Techie IT
×
गृहपृष्ठबिचार६१ सांसदको गाइजात्रे प्रहसन

६१ सांसदको गाइजात्रे प्रहसन


झिल्को टिप्पणी

जारी विवाद र समस्याको कुनै निकास दिन पनि नपर्ने, अमुर्त र निरपेक्ष एकताको रट लगाएर निरन्तर चर्चामा पनि रमाइरहन पर्ने ६१ सांसदहरु अहिले नेकपामा गाइजात्रा नै प्रहसन गरेका छन् । गाइजात्रा पर्वको नेरफेर नै नेकपाको एकताका पक्षपाती घोषणा गरी सत्तारुढ नेकपाका ६१ सांसदले गरेको हस्ताक्षर उनीहरु कुनै पनि गुटमा नरहेको भन्ने प्रमाणस्वरुप बाहिर आएको छ । र, उनीहरु मात्र पार्टीको एकताका पक्षधर हुन्, बाँकी जम्मै बेकार हुन भने झैं गरी प्रचार भइरहेको छ । नेकपामा को होला र पार्टी एकता बिरोधी ? तर ६१ सांसदहरुको हुँकार हेर्दा, सुन्दा, देख्दा लाग्छ, उनीहरु मात्रै २४ क्यारेट छापावाल सुन झैं सक्कली एकतावादी, एकतापन्थी हुन् । अरु सबै एकता विरोधी मात्रै हुन् ।

तर, कुरोको चुरोमा प्रवेश नगरी सस्तो प्रचारवाजी र सामाजिक संजालमा हिरो हुने कुण्ठाग्रस्त मानसिकताको उपज स्वरुप ६१ जना माननीयहरुको पार्टी एकताको एकतारे घन्किरहेको छ । अहिले नेकपामा समस्या छ भन्ने कुरा ‘ओपन सेक्रेट’ छ । पार्टीमा विधि, पद्धति र नीतिका समस्या छन् भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग तथ्यमा आधारित सत्य हो । तर यो धरातलीय यथार्थलाई नजरअन्दाज गरेर माननीयहरु एकोहोरो एकताको रटान स्वरुप सामूहिक वक्तव्यवाजीमा रमाइरहेका छन् ।

नेकपा कुनै नेताको रहर र लहडमा बनेको पार्टी होइन र नेकपालाई प्राप्त दुई तिहाई बहुमतको जनादेश कुनै एक नेताको पौरख र आर्जन पनि होइन भन्ने तथ्यमा सायदै कसैको विमति होला । र, नेकपा कुनै नेता विशेषको व्यक्तिगत महत्वाकाँक्षा पूरा गर्नैका लागि विभाजनको विष पिउने विन्दुमा पुग्ला भन्ने पनि एक हदसम्म असंभव प्रायः छ । त्यसैले कुनै पनि सांसदहरुले अहिले एकल वा सामुहिक रुपमा अमुर्त एकताको बाँसुरी बजाएर प्रचारवाजीमा रमाउनु आवश्यक छैन । यो क्षणिक आत्मरतीको अराजनीतिक प्रहसन मात्रै हो ।

पार्टी भनेको विविध विचारबीचको एकत्व हो । अहिले पार्टी र सरकारका बीचमा समस्या बग्रेल्ती छन् । सरकारले पार्टीको चुनावी घोषणा पत्र पूरापूरा वेवास्ता गरेको छ । सरकारको कामले जनताको वाही वाही पाउन सकेको छैन । यहीबीचमा सरकारका शासकीय कमीकमजोरीहरुलाई टेकेर प्रतिगमनले टाउको उठाउने मौका खोजिरहेको छ । यो कुरो जननिर्वाचित माननीयहरुको दिल दिमागले अनुभूत गरेको हुनुपर्ने हो । प्रधानमन्त्री एकमनावादी चिन्तन र व्यवहारबाट ग्रस्त देखिएका छन् भने प्रधानमन्त्री इतर एउटा पक्षधर पनि निषेध वा कारवाहीको प्रक्रियातर्फ उन्मुख छन् । प्रधानमन्त्री पक्षधर र इतरमध्ये एउटा पक्ष व्यक्तिमा होइन प्रवृत्तिमा हुर्किदै गएका छन् । एक नदीका दुई किनार झैं लाग्ने यो अतिवादी प्रवृत्तिको पृष्ठपोषण गर्नेहरु नै नेकपामा पार्टी एकता विरोधी प्रवृत्ति हुन् । हो, समस्याको जरो यहीनेर छ, यही समस्याको जरो काट्ने गरी नेकपाका ६१ भाइ माननीयको पहलकदमी भएको भए त्यसलाई जायज ठान्न र मान्न सकिन्थ्यो । तर, माननीयहरुको डफ्फाले त कसैको पनि नहुने, सबैको साझा हुने नाममा लिङ्ग पहिचान नभएको स्वरुपमा आफूलाई प्रस्तुत गरेर उल्टो नेकपालाई झन नाङ्गो बनाउने र एकताका नाममा पार्टीको हुर्मत लिने हर्कत देखाएका छन् । तीतो सत्य यही हो ।

नेकपामा समस्या व्यक्ति पूजाको हो, व्यक्तिको असान्दर्भिक देवत्करणको हो । समस्या पार्टी नीति र विधिलाई आफू अनुकूल भए ठीक, प्रतिकूल भए वेठीक करार गर्ने प्रवृत्तिको हो । ढिलो वा चाडो यो खाले प्रवृत्तिलाई कमजोर नगरी नकेपाले न सरकारलाई सफल पार्न सक्छ न त समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने जग नै खडा गर्न सक्छ । शीर्ष नेतृत्वमा नै देखिएको र झाँगिदै गएको गुटको खेती फस्टाउने काम मात्रै गर्दछ, जसले नेकपालाई फलामलाई खियाले सिध्याएजस्तो सिध्याउछ मात्रै ।

पार्टीको राजनीतिक चेत, वर्गीय चिन्तनप्रति गम्भीर नभएका वा कम भएका, सङ्घर्ष, योगदान खासै नगरेका वा योगदानभन्दा ठूलो भूमिका पाएका पात्रहरुलाई नेतृत्वबाट माननीय हुने मौका दिएका कारण अहिले नेकपाका तथाकथित तटस्थ माननीयहरु आफूलाई अराजनीतिक पात्र झैं उभ्याउन खोजिरहेका छन् । गैरराजनीतिक चरित्र झल्काउने ६१ भाइ माननीयहरुले पार्टीको एकता जोगाउन सफल चिकित्सकको भूमिकामा समस्याहरुको शल्यक्रिया गर्न आफूलाई काबिल साबित गर्ने हो भने एकताको एकतारे बजाउन पट्टि होइन, गलत प्रवृत्तिको जरोकिलो उखेल्न सक्नुपर्छ, त्यतातिर सम्पूर्ण शक्ति खर्च गर्न सक्नुपर्छ ।

के जनताले केपी ओली सरकारका हर कदमको समर्थनमा घर घरमा दीपावली गरिरहेका छन् ? के आम कार्यकत्र्ता सरकारका कामबाट खुशी भएर देशभर जनतासँगको एकाकार सम्बन्धमा उत्साहित र समर्पित छन् ? स्वयम् माननीयहरु आआफ्ना मतदाता कहाँ पुग्दा जनताले कस्तो फिडव्याक दिइरहेका छन् ? वक्तव्यवाजी गरेर एकताको गीत गाउँदै गरेका माननीयहरुले शहीदको बलिदान र जनताको मतदानको कसम खाएर आत्मसाक्षी राख्दै सत्यको समीक्षा गर्ने महत्वपूर्ण घडी हो यो । होइन र ६१ माननीय ज्यूहरु ?

उसो त सोलोडोलो ६१ माननीय नै एकै डालोमा अराजनीतिक हुने नाममा नपुंसक चरित्रको प्रदर्शन गदैछन भन्नु पनि मनासिव हुने छैन् । कतिपय खारिएका राजनीतिक चेतना र योगदान भएका माननीयहरु पनि त्यहाँभित्र छन् । तर, त्यस्ता गैरराजनीतिकहरुको भीडमा खास राजनीतिक चेतका माननीयहरु पनि मिसिनु भने सुहाउँदो कुरा होइन ।

कृषि मन्त्रीको कुर्सीमा आसिन भएर कृषि प्रधान देशका कृषिमा निर्भर जनताका लागि सिन्कै भाँच्न नसकिरहेका तर मिडियामा लेख छपाएर समाजवादी क्रान्तिका हुँकार दिएर नथाकिरहेका मन्त्री घनश्याम भुसालहरुको ११ भाइको डफ्फाले पनि एकताको एकतारे बजाउन खोजेकै हो । तर, त्यो प्रयास केटाकेटी आए, गुलेली खेलाए, मट्याँग्राको सत्यानास भने जस्तै भएको पनि भर्खरै हो । त्यसैले, नेकपाभित्रको एकता विरोधी तत्वको समुल अन्यका लागि पातमा होइन, जरामा पानी हाल्न जाँगर ६१ माननीयहरुको केन्द्रित हुन जरुरी छ नि, छैन र ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस