Techie IT
×
गृहपृष्ठबिचारकुशल व्यवस्थापक कुलमानको भद्धा प्रचार

कुशल व्यवस्थापक कुलमानको भद्धा प्रचार


शंकर तिमल्सिना

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सफल व्यवस्थापकका रुपमा स्थापित छन् । १८ घण्टासम्म लोडसेडिङ भएको मुलुकमा उनको आगमनसँगै यसलाई घटाउँदै शून्यको अवस्थामा झार्न सफल भए । उनको प्रशंशा विना विज्ञापन, विना लगानी लाखौं जनता, मिडियाले मुक्तकण्ठले गरिरहेका थिए, छन् ।

आज भने घिसिङको प्रशंशा फरक र प्रायोजित रुपमा देखियोे । ठूलठूला विज्ञापनसँगै उनको प्रशंशाको गीत सँगै आउँदा उनको कद पहिलाको भन्दा धेरै घट्यो । विद्युत प्राधिकरणको विज्ञापनसँगै उनको प्रशंशाका पुल बाँधिएका सामग्रीहरु सँगै थमाइएको छ ।

कुलमान घिसिङ कार्यकारी निर्देशक भएको चार वर्ष पुगेको छ । विगत तीन वर्षसम्म उनले विज्ञापन दिन आवश्यक ठानेनन् । तर, यसपटक केही स्थापित र आफू निकट अनलाइनलाई छानेर विज्ञापन दिए । यो अवसरमा ऊर्जामन्त्री वर्षमान पुन र उनको सचिवालयका सदस्यले पनि वर्षमानको पक्षमा लेख्ने केही अनलाइन र छापालाई विज्ञापन बाँडे ।

कोरोनाका कारण संकटमा परेका बेलामा मिडियालाई सम्झेर विज्ञापन दिनु एकदमै व्यावहारिक र सही भएको छ । जजसले पाए ती त भाग्यमानी ठहरिए, विज्ञापन नपाउने कतिपयले पनि विना अर्डर विज्ञापन प्रकाशन र प्रसारण गरे । यो संकटको बेलामा थोरै पनि रकम पाउने आशाका साथ मनले जितेरै यो कार्य गरे । अर्डर पाएकालाई त तोके वमोजिम रकम आउला अर्डर नपाएकालाई पनि थोरै भए पनि रकम आउला । जे भए पनि कुलमान घिसिङ र वर्षमान पुन यो संकटको बेलाका साधुवादका पात्र छन् ।

तीन वर्षसम्म नसम्झेका कुलमानले यसपटक मिडियालाई निकै माया गरेर सम्झनुको खास कारण चाहिं उनको पदावधि छिट्टै सकिदैंछ र पुनः टिक्नका लागि उनले मिडिया लबिङ गरेको अर्थमा लिइएको छ । मन्त्रीमण्डलको पुनर्गठनको तयारी भएको बेलामा ऊर्जामन्त्री वर्षमान पुनले पनि यो अवसरमा मौकामा चौका हानेका छन् । दुई मान अर्थात् कुलमान र वर्षमानको जोडी ‘मिडिया मैत्री’ देखिएका छन् । दुवै आआफ्नो पदमा वहाल रहन मिडियाको सपोर्ट चाहन्छन । आज गरिएको मिडिया प्रचारको गुढ अर्थ यही नै मानिएको छ ।

मान्छेले राम्रो काम गरेमा प्रचारका लागि खर्च गरिरहनु पर्दैन भन्ने उदाहरण कुलमान आफैं हुन । उनले विद्युत प्राधिकरणमा जुन कुशल व्यवस्थापन देखाए उनको विज्ञापनमा गरेको खर्चका कारणले होइन । तर, आज विज्ञापनसँगै उनको प्रायोजित प्रशंशाले भने उनको व्यक्तित्वमा केही क्षति नै गरेको छ । आफ्नो पद टिकाउनका लागि उनी मिडियाको सपोर्ट चाहिरहेका छन भन्ने अर्थ लाग्ने गरी उनले भद्दा रुपमा प्रचार गराएका छन् । आफ्ना निकट कर्मचारीमार्फत कुलमानलाई कायम गराउनुपर्छ भनेर आज कार्यक्रममा बोल्न पनि लगाए ।

कुलमानले विद्युत प्राधिकरणमा राम्रो प्रणाली बसालेका छन् । उनी रहे वा नरहे पनि विगतको जस्तो खराब काम जो आए पनि गर्न सक्तैन । किनभने विद्युत चुहावट, अनियमितता पत्ता लागेको छ । त्यहीभित्रको वा वाहिरबाट जो कसैलाई लगे पनि अब लोडसेडिङ हुँदैन । निकै अप्ठ्यारो बेलामा सफल भएर कुलमानले निर्माण गरेको माथिल्लो उचाइ अझै आफैं रहनुपर्छ भनेर खुलेआम लबिङ गर्दा भने घट्नेछ । उनी रहदा पनि राम्रै हुन्छ नरहदा पनि उनले खुशीका साथ अरुलाई काम सिकाएर जाँदा नै राम्रो हुन्छ ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार