Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारनेपालमा सैनिक कल्याण कोषको हविगत

नेपालमा सैनिक कल्याण कोषको हविगत


बि.सं.२०७७ को साउन १६ गते शुक्रवार नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत नेपाली सेनाको कल्याणकारी कोषको गत असार मसान्तसम्मको मोैज्दात रकम ४५ अर्ब ८६ करोड ८० लाख रहेको जानकारी दिएको छ । उक्त रकमबाहेक लेखापरीक्षण हुनुअघि बिभिन्न निकायमा पाँच अर्ब ७४ करोड २४ लाख लगानी रहेको देखाइएको छ । हाल सेनाको कल्याणकारी कोषमा कुल रकम ५१ अर्ब ६६ करोड चार लाख रुपैयाँ रहेको जनाइएको छ ।

नेपाली सेनामा कल्याणकारी कार्य :

उप्रान्त ।। जढ कुरो राजालाइ चाहीन्या सिपाहीहरुको घर षेत् मिलाइदिनु र मल्जल् गर्छन् र डुबौ बोटि भित्र हाल्न पाउछन् र कबिलाको निर्फिक्रि हुन्छ. ढोकामा भया पनि गौंडामा भया पनि सिपाहीहरुको छाति बलियो रहन्छ।
पृथ्वीनारायण शाहको दिव्योपदेश, पृ.३२६

नेपाल एकीकरण अभियान सुरु गर्दा गोरखाका राजा पृथ्वीनारायण शाहलाई सैनिकको साथ, सहयोग र योगदानको धेरै आवश्यकता थियो । सैनिकहरु निस्फिक्री भएर युद्धमैदानमा लडुन भनेर उनले सिपाहीलाई घर खेत मिलाइदिएका थिए । घरको समस्याबाट मुक्त भए भने सैनिकले युद्धमा ध्यान दिनेछन भन्ने उनको विचार थियो ।

लडाञीमा ….. मर्यो भन्या उस्का छोरा षुडा हान्न्या नहुन्ज्याल् मरवट् दिनु. षुडा हान्न्या भयापछि जागिरमा उकालिदिनु.
पृथ्वीनारायण शाहको दिव्योपदेश, पृ.३२७

शाहले युद्धमा शत्रुपक्षबाट मारिने आफु पक्षका सैनिकलाई मरवट दिने प्रचलन बसालेका थिए । मरवट भन्नाले कुनेै सैनिक लडाईँमा मारियो भने उसका सन्तानलाई राज्य वा सरकारतर्फबाट दिइने खेतीयोग्य जग्गा आदि सहयोग हो । पृथ्वीनारायण शाहले पराजीत राजा र अधीनका जनताको धन लुटेनन्, भूिम जिते, सैनिकलाई भूिम नै दिए ।

प्राचीनकालमा विश्व विजयी बन्ने अभिलासा राख्ने युनानका सिकन्दर महान, भारतका चन्द्रगुप्त मौर्य, रोमका अगस्टस र जुलियस सिजर, मंगोलियाका चेगीज खां र तैमुर लंगहरु युद्धमा शत्रु राजा र राज्यबाट लुटेको अनमोल रत्न, सुन, चाँदीहरु केही मात्रामा सहयोगी सैनिकलाई बाँडिदिन्थे । रुपसी सुन्दरीहरु भोग गर्न दिन्थे । त्यसबेला सैनिकका लागि राजा र राज्यले गर्ने कल्याणकारी काम यस्तै थियो ।

पृथ्वीनारायण शाहको राज्यकालमा सैनिकलाई वेतनबापत नगद न्युन दिइन्थ्यो । राज्य विजय गरेपछि राजाको स्वामित्वमा भूमि प्राप्त हुन्थ्यो । राजा आपूm पक्षका सैनिकलाई सोही उर्वर भूमि दिन्थे । खेतीयोग्य जमिन खनजोत गरी अन्न उत्पादन गर्न पाउने सुविधा दिनु पृथ्वीनारायण शाहले एकीकरण युद्धमा योगदान गर्ने सैनिकका लागि राज्य वा सरकारका तर्फबाट व्यवस्था गरेको ठूलै कल्याणकारी काम थियो ।

पृथ्वीनारायण शाहको शासनकालपछि देश निर्माण र सुरक्षाका लागि तातो गोली छातीमा थाप्न हरक्षण तत्पर नेपाली सैनिक स्वयम् सत्ताको छिनाझप्टी र दरबारिया षडयन्त्रमा काटिए । मारिए । अपमानित गरिए । देशनिकाला गरिए । सरकारले गरी खाउ भनेर दिएको घर, जग्गा र परिवारले पालेको पशु चौपायासमेत सर्वस्वहरण गरियो । जात पतित गराइयो । नाबालक सन्तानसमेतलाई बिना अपराध काटियो । लेखकको पुस्तक : ‘ती सैनिक’ (मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएका नेपालका सैनिक) सरसर्ती अध्ययन गर्ने जो कोही मानिसको मनले भन्छ : नेपालमा जन्मिएर सैनिक पेशा अपनाउनु नै उनीहरुको ठूलो गल्ती हो । देशको सीमा बढाउनु र रक्षा गर्नु अपराध भइदियो । पुस्तकमा उल्लेख छ : विना अपराध काटिएका ती सैनिकसँग सती जान विवस तिनका धर्मपत्नीको श्रापबाट नेपाल अझै श्रापित छ । नेपाललाई सती श्रापबाट मुक्त गर्न आज पनि कसैको ध्यान छैन । नेपालको भलो चाहने र हित गर्नेमाथि भइरहेका अपमानजनक घटनाका शृङ्खलालाई नियाल्दा आज पनि कतै सती श्राप सत्य पो हो कि झैं प्रतीत हुन्छ ।

राणाकाल : विश्वयुद्धमा नेपाली सेना र युवामाथि शोषण

नेपाली सैनिक उपयुक्त तलब, न्युनतम राशन, मोैसमी पोशाक र आपूm सुरक्षित हुने न्युनतम हतियारजस्ता अत्यावश्यकीय सैन्य सामग्रीको अभावबाट जेनतेन गुजारा गरिरहेकै अवस्थामा तत्कालीन श्री ३ तथा प्रधानमन्त्री, नेपाली सेनाका मार्शल चन्द्रशमशेर जबराले पहिलो विश्वयुद्धका समय सन् १९१४–१८ मा बेलायतलाई ३७ हजार बेलायती पाउण्ड स्टर्लिङ र १२,२५८। तालिम प्राप्त सशस्त्र नेपाली सैनिक र दुई लाख बढी रिक्रुट सहयोग गरे । नेपाली सैनिक र युवाले भारतवर्षका प्रायः सबै भूमिको सुरक्षा गरे । बेलायतका शत्रु सेनाविरुद्ध युरोप र अरबको युद्धमैदानमा नेपालको स्वार्थविना नै जर्मन सेनाविरुद्ध रगत पसिना बगाए । कति नेपाली सैनिक र युवा मरे, मारिए ? त्यो संख्याको आज पनि यकिन छैन । बदलामा चन्द्रशमशेर जबराका छोरा जनरल बबरशमशेरले बेलायतको दोस्रो श्रेणीको पदक केसीएसआई पदक पाए ।

पहिलो विश्वयुद्धमा नेपाली सेनाको योगदानप्रति बेलायत सरकार कृतज्ञ थियो । बेलायत नेपाली सेनाको लागि केही ठोस सहयोग गर्न चाहन्थ्यो तर श्री ३ चन्द्रशमशेर जबराले बेलायतले सोझै नेपालका सैनिकलाई केही सहयोग दिन मिल्दैन, मलाई दिनुपर्छ, म सैनिकलाई बाँडिदिनेछु भन्ने शर्त पहिल्यै बेलायतसमक्ष राखेका थिए । बेलायतका भारतस्थित गभर्नर जनरल र नेपालस्थित रेजिडेन्टलाई थाहा थियो : बेलायतले दिएको सहयोग नेपाली सैनिकले पाउने छैनन् । तर पनि बेलायत सरकार श्री ३ चन्द्रशमशेरसं“गको लिखित सम्झोैतामा बां“धिएकाले उसले बि.सं.१९७६ पुष तदनुसार डिसेम्बर २७ तारिख सन् १९१९ का दिन श्री ३ चन्द्रशमशेरलाई बेलायती सेनाको अनरेरी जनरल पद दिने, नेपाली जनतालाई एकमुष्ट २१ लाख रुपैयाँ दिने र १० लाख पाउण्ड स्टर्लिङ रकम नेपाल सरकारको नाममा खाता खोलेर लण्डनको बैंक अफ लन्डन मा राखिदिने घोषणा ग¥यो । १० लाख पाउण्ड स्टर्लिङ बेलायती रकमको बार्षिक व्याज सालिन्दा नेपाल सरकारलाई दिने बताइयो ।

त्रि–चन्द्र मिलिटरी अस्पताल

बेलायतले दिएको सोही १० लाख बेलायती पाउण्डको व्याज रकममध्ये केहिबाट चन्द्रशमशेरले टुंडिखेल नजिक महां“कालमा त्रि–चन्द्र मिलिटरी अस्पताल निर्माण गरी बि.सं. १९८३ भदौ २४ का दिन उद्घाटन गरे । त्यस अस्पतालको संचालन पनि बेलायतबाट आउने व्याज रकमबाट हुने घोषणा गरे । नेपाली युवा र सैनिकले रगत पसिना बगाए बापत बेलायत सरकारले दिएको एकमुष्ट २१ लाख रुपैयाँँ र थप व्याज रकम नेपाली सैनिक, तिनका आश्रित परिवार, मारिएका, घाइते भएका सैनिकका परिवारको कल्याणमा खर्च हुनुपर्दछ, ती सैनिक र तिनका परिवारको वास, गाँस र हितमा खर्च हुनुपर्छ भन्ने बेलायत सरकारको प्रष्ट अडान थियो । तर, त्यो २१ लाख रुपैयाँँ पीडित सैनिकको हितमा खर्च गरिएको जानकारी हालसम्म छैन ।

सन् १९३९ देखि ४५ सम्म चलेको दोस्रो विश्वयुद्धका समय तत्कालीन श्री ३ तथा प्रधानमन्त्री र नेपाली सेनाका मार्शल रहेका जुद्धशमशेर जबराले बेलायतको सहयोगका लागि छोरा जनरल बहादुरशमशेर नेतृत्वमा आठ हजार सैनिक पठाए । नेपाली भूमिमा बेलायती सेनाको भर्ति खोलेर लाखौं युवा रिक्रुट पठाए । लेखक पुरुषोत्तमशमेर जबरा आफ्नो पुस्तक : श्री ३ हरुको तथ्य वृतान्तमा लेख्छन : बोका छानेझैं गरी सिधासाधा गरीव पहाडी जनतालाई जबर्जस्ती करकापका साथ या अनेक प्रलोभन समेत देखाई युद्धमा होम्मिन जानैपर्ने अनिवार्य झैं भयो । नेपाली युवा र सैनिकले नेपालको बिना स्वार्थ बेलायतका शत्रु सेनाबिरुद्ध सिंगापुर, मिश्र, फ्रान्स, सुडान, बेल्जियम, वर्मा लगायतका भूमिमा रगत पसिना बगाए । दोस्रो विश्वयुद्धमा पनि लाखोैं नेपाली युवा मारिए । त्यत्तिकै संख्यामा नेपाली नारी विधुवा भए ।

जुद्धशमशेरलाई बेलायतले सिभिलियन जी.सी.बी.पदक र बेलायती सेनाको अनरेरी जनरल पद प्रदान ग¥यो । विश्वयुद्धमा रगत पसिना बगाउने बेलायती सेनामा भर्ति गरिएका र नेपालबाट खटाइएका नेपाली सैनिक, मृत्युवरण गर्ने ती सैनिकका बिधुवा, पुत्रविहीन पितामाता, टुहुरा सन्तान, तिनका आफन्तको हित र कल्याणका लागि बेलायत सरकारले तीन करोड तेत्तीस लाख नेपाली रुपैयाँँ एकमुष्ट नेपाल सरकारलाई दिएको थियो । साथै पहिलो विश्वयुद्धपछिझैं बेलायतको बैंक अफ लन्डनमा थप १० लाख पाउण्ड स्टर्लिङ पनि राखिदिएको थियो । बेलायतले अब सालिन्दा २० लाख पाउण्डको व्याज नेपाली सैनिकका लागि पठाउन थाल्यो । त्यो व्याज रकम नै नेपालमा धेरै हुन्थ्यो । बेलायतको उद्देश्य नेपालका पीडित ती सैनिक, तिनका आश्रित परिवार र सन्तानको कल्याणमा यो रकम खर्च होस् भन्ने थियो । तर, श्री ३ जुद्धले त्यो रकम पीडित भनिएका कोही सैनिकका लागि खर्च गरेको जानकारी आजसम्म कहीं कतै छैन ।

सैनिक कल्याणको आधा खर्ब रकम बेपत्ता !

पहिलो र दोस्रो विश्वयुद्धमा खट्टिएर रगत पसिना बगाएका नेपाली सेनाका सशश्त्र सैनिक, बेलायतको सेनामा रिक्रुट पदमा भर्ति गरी बेलायतको राष्ट्रिय सेनामा आवद्ध सैनिक, मृतक सैनिकका विधुवा, सन्तान तथा परिवार समेतको कल्याणका लागि बेलायत सरकारले राणाकालमा दिएको २१ लाख नेपाली रुपैयाँ, तीन करोड तेत्तीस लाख रुपैयाँ र (सन् १९१८ पछिको १० लाख र सन् १९४५ पछिको १० लाख समेत) २० लाख पाउण्ड स्टर्लिङ आजको आधा खर्बभन्दा बढी नेपाली रकम हो । सरदार भीमबहादुर पाण्डेले लेख्नु भएको पुस्तक : त्यसबखतको नेपाल (राणाकालीन आखिरी तीन दशक, पृ. ११५–११६ ) मा उल्लेख भएअनुसार दोस्रो महायुद्धपछि बि.सं.१९९७ मा मात्र करिब दुई लाख नेपाली युवा बेलायती सेनाबाट पेन्सन र विदा लिएर नेपाल फर्केका थिए । ती युवाले करिब सात वर्ष बेलायती सेनामा जागिर, पेन्सन समेत सरदर एक सैनिकले पां“चसय भारतीय रुपैयाँ नेपाल उतारेको अनुमान छ । त्यसबेला प्रति सिपाही मासिक तलब १५ रुपैयाँ थियो । सरदार पाण्डेका अनुसार नेपाली युवाले त्यसबेला नेपाल उतारेको १३ करोड रुपैयाँ हाराहारी थियो । त्यो १३ करोड रकम लेखकको पुस्तक प्रकाशित भएको वर्ष बि.सं.२०४४ को दरभाउमा गरिएको गणनामा १३ अर्ब नेपाली रुपैयाँ थियो ।

माथिको १३ अर्ब रकम, बेलायती सेनामा भर्ति भएका नेपाली युवाले कमाएको निजी रुपैयाँ थियो । युद्धमा बां“च्न सफल भएका सैनिकलाई बेलायत सरकारले तलब र पेन्सन दिएर बिदा ग¥यो । युद्धमा ज्यान गुमाएका नेपाली युवाका परिवारलाई बेलायत सरकार आफैंले सहयोग दिनसक्ने प्रत्यक्ष सम्पर्क र संयन्त्र त्यसबेला थिएन । तसर्थ बेलायत सरकारले युद्धमा ज्यान गुमाएका सैनिकका आश्रित विधुवा, सन्तान, बाबुआमा र परिवारको हित एवम् कल्याणका लागि नेपाल सरकारको नाममा २१ लाख, तीन करोड तेत्तीस लाख र बैंक अफ लण्डनमा राखिदिएको एकमुष्ट १०–१० लाख पाउण्ड स्टर्लिङ भारतीय रुपैयाँमा सटही गर्दा त्यसबेला नै करोडौं हुन्थ्यो । सो सावाँ रकम र सो को केही मात्र व्याज संकलन गरिदिएको भए आज सैनिक कल्याणको उक्त रकम पनि स्पष्ट छ : करिब खर्ब हुने थियो ।

सरदार पाण्डे लेख्छन : नेपाल जस्तो त्यसबखत बार्षिक एकाध करोड राजस्व उठ्ने सानो मुलुकमा त्यति धेरै रकम भित्रिनु निक्कै ठलो उपलव्धि थियो । हो पनि ! तर तत्कालीन राणा शासकको ऐश आरामको जीवनशैली र अदुरदर्शिताका कारण नेपालले देश र जनताको समृद्धितर्फ अघि बढ्ने मौका गुमायो । यो बाहेकको दुःखद कुरा : सैनिकहरुको कल्याणमा गरिनु पर्ने ठूलो राशी रकम समेत सार्वजनिक जानकारी विना नै गायब पारियो ।

सैनिकको रगत र पसिनाको कदर र कल्याणको नाममा नेपाली शासकले मजाक गरेको यो राम्रै उदाहरण थियो ।
बेलायतले दिएको उक्त रकम नेपाली जनताको सम्पत्ति हो । त्यो नेपालको थियो । नेपालको सैन्य सङ्गठनको श्रीबृद्धिमा सो रकमको उचित सदुपयोग गर्न सकेको भए आज विश्व रंगमन्चमा नेपालको गौरव, इतिहास र सामथ्र्य बेग्लै हुने थियो । सदुपयोगको कुरा छाडौं, सैनिक कल्याण कोषको उक्त रकम कहिले, कसले, कुन प्रयोजनका लागि झिक्यो र कहाँ खर्च गरियो ? यसको जानकारी राज्यलाई हुनुपर्छ कि पर्दैन ? ढिलै भए पनि राज्यले यसको जवाफ दिनुपर्दैन ?

सन् १९७३ बाट संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ खट्टिएर गएका सैनिकलाई राष्ट्रसंघले दिएको भत्ता रकमबाट कट्टा गरिएको सीमित रकमको कोष आज आधा खर्ब बढी भएको छ । यदि पहिलो र दोस्रो विश्वयुद्धमा नेपाली युवाले बगाएको रगत पसिनाबाट आर्जित त्यसबेलाको २० लाख पाउण्ड र करोडौं नेपाली रुपैयाँको केही अंश मात्र जोगाउन सकेको भए नेपाल र सेनाको यशको बृद्धिमा अझ थप सहयोग हुनेतर्फ सेना र राज्यको ध्यान गएको देखिदैंन ।

सैनिकलाई सान्त्वना : द्रव्यकोष र पेन्सन

बेलायत सरकारले सैनिकको कल्याणका लागि दिएको सो रकम जुद्धशमशेर जबराले सैनिक परिवारको कल्याणमा खर्च नगरे पनि उनले बि.सं.१९९७ मा सैनिक द्रव्यकोष खडा गरिदिए, सो द्रव्यकोषको बिकसित रुप आजको कर्मचारी संचय कोष हो । श्री ३ तथा प्रधानमन्त्री जुद्धशमशेर जबराले नेपाली सेनाका जवान र अधिकृतहरु उमेरको हद पुगेपछि स्वतः अवकाश हुने र उनीहरुले बां“की उमेरभर राज्यबाट पेन्सन पाउने व्यवस्था पनि गरिदिए । सैनिक र सैनिकको परिवार एवम् सन्तानको कल्याणका लागि श्री ३ जुद्धशमशेर जबराले गरेको यो प्रशंसनीय सुकार्य थियो ।

द्रव्यकोषको स्थापना र पेन्सन सुबिधा सैनिकलाई राज्यले व्यवस्था गरिदिएको कल्याणकारी कदम थियो र आज पनि यो कल्याणकारी कार्य हो ।

अन्तमा

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति कार्यमा सरिक भए वापत नेपाली सैनिकलाई दिइएको भत्ता रकम कट्टा गरी खडा गरिएको सैनिक कल्याणकारी कोषको रकम सार्वजनिक नगर्न सैनिक नेतृत्वले सक्दो कोशिश गरेको थियो । सेवानिवृत्त नेपाली सैनिकको सडक र अदालतसम्मको निरन्तरको दबाबपछि बि.सं.२०६३ मंसीरमा मात्र सार्वजनिक गरिएको हो । हाल ५१ अर्ब बढी रकमको सो कोष सार्वजनिक गर्नेक्रममा गरिएका जालझेल र संघर्षका नालीबेली आगामी अंकमा पढ्न सकिनेछ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार