Techie IT
×
गृहपृष्ठबिचारजनताको जनवादबारे

जनताको जनवादबारे


देव गुरुङ

संसद र सरकार हुँदै शान्तिपूर्ण रुपमा समाजवादमा संक्रमण गर्ने मार्ग भनेको सरकारको माध्यमबाट एकाधिकार दलाल पूँजीवादी अर्थतन्त्रलाई क्रमशः तोड्दै कृषि र औद्योगिक क्षेत्रमा राष्ट्रिय पूँजीको निर्माण गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी समाजवादको पूर्वाधार तयार गर्नु हो । त्यसमा स्वदेशी पूँजी, श्रम, स्रोत र साधनको परिचालन गरी मुलुकलाई अत्यावश्यक पर्ने खाद्यान्न लगायतका उपभोग्य बस्तुहरु देशभित्र नै उत्पादन गरी जनतामा वितरण गर्ने प्रणाली अवलम्वन गरिनु पर्ने हुन्छ ।

यतिखेर नेकपाले तय गरेको राजनीतिक कार्यदिशा– समाजवादउन्मुख जनताको जनवादबारे केही बहस उठिरहेको छ । र, त्यसको विकल्पको रुपमा जनताको बहुदलीय जनवाद हुनुपर्ने भन्दै केही मित्रहरुले प्रचार पनि गरिरहेका छन् । अतः यही सन्दर्भमा यहॉ छलफल गर्ने प्रयास गरिएको छ ।

कार्यदिशाबारे छलफल गर्दा मार्क्सवादी विश्व दृष्टिकोणकै जगमा हेरिनु पर्दछ । विचार निर्माणको दृष्टिले मार्क्सवादी विश्व दृष्टिकोण नै सही वैज्ञानिक विश्व दृष्टिकोण भएकोले त्यही दृष्टिकोणको आधारमा नेपाली समाजलाई हेरिनु पर्दछ । आर्थिक उत्पादन सम्बन्धको आधारमा नेपाली समाजको वर्ग विश्लेषण गर्दा नेपाली समाज लामो समयदेखि सामन्ती र साम्राज्यवादी उत्पीड़न हुँदै आएको अवस्था हो । लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको दौरानमा सामन्तवाद राजनीतिक रुपले विस्थापित भएको छ । साम्राज्यवादी उत्पीड़न भने अझै बाँकी छ । नेपालमा साम्राज्यवादी उत्पीड़न इष्ट इण्डिया कम्पनीमार्फत अंग्रेज़ साम्राज्यवादको उत्पीड़न हुँदै आइरहेको हो । भारतबाट इष्ट इण्डिया कम्पनी फर्केको भएता पनि अंग्रेजहरुको एकाधिकार दलाल पूँजीपति वर्गले जन्माएर हुर्काएको नव दलाल पूँजीपति वर्ग नै भारतमा सत्तारुढ़ बर्ग बन्न पुग्यो । अंग्रेज़ साम्राज्यवादको स्कूलबाट प्रशिक्षित उक्त वर्गले अंग्रेज़ साम्राज्यवादको पदचिन्हलाई पछ्याउन छोडेन र नेपालप्रतिको नीतिमा पनि अंग्रेज़ साम्राज्यवादकै नीतिलाई निरन्तरता दिई रह्यो ।

भारतको नवसत्तारुढ़ वर्गबाट पनि अंग्रेजहरुले झै सत्तारुढ़ सामन्त वर्गसँग सम्झौता गरेर नेपालमा अर्ध सामन्ती र अर्ध औपनिवेशिक नीति अवलम्वन गरिदैं आइरहेको अवस्था हो । पछिल्लो समयमा अंग्रेजको स्थान अमेरिकी साम्राज्यवादले लिएको छ । अमेरिकी साम्राज्यवादले आफ्ना औपनिवेशिक स्वरुपहरुमा परिमार्जन ग-यो । आवरणमा संयुक्त राष्ट्र संघको दुहाइ दिदैं नयॉ प्रकारको उपनिवेसको अभ्यास गरेको छ । त्यसैलाई नवउपनिवेसवाद भन्न सकिन्छ ।

पश्चिमा साम्राज्यवादले नेपालमा आफ्नो नीतिगत प्रभुत्व कहिले भारतीय सत्तारुढ़ बर्ग मार्फत त कहिले सिधै अभ्यास गर्ने गरिरहेको छ । त्यसक्रममा विषयगत आधारमा अन्तरर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरु, अन्तरर्राष्ट्रिय दातृ संस्थाहरु, ग़ैरसरकारी संस्थाहरु, मिडियाहरु आदि विविध संयन्त्रहरुको पनि प्रयोग गरी आफ्नो प्रभुत्व क़ायम राख्दै आइरहेको छ ।

नेपालमा गणतन्त्रको आन्दोलनबाट सामन्तवाद विस्थापन भएको भएता पनि अर्ध औपनिवेशिक प्रणाली विस्थापन भएको छैन । त्यो नयॉ रुपमा नवऔपनिवेशिक प्रणालीको रुपमा यथावत क़ायम छ । यसै प्रणालीमार्फत नेपालको अहिलेको अर्थतन्त्रको क्षेत्रमा मुख्य रुपमा विदेशी एकाधिकार दलाल पूँजीपति वर्गको प्रभुत्व क़ायम गरिएको छ ।

पूँजीवादी प्रणालीमा मुलुकको अर्थतन्त्र जुन वर्गको प्रभुत्व रहन्छ, राजनीतिक नेतृत्वमा पनि त्यही वर्गको प्रभुत्व स्वतः रहन्छ । एकाधिकार दलाल पूँजीपति वर्गको विश्वव्यापी राजनीतिक प्रतिनिधित्व विश्व साम्राज्यवादले गर्दछ । अतः नेपालको सन्दर्भमा विश्व साम्राज्यवादी शक्तिहरु र तिनका एकाधिकार दलाल पूँजीपति वर्ग एकातर्फ हुन्छ भने अर्कोंतर्फ किसान, मजदुर, आफ्नो श्रम र पूँजी परिचालन गरिरहेका व्यवसायी गरिरहेका साना तथा राष्ट्रिय पूँजीपतिहरु हुन्छन् ।

यही दुई वर्गबीचको वर्ग अन्तरविरोध नै नेपालको प्रधान अन्तरविरोध हो । यस बस्तुगत स्थितिमा कम्युनिस्ट पार्टीको कार्यदिशा स्वतः विश्वसाम्राज्यवाद र तिनका दलाल पूँजीपति वर्गको विरुद्ध नेपाली जनताको राष्ट्रिय स्वाधीनताको आन्दोलन हुनु पर्दछ । राष्ट्रलाई स्वाधीन बनाउन सकेमा मात्र समाजवादको दिशामा अगाडि बढ्नका लागि मार्गप्रशस्त हुन्छ ।

राष्ट्र भनेको अर्कों शब्दमा जनता हो । राष्ट्रको स्वाधीनता,स्वतन्त्रता वा राष्ट्रको जनवाद भनेको जनताको जनवाद हो । अतः कम्युनिस्ट पार्टीको अहिलेको राजनीतिक कार्यदिशा समाजवादउन्मुख जनताको जनवाद बनाइएको छ ।

विश्व परिवेशमा हेर्दा पनि विश्व एकाधिकार पूँजीपति वर्गको संरक्षक वर्तमान अमेरिका लगायतका पश्चिमा शक्तिहरु एकातर्फ रहेको छ भने अर्कोंतर्फ ऐतिहासिककालदेखि उत्पीडनमा पर्दै आइरहेका एशिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरु रहेका छन् । यी दुई खेमाबीचको अन्तरविरोध नै अहिलेको विश्वको प्रधान अन्तरविरोध हो । त्यसलाई अर्को शब्दमा उत्पीडित राष्ट्रहरु र विश्व साम्राज्यवादबीचको प्रधान अन्तरविरोधको रुपमा परिभाषित गर्न सकिन्छ । यसरी विश्व दुई ध्रुवमा विभाजित छ ।

यसप्रकार विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुको मुक्ति आन्दोलनको युगमा नेपाल जस्तो उत्पीडित राष्ट्रहरुको कम्युनिस्ट पार्टीको कार्यभार र राजनीतिक कार्यदिशा स्वाभाविक रुपले विश्व साम्राज्यवादको विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलन हुनु पर्दछ । पार्टीको स्थिति र आन्दोलनको स्वरुप जहॉ भए पनि राष्ट्रिय स्वाधीनता आन्दोलनको मूल कार्यदिशा एउटै रहन्छ र हुनु पनि पर्दछ । आन्दोलनका स्वरुप भने फरकफरक हुन सक्छ । जसरी विगत राजतन्त्रकालमा आन्दोलनको स्वरुप सशस्त्र, शान्तिपूर्ण, संसद र सरकार जहॉ रहेता पनि गणतन्त्रको राजनीतिक कार्यदिशा प्रमुख हुने गर्दथ्यो । त्यस्तैगरी यतिखेर आन्दोलनको स्वरुप– शान्तिपूर्ण, सशस्त्र, सडक, संसद–सरकार जहॉ भएता पनि स्वाधीनताको मुद्दालाई प्राथमिकता दिनै पर्दछ ।

परन्तु ठीक यहीनेर वैचारिक रुपले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई न्यूनीकरण गरी नवऔपनिवेशिक प्रकारको विदेशी प्रभुत्वलाई यथावत राख्ने या स्वाधीनतालाई केन्द्रमा राखी सबै प्रकारका वैदेशिक उत्पीडनका विरुद्ध संघर्षरत रहने यी दुई विचार कम्युनिस्ट पार्टीमा प्रतिविम्वन भएर आउँछ । यी दुई विचारले फरकफरक राजनीतिक कार्यदिशाको माग गर्दछ । फलतः स्वाधीनतासहित समाजवादको दिशामा जाने या जनताको बहुदलीय जनवाद भन्दै सामन्तवाद विरोधी आन्दोलनको बेला अंगीकार गरिएको पुरानै बहुदलीय व्यवस्थालाई समाजवादी क्रान्तिको चरणमा पनि निरन्तर रुपमा बहुलवादलाई अंगीकार गर्ने वर्तमान वर्ग संघर्षको विशेषता अनुरुप त्यसको प्रतिविम्वन कम्युनिस्ट पार्टीभित्रको अन्तर संघर्षमा पनि स्वतः पर्दछ र यी दुई कार्यदिशा प्रकट हुने गर्दछ । बहुदलीयताले यथास्थितिको कार्यदिशालाई जनाउँछ । त्यो भनेको संसदवाद हो । संसदवाद भनेको अर्को शब्दमा बहुलवाद हो । बहुलवाद साम्राज्यवादको सिद्धान्त हो ।

समाजवादउन्मुख जनताको जनवादले अग्रगामी परिवर्तनको दिशालाई जनाउँछ । सामन्तवाद विरोधी आन्दोलन, नागरिक स्वतन्त्रताको आन्दोलन थियो । व्यक्तिगत स्वतन्त्रताको आन्दोलन एक प्रकारको पूँजीवादी आन्दोलन पनि हो । समाजवादी आन्दोलन भनेको उत्पीडित वर्गीय मुक्ति आन्दोलन हो ।

उत्पीडित वर्ग भनेको औपनिवेशिक मुलुकहरुमा उत्पीडित राष्ट्रहरु हुन । उत्पीडित राष्ट्र भनेको उत्पीडित जनसमुदायहरु हुन् । उत्पीडित वर्गको स्वतन्त्रता वा मुक्ति भनेको उत्पीडित जनसमुदायको स्वतन्त्रता हो । अर्थात उत्पीडित जनसमुदायको जनवाद हो । उक्त जनवाद, समाजवादको पूर्वाधार हो । विश्व साम्राज्यवाद त्यही परम्परागत नागरिक स्वतन्त्रता, दलीय प्रतिस्पर्धा, बहुलवाद, निजीकरण, उदारीकरण आदि मान्यता अन्तर्गत नै आफ्नो औपनिवेशिक प्रणालीलाई निरन्तरता दिन चाहन्छ । समाजवादउन्मुख जनवादले साम्राज्यवादका निम्ति त्यो स्थान दिन सक्दैन । अतः यी दुई कार्यदिशाको पछाडि साम्राज्यवादपरस्त प्रणाली क़ायम राख्ने कि साम्राज्यवादबाट उन्मुक्तिको प्रणाली क़ायम गर्ने भन्ने दुई भिन्न दृष्टिकोण अन्तर्निहित रहेको छ ।

संसद र सरकार हुँदै शान्तिपूर्ण रुपमा समाजवादमा संक्रमण गर्ने मार्ग भनेको सरकारको माध्यमबाट एकाधिकार दलाल पूँजीवादी अर्थतन्त्रलाई क्रमशः तोड्दै कृषि र औद्योगिक क्षेत्रमा राष्ट्रिय पूँजीको निर्माण गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी समाजवादको पूर्वाधार तयार गर्नु हो । त्यसमा स्वदेशी पूँजी, श्रम, स्रोत र साधनको परिचालन गरी मुलुकलाई अत्यावश्यक पर्ने खाद्यान्न लगायतका उपभोग्य बस्तुहरु देशभित्र नै उत्पादन गरी जनतामा वितरण गर्ने प्रणाली अवलम्वन गरिनु पर्ने हुन्छ । समाजवादको तात्पर्य आफैले आवस्यक पर्ने उपभोग्य बस्तुहरु उत्पादन गरी समान मान्यताको आधारमा वितरण गर्नु हो । विदेशी एकाधिकार बहुराष्ट्रीय कम्पनीहरुले उत्पादन गरेको बस्तु खरिद गरेर आयात गरी विक्री वितरण गरेको भरमा समाजवाद आउँदैन । त्यसले त उल्टो विदेशी सामान आयत गरी बेच्ने दलालहरुको सोपानिक संजाल तयार हुनेछ र सिंगो राष्ट्रलाई नै दलालीको कमिशन अर्थतन्त्रमा चुर्लुम्म डुवाउने छ । र, जनतालाई सदाको लागि उत्पादनविहीन उपभोक्तावादी समाजमा डुवाएर समाजलाई नै दलाल बनाउने प्रणालीमा पुग्ने छ ।

यसप्रकारको अर्थतन्त्रको सैद्धान्तिक आधार भनेको निजीकरण, उदारीकरण, बहुलवाद, खुला प्रतिस्पर्धा र भुमण्डलीकरण हो । पश्चिमा साम्राज्यवादले सन् १९८० को दशकदेखि सुरु गरेको यस मान्यतालाई नेपालमा पनि सन् १९९० को दशकदेखि लागू गरियो । नेपालमा तीन दशकदेखिको यस प्रणालीको अभ्यासबाट नेपालको अर्थतन्त्र, पूर्णतः परनिर्भरतामा पु-याएको यथार्थता जगजाहेर छ । समाजवादको दिशामा अगाडि बढ्नका लागि अर्थतन्त्रको यही उदारवादी मार्गचित्रलाई आमूल परिवर्तन अनिवार्य शर्त हो । तर, यसलाई तोड़न नसकेको मात्र होइन त्यसैको पक्षपोषण गर्ने निरन्तरताको नीतिले समाजवादउन्मुख जनताको जनवादप्रति हेर्ने दृष्टिकोणमा नै गम्भीर वैचारिक विचलनको संकेत गर्दछ । त्यसैको उपजको रुपमा वहुदलीय जनवादको यथास्थितिवादी कार्यदिशाको चर्चा सतहमा प्रकट भएको त होइन ? वर्तमान परिघटनाहरुको यथार्थताले त्यही संकेत गर्ने गरेको देखिन्छ । अतः सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले कम्युनिस्ट आन्दोलनको समाजवादउन्मुख जनताको जनवादी कार्यदिशालाई द-होसँग आत्मसातीकरण गर्दै त्यसैलाई स्थापित गर्न जोड़ दिनुपर्ने देखिन्छ । भदौ २, २०७७


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार