ, जतिबेला म हजुरको औंला समाएर हिँड्ने गर्थेँ । जब शनिबार आउँथ्यो, ममीले हामीलाई नुहाइदिनुहुन्थ्यो, अनि हजुरले काखमा राखेर नङ काटिदिने र कान सफा गरिदिने गर्नुहुन्थ्यो । ती दिन सम्झिदा आनन्दानुभूति हुन्छ । गर्वले मुटु पनि ढक्क फुलेर आउँछ किनकि मेरो साथमा ड्याडी हुनुहुन्छ ।

सामान्य मानवीय अर्थमा स्त्री शक्ति र पुरुष शक्तिबीचको संयोजनात्मक उपज हो सन्तान अर्थात् ‘कन्जुगेटिभ प्रडक्ट अफ मेल एण्ड फिमेल’ । तर, बुबाको परिभाषा त्यतिमा मात्र सीमित भयो भने आफूलाई दुखाएर पनि सन्तानको सुख, समृद्धि चाहने र हरेक सन्तानको गल्तीलाई सहर्ष क्षमा दिन सक्ने ती विशाल छाती भएका बुबाहरुका लागि अन्याय हुन सक्छ । बुबा हुन त सन्तान यस धर्तिमा पाइला टेकेपछि आफू बाँचुञ्जेल सँधै मायाममता र संरक्षकत्व प्रदान गर्नुपर्छ । हो, मेरो ड्याडीले त्यो भूमिका आजसम्म निर्वाह गर्दै आउनुभएको छ ।

आफ्ना सन्तानले आफ्ना बुबाआमालाई माया र सम्मान गर्ने कुरा हिन्दु परम्परामात्र नभएर संसारका विविध संस्कार र परम्परामा प्रचलित छ । यो स्नेह मानव जातिमा मात्र पनि नभएर पशुपंक्षीमा पनि देखिन्छ । तर, समय बदलिएको छ । मानिसहरु आधुनिक भएका छन् । आममानिसको व्यस्तता बढेको छ । सन्तान ठूला भएपछि आफ्नै बाबु आमाको झर्को मान्ने, बोझका रुपमा लिने र बृद्धाश्रममा लगेर राख्ने प्रवृत्ति पनि देखिएको छ । वर्षभर अर्थात् तीन सय ६४ दिन बाबुआमालाई उपेक्षा गर्ने तर एक दिन लामालामा ‘स्टेटस’ लेखेर सामाजिक सञ्जालमा तस्बिर पोस्ट्याउनेहरुको पनि कमी छैन । तर, म तीन सय ६५ दिन नै बुबाको मुहारमा खुशी देख्न सधैं उपहार नै दिनुपर्छ, मीठो खानेकुरा नै खुवाउनुपर्छ भन्दिन । केबल सँगै बसेर उहाँका कुरा सुन्ने, भावना बुझ्ने र स्पर्श गर्नाले नै उहाँहरु खुशी हुनुहुन्छ । संसारमा निस्वार्थ माया, सही सल्लाह र सुझाव तथा सदैव प्रगति देख्न चाहने कोही छ भने बुबा नै हो । प्रतिकूल परिस्थितीमा पनि आफ्ना सन्तानलाई नआत्तिनु केही हुँदैन, तिम्रा लागि म छु भन्ने ढाडस र प्रेमायुक्त शब्द निस्कन्छ, बुबाका मुखबाट । त्यसैले उहाँहरुलाई कदापी पनि सन्तानको तर्फबाट दुःख, पीडा र आँशु दिनु हुँदैन । वर्षमा एक पटक मनाइने यो पर्व यी सब कुराको मूल्याङ्कन गर्ने दिन पनि हो । के हामीले आफ्ना बुबालाई खुशी दिएका छौँ या हाम्रा व्याबहार र शब्दले दुःख र पीडा ।

‘पितृ देवों भवः’ अर्थात् पिता नै देवता समान हुन् भन्ने धार्मिक मान्यताअनुसार भाद्र कृष्ण औंशीका दिन बुबाको मुख हेर्ने र पितृ तथा देव कार्यमा प्रयोग हुने कुश घरघरमा भित्र्याएर यो पर्व मनाउने गरिन्छ । यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाइ अर्थात् भोजन गराएर आदर सम्मान प्रकट गर्ने र उपहार दिएर मुख हेर्ने चलन छ । भनिन्छ, भौतिकरुपमा सम्पन्न मानिस पनि आमाबुबाविना गरीव हुने गर्छन् । अपवाद बाहेक, हरेक सन्तानले आफ्नो खुशी बाबुआमासँगै साट्न चाहन्छन् । मेरो परिप्रेक्षमा पनि त्यस्तै हो । हरेक विषयमा म ड्याडीसँग सहजै खुल्न सक्छु । मेरो शक्ति, मेरो पहिचान र मेरो पुँजी नै उहाँ हुनुहुन्छ र मेरो हिम्मत अनि कमजोरी पनि । मैले जानेसम्म म अन्मिदा बाहेक मेरो कारणले हजुरलाई रुनु परेको छैन, रुवाउने पनि छैन । तर, यो आलेख तयार पार्दै गर्दा म हजुरलाई नै सम्झेर होला, धेरैपटक मेरा आँखा भरिएका छन् । हजुरले हामीलाई लगाउनुभएको गुनको त कुनै मूल्य नै छैन तर म यति प्रण गर्दछु कि मेरो कारणले हजुरको आँखामा आँशु र अनुहारमा बक्ररेखा पर्ने छैन । यसपालि कोभिडको महामारीले गर्दा भेटेर हजुरको मुख हेर्न नपाए पनि यसै लेखमार्फत मेरो साक्षात भगवान, मेरो आँट, भरोसा र साहसको सारथी प्यारो ड्याडीलाई सुस्वाथ्य र दीर्घायुको कामनासहित संसारका सबै पिताप्रति हार्दिक नमन !


क्याटेगोरी : बिचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार