Techie IT
×
गृहपृष्ठबिचारजबसहरु ‘चपरासी’ संगठन !

जबसहरु ‘चपरासी’ संगठन !


कम्युनिस्ट पार्टीका सहायक संगठनलाई जनवर्गीय संगठन (जबस) भनिन्छ । यो सामान्य पेशागत संगठन मात्र होइन । यसले कम्युनिस्ट विचारधारालाई क्रियान्वयन गराउन आन्दोलनको रुपरेखा पनि कोर्न सक्नु पर्छ । अझ कम्युनिस्ट पार्टी प्रतिवन्धित हुँदा त जबसको भूमिका भनेको मुख्य भूमिका हुन्थ्यो । पार्टी खुल्ला र सत्तारुढ भएको अवस्थामा पनि यसको भूमिका गौण भने हुनु हुँदैन । यदि गौण हुने हो भने यस्ता संगठनहरुको पतन भएर एउटा नकारात्मक झुण्डमा परिणत हुनेछन । अहिले भएको यही हो । यस्ता जबसहरु चाहे त्यो संसदमा रहेका कम्युनिस्ट पार्टीका हुन वा संसद बाहिरका कम्युनिस्ट पार्टीहरुका जबसको हालत पनि त्यही छ । सबैभन्दा टिठ लाग्दो जबसहरुमध्ये विद्यार्थी तथा युवा संगठनहरु हुन । हुनत अन्य जबसहरु पनि पूरै विचलित भइसकेका छन् । तर, युवा विद्यार्थीहरु पनि यस्तै हालतमा हुने हो भने यसले कम्युनिस्ट पार्टीहरुलाई पनि राजनीतिको मूलधारबाट ‘रिङ आउट’ गर्नेछ ।

नेपालको विद्यमान राष्ट्रिय समस्याहरु नै नभएजस्तो गरी यस्ता संगठनहरु चीर निद्रामा छन् । नयाँ राजनैतिक व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको संस्थागत विकासका लागि गम्भीर बहसमा आजको जबस छँदै छैन । यतिमात्र होइन पेशागत हकहितका विषयमा समेत जबसहरु कुनै छलफलमा छैनन् । दक्षिणपन्थी पार्टीका यस्ता सहायक सगठनलाई वर्गीय संगठन भनिन्छ । नाममात्रको त्यस्तो वर्गीय संगठनले जनवर्गको काम नगर्नु अन्यथा होइन । तर जब कम्युनिस्ट पार्टीसम्बद्ध जबसहरु नै आफ्नो कुल धर्मबाटै विचलित हुन्छन तब भने कम्युनिस्ट पार्टी पनि रहने छैन । कम्युनिस्ट पार्टीको स्रोत संगठन भनेको जबस हो । जबस नै खत्तम हुन्छ तब भने पार्टी बन्ने स्रोत पनि छुट्छ । आजमात्र होइन करिव डेढ दशकअघिदेखि नेपालका जनवर्गीय संगठन पेशागत हकहितसम्मको आन्दोलनबाट बेखबर छ । यसले कम्युनिस्ट आन्दोलनलाई मार्गनिर्देश गर्ला भन्ने त सोच्न पनि नसकिने विषय भयो ।

बिडम्बना नै मान्नु पर्छ कम्युनिस्ट पार्टीका जबसहरु क्लबमा रुपान्तरण भएका छन् । तिनका क्रियाकलापहरु ठेक्कापट्टा, कमिशन, सरुवाबढुवाको फाइल बोक्ने चपरासीका हैसियतमा छन् । सिंहदरबारको सेरोफेरोमा रमाएकै कारण समग्र राष्ट्रिय समस्यामा ‘इनफ इज इनफ’ जस्ता अराजनैतिक भिडले जनताको ध्यानाकर्षण गर्न पुग्नुलाई अनौठो नमाने हुने भएको छ । राजनैतिक संगठनको विचलनले ल्याएको यो परिणाम हो । कम्युनिस्ट पार्टीको हरिविजोक यहीँबाट सुरु हुन्छ । भारतमा सत्तारुढ माक्र्सवादी कम्युनिस्ट पार्टीले नन्दीग्राम जस्ता दलाल पुँजीवादी कार्यक्रमलाई अनुमोदन गर्दा त्यहाँका जबसहरु मुकदर्शक हुँदाको घटना हेक्का राख्नुपर्ने हो । आँखाको अगाडि देखिएको शिक्षाबाट पनि दीक्षा लिइँदैन भने त्यसको पतन हुन आइतबार लाग्दैन । जबसहरु पार्टीको राजनैतिक कार्यदिशा आदिको बहसमा छैनन् । यति गम्भीर विषयमा राजनैतिक दार्शनिक बहसमा केन्द्रित भएर राजनैतिक विकासमा लाग्नु पर्नेमा स्वार्थसिद्धका फाइलमा कैद हुनु विडम्बना नै मान्नु पर्छ । कोरोनाको कहरमा समेत यिनका शून्य भूमिका हुनु टिठलाग्दो विषय हो । सयमबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस