Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

प्रधानमन्त्री ओली रामभक्तको अवतारमा


काठमाडौं । १२ वर्षको वनवास र एक वर्षको अज्ञातवासको शर्त पूरा गरेपछि कौरवले पाण्डवलाई उनीहरुको राज्य फिर्ता दिनमात्र अश्वीकार गरेनन्, पाण्डवलाई केवल पाँच गाउँ दिएर युद्ध टार्ने अन्तिम प्रयासलार्ई पनि दुर्याेधनले मानेनन् । सियोको टुप्पोसम्म पनि नदिने दुर्याेधनको हठका कारण युद्ध निम्तियो र उनको वंश अनि कैयन् निर्दाेष मानिसहरु युद्धको बली चढ्नुपरेको पौराणिक कथा छ ।

अहिले केपी ओलीमा दुर्याेधनको हठ देखिएको छ । उनी कम्युनिस्ट पार्टी, अहिलेको प्रणाली बरु नस्ट होस तर पार्टीको वहुमत पक्षले राखेका कुनै पनि प्रस्ताव नमान्ने हठ गरिरहेका छन् । प्रथम अध्यक्ष भएर उनी स्थायी, केन्द्रीय समितिको वैठकलाई छलिरहेका छन् । ‘पानीबाट भाग्ने किसान र वैठकबाट भाग्ने नेताले राम्रो परिणाम ल्याउँदैन’ भनेर लामो समय पार्टीको प्रमुख नेतृत्व सम्हालेका माधवकुमार नेपालले बताएका छन् ।

जारी स्थायी समितिको वैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समझदारीमा आउन नमानेपछि अलपत्रको अवस्थामा परेको छ । एक तिहाई केन्द्रीय समिति सदस्यले हस्ताक्षर गरेर केन्द्रीय समितिको वैठक राख्ने माग गरेका छन् । तर, केपी ओली कुनै पनि वैठकको सामना गर्न तयार छैनन् ।

भारतले मिचेको जमिनलाई समेटेर नेपालको नक्सा जारी गरेका प्रधानमन्त्री केपीको कदम सकारात्मक छ । यसमा कुनै पनि देशभक्तले विमति राखेको छैन । एउटा सकारात्मक अभियान चलिरहेका बेलामा उनले राष्ट्रियताको अजेण्डामा धार्मिक झोल मिसाएर भावनाको राजनीतिलाई प्रश्रय दिइरहेका छन् । राष्ट्रिय स्वाधीनतासँगै तत्काल कोरोनाका विरुद्ध लड्नुपर्ने, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रलाई बढावा दिएर समाजवादतिर जाने योजनाबद्ध प्रयासलाई छाडेर उनी उल्टो गन्तव्य तय गर्दैछन् । धार्मिक भावना भड्काएर हिन्दु धर्मभिरुहरुको साथ लिएर देशमा अराजकता मच्चाउने आधार निर्माण गर्ने, आफ्नो कमजोरीलाई छोप्ने र सत्ता लम्ब्याउने कोशिश गरिरहेका छन् । यिनको पछिल्लो प्रयासले पार्टी, सरकार र राष्ट्रलाई नै कमजोर पार्ने प्रष्ट छ ।

केपीलाई अहिले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा पद छाड्न पार्टीको वहुमतले भनिरहेको छ । तर, ओली दुवै पद छाड्न नसक्ने हठ गरिरहेका छन् । आलोपालो प्रधानमन्त्री पद प्रचण्डले छाडे हुने अनि केपीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री छाड्नै नसक्ने र छाडे आकाश नै खसे जस्तो हुने हुन्छ र ? पार्टी एकता सुदृढ गर्न र दुई तिहाईको नेकपा सरकारको युगीन कार्यभार पूरा गर्न सबैलाई सही कार्यविभाजनसहित काममा सक्रिय बनाउन चुकेर सबै अधिकार आफूमा निहित गर्न खोज्ने एकमनावादी चरित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीमा देखिनु कुनै पनि जोड र कोणबाट सही मानिएको छैन ।

केपी नेकपाका नेता हुन र कार्यविभाजनपछि अर्काे पद वा अधिकार पाउने पनि नेकपाका नेता नै हुन । उनले पाउँदा या छाड्दा सन्तुलित र सही कार्यविभाजन हुने हो । बरु पार्टीलाई विभाजन गरेर प्रतिपक्षसँग मोर्चा बनाएर जाने, प्रणालीलाई नै जोखिम मोल्ने तर पार्टीका अरु नेताहरुसँग बसेर कार्यविभाजन नगर्ने केपीको हठले पार्टीलाई मात्र कमजोर बनाइरहेको छैन, सरकार र राष्ट्रलाई समेत नकारात्मक असर गरिरहेको छ । कालीदासको जस्तो शैली ओलीलाई राजकीय र पार्टी सत्ता प्रमुखका रुपमा सुहाउँदैन ।

आफ्नै कारण प्रश्नको घेरामा

महाधिवेशनपछि पार्टी अध्यक्ष नउठ्ने र अर्काे निर्वाचनपछि प्रधानमन्त्री नबन्ने भनेपछि अहिले किन दवाव भन्ने उनी र उनका पक्षका नेताहरुको भनाइ छ । सरकार र पार्टी ठीकठाक चलेको भए अनि उनी आफ्नो वचनमा पहिलापहिला इमान्दार भएको भए उनीमाथि अहिले दवाव दिनु अनुचित नै हुन्थ्यो ।

सरकारले सुशासन कायम गर्न सकेको छैन, ओम्नी, गोकर्ण रिसोर्ट जस्ता दर्जनौ घोटालाकाण्ड यो सरकारकासँग जोडिएका छन् । विवादास्पद राजनीतिक नियुक्ति पनि भएका छन् । समाजवादतिरको आधार निर्माणभन्दा पनि नेपालमा असफल अराजक उदार अर्थनीतिको द¥हो पक्षपोषण भइरहेको छ । यो स्थितिमा पार्टीको विचार, विधिलाई आत्मसात गरेर सामूहिकतामा सरकारलाई चलाएको भए केपीलाई तत्काल चुनौती आउँदैन थियो, आउनु पनि हुँदैन थियो ।

एकथरिले वहुमतका आधारमा केपीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट तत्काल हटाउनु पर्ने माग गरिरहेका छन् । यो पनि ठीक होइन । जताबाट भए पनि निषेधको तरिकाले सही निश्कर्ष निस्कदैंन । उनलाई रोजेको र पार्टीको वहुमतले अहिले छाडेको एउटा पदमा चित्त बुझाउने कुरा सही छ । तर, केपीले समझदारीमा आउने कुरालाई अश्वीकार गर्दै जाने हो भने दुवै पदबाट हट्नुपर्ने अवस्था आउनसक्छ ।

चल्दाचल्दैको स्थायी समितिको वैठक रोकिएको छ । केन्द्रीय समितिको लागि माग गरिएको छ । पार्टीका वहुमत र केपी ओली पक्ष पनि आआफ्नो पक्षबाट सक्रिय रहिरहेका छन् । ६१ जना सभासद्ले पार्टी नफुटाउनका लागि भन्दै हस्ताक्षर गरेका छन् । कतै पनि पार्टी विभाजन गर्ने मनस्थिति छैन । तर, पनि केपीको हठ र दुवै पदबाट उनलाई निकाल्ने एकथरिको प्रस्तावले पार्टी विभाजन गराउन खोज्नेहरुलाई मलजल गरिरहेको छ ।

दुई÷चार दिन यसैगरी आआफ्नो आन्तरिक सक्रियता रहला । त्यसपछि केन्द्रीय समितिको वैठकमा केपी ओलीलाई वहुमतको आधारमा ‘चार्ज’ लगाएर दुवै पदबाट मार्गप्रशस्त गर्ने अवस्था आउनसक्छ । अहिले केपीले समझदारीबाट एउटा पद त्याग्ने कुराले जति पार्टी, सरकार र राष्ट्रलाई फाइदा छ पछि आउने चुनौतीसँग अहिले उनलाई साथ दिएर लड्ने अधिकांश नै सँगै हुने छैनन् । साँच्चै संकट पर्दा लड्ने केपीसँग एकाध नेतामात्र बच्ने होलान ।

अप्रासङ्गिक धार्मिक ओत

कम्युनिष्टहरु धर्मलाई अफिमको संज्ञा दिन्छन र जनतालाई भगवान सरह मानेर मुक्ति र समृद्धिको लागि संघर्ष गर्छन । त्यही दर्शनबाट दीक्षित भएर सत्तामा पुगेका प्रधानमन्त्री केपी ओलीले अहिले जनतालाई भगवान मानेर सेवाको उत्कृष्ट उदाहरण दिनुपर्ने बेलामा धर्मभिरु नेताको नयाँ अवतार देखाउने प्रयास गर्दैछन् । ‘त्रेता युगका भगवान रामको जन्मभूमि नेपालको ठोरी हो’ भनेर भाषण गरे लगत्तै प्रधानमन्त्री चितवनको ठोरीमा अयोध्या निर्माणमा जुटेका छन्, जबकि यो बेला कोरोना माहामारी, भोकमरी र बेरोजगारी तथा महंगी र भ्रष्टाचारले आक्रान्त जनताका लागि राहत दिने नीतिको कार्यान्वयन प्रधानमन्त्रीको अनिवार्य दायित्व हो । उनकै सरकारले ठोरी नजिकै चेपाङका घर जलाउने अनि त्यही वरपर यहीबेलामा मन्दिर निर्माण गर्ने हास्यास्पद कर्म होइन ?

आफ्नो हठ र दम्भ पूरा गर्न धर्मको आड लिने र कम्युनिष्ट दर्शन र उद्देश्यलाई पञ्छाउने प्रधानमन्त्रीको प्रयास आफैमा घातक मात्रै छैन, महामारीको चौतर्फी मारमा परेका जनतामाथि यो चर्को धोका र भद्दा मजाक पनि हो । किनभने अहिले कोरोना उपचार केन्द्र बनाउन छाडेर भारतको शेखी झार्ने नाममा कथित अयोध्या धाम बनाउने सपनामा भइरहेको प्रधानमन्त्रीको सवार महाभारतका अन्धा राजा धृतराष्ट्रको कालो सत्ताको नयाँ छायाँ मात्र हो ।

भनिन्छ, खोलाले र बेलाले कसैलाई पर्खदैन, त्यसमा ओली सत्ता मात्रै अपवाद हुन सक्दैन । प्रधानमन्त्रीले पार्टीलाई प्राप्त दुई तिहाई बहुमतको जनादेशको मर्म र भावना तथा जनताको अहिलेको कोरोना माहामारी सिर्जित संकटलाई राम जन्मभूमिको नक्कली दावीद्वारा ढाकछोप वा ‘स्केप’ गर्न खोज्नु भनेको आफू मात्रै होइन, पार्टी र समग्र कम्युनिष्ट आन्दोलनलाई भड्खालोमा जाक्नु नै हो ।

भारतमा भाजपा र नरेन्द्र मोदीको धार्मिक राष्ट्रवादले आर्जेको सत्ताको नक्कल गर्न खोज्नु केपी ओली वा जो कोही अतिवादीका लागि पतनको राजमार्ग हो । नेपाललाई धार्मिक सहिष्णुता र शान्तिबाट अलगथलग पार्न नेपालका पूर्वराजावादी तथा अतिवादी हिन्दूवादीहरुले मौका खोजिरहेका बेलामा जानी वा नजानी प्रधानमन्त्री ओली रामभक्त हनुमान अवतारमा देखिन खोज्नु चानचुने मूर्खता हुने छैन ।

त्यागमा विजय, हठमा पतन

अहिले पनि स्थिति समुल बिग्रिसकेको छैन । प्रधानमन्त्रीले रोजेको गलत बाटोको यात्रामा मात्र उनी रोकिए हुन्छ । प्रधानमन्त्री ओलीले आफूले सम्मानजनक विश्राम लिने थुप्रै विकल्पहरु छन् । नेकपाको अहिलेको केन्द्रीय समितिलाई महाधिवशेन आयोजक समितिमा बदलेर पार्टी समकक्षी प्रचण्डलाई महाधिवशेन आयोजक समितिको संयोजक बनाउन सहमत हुने हो भने प्रधानमन्त्रीले कुनै पदबाट राजीनामा नदिइकन पनि सम्मानका साथ एकता जोगाउने नेतृत्व लिएको जश पाउन सक्छन् । पार्टीले आगामी चैत्रमा महाधिवशेन गर्ने निर्णय लिइसकेको परिप्रेक्षमा त्यागी पनि देखिने, आफनो पद पनि गुमाउन नपर्ने यो प्रधानमन्त्रीका लागि त्यागमा विजय प्राप्त गर्ने र बलियो बन्ने सहज उपाय हो । हठ मात्रैले त ढिलो चाँडो प्रधानमन्त्रीको हठी स्वभाव र एकाङ्की सत्ता यात्रालाई कौरवको नियतिमा बाहेक कहीँ कतै डो¥याउने वा पु-याउने सम्भावना नै छैन । शक्ति बाडफाँटबाट विजयी हुने कि दम्भबाट समाप्त हुने ? रोजाइ प्रधानमन्त्रीको कोर्टमा नै छ ।

महामारीको सामनाः जनताको कामना

जुन स्तर र रफ्तारमा कोरोना माहामारीले अहिले देशलाई गाँजिरहेको छ, यो प्रधानमन्त्री र यो सरकारले अनुमान गरे भन्दा असरदार महासङ्कटको रुपमा आउँदैछ । यसमाथि ‘इनफ इज इनफ’ लगायतका टोले स्तरका जुन सरकार विरोधी असङ्गठित जनताको तप्काका आन्दोलनका झिल्काहरु देखा पर्दैछन्, तिनको आकार बढ्दै जाँदा, त्यसको लप्कोमा सरकार मात्रै होइन, व्यवस्था नै पर्नसक्ने खतराप्रति ओली सरकारको समयमा नै चेत खुलेन भने यहाँ नयाँ राजनीतिक दुर्घटना हुन नसक्ला भन्ने ग्यारेन्टी छैन । नेपालमा आन्दोलनको माहौल बनाउन र बढाउन भाजपा सम्वद्ध भारतीयहरुले भित्रभित्र गरिरहेको समर्थन र सहयोगको जानकारी सरकारले नराखेको हो भने त्यो सरकारको अक्षम्य भुल हुनेछ । देशमा भाँडभैलोको स्थिति उत्पन्न गर्ने उद्दत देशभित्रका र बाहिरका शक्ति समूहहरुलाई समयमा नै चिनेर ठेगान लगाउन नसक्ने हो भने सरकारले सम्भावित राजनीतिक दुर्घटनाका लागि आफै सहयोगी भूमिका खेलेको प्रमाणित हुने निश्चित छ । इतिहासले त्यस्तो अकल्पनीय व्यवस्था विरोधी हर्कतका लागि ओली सत्तालाई छुट दिने छैन ।

अहिले सरकारको सम्पूर्ण ध्यान पार्टीलाई एकतावद्ध राख्ने र जनतालाई कोरोना कहर र कोरोनाले सिर्जना गरेका आर्थिकसहित बहुपक्षीय नकारात्मक असरबाट संरक्षण र सुरक्षित गर्नु नै हो । त्यसका लागि एकतावद्ध पार्टी, जनतासम्म पुग्ने सरकार नै सरकारको लक्ष्य हुनुपर्छ, दैनिकी बन्नुपर्छ । सरकारले जनताको यो महासङ्कटलाई नजरअन्दाज गरेर सत्ताको आयु लम्व्याउन सक्ला तर नेकपाको दीर्घायुलाई दुर्घटनामा पार्ने निश्चित छ । त्यसैले सरकारले अब सर्प पनि मर्ने, लाट्ठी पनि जोगिने गरी विवेकसम्मत निर्णय र अग्रसरता लिनुपर्छ । पार्टी अध्यक्ष र प्रधानमन्त्रीको दोहोरो भूमिकामा रहेका कारण अब निकासको मार्गप्रशस्त गर्ने मुख्य जिम्मेवारी पनि केपी ओलीकै कोर्टमा छ, काँधमा छ । समयबद्ध साप्ताहिकबाट

यो पनि पढ्नुहोस,

केन्द्रीय समितिलाई आयोजकमा बदल्दा निकास निस्कन्थ्यो कि ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट