Techie IT
×
गृहपृष्ठबिचारहलो, गोरु र लाठे

हलो, गोरु र लाठे


आजभोली शहरीया वालवालिकालाई दूध कहाँबाट आउँछ ? भनेर सोधे उत्तर आउँछ, गाडिबाट । यस्तै खेतीबारी के ले जोत्छ ? भनेर प्रश्न गरे सहज उत्तर आउँछ टेक्टरले । परम्परागत खेती किसानी गर्दा भने हलो, गोरु नभै नहुने यन्त्र हुन् । । अझैपनि गाउँघर दूरदराजमा हलो पुरै विस्थापित भैसकेको छैन । हलो, खेती किसानीको यन्त्रमात्र होइन । हलो कृषिजन्य अर्थ–राजनीतिको ऐतिहासिक महत्वको दर्शन पनि हो । हलोको पुरातात्विक विशेषता थाहा नपाउनेले आजको कृषिजन्य अर्थ–राजनीतिको मेसो पनि पाउँदैन । हलोको ठूलो राजनैतिक महत्व पनि छ । मानव समाज विकासको क्रम भंग गर्ने यो आधुनिक हाते यन्त्र हो । पशु र मानव जिवनको संयुक्त सहकार्य र संजोग पनि हो । उत्पादन र उत्पादकत्वमा कुनै समयमा यसले क्रान्ति ल्याएको थियो ।

जनपक्षीय राजनैतिक यात्रा तय गर्न कार्यकारी पद समालेको व्यक्ति हली जस्तै बलिष्ठ र लाठे हुनुपर्छ । अन्यथा चढेको गाडा उनार हुन्छ । गाडि उनार हुँदा जनतामात्र उत्तानो पर्दैनन । अनौ समाउने हली पनि तिनचित खान्छ । इतिहासले बारम्बार यस्तै शिक्षा दिएको छ हैन र ?

 

हली र हलोको अर्थ :

गोरु, राँगा आदिले तानेर खेतबारी जोत्ने, फाली, अनौ, हरिस, जुवा र जोतारो भएको संयुक्त साधनको जोड नै हलो हो । यसलाई विभिन्न स्थानीय भाषामा हल वा हर पनि भन्छन् । खेती कमाइ गर्नको लागि हलो जोत्ने मानिस जोताहा, हली वा हरुवा हो । केही समय अगाडिसम्म हरुवाचरुवा नेपालको कृषि आन्दोलनका प्रमुख पात्र थिए । हलीलाई जोतार, जोत्ने, लाठे पनि भनिन्छ । हलो चलाउन ठूलो श्रम गर्नु पर्ने भएकाले हली भन्नाले ठूलो परिमाणको खान्की भन्ने पनि बुझिन्छ । समग्र कृषिजन्य उद्योगको सम्मानित निर्देशक र पथप्रदर्शक हली हो । हलीले शारीरिक श्रम बेसी गर्ने र खान पनि अबेर आउने हुँदा भोक र श्रम अनुसार हलीलाई चाहिने खानाको ठूलो परिणामलाइ ‘हली’ (हली खाना) भनिन्छ । हली नै खेतीजन्य अर्थ–राजनीतिको मूख्य नेता हो । आजको भाषामा ‘रिमोट कन्ट्रोल’ भएको कार्यकारी अधिकारसहीतको कृषिजन्य कार्यक्रमको प्रमुख अधिकारी हली हो ।

हलोको पार्टपुर्जा :

हली, हलो एसै हुने होइन । एक थान हलो बनाउन धेरै पार्ट पुर्जाको आवश्यकता पर्छ । काठ, फलाम, छाला, डोरी आदि । यिनै कच्चा पदार्थबाट हलो यन्त्र निर्माण गरिन्छ । हलोमा चाहिने मूख्य सहायक पुर्जाहरुलाइ यसरी परिभाषित गर्न सकिन्छ ।

हरिस : एक छेउमा हलो र अर्को छेउमा जुवालाइ जोड्ने हल्लुँडसँग जोडिने लामो काठ ।

जुवा :गोरु वा राँगा नार्दा दुबैको काँधमा राखेर जोतारोले बाँधिने दूइ वा चारवटा सोइला भएको काठ हो । तराइमा खेती किसानी काम गर्दा गाउने गीतको नाम पनि जुवा हो । तर यहाँ हलोको जुवाकै प्रसंग हो ।

हल्लुँड : हलाको हरिसमा जुवा झुण्डयाइने छालाको डोरी हल्लुँड हो । स्थानीय भाषामा यसलाई नारा पनि भनिन्छ ।

फाली : हलाको टुप्पापट्टी जोडिने फलामको तिखो तिर । यहि चुच्चो फलामले खेतबारी प्वाल पार्दछ ।

सोइला : गाडि वा हलामा लगाइने गोरु वा राँगाको जुवामा ठोकिने काठको छोटोछोटो डण्डी, जुवामा गोरु वा राँगाको गर्धनलाइ यताउती सर्न नदिन जोडिएको साधन ।

जोतारो : जुवाको सोइलामा बाँधेर गोरु वा राँगाको गलामा बाँध्ने डोरी ।

अनौ : खेतबारी जोत्नको लागि प्रयोग गरिने, हलीले हातद्वारा समात्ने र त्यसै आधारमा हलोलाई निश्चित दिशामा जोत्ने गरी चलाइने हलाको हातो । आजको भाषामा हलीको ‘स्टेरिङ’ । अरु फेसो, पाड्को आदि पनि हलो यन्त्रको सहायक पुर्जाहरु हुन् ।

यति सामाग्रीको जोगाड पछि हलो यन्त्र पुरा हुन्छ । र, यसलाई चलाउने प्रमुख पात्रहरु गोरु वा राँगा र निर्देशक हली हुन्छन् ।

हलोको अर्थ–राजनीति :

हलोको अर्थ–राजनीति पनि त्यत्तिकै महत्वपूर्ण छ । हलो केवल जोत्न अनुकुल हुने जोताइलो जमिन जोतेर कृषि उत्पादन बढाउने यन्त्रमात्र होइन । यसले मावव समाज विकासको प्रतिकको रुपमा एउटा राजनैतिक दर्शन पनि बोकि रहेको महशुस गर्न सकिन्छ । हलो चलाउनु र देश हाँक्नु करिव उस्तै हो । प्रतिककै रुपमा सहि हलो तान्ने गोरु वा राँगा जनता हुन् ।

सरकार चलाउनेले पनि साँढेलाई झैं जनतालाई विभिन्न प्रकारका दण्ड, सजाय कानून लगाएर नसबन्दी गरिदिन्छ । जनतालाई सिधा गोरु जस्तो बनाइन्छ । यसरी गोरुले झैं जनताले एकहोरो जोत्नु वा जोतिनुको विकल्प हुन्न । जोत्ने काम सकिए बोक्ने काममा भिड्नु पर्छ । काम पनि गर्नु पर्ने कर पनि तिर्नु पर्ने गरी जनतालाई राज्यले कँज्याएको हुन्छ । जसरी गोरु, राँगालाई जुवा लगाइन्छ, त्यसमाथि सोइला ठोकेर जोतारोले बाँधेर हल्लिन नदिए जस्तै सरकार सत्ताले श्रम शिविरमा बस्न बाध्यकारी व्यवस्था गरेको हुन्छ ।

पुंशकत्व भएको साँढेलाई खसी पारेर गोरु बनाइन्छ र हलोमात्र तान्ने दायाँबायाँ नगर्ने रुपको बनाइन्छ । राँगालाई भने नपुंशक बनाइ रहनु पर्दैन किनकी राँगो आँफै गट्ठे हुन्छ । सरकार चलाउनेले पनि साँढेलाई झैं जनतालाई विभिन्न प्रकारका दण्ड, सजाय कानून लगाएर नसबन्दी गरिदिन्छ । जनतालाई सिधा गोरु जस्तो बनाइन्छ । यसरी गोरुले झैं जनताले एकहोरो जोत्नु वा जोतिनुको विकल्प हुन्न । जोत्ने काम सकिए बोक्ने काममा भिड्नु पर्छ । काम पनि गर्नु पर्ने कर पनि तिर्नु पर्ने गरी जनतालाई राज्यले कँज्याएको हुन्छ । जसरी गोरु, राँगालाई जुवा लगाइन्छ, त्यसमाथि सोइला ठोकेर जोतारोले बाँधेर हल्लिन नदिए जस्तै सरकार सत्ताले श्रम शिविरमा बस्न बाध्यकारी व्यवस्था गरेको हुन्छ ।

हलीलाई शासक वा मूख्य पात्र मान्न सकिन्छ । हलीको निर्देशनमा गोरु, राँगाले जोत्न विवस हुन्छन् । यसमा ‘रिमोट कन्ट्रोल’ वा ‘स्टेरिङ’को भूमिका अनौको सहायताले गरिन्छ । राजनैतिक अर्थमा अनौ नै यस्तो विचार सृङ्खलाको बाहक हो । यसले जमिनलाई राँटा मारेर जोत्ने, बाँझो कुनाकानी नराख्ने वा झारा टार्ने जे पनि गर्न सक्छ । हल्लुँड आजका पार्टीका कार्यकर्ता जस्ता हुन् । जसले हलीको निर्देशनमा जनतामा जुवा लाद्ने, हलोको सम्पर्क सूत्र हरिसलाई जोड्ने काम गर्छ । फाली विचार हो । यसले जमिनलाई जोत्न मद्धत मात्र गर्दैन कसरी जोत्ने निदेँश पनि गर्छ ।

दलाल पुँजीवादी, आसेपासे पुँजीवादी वा समाजवाद साम्यवाद उन्मुख कुन विचार सृङखलाको निम्ती फालीले जमिन तयार गर्छ । त्यसैमा उत्पादन र उत्पादकत्वको भविष्य निश्चित हुन्छ । तर यतिले मात्र कुराको टुङ्गो लाग्दैन । हलोलाई हाँक्ने हलीको भूमिका पनि महत्वपूर्ण हुन्छ । हली स्वस्थ्य हुनु पर्छ, सँगसँगै बलिष्ठ हुनु पर्छ । उमेर हद पनि नाघेको हुनु हुन्न । त्यसैले हलीलाई जोताहा मात्र भनिदैन लाठे पनि भन्ने गरिन्छ । अनौको सहायताले लाठेले जमिन तयार गर्छ । राजनीतिमा पनि यही प्रतिक लागु हुन्छ । जनपक्षीय राजनैतिक यात्रा तय गर्न कार्यकारी पद समालेको व्यक्ति हली जस्तै बलिष्ठ र लाठे हुनुपर्छ । अन्यथा चढेको गाडा उनार हुन्छ । गाडि उनार हुँदा जनतामात्र उत्तानो पर्दैनन । अनौ समाउने हली पनि तिनचित खान्छ । इतिहासले बारम्बार यस्तै शिक्षा दिएको छ हैन र ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस