Techie IT
×
गृहपृष्ठबिचारकार्यदलबाट सुखद परिणामको व्यग्र प्रतिक्षा

कार्यदलबाट सुखद परिणामको व्यग्र प्रतिक्षा


कोभिड १९ फैलनेक्रममा छ । बाढी पहिरोको चपेटामा पनि देश पर्दै गएको छ । यो अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने एक अर्कालाई निषेध गर्ने गरी लडाईं लडिरहेको अवस्था थियो ।

निकै माथापच्चीका बीचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुई अध्यक्षले ढिलै भए पनि एकताको लागि सकारात्मक पहल लिएका छन् । जुन साहसका साथ दुई अध्यक्षले एकता गरेका थिए, पुनः पार्टी एकताका लागि दुवै पक्ष लचक भएर पार्टी एकताका लागि पहल बढाएका छन् ।

एउटा जीवन्त पार्टीमा बहस, अन्तरसंघर्ष हुनु अस्वाभाविक होइन । पछिल्लो समय अन्तरसंघर्षभन्दा पनि वर्गसंघर्षको रुप लिए जस्तो भएको थियो । यस्तो खाले अस्वस्थ संघर्षले कसैलाई पनि फाइदा पुगेको थिएन । यो कुरालाई आत्मसात गरेर दुई अध्यक्षले यसको हल गर्ने कोशिश गरेका छन् । यसले सकारात्मक निकास दिदैंछ ।

दुई अध्यक्ष मिलेर निकास निकाल्ने कुराको विरोधमा अझै चलखेल भएकै छ । आमजनता, पार्टी कार्यकर्ता अधिकांश नेताको मनोविज्ञानलाई बुझेर अगाडि बढ्ने साहस दुई अध्यक्षले गरेका छन् । कार्यदललाई सचिवालयमार्फत् वैधानिकता दिने कतिपय नेतृत्वको मनसुवा देखियो । त्यो पनि नराम्रो होइन । दुई अध्यक्षले यसलाई पनि सम्वोधन गरिसकेका छन् ।

पार्टीभित्र विविध प्रवृत्ति छन् । सबै पक्षलाई समेटेर नजाँदा यो बीचमा पार्टीमा समस्या आएको हो । कहाँनेर धेरै गल्ती भएको हो त्यसलाई सच्याएर सुझाव दिने कार्य कार्यदलले गर्नुपर्छ । छ सदस्यीय कार्यदल निकै सन्तुलित, पार्टीभित्रका सबै प्रवृत्तिलाई समेट्नेखालको टिम छ । यो आफैंमा सकारात्मक छ ।

कमसेकम पार्टी एकीकृत भएको छ । यसलाई अझ सुदृढ गरेर लैजाने कार्य गर्नुपर्छ ।

सर्प पनि मार्ने लट्ठी पनि जोगाउने काइदा निकालेर दुई अध्यक्ष ओली र प्रचण्डले कार्यदल मार्फत निकास खोज्न गरेको पहल संकटमा पार्टी जोगाउने र जनादेशको सम्मान गर्ने सही तरीका हो । संसारलाई चकित पार्ने गरी जसरी दुई अध्यक्षले चुनाव अघि पार्टी एकताको घोषणा गरेका थिए, त्यसको रक्षा र सम्वद्र्धन गर्न पनि दुई अध्यक्षकै प्रमुख भूमिका रहने, हुने कुरामा कसैको दुईमत छैन । तर, बीचमा दुई अध्यक्षहरुका कतिपय मनोगत र कतिपय भावनात्मक तथा केही गुटगत क्रियाकलापले पार्टी एकताको रक्षा गर्न सक्दैन कि भन्ने जुन आशंका र ससंयका काला बादलहरु यसबीचमा मडारिए, अब ती सबैको समुल पटाक्षेप हुनुपर्छ । एक कदम पछाडि र दुई कदम अगाडि बढाउँदा नै पार्टी एकताको रक्षा र जनादेशको सम्मान हुने मिलनविन्दुमा दुई अध्यक्षहरु कार्यदलमार्फत् पुग्न मन्जुर हुनु नै नेकपाभित्रको संकट समाधानको आधा जति उपलव्धि हो ।

कार्यदलमा निकै परिपक्व, गतिशील र सन्तुलित नेतृत्वको चयन भएको छ । विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, शंकर पोखरेल र जनार्दन शर्मा छन् । अब यो कार्यदलले दूधको दूध पानीको पानी बनाएर निकासको रोडम्याप तयार गर्नासाथ तिक्तता मित्रतामा, शत्रुता सहकार्यमा, फरकमत सहमतिमा र अराजकता अनुशासन र विधिमा फर्कन सक्ने छ । जब विधि प्रधान ट्र्याक छाडेर नेकपाका अध्यक्षद्वयले अगाडि नबढ्ने गरी आफूलाई संयमित राखेर आत्मसमीक्षा गर्छन भने निश्चित छ, नेकपाका हर संकट पानीको फोका बन्नेछन् । कार्यदलमा रहेका सदस्यहरुले निष्पक्ष र उत्तरदायी ढंगले जिम्मेवारी सम्पादन गर्दा नेकपाको पार्टी जीवनले कोरोना कालपछिको नयाँ अध्यायको सुरुवात पक्कै गराउने छ । यो देशभित्र र बाहिर रहेका लाखौं नेकपा समर्थक शुभेच्छुकहरुका लागि सुखद खबर हो, पहलकदमी हो ।

नेकपाले अहिले लडनुपर्ने आपसमा होइन, कोरोना माहामारीका विरुद्ध हो । आमजनताको जीवनरक्षाका पक्षमा हो । प्रकृतिक विपतका विरुद्ध पीडित जनताको राहत र उद्धारमा हो । जनताको जीवन दैनिकीमा कोरोना कहरले सिर्जना गरेको बहुआयमिक असरहरुको विरुद्धमा हो । आन्तरिक मतभेदका सबै विषयहरुलाई हालको कार्यदलले हल गरेर पार्टीलाई एक ढिक्का पार्न सक्यो भने फेरि नेकपाले आफूलाई जनताको समस्यासँग आफूलाई एकाकार गरेर सँगसँगै अगाडि लैजान सम्भव छ । किनभने अहिले पनि जनताको पंक्तिमा उभिने दल नेकपा नै हो, नेकपाका लाखौं नेता कार्यकत्र्ता पंक्ति नै जनताका लागि संकटका सारथी हुन् ।

एकातिर जनताले मतदान मार्फत नेकपालाई सुम्पेको दुर्लभ दुई तिहाई बहुमतको जनादेश अनुसार पार्टीको सरकारलाई अधिकतम जनमुखी काम गरेर जनादेशको मर्म र भावना अनुसार सरकारलाई सफल बनाउने र अर्कोतिर नेपालको जननिर्वाचित कम्युनिष्ट पार्टीलाई जनताका वीचमा झन् बढी लोकप्रिय बनाउने गरी अब कार्यदलले तटस्थ रोडम्याप दिन सक्नु पर्छ ।

जबसम्म सरकारले जनताको मन जित्दैन, सरकारका कामले जनताबाट वाहवाही पाउँदैन तबसम्म नेकपाले चुनावताका जनताका सामु गरेका वाचाहरुको अर्थ हुँदैन । त्यसैले कार्यदलले संकटको निकास खोज्दै गर्दा प्रत्येक मतदाताको अनुहार आफ्नो अगाडि झल्झली संझेर आफ्ना काम अघि बढाउनै पर्छ । कार्यदलप्रति अहिले अध्यक्षद्वयको मात्रै होइन, सबै नेता, कार्यकर्ताको आशापूर्ण दृष्टि र सुखद परिणामको व्यग्र प्रतिक्षा छ, त्यसलाई कार्यदलले सार्थक बनाउन सक्नुपर्छ । यो कार्यदल केवल एक कार्यदलका लागि कार्यदल होइन नेकपाको संकट कायापलट गर्नसक्ने रामवाण बन्न सकोस । यही हो, छ सदस्यीय नेकपा कार्यदललाई तमाम नेकपा पंक्तिको शुभकामना !


क्याटेगोरी : बिचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस